⇐विषय सूचीमा फर्कन

पाठ ३.१०.६

कर्मेन्द्रिय: तेस्रो नेत्र एक काम गर्ने यन्त्र

(This post is still under editing process)

हामी तेस्रो नेत्रको परिचय र चर्चा गर्दै गर्दै अब अझ गहिराइ तिर जाँदैछौँ । जति गहिराइमा पुग्यो त्यति विश्वास नलाग्ने जस्ता कुराहरु तर्कहरु समावेश भएका हुन्छन् । त्यसैले यहाँ गरिएका कुराहरू बुझ्नका लागि यस किताबलाई पटक पटक दोहोर्याएर पढेर साथसाथै अनुभवहरू पनि थप्दै लाने र गहिरिएर मनन गर्नु आवश्यक पर्नेछ । तेस्रो नेत्र द्वारा असाधारण स्पर्शहरु प्राप्त गर्नु, अदृश्य सन्सार सँग सम्पर्क स्थापनाका हुनु भनेको ज्ञानेन्द्रिय अङ्गका कामहरु हुन् र साथ साथैका तेस्रो नेत्र भनेको ती अदृश्य सन्सारको सम्पर्क अनुसारको काम गर्ने कर्मेन्द्रियका साधनहरू पनि हो । आज सम्मका विज्ञानले देख्दै नदेखेको, छुदै नछोएको, कोट्याउदै नकोट्याएको मानव जातीका समस्या लक्षणहरूका बारेमा वर्णन गरि तेस्रो नेत्रका स्पर्शहरू जस्तै नभएका चित्रहरू आउने,  बोलाएको जस्तो लाग्ने, कानमा सरसल्लाह सुझाबहरू आउने, छालामा छोएको जस्तो लाग्ने, नाकमा अचानक नभएका गन्धहरू आउने, जिब्रोमा स्वादहरू आउने लक्षणहरू त ज्ञानेन्द्रियका स्पर्शहरू मात्र हुन् र तेस्रो नेत्रमा ज्ञानेन्द्रियहरूका स्पर्शहरूले खबर, समाचार, अनुभवहरू दिनुको साथसाथै आफ्नो प्रभाब र कामहरू गरिरहेका छन्, कर्मेन्द्रियका कामहरू गरिरहेका छन् भनेर वर्णन गर्न जाँदै छौँ ।
अदृश्य सँसारसँगको वा लिँग शरीरहरुसँगको सम्पर्कको सुरुको अवस्थाहरुमा ज्ञानेन्द्रियहरुको कार्य भइरहेको हुन्छ र सम्पर्कको अलि पछि पछिको अवस्थामा कर्मेन्द्रियका अङ्गहरुको कार्य पनि जोडिएको हुन्छन् । यो भनेको अर्थ हो तेस्रो नेत्रका अस्वस्थ रुपमा स्पर्शहरु हुनुका पछि पछि गएर ती स्पर्श अनुसार अन्य शरीरका काम गर्ने अङ्गहरुले तेस्रो नेत्र द्वारा प्राप्त सम्पर्कका समाचार अनुसार कार्यहरु गर्न थाल्दछन् वा अँगहरु सँचालित हुन पुग्दछन् । यसरी कर्मेन्द्रियका कार्य थपिन आइ पुग्दा मानिसको अदृश्य सन्सारसँगको सम्बन्ध अलि बढी नजिक पुगि सकेको हुन्छ । जस्तै कि सपनामा देखिएको चित्र अनुसार कराउने, बोल्ने, हिड्ने गर्नसक्दछन् । कहिले कहिले आँखा अगाडि आएका चित्रहरु साँचैको जस्तो लागेर त्यस चित्रका पात्र सँग कुराकानी, मित्रता वा झगडा गरिरहेको हुनसक्दछन्, कानमा आवाज सुनेर त्यसै आवाज अनुसारको कार्य गर्नु जस्तै बोलाएको सुनेर पछाडि फर्केर हेर्नु, वा बोलाएको सुनेर घरबाहिर निस्केर हेर्नु वा कानमा बोलेर सरसल्लाह आदिहरु आउने त्यसै कानमा आएको सरसल्लाह अनुसार कामहरू गर्ने गरिराखेका हुन्छन् । यसरी कर्मेन्द्रियका अङ्गहरूका सँचालन गर्न ती अन्य लिङ्ग शरीरहरू नजिक आएको हुन्छन् र स्थुल शरीरको आफ्नो लिङ्ग शरीर जहाँ बस्छ त्यही निर आई आफ्नो लिङ्ग शरीरले जस्तै स्थुल शरीरका अङ्गहरू चलाउन सकेका हुन्छन् । यसो भनेको साइकल चलाइराखेकाहरूका आडमा गएर झुण्डिएर चढेर अझ साइकलको ह्याण्डल पनि चलाइदिए जस्तै हो । यसरी आफ्नो शरीरमा अन्य लिङ्ग शरीरहरू आएर सँचालन गरेका वेलामा शरीरका अङ्गहरूका काम गर्ने तरिका, सोचाइ तरिका, चाहना, व्यवहारहरू परिवर्तन भएका हुन्छन् जस्तै आफ्नो खानाको परिकारहरू परिवर्तन हुनु, सँधै खाने गरेको खानेकुराहरू खान मन नलाग्नु तर सँधै नखाने गरेका कुराहरू खान मन लाग्नु, कपडा लगाइ पहिरन अचानक परिवर्तन भएका हुन्छन्, मान्छेहरूसँगका व्यवहारहरू अचानक परिवर्तन आएको हुन्छन्, सँधै माया गर्नेलाई माया गर्न मन नलाग्ने र माया नगर्नेलाई माया गर्न मन लाग्ने हुन्छन् या यस्तै खालका अन्य विभिन्न लक्षणहरु हुन सक्दछन् । नियालेर हेर्न जानेमा त्यस अदृश्य सन्सारसँगको सम्पर्कको स्पष्ट लक्षणहरु आउन थालेको हुन्छ । यस विषयमा राम्रो ज्ञान भएकाहरूले थाहा पाउन सक्दछन् कि कस्तो व्यक्तित्व सँग सम्पर्क भएको छ र त्यस सम्पर्क गर्न आउने व्यक्तित्वले जस्तो व्यवहार गर्दथ्यो हो त्यस्तै व्यवहारहरु अन्य लिङ्ग शरीरहरूका सम्पर्कमा आएका विरामीहरुले गर्दछन् । अझ स्पष्ठ गरेर भनम् जस्तै कसैको श्रीमान मरेको रहेछ र त्यो मरेको श्रीमान आएर कुनै व्यक्तिमा प्रवेश गरेको छ भने त्यस पिडित व्यक्तीले त्यो मरेको मान्छेको श्रीमतीलाई आफ्नै श्रीमतीको जस्तै व्यवहार माया गर्न मन लाग्दछ, त्यो मरेको मान्छेको छोरा छोरीलाई आफ्नै छोरा छोरीलाई जस्तै व्यवहार माया गर्न मन लाग्दछ या त्यो मरेको मान्छेको कसै सँग मनमुटाब थियो भने त्यो मरेको मान्छे प्रवेश भएको मान्छेले त्यस मनमुटाब भएको मान्छेलाई अगाडि देख्दा मुन्टो उता फर्काउछ ।

