गायत्री र सावित्री

पाठ ६.१.६

⇐विषय सूचीमा फर्कन

यो कुरा राम्ररी बुझेपछि ब्रह्मज्ञान स्पष्ट हुन्छ ।

अब एक गहिराइको कुरा गर्न गइरहेको छु । हिन्दु वेदशास्त्रहरू भनेका पुराना सँस्कृतमा लेखिएका शास्त्रहरुका सँग्रह हुन् । त्यहाँ वर्णन गरिएका कुराहरु अति बुझ्न कठिन हुन्छन् । यसै त सँस्कृतमा लेखिएका भएर यसै बुझ्न कठिन हुन्छन् त्यसैमा पनि त्यहाँ भन्न खोजिएका कुराहरूका अर्थ बुझ्न झनै कठिन हुन्छन् । सँस्कृतमा लेखिएका वेदशास्त्रहरूमा श्लोकहरू मानिसहरूको सोच्ने, बुझ्ने, तर्कगर्ने क्षमता भन्दा बाहिरका कुराहरु चर्चा भएका हुन्छन् र अन्त्यमा अर्थको अनर्थ भइरहेको र सबैले आफ्नो आफ्नो अर्थ लगाइरहेका हुँदा रहेछन् । श्री शिव गीता शिव राघव सम्बाद भन्ने किताब पटक पटक पढ्ने गरेको थिएँ । मैले गरेका खोजहरूका बारेमा त्यस किताबमा लेखिएका कुराहरूले धेरै जवाफहरू दिएको, धेरै उपायहरू, मार्गहरू देखाएको थियो । ब्रह्मको बारेमा अनुभवका कुराहरू नलेखिएका भए पनि शिवजीले भन्नु भएको भनेर ब्रह्मका व्याख्याहरू त्यस किताबमा गरिएका थिए । त्यसै किताबको गहिरिएर अध्ययनको क्रममा एक ठाउँमा, एक श्लोकमा गएर मेरो ध्यान अडि्कएको थियो । तर त्यहाँ लेखिएका कुराहरू अर्थहरू कुनै पनि हालतमा बुझ्न सक्ने, समझमा आउन सकिरहेको थिएन । तर नबुझिकन छोड्न सकिरहेको पनि थिएन र घरिघरि एउटै पाठमा फर्केरआउने पढ्न खोज्ने तर अर्थ नलाग्ने गर्दे धेरै बर्ष बितेका थिए । जव मैले ब्रह्मका कुराहरू, महतका कुराहरू, लिङ्ग शरीर, स्थुल शरीरका कुराहरूका बारेमा धेरै गहिराइमा पुगेर बुझ् सफल भएँ, अनि आफैले ब्रह्मको अनुभव, सदाशिवको अनुभव, शिवजी, दुर्गामाता, गणेशजी, हनुमानजी तथा अन्य ब्रह्मज्ञानी देवीदेवताहरूसँग प्रत्यक्ष भेटेर कुराकानीहरू गर्न सक्ने भएँ, उहाँहरूको ज्ञान र क्षमताहरूका बारेमा गहिरिएर अनुभव गर्ने मौका मिले पछि बल्ल त्यस श्लोकको अर्थ अलि समझमा आउन थाल्यो र त्यसको महत्वको बोध भएको थियो । वेदशास्त्रको त्यस श्लोकले सम्पूर्ण वेदशास्त्रहरूको सार र सृष्टि,जगतका बारेमा वर्णन गरिएको रहेछ ।  त्यो विषय थियो गाायत्री र सावित्रीको वर्णन । यस कठिनमा अति कठिन पाठलाई यहाँ बुझाउन कोसिस गर्दछु ।

त्यस शिव गीतामा रामचन्द्रजी र शिवजीको सम्वाद भइरहेको थियो । शिवजीले आफ्नो वर्णन, महत्व र क्षमताहरूका बारेमा रामचन्द्रजीलाई भनिरहनुभएको थियो ।

त्यस सम्वादमा शिवजीलाई रामचन्द्रजीले भन्नु भयो –  हे भगवान ! तपाई भन्नु हुन्छ कि यो जगतको उत्पत्ती र पालन मैले नै गर्छु । यो कुरा मलाई आश्चर्य लागेको छ । तपाइको सुन्दर स्फटिक मणिको जस्तो शरीर छ, निधारमा तेस्रो नेत्र, कपालमा चन्द्रमा छ, तपाई यस्तो परिच्छन्न(परिधि वा घेर भित्र) र पुरूष आकृतिको स्वरूप धारण गर्नु भएको छ, पार्वती सहित आफ्ना विभिन्न गणहरू सहित हिड डुल, सुखसयल गर्नु हुन्छ, आनन्द लिनु हुन्छ भने तपाइले कसरी यो भौतिक संसारको उत्पत्ती गर्नु भयो ?  हे भगवान मलाई कृपा गरेर यो कुरा भनिदिनुस भनेर रामचन्द्रजीले भन्नु भयो  ।

