मेरो सदाशिवको अनुभव

लेखिका: अनु श्रेष्ठ, पाेखरा

सर्वप्रथम त मेरो तर्फबाट सम्पूर्ण ब्रह्मज्ञानी देवी-देवतालाई कोटी-कोटी ढोग छ । डा. कमल मान श्रेष्ठ (मामा), डा. इन्दु श्रेष्ठ (माइजु) तथा सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई नमस्कार ।

मेरो नाम अनु श्रेष्ठ हो । मेरो घर पोखराको सितलदेवी वडा न. १२ मा हो । मेराे माइत सुन्दरमार्ग बगाले टोल, पाेखरा हाे । मलाई यस ब्रह्मज्ञानको बारेमा पहिले केही थाहा थिएन । म ब्रह्मज्ञानको कक्षामा मेरो दिदी (शुशिला श्रेष्ठ) मार्फत थाहा पाएँर आएकी हुँ । उहाँले पनि ब्रह्मज्ञानको बारेमा यही ब्रह्मज्ञानको कक्षामा उपस्थित केही साथीहरु मार्फत थाहा पाउनुभएकाे थियाे र त्यहाँ जान थाल्नु भएकाे थियाे । मेरो घर परिवारबाट सबैभन्दा पहिला उहाँ  नै ब्रह्मज्ञान बुझ्न आउनुभएको थियो । उहाँ आफु गएपछि त्यहाँ बुझेका कुराहरु घरमा भन्नु हुन्थ्याे र बिस्तारै-बिस्तारै सबै सदस्यलाई त्यो कुरा बुझ्नुपर्ने रहेछ भनेर त्यहाँ क्लासमा लानुभयो । यसरी परिवारका सबै सदस्यहरू जानु हुँदा पनि मलाई त्यहाँ जान र त्यहाँको कुरा सुन्न मन लाग्थेन । मैले सुन्न, बुझ्न र जान नखोज्दा पनि मेरो परिवारले मलाई त्यहाँ जानुपर्छ र त्यो कुरा बुझ्नुपर्छ भनेर भन्नुहुन्थ्यो । मेरो परिवार ब्रह्मज्ञान सिक्न जानुभएका हुनाले उहाँहरुलाई मेरो अस्वस्थ तेस्रो नेत्र खुलिसकेको र येही कारणले म बिरामी भएको थाहा भईसकेको थियो । मैले सपनामा कोही मानिस मरेको देखेँ भने केही दिनमा त्यो मानिसको सांचिकै मृत्युको खबर आउथ्यो । मैले मरेको मानिसहरुलाई जिउँदो मानिसझैँ बाटोमा हिडेको देख्थेँ । मैले त्यो त मेरो भ्रम मात्र होला भनि सोच्थेँ किनकी मलाई मानिस मरेर पनि पूर्णरूपमा मरेकाे हुँदैन भनेर थाहा थिएन तर मेरो परिवारका सदस्यहरू ब्रह्मज्ञानकाे क्लासमा जानुभएकाे र त्यहाँ मानिस पूर्णरूपमा मरेकाे हुँदैन भनेर पढेका र यसको प्रमाणहरू पनि देख्न  पाउनुभएकाले यो  कुरा उहाँहरुलाई थाहा थियो । यसरी मरेको मानिसहरूलार्इ पटकपटक देख्नु भनेकाे एक अस्वस्थ राेगी अवस्था रहेछ र यसकाे बेलामा उपचार नगरे श्रृण, राेग र अकाल मृत्यु ल्याउने रहेछ भनेर उहाँहरूलार्इ थाहा रहेछ । एकदिन मलाई ब्रह्मज्ञानको कक्षामा जान मन नहुँदा-नहुँदै दिदीहरुसंग गएँ र त्यहाँ गएर केही नबोली एकछिन बसेर फर्किएँ । त्यो दिन राती मलाई अचानक ज्वरो आउला जस्तो भयो र शरीर पुरै दुखेर आयो । त्यसैले झन् मलाई त्यहाँ जान नहुँदो रहेछ जस्तो लाग्यो र म त्यो दिनपछि त्यहाँ गईन । म त्यहाँ नगए पनि मेरो परिवार हरेक दिन ब्रह्मज्ञान बुझ्न जानुहुन्थ्यो । करिब दुई बर्षपछि म फेरी दोस्रो पटक ब्रह्मज्ञानको कक्षामा गएँ । त्यो दिनबाट मलाई बल्ल थाहा भयो कि ब्रह्मज्ञान भनेको हामीले बुझ्नेपर्ने कुरा रहेछ किनकी केही दिन अगाडि पौष महिनामा मेराे बुबा बित्नु भएकाे थियाे । ब्रह्मज्ञानमा मानिसहरु (महिला, पुरुष, ८–१० बर्षका बच्चाहरू समेत) सबै मलामी जाँदा रहेछन् । मेरो परिवारको सदस्यहरु ब्रह्मज्ञानी भएको हुनाले सबै जना केटा-केटी पनि नभनी घाटमा जानुभएको थियो । मलाई पनि जान इच्छा लाग्यो र म पनि उहाँहरुसंगै घाटमा गएँ । मलामी भएर घाटमा गएकाे यो मेराे पहिलाे अनुभव थियाे । घाटमा गएपछि यस्तो घटना भयो जुन कुरा सोच्दा पनि अचम्म लाग्छ |   घाटमा अलि  तलतिर मेरो बुवाको लाश राखिएको थियो र म अलिकति माथि बसेर रोइरहेकी थिएँ । त्यहाँ घाटमा गएकाहरू मध्ये लाशकाे नजिक जान डराउने र अाफै मरुंला जस्ताे गरेर रूने म मात्रै थिएँ । अरु मलामी गएका ब्रह्मज्ञानीहरु सबै शान्त थिए । केही बेरपछि मेराे मरेकाे बुवा अचानक त्यहाँ (लाश)बाट उठेर आउनुभए झैँ देखेँ  । मलाई चिसो भएको छ र म दमको बिरामीलाई यस्तो चिसोमा राखेको छ भनेर उहाँले मलार्इ भन्नुभयो । याे कुरा मैले मेरो परिवारको सदस्यहरुलाई भोलिपल्ट भनेको थिएँ । त्यो कुरा सुनेपछि उहाँहरुले त्यो बुवाको लिङ्ग शरीर आएर बोलेको हो भन्नुभयो र म आफुले नै त्यो कुरा महसुस गरेको हुनाले ब्रह्मज्ञान भनेको कुरा बुझ्नपर्ने रहेछ भनेर म ब्रह्मज्ञान बुझ्न मेरो परिवारहरुसंग  बुवाको मृत्युपछि फुर्सद मिलेसम्म लगातार गैइरहें ।