तेस्रो नेत्रको स्पर्शमा कर्मेन्द्रियका लक्षणहरू जस्तै निन्द्रामा तर्सने, झस्कने, बोल्ने, कराउने,  रूने, चिच्याउने, दिनमा पनि डर लाग्ने, विना कारण रून मन लाग्ने, मन दुख्ने, झगडा गर्ने, काम्ने या यस्तै खालका अन्य लक्षणहरू कर्मेन्द्रियका लक्षणहरू हुन् । तेस्रो नेत्रमा कर्मेन्द्रियका लक्षणहरू समावेश हुँदै आउन थालेको कारण मानिसले ज्ञानेन्द्रियका स्पर्शहरुका कुरा नबुझ्दा अन्य लिङ्ग शरीरहरू अझ बढी नजिकबाट सम्पर्क गर्न आएको हो । नेपालीमा उखान छ “ बातले नमाने लातले ” भनेको यही भएको हो  ।
तेस्रो नेत्रको अस्वस्थ अवस्थामा वर्णन गरिएका झस्कने, कराउने, सपनामा बोल्नेहरु यिनै कर्मेन्द्रियका लक्षणहरु हुन् । मानिस बिरामी अवस्थामा आएको थाहा पाएर हारगुहार गर्नु, आफन्तहरुले औषधी उपचार गर्न खोज्नु भनेको अझ यो त्यस तेस्रो नेत्रको कर्मेन्द्रियको अस्वस्थ अवस्थाको लक्षणहरु स्पष्ट देखिन थालेको भएर विरामीले पनि आफुमा कठिनाइ असुविधा अनुभव गर्न थालेको अवस्था र विरामीमा आफन्तहरूले पनि कर्मेद्रियका लक्षणहरू देख्ने भएकोले विरामीमा अस्वभाविक लक्षणहरू देखेको भएर बल्ल हारगुहार गर्न थालेको स्थिति हो । सम्पर्कका सुरु सुरुका अवस्थामा ज्ञानेन्द्रियहरूका अङ्गहरूमात्र प्रभावित भएका हुन्छन् र विरामीमा केहि स्वभावमा परिवर्तनहरू आएका भए पनि उस्का काम दिन चर्यामा धेरै प्रतिकुल असर नपरेको हुन सक्दछन् र यस्ता अलि अलि मात्र आएका प्रभावमा विरामीले धेरै वास्ता नगरेको हुन सक्दछ, आफ्ना समस्याहरुका बारेमा कसैलाइ नभनेको, परिवारका अन्य आफन्तहरूलाई नभनेको हुन सक्दछ र कुनै हारगुहार, समाधान, उपचारका विधिहरू नगरिकनै समय वितिरहेको हुन सक्दछ । यस्ता सुरूका अवस्थामा पनि अलि अलि थाहै नभएर कर्मेन्द्रियहरु प्रयोग भइरहेका हुन्छन् । अलि पछिका अवस्थामा ज्ञानेन्द्रियका अङ्गहरू साथै विस्तारै विस्तारै कर्मेन्द्रियका अङ्गहरू प्रभावित हुँदै समावेश भइरहेका हुन्छन् । सुरूसुरूमा मानिसहरुको केही शारीरिक वा मानसिक स्तर परिवर्तन भएर नराम्रा कामहरु गर्न सुरु गरिसक्दा पनि थाहा भएको हुँदैन र यसरी  शारीरिक वा मानसिक स्तर परिवर्तन भएर मानिसका काममा अलि बाधा पर्न थाल्नु भनेको जस्तै कामहरू भुल्ने, एक ठाउँमा जान्छु भनेको अन्तै पुगिने, कुनै सामान कहाँ राखेँ भनेर यादै नआउने, कुनै पनि काम ध्यान लगाएर गर्न मन नलाग्ने, हिसाब र मननहरू जस्ता कामहरू गर्नै नसक्ने वा गर्न थाल्दा थकाइ लागेर आउने हुन्छन्, सानो सानो कुरामा झगडा गर्ने रिसाउने, रिसाएको थाहा नपाउने हुन्छन् तर यी कुराहरू आफ्नै कारणले होला, अन्य मानिसका कारणले होला वा अन्य भौतिक कारणले होला भनेर अरू चिजमा दोष लगाइरहेका हुन्छन् । तर यस्ता प्रभावका दिनहरू वित्दै जाँदा सम्पर्कहरू झन् गहिरिदै ती लिङ्ग शरीरहरू झन् झन् नजिकिदै आएका हुन्छन् र मानिसमा शारीरिक र मानसिक असन्तुलनहरु देखिन आइ साधारण अवस्थामा गर्ने गरेको भन्दा भिन्नै खालको काम गर्न सुरु गरिसकेको हुन्छ । अलि पछि पछिको समयमा स्वभावमा आएका परिवर्तनका अनुभवहरू अलि अव्यवहारिक भएर कहिले कहिले आफैलाई पनि थाहा भएको हुन्छ र नजिकमा भएका अरूहरूलाई पनि थाहा अडकल भएको हुन्छन् । कुनै अगाडि नभएका मान्छेहरूसँग कुराकानी गरिरहने, एक्लै कुराकानी गर्दै हिड्ने, कुनै चिज बाहिर लगेर फ्याकिदिने, किन फ्याकेको भन्दा मलाई फ्याकि दे घरमा राख्न हुन्न भनेको छ भनेर भन्ने, पुजाआजा गर भनेको छ भनेर पुजाआजा गर्ने, चोखो बस भनेको छ भनेर चोखो बस्ने, चोखो खाने, हिड डुल गर्दा अरू मान्छेको जस्तो शरीरको वनावट आउने जस्तै अचानक कुप्रो परेर हिड्ने र अरू मान्छेको जस्तो आवाज स्वरमा बोल्ने, आफ्नो नाम अर्कै भन्ने, अझ नजिक बाटै भन्दा पितृहरू, प्रेतहरु, बोक्सीको नाम र आवाज, स्वरमा बोल्ने, पितृहरूको नै व्यक्तित्व गरेर बोल्ने, झगडा गर्ने, अर्ति उपदेशहरू दिने, आशिर्वादहरू दिने, खबर भनिदिने, भविष्यवाणीहरू गरिदिने, पछि हुने कुराहरू भनिदिने, अरूलाई थाहा नभएका कुराहरू भनिदिने यस्तै यस्तै गर्दछन् । ती अन्य लिङ्ग शरीरहरू पटक पटक आउने, अन्य थुप्रै लिङ्ग शरीरहरू आएका हुने, पालैपालो आउने भएकाले हरेक समय तिनीहरूकै सम्पर्कमा भएका हुन्छन्, तिनै लिङ्ग शरीरहरूले आफुले चाहेका जस्ता व्यवहार गर्न लगाइरहेका हुन्छन् । यस विषयमा राम्रो ज्ञान भएका सिपालु, अनुभवी, राम्रोसँग बुझेको मानिसले वा सम्बन्धित विषयका डाक्टरहरुले धेरैदिन सम्म लगाएर बिरामीको व्यवहारहरुलाई नियालेर हेर्न खोजेमा त्यस व्यक्तिमा दुइवटा व्यक्तित्व भएको थाहा पाउन सक्दछन् । ती दुइटा व्यक्तित्वहरु एक आपसमा फरक चरित्रका हुन्छन् । नयाँ चरित्र त्यस व्यक्तिको आफ्नो चरित्र, कहिले कहीँ अनुहार, कपडाको फेसन, कुराकानी गर्ने तरिका, हिडाइ तरिका, चेतनाको स्तर सँग नमिल्ने खालका, उमेरका स्तर सँग मेल नखाने, पारिवारिक तथा सामाजीक कार्य र मर्यादा सँग मेल नखाने फरक खालका व्यवहारहरू गरेका हुन्छन् । कहिले कहीँ आफुमा आएको नयाँ चरित्रको आभास त्यस व्यक्तिले पनि पाएको हुन्छ तर त्यस व्यक्तिले आफुमा आएको त्यस नयाँ व्यक्तित्वको कार्यलाई रोक्न सकेको हुँदैन् वा सुरूमा घटना भइरहदा थाहा नभएर घटना सिध्दिने वित्तिकै वा केही बेर पछि फरक चरित्रको बारेमा थाहा पाएको हुन सक्दछ । कहिले कहीँ नया व्यक्तित्व र पुरानो व्यक्तित्वसँग सँगै मिसिएर आइरहेको हुनसक्दछ । कहिले त्यस नयाँ व्यक्तित्व आएर काम गर्न थालेको थाहा पाउन सकिरहेको हुँदैन र पुरा त्यस नयाँ व्यक्तित्वको भ्रममा परेको हुन्छ । यो खतरनाक अवस्था हो । यसै अवस्थामा आएको बेलामा मानिसले विभिन्न कामहरु गर्दा पनि केही थाहा नपाउने गरेको हुन्छ, अरूलाई गाली गर्ने, विभिन्न झगडाहरु गर्ने, आफै मर्ने प्रयास गर्ने, अरुलाई मार्ने प्रयास गर्ने गर्न सक्दछन् । समाजमा मानिसहरूले होसमा नभएको बेलामा मर्ने, मार्ने गरेको भन्ने घटनाहरु यी नै अवस्थाहरूका उदाहरणहरु हुन् । यसरी आफ्नो भन्दा फरक, अरू मानिसको जस्तो स्वभावहरू आफुमा आएको अनुभवहरू गर्दा कोहि मानिसहरू डराउछन् र यस्तो स्वभाव नआओस भनेर बच्न खोजेका हुन्छन् । यसरी यस्ता तरिकाले आफ्नो भन्दा अरूको स्वभावहरू आएको मन नपर्नेहरूका यस्ता लक्षणहरू पछि कुनै दिन आफै हराउन पनि सक्दछन्, कम भएका हुन्छन् वा पछि फेरि कहिल्यै अनुभव नगरेका पनि हुन सक्दछन् । तर कोहि कोहि मानिसहरूमा यस्ता खालका अर्कै स्वभावहरू आउँदा झन् त्यस नयाँ स्वभावमा बहकिएर त्यस्तै गर्न खोज्ने, त्यसै अरूको स्वभावहरू आएको वेला झगडाहरू गर्न मन लाग्दा झन् उक्सिएर झगडाहरू गर्नेहरूका यस्ता लक्षणहरू झन् झन् थपिदै गएका हुन्छन् । खास गरेर रिसराग गर्ने, झगडा गर्न मन पराउने, अरूको इर्स्या गर्ने, अरूको कुरा काटेर थपेर बोल्न मन लाग्ने, अरूको काम बिगार्दिन मन लाग्ने स्वभावका मानिसहरूमा यस्ता लक्षणहरू थपिदै जान्छन् ।