शिवजीले भन्नु भयो –

साधु पृष्ट महाभाग दुर्ज्ञेयममरैरपि ।

तत्प्रवक्ष्यामि ते भक्त्या ब्रह्मचर्येण सुव्रत ।

पारं यास्यस्यनायासाध्धेन संसारनीरधे: ।।

अनुवाद :  हे रामचन्द्र सुन ! जुन कुरा देवताहरूका बुध्दिमा आउन सक्दैन त्यहि कुरा म तिमीलाई भन्न जाँदैछु । जुन कुरा बुझेपछि अनायास (अचानक, आफै ) यो संसारको सागर पार हुनेछौ ।

आसं प्रथममेवाहं वर्तामि च सुरेश्वरा: ।

भविष्यामिचलोकेSस्मिन्नत्तोनान्योSस्तिकश्चन ।।

अनुवाद :  हे देवताहरू हो  ! सृष्टि भन्दा पहिला पनि म थिएँ, अहिले वर्तमानमा पनि म नै छु र त्यस्को अन्तमा पनि म नै रहनेछु । यो लोकमा म बाहेक अरू केहि छैनन् । सबै बस्तु पनि म नै हुँ, सबै गर्न हुने काम पनि म नै हुँ, सबै गर्न नहुने काम पनि म नै हुँ, पाप रहित वेद पनि म नै हुँ र ब्रह्मका पिता पनि म नै हुँ ।

सावित्री चापि गायत्री स्त्री पुमानपुमानपि ।

त्रिष्टुब्जगत्यनुष्टुप् च पंक्तिश्छन्दस्त्रयीमय: ।।

अनुवाद :   सावित्री, गायत्री, स्त्री, पुरूष, नपुंसक, त्रिष्टुप्, जगती, अनुष्टुप तथा पंक्ति छन्द पनि म नै हुँ र  मलाई नै तिन वेदमा वर्णन गरिएको छ ।

व्याख्या : शिवजीले भन्नु भयो कि गायत्री मेरो ज्ञान शक्ती हो र सावित्री मेरो कृया शक्ती हो । यो दुवै शक्ती मिलेर सम्पूर्ण सृष्टिको रचना हुन्छ । त्यसैले सबै स्त्री, पुरूष, नपुंसक तथा वेदका सबै छन्दहरूका कारण मेरो ज्ञान शक्तीबाट हो ।

लेखकको विश्लेषण:

यि कुराहरु अति महत्वपूर्ण रहेछन् । सृष्टिका सबै नियमहरू यस श्लोकमा भनिएको रहेछ त्यो पनि रामचन्द्रजी कै पालामा । तर आज सम्म पनि मानिसहरूमा यस कुराको विश्लेषण हुन नसकेको भएर लुकेर बसे जस्तै भएको रहेछ । सृष्टिमा यत्रो सृजना, रचना भइरहेको छ । प्राकृतिक रचनाका साथ साथ मानिसहरू द्वारा अन्य भौतिक विकासहरू भइरहेका छन्, मानिसहरू द्वारा विभिन्न सम्रचनाहरू भइरहेका छन्, विकास निर्माणहरु, आविष्कारहरु, औजारहरु, यन्त्रहरु, हतियारहरु, समाजहरु, सामाजिक मान्यताहरु, राज्यहरु, नियमहरु, कानुनहरु, पैसाहरु, बैँकहरु, भौतिक उपयोगका साधनहरू बनेका छन् । यि सबै कुरा मानिसहरूले नै आविष्कार गरेका हुन् । तर शिवजीको भनाई अनुसार त शिवजीले पो मैले गरेको हुँ भन्नुभयो । शिवजीले दिनु भएको अर्तिले रामचन्द्रजीका पालामा भन्नु भएका कुराहरु आजको युगका विकासका कुरासँग पनि मेल खाने कुराहरू हुन कि होइनन् भनेर पनि जाच्नु पर्यो, सोच्नु पर्यो । म भगवान हुँ, सबै कुरा मैले गरेको हुँ भने भन्दैमा पत्याइ हाल्नु पर्छ भन्ने छैन । यहाँ कतिपय मानिसले नै घमण्ड गरेर सबै कुरा मैले गरेको हुँ, मेरो राजनितिक पार्टीले गरेको हो मेरो देश नै ठुलो, मेरो जात  र मेरो धर्म नै ठुलो भन्नेहरूको कमि थिएन भने शिवजीले पनि कुनै किताबमा त्यस्तै भन्नु भएको रहेछ भन्दैमा पत्याइहाल्नु पर्छ भने त छैन । तर पनि यो सृष्टिको केहि नियम त अवश्य हुनु पर्छ भन्ने त मलाई पनि लागिराखेको थियो र त्यहि सृष्टिको नियम, तरिका बुझ्न नै खोजि गर्दै थिएँ । तर यस श्लोकमा भनिएका कुराहरूले सृष्टिको नियमको स्पष्ट तर्क, तरिका विधान भनिदिएको रहेछ ।