ब्रह्मज्ञानको कक्षामा गएपछि मामाले केही सोध्नुभयो भने म केहि बोल्न नसक्ने, आँखाबाट त्यसै आँशु आउने गर्थ्यो । यसले गर्दा मेरो तेस्रो नेत्र अस्वस्थ खुलेछ भनेर म आफैंलाई झन् पक्का भयो । यसरी म ब्रह्मज्ञानको कुरा बुझ्न गएँ र त्यहाँ मामाले भन्नुभएको ब्रह्मज्ञानका कुराहरु सुन्दै, पढ्दै र बुज्दै गएँ । शुरु-शुरूमा मरेका पितृहरू अाएर म सँग बाेल्न थाले र कहिले त ममानै अाएर बाेले तर ममा आएर बोलेको मलाई थाहा हुँदैनथ्याे । समय बित्दै जाँदा बिस्तारै बिस्तारै मेरो अस्वस्थ तेस्रो नेत्र स्वस्थ हुँदै गइरहेको थियो र मैले भगवानहरु देख्ने र उहाँहरुसंग दाेहाेरो कुराकानी गर्न थालें । एकदिन अचानक मेरो घरको कुकुरको मृत्यु भयो र त्यो रात म सुत्न सकिन । रातभर त्यही मरेको कुकुर मसँग बोल्न आएको देखेँ जसले गर्दा मलाई त्यो राति धेरै नै गाह्रो भयो । यो कुरा मैले भोलिपल्ट ब्रह्मज्ञानको कक्षामा गएर मामालाई भनेपछि उहाँले मलाई अगाडीको सिट (Hot Seat)मा बस्न बोलाउनु भयो । म अगाडी त गएँ तर केहि बोल्न सकिन ।  केवल आँखाबाट आँशु मात्र आयो । त्यसपछि मामाले हात जोड्न लगाउनुभयो ।  हात जोड्दा पनि त्त्यही मरेको कुकुर बोल्न आएको देखेँ र त्योसंग मामाले सिकाउनुभए अनुसार कुराकानी गरें । त्यही दिन मैले ब्रह्मको अनुभव गर्न पाएँ । ब्रह्म भनेको हामी मरेपछि पुग्न पर्ने ठाउँ रहेछ । ब्रह्मकाे अनुभव गर्ने बेलामा मैले  शिवजीलाई देखें । उहाँले मलाई आज तिमीलाई  कैलाश घुम्न लान्छु भन्नुभयो र त्यहाँ लानुभयो ।  त्यहाँ पुगेपछि मैले चारैतिर उज्यालो देखेँ  ।त्यो देखेपछि  मलाई आनन्द महसुस भयो र शिवजीले मलाई आफुसँग कैलाशमा चारैतिर उडाउनुभयो । शिवजीको साथमा मैले त्यहीं ब्रह्ममा पार्वती मातालाई पनि देखेँ । त्यो दिनमा ब्रह्मको अनुभव गर्ने क्रममा मलाई शिवजीले मेरो श्रीमान् (पवन श्रेष्ठ)लाई पनि म भएको ठाउँमा बोलाउ भन्नुभयो र मैले मामालाई त्यो कुरा भनेँ । मामाले उहाँलाई पनि अगाडि बोलाउनु भयो र उहाँलाई पनि म संगसंगै ब्रह्मको अनुभव गर्न डाेर्याउनुभयो । हामी दुवैलाई शिवजीले Skating खेलाउनुभयो र ब्रह्ममा भएको हरेक कुराको आनन्द लिन लगाउनुभयो । त्यहाँ भएका कुराको अनुभव गरिसकेपछि मैले पितृहरु र मेरो मरेको कुकुरलाई पनि ब्रह्ममा पुर्याएँ । ब्रह्मज्ञानको कक्षामा हामी पहिलो जोडी थियौं जसले शिवजीको साथ र मामा-माइजुले डोर्याई दिनुभएकोले एकै चोटी सँगसँगै ब्रह्मको अनुभव गर्ने मौका पायौँ । ब्रह्म पुगेपछि मलाई एकदम आनन्द र आफु झन स्वस्थ भएको महसुस भयो ।