यसरी अरुको शरीरमा आएर प्रवेश गर्नेहरु, अरुको शरीरमा आएर अरुको शरीरको अङ्गहरू चलाएर काम गर्नेहरु अरु लिँग शरीरहरु हुन् । यो कसरी सम्भव होला त भनेर एक छिन विश्लेषण गरौँ ।
यस भन्दा अगाडिका पाठहरूमा स्थुल शरीरको अध्ययनबाट शरीरहरुमा भएको विभिन्न नसाहरुका जालो मार्फत सँचार पुर्याएर हरेक ग्रन्थिहरुलाई सँचालन गर्दछ भनेर थाहा छ । त्यस स्थुल शरीरलाई लिँग शरीरले सँचालन गर्दछ । लिँग शरीरले आत्माको उर्जा र चेतनाको प्रयोग गरेर स्थुल शरीरको सँचालन गर्दछ भनेर अगाडिका पाठहरुमा वर्णन गरियो । तर लिँग शरीरले स्थुल शरीरमा कसरी सम्पर्क गर्न सफल भयो, कुन तारले जोडेको हुन्छ अथवा कुन केमिकल बोण्डले ति सम्बन्धहरु स्थापना भएका हुन्छन् भन्ने कुरा मलाइ पनि थाहा छैन किनकि मैलै यस्ता कुराहरुको वयान कतै पनि उल्लेख गरिएको भेट्न सकिन । तर धेरै दिनदेखिको अध्ययन र यस्तै तर्कहरुको सँकलनहरु हुन जाँदा जाँदा केही आफुलाई हो कि जस्तो लागेको तर्क भन्न मन लागेको छ । यो स्थुल शरीर र लिँग शरीरको बिचमा कुनै पनि बलियो तारले बाँधेको र फुकाउन पनि तारलाई घुमाएर वा तारलाई काटेर छुटाउनु पर्ने खालका सम्बन्धहरु छैनन् । स्थुल शरीर भनेको लिँग शरीरको चेतना र चाहनाको प्राप्तिको लागी ग्रहण गरिएको भौतिक तत्वका अङ्गहरुको सँगठन हो । लिँग शरीरको चाहना भनेको उसको आवरणहरु मात्र हुन् । यी आवरणहरु भनेको यी नै आनन्द, बुद्धि, मन, चेतनाका अङ्गहरु, र अन्नमय कोश, बाहिरको आवरणमा टाँसिएको प्रयोग गरिएका सामाग्रीहरुको चेतनाको छाप मात्र हो । चेतना भनेको पनि कुनै सुन्य बस्तु अवश्य होइन । यस्को लागी पनि केही बिषय अवश्य चाहिन्छ होला । अर्को बुझ्ने भाषामा भन्ने हो ती चेतनाका बिषयहरु भनेको लिँग शरीरमा उत्पन्न भएको चाहना, इच्छा, क्रोध, माया, ममता, लोभहरु हुन् । यी नै चाहना, इच्छा, क्रोध, माया, ममता, लोभ बिषयहरुको माध्यमबाट यी दुबै शरीरहरुको बिचमा सम्पर्क भएको हुनु पर्दछ । मेरो विचारमा स्थुल शरीर र लिँग शरीरको यी दुइ शरीरको बिचको सम्बन्ध नजिकताको भावनाको आधारमा मात्र कायम छ । यदि कुनै अन्य लिँग शरीरमा पनि त्यस्तै खालका नजिकताको भावनाहरु र लोभ, स्वार्थ, गरिने कार्य र भाेग चलन, चाहनाहरूमा समानता छन् भने त्यसैको आधारमा ती अन्य लिँग शरीरहरुले अर्काको स्थुल शरीर वा अर्काको लिँग शरीरलाई सम्पर्क गरि भोग गर्न सफल भएको हुनुपर्दछ । त्यस्ता नजिकका चाहना, इच्छा, क्रोध, माया, ममता, लोभहरुका भावनाहरु भएकाहरु भनेको मानिसका आफ्ना नजिकका पितृहरु, मरिसकेका नजिकका घनिष्ट मित्रहरु, नजिकका नाताका पितृहरु हुन सक्दछन् । त्यस्तै खालका भावना, स्वार्थ मिल्नेहरु अरु टाढाका मानिसहरु वा लिँग शरीरहरु हुन सक्दैनन् । त्यसैले मानिसहरुमा अरुको लिँग शरीरको प्रवेश भएको उदाहरणहरुमा यी नै पितृहरु, नजिकका साथीहरु, घरमा परिवारकमा मान्ने गरेका देवीदेवताहरू, नजिकका छर छिमेकमा मानिने गरेका देवीदेवताहरू वा कुनै न कुनै कारणले सम्बन्धित भएकाहरू मात्र हुन सक्दछन् । त्यस भन्दा पनि अलि टाढाका लिङ्ग शरीरहरू, अलि टाढाका नाताहरुका पितृहरू, प्रेतहरूको प्रवेश हुनलाई त्यस्तै भावना राखेका एउटै उमेरकाहरु, एउटै काम कार्यहरु गर्ने गरेकाहरु, तिनीहरुले एक आपसमा नचिने पनि एउटै समान विचार राख्नेहरु हुन सक्दछन् । जस्तै कसैले सँगीत सिकिरहेको छ भने त्यस्तै विचार भएका कला, क्षमता भएका अन्य लिँग शरीरहरुले सम्पर्क गरिकेही अर्ती उपदेश दिन खोजेका हुन सक्दछन् । विभिन्न विज्ञानका खोजिगरिरहेका वैज्ञानिकहरुलाई त्यस्तै विचार भएका अन्य लिँग शरीरहरुले सम्पर्क गरि अर्ती, सल्लाह, जुक्तिहरु दिन सक्दछन् । धर्म सँस्कारका ज्ञानका कुराहरु सिक्न चाहना भएकाहरुलाई त्यस्तै विचार भएका अन्य गुरू लिँग शरीरहरुले सम्पर्क गरि सहयोग पुर्याइरहेका हुन्छन् । यी कुराका प्रमाणहरु स्पष्ट रुपमा बयान नगरिएको भए पनि यस्ता उदाहरणहरु थुप्रैछन् । राती सपनामा देखेको, सुनेको गीतहरु बिउँझिएर लेखेर पछि प्रसिद्ध भएका उदाहरण छन् । कति प्रसिद्ध सँगीतकारहरु, सँगीत कम्पोजिटरहरु यस्तै अनुभवहरु सुनाउछन् ।

तर चिन्दै नचिनेको कुनै पनि सम्बन्ध नभएको, परिचय नभएको, सुन्दै नसुनेको, कुनै लेन देन नभएकाहरू आउने सम्भावनाहरू कम हुन्छन् । तर परिवारका सदस्यहरू, आमा बुबाहरू, हजुरबुबा हजुरआमाहरू, दिदिबहिनीहरू, दाजुभाइहरू, साथीभाईहरू, गुरूहरू, गाउँलेहरू, एकै थरका , एकै जातका, आफ्ना देशका, एकै धर्म सँस्कारका, भ्रमणका वेलामा सम्पर्क भएका, चर्चाहरू गरिएका, उनीहरूका बारेमा पढिएका, उनीहरूका बारेमा सुनिएका, ती मरेकाहरूका बारेमा माया देखाएका, नजिकता देखाएका,  कठै भनेका,  प्रसम्शा गरेका, तिनीहरूलाई गुरू नेता मानेका यस्तै कुराहरूलाई पनि सम्बन्धित मानेर सम्बन्ध भएका हुन्छन् । यस सम्बन्धहरू हुनुमा अदृस्य संसारका बारेमा चियो चर्चा खोजी गर्नेहरुमा बढि सम्पर्क भएका हुन्छन् भने वास्तै नगर्ने नजिकै भएकाहरुलाई भने सम्पर्क गर्न सक्दैनन् । घरमा बसेर घाटको कुरा गर्न डराउनेहरुलाई झन् सम्पर्क भएर कष्ट भएको हुन्छ भने घाटमा नजिकै बसेर बालुवा गिटी चालेर जम्मा गरेर बेच्रेहरूलाई ती घाटमा भएका अदृस्यहरूले केहि गर्न सकेका हुँदैनन् । किन कि घरमा बसेर मरेका पितृहरूलाई सम्झदै रूँदै गरेकाहरूकोमा जहाँ भए पनि भावनाको आधारमा आएका हुन्छन् र छुन सक्दछन् भने घाटमा बसेर बालुवा चालेर बस्नेहरूले छेउमा को मरेर जलाउन ल्यायो आज कस्को बाउ मरेर को टुहुरो भयो बिचरा भन्ने गरेको हुँदैन । उ त दिन भरिको प्लान अनुसार बालुवा चालेर आफ्नो भनेको जस्तो मुल्य पाउँला भनेर सोचेको हुन्छ । बालुवा चाल्ने वेलामा मान्छेको हड्डी नै अगाडि आए पनि यसो तर्काएर हतार हतार आफ्नो काम सिध्याउन तल्लिन हुन्छ । हो त्यस्तालाई कसैले छुन नसक्दा रहेछन् । बाउ मरेर रूने, सानो फोटो ठुलो बनाएर कोठामा टास्ने, भरसक हरेक दिन खाना खानु भन्दा अगाडि बाउलाई चढाएर खानेहरूलाई पितृले सम्पर्क गर्न सक्दा रहेछन् भने बाउ मरे पछि दाजुभाईहरु बाउ मरेको पिरमा भन्दा दाजुभाईका अँशबण्डामा कस्लाई कति पर्यो कतै आफुलाई थोरै पो पर्ने हो कि भनेर चिन्ता गर्ने भरसक बाउको सम्पत्तिका लागि दाजुभाई बाउले कमाएर छोडेको बारिमा गएर नारी मिच्दै लड्न भ्याएकाहरूकोमा छोराहरू एक आपसमा लडेका देखेर पितृ छेउमै आएका भए पनि त्यस्ता छोराहरूलाई कुनै पितृले छुन सक्दैन रहेछन् । यस्ता कुराहरू गरेर मैले संस्कार सिकाउन खोजेको होइनकि कस्ता कस्ता मानिसहरूमा सम्पर्क हुन सक्दछन भनेर उदाहरणहरू भनेको हुँ ।