 चित्र याद गराउन चाहन्छु । ।

यो महतको चित्र हो । अगाडीका पाठहरूमा यस्को वर्णन गरिएको छ । ब्रह्मको गुणहरूमा प्रमुख दुइ वटा गुणहरू स्वप्रकाश र चेतना हुन् । जब सृष्टिको सुरुमा कालको कारणले ब्रह्ममा कुनै एक सिमित ठाउँमा अव्यक्तबाट व्यक्त अवस्थामा आइ महतको उत्पत्ती भएको थियो । त्यस महतमा बाहिरको आवरण छ जस्लाई प्रकृती भनिन्छ र त्यस आवरण भित्र रहेको ब्रह्मको सानो भागलाई आत्मा वा पुरूष भनिन्छ । त्यस महतमा पनि ब्रह्मका गुणहरू शान्त, आनन्द, स्वप्रकाश र चेतना रहेका हुन्छन् । ब्रह्मको सोच्न सक्ने, चिन्न सक्ने गुण हुन्छ भने स्वप्रकाशको उज्यालो र शक्ती पनि हुन्छ । त्यो महत ब्रह्मबाट फरक भएको जस्तो देखिएको भए पनि एउटा सुसुम्ना नाडी मार्फत ब्रह्मसँग जोडिरहेको हुन्छ । जस्तै कुनै फलहरू पनि आफै जति विकसित हुँदै गएपनि आफ्नो रूखसँग कुनै न कुनै तरिकाबाट जोडिइरहेको हुन्छ । त्यसै गरेर महत पनि ब्रह्मसँग जोडिइरहेको हुन्छ र चेतना र स्वप्रकाशको आदान प्रदान गरिरहेको हुन्छ ।