यसरी म ब्रह्मज्ञानको कक्षामा गईरहेँ र त्यहाँको कुरा पनि बुझेर अगाडि बढिरहेँ । ब्रह्मकाे अनुभव पछि सदाशिवको अनुभव पनि गर्नुपर्दछ भन्ने थाहा पाएकी थिएँ क्लासमा । दिनदिनै मन्दिर पनि जान थालेँ र ब्रह्मज्ञानी देवीदेवताहरुसंग दोहोरो कुराकानी पनि गरिरहें । उहाँहरुलाई ब्रह्मकाे अनुभव गरे झैँ सदशिवकाे अनुभव पनि गर्न पाउँ भनेर भन्ने गरेँ । सदाशिवको अनुभवलाई वेदशास्त्र अनुसार कैवल्य मुक्ति भनिन्छ जुन कुरा आफू मरेपछि ब्रह्ममा कसरी बिलाउनु पर्छ भनेर गर्ने अनुभव हो र हामीले यो अनुभव आफू जीवित आवस्थामा नै गर्न सक्दारहेछौँ । त्यही सदाशिवको अनुभव मैले पनि गर्न पाएँ ।

मैले सदाशिवको अनुभव मिति २०७३/०८/२५ गते शनिबार रातको तीन बजे गर्न पाएँ । त्यो दिन मैले सदाशिवको अनुभव गर्नु अगाडि मामाले पवन श्रेष्ठ(श्रीमान्)लाई अगाडि बोलाएर अनुभव गर्न डोर्याउदै हुनुहुन्थ्यो र मलाई पनि त्यहिं बोलाउनु भयो । मेराे श्रीमानले सदाशिवकाे अनुभव गर्ने बेलामा गर्नुभएको जुन अनुभव र भगवानहरु देखेको कुरा वर्णन गर्दै हुनुहुन्थ्यो, मैले पनि उस्तै अनुभव तेही बेला उहाँ संग-संगै गरेकी थिएँ । उहाँले सदाशिवको अनुभव गरेर भ्याउनुभए पछि त्यतिबेला मामाले मलाई उहाँको जस्तै अनुभव गरेको भएर मेरो पनि पालो आएको रहेछ कि भनेर शिवजीसँग साेधेर मलार्इ डाेर्याउन थाल्नुभयाे र हात जोड्न लगाउनुभयो । जब मैले हात जोडेँ तब मैले अाफुलार्इ जङ्गलको बिचमा देखेँ । म संगसंगै शिवजी पनि साथमा हुनुहुन्थ्यो र उहाँले मलाई आफुसँगै जङ्गलको बाटो हिंडाउनुभयो । जङ्गलको बाटो लामो थियो र हिंड्दा-हिँड्दै त्यो बाटो सकियो । त्यो बाटो सकिंदा त हामीले पृथ्वीलार्इ पर छाडिसकेका रहेछौँ । त्यहाँबाट मैले हाम्रो सौर्य मण्डल (Solar System) देखेँ । त्यसपछि शिवजीले मलाई सौर्य मण्डल पनि पार गराइ दिनुभयो । सौर्य मण्डल पार गरेपछि मैले सम्पूर्ण ब्रह्मज्ञानी भगवानहरु देखेँ र मामालाई यो सबै कुरा वर्णन गरेँ । त्यसपछि शिवजीले मेरो हात समातेर मलाई सबै ब्रह्मज्ञानी भगवान र सम्पूर्ण परिवार, नाता, ईष्ट-मित्र छोड्न सिकाउनु भयो र अगाडि बढ्नुभयो । सबैलाई त्यागेर म शिवजीको हात समातेर अघि बढ्दै गएँ । त्यसपछि उहाँले मलाई मृत्युपछिको ज्ञान दिनुभयो । सोही क्रममा हामी दुवै जनाले पाइला अन्धकारको बाटोमा लम्काइरहेका थियौं । हिँड्दा-हिँड्दै शिवजीले तिमी यहाँबाट मलाई पनि त्यागेर अघि बढ्नुपर्छ भन्नुभएको मात्र के थियो म त छाँगोबाट खसें