विभिन्न धर्म शास्त्रहरुमा सिधा अर्थ नलगाइएको भएपनि बाँङ्गो तरिकाले यि कुराहरुको चर्चा गरिएको छ । मानिसको आन्तरिक सुख र मृत्यु पछिको मुक्तिको लागी आफ्ना सबै चाहना, काम, क्रोध, लोभ, मोहको त्याग गरेकोहुनु पर्दछ भनेको छ । भन्नुको मतलव हो यस्ता भावनानै साँसारिक सम्बन्ध, बन्धन र दुःखका कारण होलान् ।

यसरी एउटै समान भावना राख्ने मानिस र अन्य लिँगशरीरहरुको बिचमा सम्पर्क हुन जाँदा मानिसको शारीरिक रुपमा धेरै कष्ट वा अन्य कमजोरीहरु नदेखिन सक्दछन् । तर आफ्नो शरीरमा त्यसरी अन्य लिँगशरीरहरूको प्रवेश हुने गरेपछि त्यस खुला हुन गएको द्वारबाट अन्य समान बिचार समान भावना नराख्नेहरु पनि प्रवेश गर्नसक्दछन् । जति जति टाढाका लिँग शरीरको प्रवेश, भिन्न भावना भएका लिँग शरीरहरुको प्रवेश हुन थाल्दछ, त्यहा एक आपसमा भावनाहरु भिन्न भिन्न आउन थाल्दछन् र स्थुल शरीरको कार्यमा बाधा पर्न जाँदा शारीरिक, मानसिक कष्टहरु देखिनुका साथै अलि अर्को व्यक्तित्व देखिन आएको हुनु र्पछ । नत्र नजिकका पितृहरु, साथीहरुको प्रवेश भएको अवस्थामा बिरामीले कुनै अडकल काट्न सकेको हुँदैन । यस्ता नजिकका अन्य लिँग शरीरसँगको सम्पर्कको अवस्था बषौँ, दसौँ बिसौँ बर्ष लुकेको अवस्थामा रहेका हुन सक्दछन् ।

यस्ता समस्याले बढी जस्तो धन सम्पत्ति प्रसस्त भएका तर अज्ञानी भएर सन्तोष नभएर अरुको सम्पत्तिमा लोभ गर्ने गरेका, मायाको अर्थ नबुझेर आवश्यक भन्दा बढी माया गर्ने गरेकाहरुमा यस्ता समस्या आएका हुन्छन् , जस्ले मरेका आफन्तहरुलाई मायाको भावना देखाएर पटक पटक सम्झने, रुने गर्दछन्, जस्ले मरेका मानिसहरुको बढी चर्चा गर्दछन्, प्रशँसा गर्दछन्, उनीहरु सँग भावनात्मक रुपमा कुराकानी गर्ने, खानेकुराहरु चढाएर खाने, कपडाहरु चढाएर लगाउने, मरेका मानिसहरुको सामानहरु प्रयोग गर्ने वा अन्य यस्तै नजिकका भावनाका कार्यहरु गर्ने गर्दछन् तिनीहरुमा मात्र अन्यलिँग शरीरहरुको प्रवेश हुने सम्भावना हुन्छन् । यदि कुनै मानिसले मरेका मानिसहरुको सामाग्रीहरु प्रयोग गरेता पनि भावनाले कुनै नजिकता देखाउदैन वा चिनेको छैन भने त्यस्ता मानिसहरुलाई ति लिँग शरीरहरुले सम्पर्क गर्नसक्दैनन् । मानिसहरु चाहे मसानघाटका नजिक, चिहानको नजिक, गिर्जाघरको नजिक वा अन्य स्थान जहाँ मरेका मानिसहरुलाई अन्तिम बिदाइ गर्ने गरिन्छ त्यस्ता ठाउँहरुमा बस्ने, हिँड डुल गर्ने, घर बनाउने गरे पनि तिनीहरुमा कुनै सम्पर्कका प्रभावहरु नदेखिन सक्दछ यदि ती मानिसहरुमा कुनै भावनात्मक सम्पर्कका भावनाहरु आएका छैनन् भने । त्यसैले यो कुरा स्पष्ट बुझ्नु पर्दछ कि कुनै पनि अदृस्य चिजहरूबाट सम्पर्क कष्टहरू भएका छन् त्यहा सामानहरुको वा ठाउँहरुको कुनै दोष होइन । केवल ती मानिसहरुको बिचको भावनात्मक सम्बन्धको कारण यी सम्पर्कहरु हुनगएका हुन्छन् ।
एक जनाको दुःख वा सुखको अनुभव अर्कोमा पनि हुन सक्दछ वा एकजनाको चाहना अर्कोले अनुभव गर्दछ भन्ने कुराको अनुभवहरू जीवित मानिसहरूमा पनि प्रेमी जोडीहरुले तथा अन्य मिलेर बसेका परिवारमा सदस्यहरू वा साथीहरूले अनुभव गरिरहेका हुन्छन् । दुइ प्रेमीहरुको सम्बन्धमा एउटाको लिँग शरीरले अर्काको स्थुल शरीरको वा अर्काको लिँग शरीरको सँचालन र भोग गरेको हुन्छ । त्यसै गरि अन्य नजिकका प्रेमीहरु जस्तै आमा र बच्चाहरुमा त्यस्ता खालका सम्बन्धहरु भएका हुन्छन् । एउटाको भाव चाहना पुरा गर्न अर्कोले काम गरिरहेको हुन्, एउटाले खाना खाँदा अर्को खुसि आनन्दित भइरहेको हुन्छ । किन कि एउटाको लिङ्ग शरीरले अर्काको लिङ्ग शरीरको कार्यमा सहभागिता र भोगमा सहभागिता भएको हुन्छ र आनन्दित भएको  हुन्छ । एउटा मान्छेले अर्को मान्छेसँग जुनसुकै खालका सम्बन्ध राखेको भएपनि त्यो सम्बन्ध लिङ्ग शरीरको चेतनाबाट प्रेरित भएरमात्र गरिएका हुन् । त्यसरी हाम्रो चेतनामा अन्य लिङ्ग शरीरको प्रभावहरू जीवितहरूका लिङ्ग शरीरबाट पनि भइरहेको हुन्छ ।

यसरी तेस्रो नेत्रको सम्पर्कलाई गहिराईमा अध्ययन गरेर त्यस तेस्रो नेत्रको सम्पर्कलाई  यस किताबमा ज्ञानेन्द्रिय र कर्मेन्द्रियमा विभाजन गरिएको छ किन कि त्यस तेस्रो नेत्रको सम्पर्कलाई बुझेर त्यसबाट प्राप्त भएका समस्याबाट उम्कनु छ र त्यसका उपलब्धिहरूलाई जीवनमा साधनका रूपमा उपयोगमा ल्याउनु छ ।

समग्रमा मानिसको तेस्रो नेत्रको सम्पर्कमा अन्य लिङ्ग शरीरले बोलाएको सुन्नु ज्ञानेन्द्रियको अङ्गको काम कार्य हो । त्यस बोलाएको आवाज सुनेर बाहिर निस्केर हेर्ने कर्मेन्द्रियका अङ्रगहरूका कार्यहरू हुन् । किनभने यस सुन्ने काममा ज्ञानेन्द्रिय अङ्ग कानको प्रयोग भएको हुन्छ बोलाएको सुनेर बाहिर निस्कनुमा अन्य अङ्गहरू खुट्टाहरूको प्रयोग भएको हुन्छ । त्यसै गरि तेस्रो नेत्र गहिराइमा पुगेर अनुभव गरेकाहरूले दुबै तर्फ सम्पर्क राख्न सक्ने भएका हुन्छन् । जस्तै तेस्रो नेत्रको क्षमता द्वारा अन्य लिङ्ग शरीरहरूलाई देख्नु ज्ञानेन्द्रियका अङ्गहरूका कार्यहरू हुन् भने ती अन्य लिङ्ग शरीरहरू सँग बोल्न सक्ने भएर तिनीहरूलाई सम्झाउनु वा जाउ, यता नआउ भनेर भन्ने थर्काउने, गाली गर्ने र गाली गर्दा ती लिङ्ग शरीरहरू रिसाएर जाने, डराएर भाग्ने भनेको कर्मेन्द्रियका अङ्गहरूका कार्यहरू हुन् ।

कर्मेन्द्रियका कार्यहरू दुबै तर्फबाट भएका हुन्छन् । सुरूको अवस्थामा जीवित मानिसको शरिरमा अन्य लिङ्ग शरीरले चलाउने या प्रभाव पार्ने गरेको हुँदो रहेछ भने पछि ब्रह्मज्ञानको तेस्रो नेत्रको सहि ज्ञान पाए जीवित मानिसद्वारा अन्य लिङ्ग शरीरलाई चलाउने वा प्रभाव पार्ने गरेको हुन्छ ।