महतको अनुभवको विकास र लिङ्ग शरीरको विकास

महतहरू केहि समयका लागी उत्पन्न भएका थिए र आफ्नो समय आएपछि उस्को चन्चलता हराएर जान्छ वा त्यस महतले अन्य आफु भन्दा चन्चल महतहरूसँग सम्बन्ध सम्पर्क राख्न पायो भने आफ्नो चन्चलताको समय लम्व्याउन सक्दछ र आफ्नो आयु लम्याएको हुन्छ । त्यस महतले आफुले गरेका अनुभवहरू आवरणका रूपमा याद गरेका हुन्छन् । महतको सुरूको म भन्ने आवरणको नाम आनन्दमय कोश हो । उस्ले म भन्दै आनन्द र शान्तको अनुभव गरिरहेको हुन्छ । त्यस महतले अरू महतसँग सम्पर्क सम्बन्ध राख्दा त्यस्मा अर्को आवरणहरू पैदा हुन्छन् । त्यो आवरण विज्ञानमय कोश  हो । यो विज्ञानमय कोशले बुध्दिको काम गरेको हुन्छ । महतको सुरूको म भन्ने आवरण कालको कारणबाट उत्पन्न भएको थियो तर यो बुध्दि भन्ने विज्ञानमय कोशको आवरण महतले गरेका अनुभवका प्रभावहरूबाट गरिएको विश्लेषण, तर्कबाट महतले निकालेको निष्कर्ष हो । त्यस महतले अरूसँग सम्पर्क गर्दा उस्लाई कस्तो अनुभव भएको थियो, सजिलो भएको थियो, आनन्द भएको थियो वा उस्को आनन्द खोसिएको वा कम भएको थियो भनेर ति सबै अनुभवहरु अनुसार याद गरेको हुन्छ । यसरी महतले अन्य महतहरूसँग गरेका अनुभवहरू अनुसार उस्ले अन्य नयाँ महतहरूसँग सम्बन्ध राख्न थाल्यो भने आफुलाई आनन्द आउने, आफुलाई सजिलो हुने चिजहरूसँग मात्र सम्बन्ध सम्पर्क राख्न खोज्छ । आफुलाई फाइदा नआउनेसँग सम्बन्ध राख्न चाहदैन वा आफुलाई फाइदा नहुने असुरक्षा हुने चिजबाट टाढा हुन थाल्छ । यस्ता प्रकारका साना साना अनुभवहरू र विश्लेषणहरू महतमा सँकलित हुन थाल्दछन् । यहि अनुभवका यादहरूलाई आवरण भनियो । यो यादहरूलाई सँग्रहित गरेर राख्न सक्ने क्षमता ब्रह्मको वा महतको भित्रको आत्मा भन्नेको हुन्छ । अनुभवका यादहरू सँग्रहित हुने आत्मामा हो तर त्यस यादसँगको सम्बन्धको अनुभव गर्ने सुख दु:खको अनुभव गर्ने विज्ञानमय कोशले हो । महतको सुरूको आनन्दमय काेशमा अझै तेरो मेरो भावना आएको हुँदैन र केहि नआएको भएर शान्त आनन्द जस्तो भएर बसेको हुन्छ । कुनै खुसिको अनुभव पनि गरेको हुँदैन भने विज्ञानमय कोशले तेरो मेरो भनेर दु:ख सुखको आनन्द गरेको हुन्छ । आफुले भनेको जस्तो भयो या भनेको जस्तो भएन भनेर दु:ख र सुखको अनुभव विज्ञानमय कोशले गर्दछ । यसरी अन्य महतहरूसँग सम्बन्ध सम्पर्क राख्न जानेका अनुभवी महतहरूले आफ्नो आयु लम्व्याएका हुन्छन् भने आफ्नो आयु लम्व्याउन नजानेका महतहरूका आवरणहरू विलाउदै जान्छन् । त्यस्ता अनुभवी महतहरूले अरू महतसँग सम्बन्ध राख्न खोज्दा सम्बन्ध राख्ने कि नराख्ने भन्ने विचार गर्न सक्ने हुन्छ । सम्बन्ध राख्दा राम्रो होला की नराम्रो होला भन्ने सोच्न सक्ने हुन थाल्छ । यस्तो गरेर सम्बन्ध राखम कि नराखम भन्ने क्षमता भएको यादलाई मनमय कोश भनिन्छ । यसरी मनमय कोशको सृजना भएको हुन्छ । मनमय कोशले काम गरम कि नगरम भनेर दोधार भइरहेको वेलामा विज्ञानमय कोशले आफ्ना पहिला पहिलाका अनुभवका आधारमा यस्तो गर्न हुन्छ वा हुँदैन भने र ठोस निर्णय दिन्छ । त्यसैले यस ठोस निर्णयलाई बुध्दि भनिन्छ । बुध्दिको काम ठोस निर्णय दिने हो रहेछ । त्यसैले होला मानिसको काम सफल भए बुध्दि रहेछ भन्ने काम असफल भए बुध्दि रहेनछ भन्ने चलन छ । अब मनमय कोशले गरम कि नगरम भइरहेको कामलाई विज्ञानमय कोशले ठोस निर्णय दिएको कामलाई कसरी प्राप्त गर्ने भनेर साधन प्रयोग गर्ने यादहरूलाई प्राणमय कोश भनिन्छ । जसरी मानिसले रूखको फल टिप्न लामो लठ्ठि झटारोको लागि प्रयोग गरेको थियो । हरेक पटक त्यस लठ्ठि चाहिने भएर त्यस्ता लठ्ठि तयार गराएर घरमा राखेको थियो मानिसले । त्यसै गरेर महतले पनि नयाँ महतहरूसँग सम्बन्ध र सम्पर्क राख्न अन्य महतहरूको प्रयोग गरेको हुन्छ । यसरी महतले आफुलाई चाहिने नयाँ महतहरूको प्राप्तीका लागी अन्य महतहरूलाई साधनहरूका रूपमा प्रयोग गरेको अनुभवहरू प्राणमय कोश भएर बसेको हुन्छ । ति साधनहरू हरेक पटक चाहिने भएका भएर ति साधनहरू साथै राखेको हुन्छ वा आफुनै त्यस साधनको नजिक बसेको हुन सक्छ । यस्तै थुप्रै साधनहरू जम्मा गरेर आफुलाई आवश्यक पर्ने सम्बन्धहरू गर्न सजिलो बनाएर बसेको हुन्छ र आफ्नो आयु लम्व्याएको हुन्छ । यसरी महतले मनमा गरम कि नगरम भनेर सोचेको कामलाई बुध्दिले ठोस निर्णय गरेर आफ्नो प्राणमय कोशको साधनहरुको उपयोग गरेर अरु महतहरूलाई साधनका रूपमा प्रयोग गरेर आफुलाई चाहिने नयाँ महतसँग सम्बन्ध राखेको हुन्छ । यसरी आफ्नो प्राणमय कोशको साधनहरुको उपयोग गरेर अरू महतहरू वा महतहरूका समुहहरूको प्रयोग गरेको चित्र उस्ले आवरण बनाएर याद गरेको हुन्छ । यस आवरणलाई अन्नमय कोश भनिन्छ । यो अन्नमय कोश महतको सबैभन्दा बाहिर हुन्छ । यसरी महतको मनमय कोशले गरम कि नगरम भनेर दोधार भइरहेको कुरालाई विज्ञानमय कोशले ठोस निर्णग गरेर प्राणमय कोशको उपयोग गरेर अन्य महत वा महतका समुहहरूसँग सम्बन्ध राखेर आफुलाई चाहिने ताजा चन्चलता प्राप्त गरेको हुन्छ । जस्तै मानिसले आगो नजिक जान सकेन भने आगोको छेउमा भएको तातो ढुङ्गालाई छोएर त्यस तातो लिएको हुन्छ । त्यो तातो लिनको लागी मानिसले आफ्नो हात प्रयोग गरेको हुन्छ । त्यसैले हातका अनुभवहरू प्राणमय कोशका अनुभवहरू हुन् । त्यस्तै गरेर खाना खाएको चपाएको हातले खाएको खुट्टाले हिडेर गएको अनुभवहरू प्राणमय कोशका आवरणहरू हुन् । मानिसले साधन चलाएको हातमा हतियार लिएर काटेको, खुट्टामा जुत्ता लगाएको, साइकल गाडी चलाएको अनुभवहरू प्राणमय कोशका आवरणहरू हुन् । यसरी महतमा सँकलित भएका अनुभवहरूका आवरणहरू विज्ञानमय कोश, मनमय कोश, प्राणमय कोश र अन्नमय कोशहरूको सम्युक्त अवस्थालाई नै लिङ्ग शरीर भनिन्छ । महतहरू सबै भिन्न भिन्न नै हुन्छन् तर आफ्ना आफ्ना स्वार्थका कारण एक आपसमा सम्बन्धित भएर बसेका हुन्छन् ।