जस्तो भएं । शिवजीलाई त्याग्नुपर्ने कुरा मैले कल्पना पनि गरेको थिइन । यो कुरा सुन्दा मेरो मनबाट भक्कानो नै फुटेर आयो र मेरो आखाँबाट आँशु  झर्यो । त्यतिबेला शिवजीलाई त्याग्न गाह्रो भइरहेको थियो । उहाँले एउटा बालकलाई आफ्नो अभिभावकले जसरी सम्झाउछ त्यसरी नै सम्झाएर आफ्नो हात मेरो हातबाट छुटाइदिनुभयो र उहाँ मलाई छोडेर बिलाउनुभयो  । म उहाँलाई नदेखेपछि अगाडि बढेँ । अगाडि बढ्दै जाँदा म एक्लो थिएँ तर मलाई शिवजी मेरै साथमा हुनुहुन्थ्यो भन्ने लागिराखेको थियो | अगाडि बढ्दै गर्दा पहिला मेरो खुट्टाबाट मासुको चौटाहरु एक एक गरी खस्न थाल्यो । खस्ने क्रममा दाहिनेबाट खसेको चौटाहरु दाहिनेतिरै र देब्रेबाट खसेको देब्रेतिरै खस्यो । सबै खसीसके पछि मेरो शरीरमा हड्डी मात्र बाँकी रह्यो । त्यसपछि हड्डी पनि झर्यो र टाउकोको खोपडी अण्डा रुपमा बदलियो ।  त्यो अण्डा आकारमा मात्र अण्डा जस्तो थियो तर अण्डाको भित्री पहेंलो भाग  त्यसमा थिएन । त्याे अण्डाकाे बाेक्रा एकदम कमलो थियो ।  त्यसपछि मामाले मलाई त्यो अण्डा फुटाउन प्रयास गर भन्नुभयो । मैले फुटाउन प्रयास गर्दा न ढुंगाले फुट्यो न त चक्कुले काटियो | मैले हरसम्भव प्रयास गर्दा पनि अण्डा फुटाउन असफल भएँ | असफल भएपछि मामाले हामीले फुटाउन सक्दैनौं, शिवजीले मात्र फुटाउन सक्नुहुन्छ भन्नुभयो  । त्यसैले उहाँलाई नै फुटाइदिनुस  भनेर अनुरोध गर भन्नुभयो र मैले शिवजीलाई त्यसै भनेँ । त्यति भनेपछि  शिवजीले अण्डा हातमा लिएर आफ्नो पछाडी फालिदिनुभयो र त्यो अण्डा फुट्यो | त्यो अण्डा फुट्दा सानो आवाज (ट्वाक्क) आएको थियो । त्यसपछि ममा कुनै ‘म’ भन्ने भावना नै थिएन र म नै बिलाएकी थिएँ | त्यसपछि मलाई कसैको मतलब नभएको जस्तै भयो र मलाई एकदम आनन्द महसुस भयो |

यसरी मैले सदाशिव अर्थात कैवल्य मुक्तिको अनुभव गरें र यो अनुभव गर्न पाउँदा एकदम खुसी लाग्यो । मलाई ब्रह्मज्ञान बुझाएर ब्रह्म अनि सदाशिवको अनुभव गर्न र भगवानहरु देख्ने, उहाँहरुसंग दोहोरो कुराकानी गर्न सिकाइदिनु भएकोमा मामा र माइजुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यसैगरी ब्रह्मज्ञानको कक्षामा ल्याएर अनि यो कुरा बुझ्न अति आवश्यक छ भनेर बताईदिनु भएकोमा म मेरो दिदी र मेरो परिवारको सम्पूर्ण सदस्यलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।

 

प्रत्यक्ष सचित्र(भिडियाे)

भाग १

भाग २

This post is also available in: English

Leave a Reply