तेस्रो नेत्रको कर्मेन्द्रियका अवस्थालाई तिन भागमा विभाजन गरिएकोछ 

१. तेस्रो नेत्रका कर्मेन्द्रियका निष्कृय कार्य अवस्था:- यस अवस्थामा तेस्रो नेत्रका स्पर्शहरू भएर पनि, सपनाहरु देखिए पनि स्पष्ठ रूपमा कर्मेन्द्रियका अङ्गहरूले कार्य गरेको थाहा हुँदैन तर थाहा नपाउने गरेर कर्मेन्द्रियका अङ्गहरूले कार्यहरु गरिराखेका हुँदा रहेछन् । कसैले कुनै खबर भन्न खोजेको देखाउन खोजेको डोर्याउन खोजेकाे भइरहेको हुँदो रहेछ । जस्तै कहिले कहीँ अचानक देखिएका चित्र, सामान वा भेटिएका मानिसलाई सपनामा नै देखिसकेका हुन्छौँ । विना कुनै पुर्ब तयारी कुनै ठाउँमा पुग्दा त्यहाँ देखिएका घटनाहरु आफुले पहिले सपनामा देखिसकेको थियो या त्यसै दिन राती सपनामा देखेको थियो । यी सबै निष्कृय अवस्थाको तेस्रो नेत्रको सम्पर्क र कार्यहरु हुन् । मानिसलाइ पहिला सपनामा खबर दिएर पछि दिनमा उसलाइ अर्कै सन्दर्भमा पारेर त्यस सपनामा देखिएको ठाउँमा, घटनामा पुर्याएको हुन्छ, सपनामा देखिएका मान्छे कहाँ पुर्याएको हुन्छ । मानिसले आफ्नो जीवनमा देवीदेवता भगवानहरूको पूर्ण विस्वास नगर्दै पनि अलिअलि विस्वासमा भगवान, देवीदेवताहरू भन्दै केहि कुराहरू सोध्ने माग्ने गरेका हुन्थे । सबैका कुरा पुरा भएका हुँदैनन् त्यो त सबैलाइ थाहा भएकै कुरा हो तर कहिले कहिले मानिसले मागेका कुराहरू विपनामा सफल हुने, समाधानका बाटाहरू अचानक खुलेर आउथे, त्यस्लाई चाहिने खबरहरू कता कताबाट जुट्थ्यो पछि बुझ्दै जाँदा थाहा हुन आउछ कि त्यस भेटघाट, यात्राले दिएको खबरहरु सपनामा सम्पर्क गर्न आएका वा आफ्ना कुनै नजिकका पितृ तथा देवीदेवताहरूले डोर्याएर पुर्याएका रहेछन् । यी सबै तेस्रो नेत्रका कर्मेन्द्रियका निष्कृय कार्य अवस्थाका कार्यहरु हुन् । यदि कसैलाई त्यस्तो अनुभव भएको छैन भने दुःख मान्नु पर्दैन । उ स्वस्थ छ रहेछ । मानिस त्यही स्वस्थ स्थितिमा रहन सक्नु राम्रो हो । अदृश्य सन्सारका बारेमा चर्चा, केही अभ्यास गर्न भ्याएकाहरुमा मात्र त्यस्ता अस्वस्थ लक्षणहरु हुन्छन् भनेर पहिलाका पाठमा वर्णन भइ सकेको छ । यस कुराहरू विस्वास नलाग्ने जस्ता भए पनि यो पाठ पढ्ने वित्तिकै हो मलाई पनि यस्तै भएको थियो भन्ने मान्छेहरू पिडितहरू थुप्रै भेटिनेछन् । यस् कुराहरू त मानिसमा फैलिएरै बसेको छ, कुरा बुझाइदिने मान्छे र ज्ञान नभएकाले कसैलाई थाहा नभएको मात्र हो ।

२. तेस्रो नेत्रका कर्मेन्द्रियका अस्वस्थ कार्यको अवस्था:- यो दुइ भागमा विभाजन गरिएको छ ।

क. तेस्रो नेत्रका कर्मेन्द्रियका अस्वस्थ कार्य अवस्थाको सुरुको तयारी गर्ने अवस्था  (Preparatory Conditions)

यस अवस्थामा तेस्रो नेत्रका ज्ञानेन्द्रियका स्पर्शका सबै लक्षणहरु सँग सँगै झस्कने, चिच्याउने, रुने, बेहोसमा बोल्ने, इत्यादि हुन्छन् । यस स्थितिमा अरुको लिँग शरीरको प्रभाव आफ्नो लिँग शरीरमा बढेको हुन्छ । रातमा अ‍ैठन आउने भन्ने गाउँ घरमा चलन हुन्छ । यो भनेको रातमा सपनामा जीउ अचानक चलाउन नसक्ने, दुख्ने, हारगुहार गरेको जस्तो लाग्ने तर कसैले नसुन्ने गरेको अनुभव गरेका हुन्छन् । त्यस्तै लक्षणलाई (sleeping paralysis ) भन्ने चलन छ । यो पनि यस्तै अवस्थाका लक्षणहरु हुन् । यो तयारी अवस्था छोटो वा लामो अवधि देखि भइरहेको हुन सक्दछन् । शरीरमा कमजोरी, निन्द्रा नपुगे जस्तो, रातभर सपना देखेको देखै हुने, विहान उठि सकेर निन्द्राले छोडिसक्दा पनि सपनाले नछोड्ने हुन्छन् । अर्थ, उपाउ र समाधानहरु केहि थाहा नभएको भएर वा अलि अलि आफैले जानेको घरपरिवारका, नजिकका इष्टमित्रलाई सोध्यो अलि अलि अर्थ लगायो अनि फेरि आफ्नै काममा व्यस्त हुने गरिराखेका हुन्छन् । जीवन कार्यमा शिथिलता ल्याए पनि काम नै रोकिने गरेर बाधा पुर्याएको हुँदैन त्यसैले उपचारका लागी डाक्टर कहाँ उपचारका लागि जाने गरेका हुँदैनन् ।

ख. तेस्रो नेत्रका कर्मेन्द्रियका अस्वस्थ कार्य अवस्थाको पछिको तयारी अवस्था  (Prepared Conditions)

यो अवस्था एकै दिनमा आएको होइन । जानेर होस या नजानेरै होस तर ठुलो मिहिनेत र प्रयास पछि मात्र यो परिस्थिति सम्म मानिस आइपुगेको हुन्छ । हुन त यो मानव जीवनको लागी अति कठिन, अति खतरनाक, मृत्युको मुखमा पुर्याउने अवस्था हो तर मानिसले अन्जानमा धेरै मिहिनेत गर्दै, ज्यान, पैसा, समय लगानी गरेर यस भयाबह अवस्तामा आएको हुन्छ । अदृस्य संसारका बारेमा, लिङ्ग शरीरहरूका बारेमा, भुत प्रेतहरूका बारेमा, बोक्सीहरूका बारेमा, पितृहरूका बारेमा, देवीदेवताहरूका बारेमा धेरै चर्चा गर्ने, कोट्याउने, तिनकै पूजाआजाहरू गर्ने, ब्रतहरू बस्ने, धामहरू जाने, ध्यान बस्ने, तन्त्रमन्त्र गर्नेहरूनै यस अवस्था आइ पुगेका हुन्छन् वा त्यस्ताहरूका परिवारका सदस्यहरूमा यस्ता समस्याहरू आएका हुन्छन् । मन दुखाउने, रूने, जीवनमा परिवारिक मनमुटाबले मलाइ धोका भयो, मलाइ दु:ख भयो भन्नेहरूमा यस्ता लक्षणहरू विकशित हुन्छन् । पापी, ठग, ढटुवा, जाली, चोर भनिनेहरूमा, सँधै काम मात्रै गरेर फुर्सद नहुनेहरूमा पनि  यस्ता समस्याहरू कम देखिन्छन्, अल्छि पुजा नगर्नेहरूमा यस्ता समस्याहरू कम देखिन्छन् । अन्यथा नलिनु होला पापी, ठग, ढटुवा, जाली, चोर भनिनेहरूलाई यो रोग लाग्दैन भन्दा त्यस्तै बन्नु पर्छ भनेर सिकाउन खोजिएको होइन । ती रोगका लक्षणहरू हामी कहाँ कसरी आए भनेर बुझाउने क्रममा जानेर नजानेर चर्चा गर्ने, देवीदेवताहरूका चर्चा गर्नेहरूमा यस्ता रोग र लक्षणहरु भेटिन्छन् भन्न खोजिएको हो ।