यसरी महतमा अनुभवहरू थपिदै जान्छन्, महतहरू अनुभवी बन्दै जान्छन्, यि अनुभवहरू, तर्क, बुध्दिहरू लिङ्ग शरीरले गर्ने हो । आत्मामा यि यादहरू सँग्रहित भएका हुन्छन् तर आत्माले यस अनुभवको कुनै मतलब राखेको हुँदैन । जस्तै हाम्रो टेलिफोनमा विभिन्न साधनहरू जोडेको हुन्छ र टेलिफोनले काम गर्छ तर टेलिफोन गर्दा के कुराहरू भए, कोहि हासेका हुन्छन्, कोहि रोएका हुन्छन् कुरा गर्दै । ति कुराहरू सुनेर तर टेलिफोन रूँदैन हास्दैन भने जस्तै हो ।

यसरी महतहरू एक आपसमा मोहित भएर नजिक भएर बसेका हुँदा रहेछन् र आफ्नो आफ्नो तर्फबाट स्वार्थ पुरा गरेका हुन्छन् । यसरी महतहरू कुनै दुइवटा भएर बसेका होलान्, कोहि तिनवटा, कोहि चारवटा, कोहि सयवटा, कोहि हजार वटा, लाखौँ, करोडौँ, अरबौँ, खरबौँ भएर बसेका होलान् । त्यसै अनुसार ति महतहरूका समुहका आकारहरू पनि फरक फरक होलान् । कुनै गोलो आकारका होलान् कुनै चेप्टो, कुनै लामो । अरू महतहरूले कुनैले गोलो भनेर प्रयोग गरे होलान् । कुनैले लामो भनेर लामो चहिने ठाउँमा प्रयोग गरे होलान् । गोलोले कुनै चिज थिच्न काम लाग्यो होला, चुच्चोले कुनै चिजलाई घोच्न प्रयोग गरे होलान् । यस्तै गर्दै जीवको विकास हुँदै प्रयोगहरू पनि विकसित हुँदै गएछन् । यसरी गर्दै महतबाट विकसित भएको लिङ्ग शरीरको बुध्दि पनि विकास हुँदै गएछ र त्यस महत वा लिङ्ग शरीरले प्रयोग गर्ने साधनहरू अन्य महतहरूका समुहहरूलाई साधन स्वरूप प्रयोग गर्ने कार्य पनि विकसित हुँदै गएछ ।

यसरी महतको अनुभवहरू थपिदै विकास हुने क्रममा दुइ थरिका विकास भएका रहेछन् । एउटा हो महतको अनुभवहरूको विकास, महतको सोच्ने क्षमताको विकास दोस्रो हो महतको प्रकृतीहरूको स्वभाव अनुसारको विकास, महतहरूको समुहहरूको विकास, महतहरू जोडिएर बनेका बस्तुहरूको विकास ।

माथिको श्लोकमा शिवजीले भन्नु भएको थियो “गायत्री मेरो ज्ञान शक्ती हो र सावित्री मेरो कृया शक्ती हो” ।

यस सृष्टिमा ब्रह्मबाट महतहरू उत्पती हुँदा र महतका थप विकासहरू हुँदै जाँदा दुईवटा गुणहरू भएका रहेछन् एक गायत्री र अर्को सावित्री । महतले अन्य महतहरूलाई प्रकृतीका रूपमा मात्र देख्यो र प्रकृतीका रूपमा मात्र प्रयोग गर्दो रहेछ यो सावित्री रहेछन् । त्यस प्रकृतीलाई प्रयोग गरेको अनुभव, तर्क, कसरी प्रयोग गरेको विधिहरू सबै गायत्री रहेछन् । मानिसले गाईको दुध खायो । यो दुध खाएको दुधको प्रकृतीलाई उपयोग गरेको हो । त्यसैले गाईको दुध सावित्री हो । भने त्यस गाईको दुध खान हुन्छ, कसरी गाई पाल्ने, कहिले गाईले दुध दिन्छ, गाईबाट दुध कसरी लिने, दुध कसरी तताउने, किन तताउने, कति खान हुन्छ, कस्ले कस्ले खान हुन्छ, दुधबाट अरू केके परिकारहरू बन्छन् भन्ने अनुभवका ज्ञानहरू गायत्री हुन् । फलामबाट तरवार बनाउन मिल्छ र लडाइमा प्रयोग गर्न मिल्दछ । त्यसैले तरवार सावित्री हो । तरवार कसरी बनाउने, कहाँबाट फलाम ल्याउने, तरवार लडाइमा कसरी चलाउने भन्ने कुराहरूका ज्ञानहरु गायत्री हुन् । कुनै किताब छ भने त्यो किताब आफै सावित्री हो । तर त्यस किताबको सदुपयोग गर्नु पर्दछ त्यस किताबमा चाहिने कुराहरू लेखिएका छन्, कसैले त्यो किताब लेख्यो, प्रकाशित गर्यो, यि सबै ज्ञानहरू गायत्री हुन् ।

हरेक कुराहरूको सावत्री र गायत्री हुँदा रहेछन् । तर अज्ञानीहरुले सावित्रीका कुरा मात्र थाहा पाए र त्यसलाई उपयोग मात्र गर्न तिर लागे । तर ज्ञानीहरूले त्यस चिजको सावित्री र गायत्री दुबैका कुराको ज्ञान भएको भएर त्यस चिजको सदुपयोग उचित र उत्तम तरिकाले गर्दारहेछन् । वेदशास्त्रहरुका पुराण कथाहरुमा सुर र असुरमा भिन्नता यही निर थियो । असुरहरूलाई प्रकृतीको मात्र ज्ञान थियो र हरेक चिजलाई प्रकृतीका दृष्टिकोणले मात्र देख्दथे भने सुरहरूलाई गायत्रीको ज्ञान पनि थियो र सुरहरुले हरेक चिजको सहि सदुपयोग गर्दथे र सुर असुरका युध्दमा सँधै सुरहरू कै विजयी हुन्थ्यो । अन्य जनावरहरू र मानिसको जीवनमा पनि यहि कुराको फरक छ । जनावरहरूले हरेक चिजलाई प्रकृतीको दृष्टिकोणले मात्र देख्दछन् । जनावरले घास खान्छन् र जनावरहरू घाँस खान भनेर चउरमा गएर वा जङ्गलमा गएर घास खान्छन् भने मानिसले जनावरले घास खान्छ र दुध दिन्छ, जनावरले गोबर दिए मल हुन्छ, कुनै कुनै जनावरको मासुको लागी उपयोग गर्न पाइन्छ भनेर जानेर घरमा वा फर्ममा जनावरहरू पालेर तिनका लागी भनेर घास उत्पादन गरेर घरमा वा फर्ममा भएका जनावरहरूलाई खुवाएर दुध, मल तथा मासुको उत्पादन गरेर उपयोग गर्दछन् । घरमा जनावर पालेर दुध खाने तरिका गायत्री हो । मानिसहरू पनि चेतनाका र ज्ञानका स्तर अनुसार विभिन्न स्तरका हुन्छन् । कुनै मानिसहरू कुनै चिजको प्रकृतीको उपयोग मात्र गर्न जानेका हुन्छन् भने कोहि त्यो चिजको उपयोग गर्ने तरिकाहरू, उत्पादन, सम्रक्षण गर्न जानेका हुन्छन् । यसरी विभिन्न तरिका जानेकाहरू अलि गायत्री जानेकाहरू हुन् ।

यसरी महतले गरेका अनुभवहरूको ज्ञान नै गायत्री हुन् । सृष्टिमा भएका सबै पढाइ, लेखाइ, गीत, कविता, छन्दहरू सबै गायत्री हुन् । तर कागजका किताब, कापी, कलमहरू सावित्री हुन् । विध्यालय, विश्वविध्यालयहरू सिवित्री हुन् भने ती विध्यालय र विश्वविध्यालयमा सिकाइने ज्ञानहरू गायत्री हुन् । बिजुली बत्ती सावित्री हो भने विजुली बत्ती बनाउने विध्या गायत्री हो ।

सावित्री र गायत्रीको धारा

सृष्टिमा ब्रह्मबाट महतको उत्पत्ति भएछ । त्यस महतमा आत्मा र प्रकृती सृजना भएछन्  । त्यस प्रकृतीले गरेको अनुभवहरू दुइवटा गुणका रहेछन् । १ . पहिलो अनुभव उसले आफ्नो आवरण प्रकृतीलाई देख्यो । २. दोस्रो अनुभवमा त्यस आवरणले आफुमा म भन्ने भावना आयो, आफु प्रति मोहित भयो, आफु प्रति दङ्ग पर्न थाल्यो । त्यसरी प्रकृतीले आफुलाई म भन्न थालेछ साथै ती महतहरूमा म भन्ने भावना, विश्लेषण गर्ने क्षमता पनि आएछ । त्यसरी त्यहाँ प्रकृतीमा म भन्ने भावना आउदा त्यहाँ दुइवटा धाराहरू सृजना भएछन् । पहिलो  त्यस महतले आफ्नो प्रकृती वा अन्य महतको प्रकृतीलाई देख्ने र महतहरूलाई  प्रकृतीको रूपमा उपयोग गर्ने रहेछ । यो सावित्री धारा हो । दोस्रो  त्यस महतले आफुलाई चिन्ने, आफु वा अरू महतहरु प्रति मोहित हुने र अर्को महतलाई प्रकृतीको रूपमा उपयोग गर्दा त्यस अनुभवको विश्लेषण गर्ने रहेछ । त्यस विश्लेषणको अनुभवको याद गायत्री धारा हो । सृष्टिमा अरू सबै कार्यहरू यहि नियम अनुसार हुँदै अगाडीका सम्पर्क सम्बन्ध गर्दै, अनुभवहरू गर्दै अगाडी विकास भएका रहेछन् । त्यसैले सृष्टिको रचना सावित्री र गायत्रीको नियम अनुसार भएको रहेछ ।

त्यस्तै सजिलो उदाहरण लिउँ जस्तै चिनी सेतो, दाना दाना हुन्छ, यो गुण चिनीको सावित्री हो । भने चिनी खाएपछि गुलियो स्वाद आउछ भनेर थाहा पाउने, त्यो गुलियाे चिनी खाएपछि शरीरमा बल आउने, त्यो चिनी जुन चिजमा मिसाए पनि त्यस चिजलाई गुलियो बनाउछ भनेर जानेर चिनी मिसाएर विभिन्न मिठाइहरू बनाउन जान्ने, चिनी उखुबाट पाइन्छ भनेर चिनी पाउनको लागी उखु उत्पादन गर्ने ज्ञानहरू चिनीका गायत्री हुन् ।