ज्ञानेन्द्रिय र कर्मेन्द्रय अङ्गका फरकका बारेमा माथी वर्णन गरिएको छ । सुरूमा मानव जीवनमा तेस्रो नेत्रका क्षमता हुँदैनन् । पछि कुनै कारणले तेस्रो नेत्रका ज्ञानेन्द्रियका अङ्गहरू खुल्न थाल्दछन् भनेर भनियो । यदि अन्य लिङ्ग शरीरले बोलाएको सुनेर त्यता पट्टि बढि ध्यान दिन थालियो, उस्ले कुनै चिनेको मान्छेको स्वर गरेर बोलाउदा हामीले विस्वास गरेर जवाफमा बोलियो वा बाहिर निस्केर हेरियो भने यो कर्मेन्द्रियका अङ्गहरू समावेश हुन थाले भनेर माथी भनियो । हो यस पछि बल्ल अस्वस्थ हुनलाई सुरूवात भएको हुन्छ । एक पटक उस्ले झुक्याएर बोलाउदा मानिस बाहिर निस्किएर हेर्दा कोहि रहेनछन् भने उ एक पटक सफल भयो । अब यहि तरिका उस्ले पटक पटक प्रयोग गर्न खोज्दछ । यसो गर्दै गर्दा पटक पटक सफल हुन गएछन् भने उनीहरू झन् झन् नजिक आउने, त्यस्तै अन्य अवसरहरू खोज्ने, मानिसलाई समस्याहरू सृजना गराएर उनीहरूको खोजिगर्न बाध्य बनाउने यसो गर्दै गर्दै आफु तिर अझै नजिक लगेका हुन्छन् । अदृस्य चिजहरूको चर्चा गर्न मन लाग्ने, त्यस्तै ठाउँमा जान मन लाग्ने बनाउदै लान्छन् । उनिहरूले लान्छन् भन्नु भन्दानि मानिसहरू आफै त्यता तिर जान्छन् भने पनि हुन्छ । अदृस्य चिजहरू रहेछन् भनेर अलि अलि अनुभवहरू आभासहरू हुन थाले पछि अब के के न गर्दिन्छन्, अब सबै कुरा पाइने भयो, फलिफाप हुने भयो, काम धन्दा पनि सफल हुने भयो, व्यापार धन्दा पनि सफल हुने भयो, परिवारका सदस्यहरूको पनि सबै काम सफल हुने भयो भन्दै झन् पछि लाग्छन् र अझ पछि लाग्न नखोज्ने परिवार सदस्यहरूलाई पनि करकाप गर्दै पछि लाग्न बाध्य बनाउँछन् । सर्वसाधारणहरूलाई यस बाटोमा लगाउन अलि अलि यस सम्बन्धि अल्पज्ञान भएका गुरू भनाउदाहरूले विभिन्न विधिहरू सिकाइदिदै झन् आगोको नजिक पुर्याइदिन्छन् । हुन त ती गुरूहरूपनि समस्यामा नै हुन्छन् तर ती गुरूहरू अलि बाठा भएका भएर त्यस समस्यामा पनि पैसा आर्जन गर्ने जुक्ति निकालेर त्यसै समस्यामा आफुपनि डुबेरै बसेका हुन्छन् ।

यस अवस्थालाई पछिको तयारी अवस्था किन भनेको भन्दा अरु लिँग शरीरले आफ्नो लिँग शरीरलाई सँचालन गर्न सिकिसकेको, बानी बसिसकेको हुन्छ र पुर्ण रुपमा बसमा पारेको हुन्छ । बेहोसमा बोल्ने, जेपायो त्यही बोल्ने, झगडा गर्ने, घरबाट निस्केर हिड्ने, राती निस्केर हिड्ने हुन्छ, जीउलाई धकेल्ने, लडाउने, हल्लाउने, पैतला मुनिको जमिन धसिएको आभास आएर तर्साउने गर्दछ । बेहासमा मात्रै नभएर पुरा होसमा तर अर्को व्यक्तित्वका गुण र कार्यहरु गर्न सक्दछ । बेहोसमा अरुको नाम गरेर बोल्ने, अरुको व्यक्तित्वको कार्य, क्षमता, कला, चेतना, यादहरु गर्न सक्दछ । बेहोसमा कहिल्यै नजानेको गीतहरु गाउने, नजानेका नाचहरु नाच्ने, नजानेका कविताहरु भन्ने, कहिल्यै नपढेको इतिहाँसका कुराहरु गर्दछन्, नजानेका शास्त्रका कुराहरु गर्न सक्दछन् । मानिसमा नयाँ क्षमता आउने, पढ्ने क्षमता, बोल्ने क्षमता, नयाँ भाषा, शारीरिक क्षमता, अचानक बल र हिम्मत, जाँगर आएका हुन्छन् । क्षण क्षणको लागि यस्तो अबस्था आउन सक्दछ भने कहिले कहीँ लामो समय सम्म अर्को व्यक्तित्व आइरहेको हुन सक्दछ । कहिले कहीँ दुइ भन्दा बढी व्यक्तित्वहरु आएको हुन्छ । यस तयारी अवस्थामा आइपुग्दा अन्य शारीरिक कमजोरीहरु आइसकेका हुन्छन् । कहिले कहिले यस्ता अस्वस्थ लक्षणहरु डाक्टर कहाँ पुग्न नपर्ने गरेर साधारण जस्तो गरेर हरेक दैनिकी जस्तो भइ रहेको हुन्छ भने कहिले कठिन अवस्थामा पुगेर अन्य मानिससँग गुहार माग्नु पर्ने अवस्था आइ डाक्टर कहाँ पुगेका हुन्छन् र  विभिन्न निदाउने औषधीका प्रयोग गरिरहेका हुन्छन् । शारीरिक, पारिवारिक, सामाजिक, आर्थिक समस्याहरु आइसकेका हुन्छन् । यी समस्याहरु आउनुमा नै त्यस अन्य लिँग शरीरको प्रभावले हो । त्यस नव आगन्तुक अन्य लिँग शरीररले त्यस व्यक्तिको हरेक कार्यमा सहभागी हुने गरेको हुन्छ । एक शरीरमा दुइ वा बढी अन्य लिँग शरीरको बोझ बोकेको अवस्था हो यो । त्यसैले बिरामीको अन्य लिँग शरीरको बोझको कारण समाजको कुनै पनि प्रतिस्पर्धामा असफल हुने गरेको हुन्छ । समाज र समाजका व्यवहार भनेको यी नै सम्बन्धहरुको प्रतिस्पर्धा हो । ती आगन्तुक लिँग शरीर पनि स्थुल शरीरको पारिवारिक सम्बन्ध, सामाजिक, आर्थिक लेनदेनमा, कुराकानीमा सहभागी भएको हुन्छन् । त्यसैले शरीरको मुख्य व्यक्तिको व्यक्तित्व अनुसारको व्यवहार अरुले नपाएको भएर सबै सम्बन्धितहरु टाढा भइसकेका हुन्छन । जस्तै श्रीमान विमार भएको भए श्रीमानले श्रीमानको व्यक्तित्वको व्यवहार गर्न सकिराखेको हुँदैन, श्रीमती विमार भएको भए श्रीमतीले श्रीमतीको व्यक्तित्वकाे व्यवहार गर्न सकिराखेकाे हुँदैन त्यसै गरेर परिवारका सबै सदस्यहरूलाई त्यस्तै लागेको, नजिकका इष्टमित्रहरूलाई त्यस्तै लागिराखेकाे समाजलाई त्यस्तै लागिराखेको हुन्छ, विस्तारै विस्तारै सबै असन्तुष्ट हुँदै गएका हुन्छन् , त्यस्तै व्यवहार हालचाल कारोवार, रोजगारमा, लेनदेनमा भएको हुन्छ । त्यस अन्य लिँग शरीरको प्रभावको कारणले भौतिक सन्सारका मान्यता र लेनदेनबाट टाढा पुर्याएको हुन्छ र अन्त्यमा उ एक्लो हुन्छ । यो अवस्था नै त्यस अन्य लिँग शरीरको सबभन्दा बलियो उसले जितेको अवस्था हो । तर कुनै कारणबस बिरामीले अन्य आफन्तको साथ पाउन थाल्यो भने त्यस अवस्थाबाट बिस्तारै बिस्तारै निस्कन थाल्दछ । लिँग शरीरको ज्ञान र अन्य लिँग शरीरको प्रभाव र उपचारका विधि नजान्दा पनि यदि बिरामीले आफन्तहरुको आड पाएको खण्डमा त्यस दुःख कष्टको भुमरीबाट निस्कन सक्दछ । त्यसैले त्यस आगन्तुक अन्य लिँग शरीरले बिरामीलाई आफन्तको नजिक आउन नदिने, झगडा सृजना गरिदिने, आफन्तहरुमा पनि प्रवेश गरेर या सम्पर्क गरेर प्रहार गर्ने गरेको हुन्छ ।  बिरामीले उपचार नपाओस भनेर बिरामीलाई उपचार गर्न सहयोग गर्न खोज्ने मानिसहरु पनि ती दु:ख दिने अन्य लिङ्ग शरीरहरूको घेराउमा परेका हुन्छन् । जस्तै बिरामीलाई खाना पकाएर दिनेहरूलाई, बिरामीलाई सहि उपचार गर्न सल्लाह दिनेहरूलाई, बिरामीलाई उपचार गर्न पैसा सहयोग गर्न खोज्नेहरूलाई, बिरामीलाई डाक्टर कहाँ लगिदिने ड्राइभरहरूलाई, बिरामीको उपचार गरिदिने डाक्टरहरूलाई पनि अनेक दु:ख कष्टहरू दिएर उपचार प्रक्रियाहरू रोक्न चाहन्छन्, छेक्न आउँछन् । यस स्थितिमा आइपुग्दा पालो पालो गरेर थुप्रै लिँग शरीरहरु प्रवेश गर्ने गरिरहेका हुन्छन् । मानौ कि त्यो कसैले सुरक्षा नगरेको साइकल छ त्यसलाक्ष घरका आँगनमा यत्तिकै जस्ले चलाए पनि वास्ता नगर्ने गरेर राखिएको छ त्यो साइकल गाउँका सबै केटा केटीहरुले पालै पालो चलाउछन् र अन्त्यमा बिग्रेर नचल्ने नहुन्जेल सम्म चलाउछन् । सुरक्षाका विधिहरू नजानिकन लिङ्ग शरीरहरूको सम्पर्क र प्रबेश हुन सक्ने भएकाे वेलामा त्यस्तै हालत मानिसको भएको हुन्छ । ती सबै अन्य लिङ्ग शरीरहरूले मानिसमा प्रबेश गरेर मानिसले गर्न सक्ने सबै आनन्द भोग, कार्यमा ती अन्य लिङ्ग शरीरहरूले सहभागी बनि काम गरिरहेको हुन्छ, मानिसलाई डोहोर्याएर विभिन्न दुर्घटनामा पार्न खोज्दछन् र अकाल मृत्युमा पुर्याउछन्, आत्महत्याको प्रेरणा दिन्छन् र त्यस्ता कार्यहरुमा डोहोर्याउछन् । त्यसरी अन्य लिँग शरीरले जे गर्न लगायो बिरामीले पनि त्यही गर्दछ ।

यो अवस्था अन्य लिँग शरीरले आफ्नो लिँग शरीरलाई पूर्ण रुपमा जितेको, बसमा बनाएको अवस्था हो ।
तेस्रो नेत्रको कर्मेन्द्रियको अस्वस्थ अवस्थाको तयारी अवस्था यी सबै समस्या, भय, त्रास, कष्टहरुको सबभन्दा अन्तिम अवस्था हो । त्यसभन्दा निस्कन नसकेर अझ अगाडि बढ्नु भनेको अकाल मृत्युको सँकट हो, अकाल मृत्युको दिन गनेर बस्ने अवस्था हो । यस अवस्थामा आइपुग्दा सम्म परिवारका सबै सदस्यहरूको रूवाबासी डामाडोल, झगडा, कोलाहल, डर त्रासको अवस्था आएको हुन्छ र परिवारका अन्य सदस्यहरू पनि विस्तारै विस्तारै त्यहि समस्यामा तानिन थालिन्छन्, अन्यमा अरू सदस्यहरू पनि विमार बन्दै जान्छन् । यस्ता समस्याहरू आएर परिवारमा कोहि मरेका छन् भने मृत्युपछि पनि त्यो घरमा यस्ता समस्याहरूले छोडेको हुँदैन । वेदशास्त्र अनुसार यो अवस्था भनेको जिउदै नर्कको अनुभव गरिरहेको अवस्था हो । किन कि ती मानिससँग त्यसरी सम्पर्कमा आउनेहरू नर्कबाट आएका हुन् र तिनीहरूले गरिरहेका अनुभवहरू मानिसमा आएको हो ।

३. तेस्रो नेत्रका कर्मेन्द्रियका स्वस्थ कार्यको अवस्था:- यो दुइ भागमा विभाजन गरिएको छ ।  

क. तेस्रो नेत्रका कर्मेन्द्रियका स्वस्थ कार्यको अवस्थाको सुरुको तयारी गर्ने अवस्था  (Preparatory Condition)

यस अवस्थामा तेस्रो नेत्रको बारेमा पढ्ने, बुझ्ने मौका पाएको हुन्छ । यस वेवसाइटमा भएको ब्रह्मज्ञानका ज्ञान नै यस भयानक समस्याहरूबाट निस्कने उपाय हो । ब्रह्मज्ञानको किताब पढेर त्यस किताबमा तेस्रो नेत्रका बारेमा गरिएका परिभाषा, वर्णन, विश्रलेषण, विधिहरू जानेको भएर तेस्रो नेत्रको अस्वस्थ अवस्थाबाट भएको सम्पर्कबाट बच्न सक्ने, रोक्न सक्ने, गुहार माग्न सक्ने भएको हुन्छ । मानव जातीलाई थाहा रहेनछ कि अदृस्य संसार छ, अदृस्य लिङ्ग शरीरहरूको संसार छ, मरिसकेका मानिसहरू पूर्णरूपमा मरेका छैनन् र उनीहरू हाम्रै वरपर हामीसँग सम्पर्क गर्दै वा सम्पर्क गर्ने चाहना राख्दै वरपर रहेका हुँदा रहेछन् । त्यसैमा झन् मानिसले नजानेर तिनीहरूका चर्चाहरू र सम्पर्कहरू गर्न खोज्दा यस्ता अज्ञानताका सम्पर्कहरू हुन आएर तिनीहरूका अज्ञानताका गुणहरू, चाहनाहरू र क्षमताहरूसँग सम्पर्क हुन जाँदा यस्तो परिस्थिति सृजना हुँदो रहेछ । यो अवस्था सृष्टि के हो ? जीवन के हो ? मृत्यु के हो ? र तेस्रो नेत्र के हो ? भनेर नजानेको तर जान्न खोजेर, सहि ज्ञान नपाउदै अपूर्ण ज्ञानका पछि लाग्दै भक्ति गर्छु भन्दा तिनै अज्ञान भक्तिबाट पाइएका फलहरू रहेछन् । दु:ख पाइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपालीमा उखान छ । त्यो उखान भनेको यसैलाई हो । अब ब्रह्मज्ञानको किताब द्वारा त्यस लिँग शरीरसँगको सम्पर्कको लक्षणहरूलाई चिनेर तिनीहरूबाट आएका अस्वस्थ तेस्रो नेत्रबाट आएको भावलाई चिनेर बुझेर त्यसको नराम्रो प्रभावलाई काट्ने भाव व्यक्त गर्न जानेर र काट्ने तर्कने कार्यहरु गरे पछि, त्यस लिँग शरीरसँगको सम्पर्कको कारणलाई तर्काउन सक्दछन् । ब्रह्मज्ञानको किताबका भावहरू सहि रूपमा बुझेर निडरताका साथ ब्रह्मज्ञानले भनेका विधि र बाटोमा हिड्ने र हिड्न चाहनेहरू अस्वस्थ तेस्रो नेत्रबाट आएको शारीरिक, मानसिक, पारिवारिक, सामाजिक, आर्थिक कष्टबाट निस्केको हुन्छन् ।

ब्रह्मज्ञानको किताबका भावहरू अनुसार तेस्रो नेत्र के हो भनेर चिनेर त्यसलाई सदुपयोग गर्न जानेर, ब्रह्मज्ञानमा भनिएका जस्तै देवीदेवताहरू के हुन् ? को हुन् ?  कति प्रकारका किसिमका कस्ता कस्ता गुणहरू भएका हुन्छन् ? भनेर चिनेर कोहि देवीदेवताहरूसँग टाढा हुनु पर्दो रहेछ र त्यो टाढा हुने तरिकाहरू विधिहरू के के हुन् भनेर जानेर पालना गर्ने र कुनै कुनै देवीदेवताहरूसँग नजिक हुनु पर्दो रहेछ भनेर ती नजिक हुनु पर्ने देवीदेवताहरूलाई चिनेर, नजिक हुने विधि तरिकाहरू जानेर पालना गर्नेहरूमा अस्वस्थ तेस्रो नेत्रका लक्षणहरूबाट बच्न सक्दछन् र त्यो भुमरीबाट निस्कन सक्दछन् ।

यी सबै कुराहरू नबुझिने गरेर वेदशास्त्रहरूमा लेखिएका रहेछन् ।

ख. तेस्रो नेत्रका कर्मेन्द्रियका स्वस्थ कार्य अवस्थाको पछिको तयारी अवस्था  (Prepared Conditions)

यो अवस्था तेस्रो नेत्रको सबभन्दा विकसित अवस्था हो । यस अवस्थामा तेस्रो नेत्रका ज्ञान र अभ्यास भएका मानिसले त्यस्को भावना र अर्थ बुझेर तेस्रो नेत्र मार्फत नै अन्य लिँग शरीरसँग सम्पर्क गरि काम, कार्य गर्न सक्दछ । ती लिँग शरीरहरुसँग बोल्ने, दोहोरो कुरा गर्ने, बिभिन्न भाव व्यक्त गर्न सक्ने, ममता देखाउने, क्रोध देखाउने, सम्झाउने, थर्काउने, तिनीहरुलाई दुःख कष्ट दिने, सुखहरुको अनुभव दिलाउने गर्न सक्दछन् । आफ्ना इच्छाले, आफ्नो इच्छाको समयमा तिनीहरुसँग सँपर्क गर्न सक्दछन् । यस अवस्थामा पुगेका मानिसहरुमा अन्य लिँग शरीरलाई बस गर्न सक्ने क्षमता हुन्छन् ।