त्यसैले सृष्टिमा जत्ति पनि जीवको उत्पत्ति भएको छ ती सबै गायत्री र सावित्रीका समिश्रण हुन् । तिनै सावित्री र गायत्रीका क्षमताहरू अनुभवहरु लिँदै नयाँनयाँ विकसित जीवहरुको उत्पत्ति भइरहेको हुन्छ । जति जति जीवहरुको विकास हुँदै युगहरु अगि बढ्दै गयो गायत्रीको अनुभव थपिदै गए र सावित्रीका अनुभवहरु थपिदै गए । नयाँ नयाँ जीवहरु तिनै गायत्री र सावित्रीका क्षमताहरु प्रयोग हुँदै विकसित भइरहेका हुन्छन् । जीवहरुको विकास हुँदै गए, ति जीवहरू लिङ्ग शरीरमा विकसित भए, नयाँ नयाँ सम्बन्धका र सम्पर्कका अनुभव अनुसार लिङ्ग शरीरहरु अझ बढी विकसित हुँदै गए भनेको सँगसँगै गायत्री र सावित्री पनि विकसित हुँदै गए । त्यसैले गायत्री र सावित्री भनेको सृष्टिको सुरू देखिको महतका विकासहरूको सँग्रह हो । त्यही गायत्रीहरु विकसित हुँदै पछि वेदहरुको उत्पत्ति भए । तिनै गायत्रीको विकास नै पौराणिक कालका वेदशास्त्रहरू हुन् भने आजको जमानाका विभिन्न कितावहरू, विद्यालयका पाठ्यपुस्तकहरू, विश्वविद्यालयका पाठ्क्रमहरु हुन् । जीवको अन्य जीवसँग सम्बनध गर्दे बन्न गएको विभिन्न चिजहरु साधनहरु सावित्री हुन् । त्यसै गरेर त्यस गायत्रीको उपयोग गर्दै सावित्रीको विकास हुँदै आएको रहेछ । आजको, अग्ला अग्ला घरहरु. बाटोहरु, उद्योग कल कारखानाहरु, गाडी, हवाईजहाज, रकेट, हतियारहरु विकसित गायत्री सँगसँगै विकास भएका विकसित सावित्रीहरू हुन् ।

सृष्टिको सुरूको जीवको उत्पत्ति भयो त्यस महतले आफ्नो आवरण देख्यो सावित्री भयो , आवरणलाई देखेर म भन्ने भावना, म राम्रो छु, नराम्रो छु कालो गोह्रो छु भन्ने भावना गायत्री रहेछन् । त्यस्तै गर्दै अरू जति पनि अनुभवहरू गर्दै गए त्यो सम्बन्धका रूपहरू सावित्री भएछन् । यो ति अनुभवहरू तर्कहरू गायत्री भएर रहेका हुँदा रहेछन् । त्यसो गर्दै जाँदा हरेक जीवले आफ्नो आफ्नो स्तरको ज्ञान जम्मा गरेकाे छ र आफ्ना सन्तान सन्ततीलाई दिएको छ, ज्ञान सिकाएको छ । यो सिकाइएका ज्ञानहरू गायत्री हुन् । जङ्गगलमा बाघले आफ्ना बच्चााहरूलाई सिकार गर्न सिकाउछ । त्यो पनि गायत्री सिकाइएको हो । भने मानिसहरु सबै अन्य जीवहरू भन्दा विकसित छ त्यसैले मानिसले जम्मा गरेका ज्ञान र गायत्री अन्य जीव जन्तुका भन्दा उच्च स्तरको रहेछ। उदाहरणका लागी एक चित्रकारले चित्र बनाउछ । चित्र बनाउन उस्ले कागज कपडा वा केहि चिजमा विभिन्न रंगहरूले मिलाएर कोरेर रंगहरू पोतेर कुन रंग कता पोत्ने, कुन रंग अगाडी लगाउने कुन रंग पछाडी लगाउने भन्ने मिलाएर लगाउछ, कुन कुन रंग मिलायो भने अर्को कस्तो रंग बन्छ भनेर जानेर चित्र बनाउछ । त्यो बनेको चित्र सावित्री हो भने चित्रकारको दिमागमा भएको चित्र बनाउने कला गायत्री हो । त्यसैले  हरेक चिज सावित्री रहेछ भने हरेक सावित्रीको गायत्री हुँदो रहेछन् । गायत्री जानेकाहरूले त्यस चिजको उपयोग उत्तम तरिकाले गरेका हुन्छन् भनेर जान्नु पर्छ र हरेक चिजको गायत्री जान्न चाहना गर्नु पर्दछ । साधारणा रूपमा हरेक दिन घरमा गरिने, आफ्ना काममा गरिने कार्यको पनि गायत्री जानेको हुनु पर्दछ । चिया बनाउन पनि चिया पकाउने गायत्री जानेकाले राम्रो बनाउलान् । भात खान जानेकाले भात पकाउन नजानेकाहरू थुप्रै छन् । हो त्यस्तो भनेको आफ्ना वरपर भएका कार्यहरूको गायत्री जान्न चाहना नभएकाहरू हुन् । गायत्री जानेकाहरूले जीवनमा दु;ख पाउने छैनन् वा विभिन्न अप्ठ्यारो परिस्थितिबाट पनि सकुसल निस्कने सम्भावना हुन्छ ।