यस भन्दा अगाडिको अवस्थामा ब्रह्मज्ञानी देवी देवताहरू छन् भनेर उनीहरूको नजिक हुनु पर्दछ भन्ने ज्ञान विधिहरु थाहा हुन्छ भने यस अवस्थामा आइपुग्नलाई ती ब्रह्मज्ञानी देवीदेवताहरूको नजिक पुगेको हुनुपर्दछ । ब्रह्मज्ञानको ज्ञान बुझेर गहिराइमा पुग्नु र ब्रह्मज्ञानी देवीदेवताहरूको नजिक पुग्नु नै यस कर्मेन्द्रियको स्वस्थ अवस्थामा आइपुग्ने तरिका हो । ब्रह्मज्ञानी देवीदेवताहरूको जति नजिक पुग्न सफल भएको हुन्छ त्यति नै तेस्रो नेत्रका क्षमताहरू स्पष्ठ भएका हुन्छन् र तेस्रो नेत्रबाट प्राप्तहुन सक्ने सफलता र फलहरू मिल्न थाल्दछन् । यस अवस्थामा आइपुग्दा ब्रह्मज्ञानीहरूले देवीदेवताहरूलाई देख्न सक्ने भएर अज्ञानी देवीदेवताहरूबाट प्राप्त कष्टहरू तर्काउन सक्ने, लड्न सक्ने, जित्न सक्ने भएका हुन्छन् र त्यसो गर्न ब्रह्मज्ञानी देवीदेवताहरूको सहयोग पाउने भएको हुन्छन् । अझ गहिराइमा पुगेकाहरूले ब्रह्मको अनुभव गरेका हुन्छन्, सदाशिव, कैवल्य मुक्तीको अनुभव गरेका हुन्छन् । यसरी कैवल्य मुक्तीका अनुभव गरेकाहरूले आफ्नो लिङ्ग शरीरको सबै आवरणहरू छोडेको अनुभव र आफ्नो महतको पनि आवरणहरु छोडेको अनुभव गरेका हुन्छन् ।

यो अवस्थामा ब्रह्मका ज्ञान भएका ब्रह्मज्ञानीहरू मात्र आउन सक्दछन् । यो अवस्थासम्म आइपुग्नु नै ब्रह्मज्ञानीहरूको प्रयास, कोसिस र उद्देस्य रहेको हुन्छ । यस्ता तेस्रो नेत्रका कर्मेन्द्रियका स्वस्थ कार्य अवस्थाको पछिको तयारी अवस्थामा पुगेका मानिसहरुले अरुलाई उपचार पुर्याउन सक्दछन् ।

पण्डित, पुजारी, झारफुक गर्नेहरु, झाँक्रीहरु, देवी माताहरु भनेर अरुलाई उपचार पुर्याइ रहेकाहरुले यसै गर्न खोजेका हुन् । तर कतिले राम्ररी बुझेका हुन्छन् होला । धेरैले नबुझकिन गरिरहेको देखेको छु । कतिले पुस्तौँ देखि गरिआएको काम रोजगार भनेर अर्थ नबुझी र त्यसको खतरा नबुझी अर्थको अनर्थ लगाइरहेका हुन्छन् । पूर्ण ज्ञान नभइकन अदृश्य शरीरसँगको सँगत वा उपचार गर्ने गरेकाहरू आफु नै पूर्ण स्वस्थ नहुने सम्भावना बढि हुन्छ । आफु नै पूर्ण स्वस्थ नभएकाहरुले अरुलाई कतिक स्वस्थ बनाउन सके भनेर कि त उनीहरुलाई नै थाहा होला कि त स्वस्थ भएकाहरुलाई थाहा होला । केही समय सम्मको लागि समस्याको समाधान भएको पनि हुन सक्दछ । तर चोर पल्केको घरमा ती चोरहरुलाई चिन्न सकिएको छैन भने ती चोरका चोरेर लगेको सामाग्री सिध्धिए पछि चोर्न सुरुगरेमा पुनः त्यहीँ सँधै चोर्ने गरेको घरमा आइ चोर्ने सम्भावना बढि हुन्छ । यहाँ कतिपय लिँग शरीरहरु गुहार माग्ने उद्देश्यले सम्पर्कमा आएका हुँदा रहेछन्, उनीहरूलाई कसैले देखेनन् भनेर आकुल व्याकुल भएका हुँदा रहेछन्, कसैको नजिक पुग्न पाएको वेलामा झुण्डिएका हुँदा रहेछन् भने ती अज्ञानी झारफुक गर्नेहरूले देख्ने रहेछन् भनेर आफुलाई कसैले देख्न सकेर माया वा हेला जे गरेपनि कसैले महसुस गरेको थाहा पाएर तिनै महसुस गर्न सक्ने बिरामी वा महसुस गरेर उपचारका विधि जानेका झारफुक गर्ने लामा झाक्री कहाँ नै वरपर आइरहने हुन्छन् । त्यसैले झारफुक गराउने बिरामीले वा तिनका झारफुक गरि दिने लामा झाक्री दुबैले नै आरामको लामो सास फेर्न पाएका हुँदैनन् ।

हामी यस किताबका लेखकहरूका अध्ययन र अनुभवबाट ती दुबै थरिकाहरु उपचारगर्ने र उपचार गराउनेहरुलाई नियालेर हेर्दा दुबै थरि नै कष्टबाट मुक्त भएका हुदैनन् । ती उपचार कर्ता लामा झाक्रीहरु त आगोलाई खेलाएर, जिस्काउदै बसिरहेका, खेलिरहेका जस्तो देखिन्छन् । अरूलाई उपचार गर्छु भन्दा के को उपचार ?, के चिज सँग सम्पर्क गरेको छु ?, त्यो कति खतरनाक छ ? भनेर सहि ज्ञान नभएको भएर ती अदृस्य लिङ्ग शरीरहरूले अब ती उपचार गरिदिनेलाई पनि चिनेर तिनीहरूसँग पनि टासिने गुहारमाग्ने कष्ट पुर्याउने गरिराखेका हुन्छन् र यसरी उपचार गरिदिनेहरू आफु नै पूर्ण स्वस्थ नहुनुको कारण नै आफै कष्ट भोगिरहेका हुन्छन्  र ती उपचार गरिदिनेहरू आफै दुइ व्यक्तित्वका अवस्थामा हुन्छन् । एकै छिनमा एउटा स्वभाव केही क्षण पछि अर्को स्वभाव भइरहेको हुन्छन् । कहिले अरुलाई झारफुक गर्दै उपचार गर्दै हिँडिरहेका हुन्छन कहिले आफैलाई झारफुक गरिदेउ भन्दै उपचार खोज्दै हिडिरहेका हुन्छन् । नेपालमा भारतमा देखिने गरेका विभिन्न देवी देवता आउने भनेर अरुलाई उपचार गरिदिने प्रचलन छ । तिनीहरु प्राय यही बर्गमा पर्दछन् । सन्सारमा सबै विकसित तथा अविकसित मुलुकहरुमा आफ्ना आफ्ना नाम गरेर यस्ता झारफुक जस्तै खालका उपचारहरू गर्ने चलन रहेको छ । प्राय: ती सबै अल्प ज्ञानका प्रयोग गरेर आफु, आफन्त र बिरामीहरू सबैलाई खतरा र मृत्युसँग खेलबाढ गर्ने वा गराउनेहरु हुन् । तिन कहाँ धाउने बिरामीको त झन कुरै भएन एक पछि अर्को त्यस्तै उपचार कर्ताको खोजीमा नै जीन्दगी बिताई रहेको हुन्छ । आफु र आफन्तहरु सबै समस्याको जालोमा फँसेका हुन्छन् ।

चित्र नँ ४२

मानिसको तेस्रो नेत्र एक चश्मा मात्र हो

तेस्रो नेत्र, सपना, तेस्रो नेत्रको कर्मेन्द्रियका कार्यहरु बुझ्न कठिन छ । स्वभाविक हो तर सम्भव छ । यो तेस्रो नेत्रको ज्ञान एक साधन मात्र हो । मानिसको तेस्रो नेत्र एक चश्मा मात्र हो । विज्ञानको माइक्रास्कोप भने जस्तो हो । यस चश्माको ज्ञान र अध्यास भए पछि यसबाट हेर्नुपर्ने चीजहरु अरु थुप्रैछन् ।

यो नै सबै भन्दा प्रमुख धन हो

अदृश्य सन्सारसँग कसैले जानेर कसैले नजानेर पनि सम्पर्क गरिरहेका हुन्छन । धेरैजसो सर्वसाधारणहरु थाहा नपाइ कन यस्ता अदृश्य चीज र अदृश्य सन्सारसँगको सम्पर्कमा हुन्छन् । तर फरक यत्ति हो कि अब यो तेस्रो नेत्रको ज्ञान द्वारा ती अदृश्य सन्सार र त्यसको भावनालाई बुझेर त्यस अज्ञानतामा हुन गएको सम्पर्कबाट उम्कनु पर्दछ । यसै गर्दामा आफ्नो, आफन्तको, वरपर चीनेजानेकाहरुको भलो हुन्छ र जीवनको सुखद बाटाहरु खुलेर आउँछन् । तेस्रो नेत्र द्वारा मानिसले जीवनको प्रमुख लक्ष आफुलाई चिन्ने मौका मिल्दछ । यो नै सबै भन्दा प्रमुख धन हो ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English