देवीदेवताहरुको उत्पत्ति हुनु भन्दा अगाडी देखिको रुप हो गायत्री र सावित्री । त्यसैले वेदशास्त्रहरूका विभिन्न पुराणहरूमा भगवान ब्रह्माजीको उत्पत्ति हुँदा उहाँको हातमा वेदशास्त्रको किताब थियो भनिएको छ । त्यो भनेको त्यस बेला सम्ममा जीवको विकासका जति पनि अनुभवहरू थिए त्यसैलाइ वेदको रुपमा लिइएको हो । ब्रह्माजीको उत्पत्ति हुँदा नै असुरहरुले ब्रह्माजीलाइ खान खोजेका थिए । भगवान बिष्णु त्यस बेलासम्म निन्द्रामा हुनु हुन्थ्यो र ब्रह्माजीले इश्वरी माताको स्तुति गरेर भगवान बिष्णुलाइ बिउझाइदिनुस भनेर स्तुति गरेपछि इश्वरी प्रकट हुनु भएर भगवान बिष्णुलाइ बिउझाइदिनु भएर भगवान बिष्णुले ती ब्रह्माजीलाई खान खोज्ने दानवलाई मार्नु भएको पुराण कथाहरु छन् । हिन्दु सँस्कृतिका कथाहरु यहाँबाट सुरु हुन्छन् भने ती वेदशास्त्र ब्रह्माजीका हातमा आफै कहाँबाट आए ? र सबै चेतना र शक्ति सहितको इश्वरीकताबाटआइपुग्नु भयो त ?  त्यसैले गायत्री र सावित्री सुरुदेखि नै थियो । सबै देवीदेवता शिव, बिष्णु, ब्रह्माजीहरुको स्वरूप पछि विकास भएको या पछि उत्पत्ति भएको रूप हो । सुरू सुरूमा लिङ्ग शरीरहरुको विकासका क्रममा केही असुर रुपमा मात्र विकास हुन सकेको हो र पछि पछि ति असुरहरूमा बुध्दि थपिदै सुर भएका हुन् र ज्ञानी देवीदेवताहरूका रुपमा विकासित हुन सकेका हुन् । त्यसैले गायत्री र सावित्रीको चेतनाको समिश्रणहरुको विभिन्न रुप हो आजको सृष्टि । आजसम्म भएका वेदशास्त्रहरू देखि कथाहरू, उपन्यासहरू, फिल्महरू, टीभीका सिरियलहहरू र सबै गायत्री रूप हुन् । सबै हतियार, यन्त्र, घर, बाटो, आधुनिक विकास सबै सावित्रीका रूपहरू हुन् ।

त्यसैले सृष्टिका बारेमा सृष्टिका रचना, ब्रह्मको परिचय, ब्रह्मका गुणहरू, महत, लिङ्ग शरीर, मृत्यु, मृत्युपछिका जीवन, ब्रह्मको अनुभव, सदाशिवको अनुभवहरू जानेकाहरूलाई सृष्टिको गायत्रीको गहिराइमा जानेकाहरू भन्न मिल्दछ ।

यसरी जति पनि हतियारहरु बन्न गए ति सबै सावित्रीका रूपहरू हुन् । त्यसैले दुर्गा माताको धेरै हात र हरेक हातमा विभिन्न हतियारहरु छन् । पहिलाको वेदशास्त्रका पुराणहरूका जमानामा त्रिशुल, खुँडा,ढाल, तरबार, बज्र र सबै त्यति वेलाका हतियारहरू सबै सावित्रीका रुप हुन् भने आजको जमानामा पेस्तोल, बन्दुक, रकेट, हवाइजहाज सबै सावित्रीका रुपहरू हुन् । दुर्गा माताहरूका पूजाआजाहरु गरिन्छन् । दुर्गा माताहरूका विभिन्न रूपहरू, नामहरू भएका मन्दिरहरूमा दुर्गा माताका पूजाआजाका साथै बलि पनि चढाइन्छ । त्यो पूजा र बलि दुर्गामाता शक्तीको रूप भनेर हो । विभिन्न पुराणहरूमा दुर्गामाताहरू कै शक्तीबाट ठुला ठुला पराक्रमी असुरहरूको बध भएकाे थियो । त्यसैले त्यहि शक्तीको सम्रक्षण र शक्ती पाउन भनेर दुर्गा मातालाई सावित्रीका रूपमा पुजा गरिन्छ । दुर्गा माताहरूको अर्को नाम सावित्री हो । सर्वसाधारण मानिसहरु धर्म सँस्कारका बारेमा त्यति धेरै ज्ञान भएका हुँदैनन् र आपद परेका वेलामा मात्र देवीदेवताहरू छन् भनेर गुहार माग्न जाने चलन हुन्छ प्राय: । त्यसैले सर्वसाधारणहरूमा दुर्गामातालाई सावित्रीका रूपमा नै पुज्ने, सावित्रीका रूपमा मात्र चिनेका हुन्छन् र दुर्गामाताका मन्दिरहरूमा दुर्गामातालाई खुशी पार्न भनेर पुजाआजाका सहित बलि दिने चलन हुन्छन् धेरै ठाउँहरूमा । यस्ता सर्व साधारणहरूमा दुर्गामाताका बारेमा केहि जानकारी हुँदैन यसै अरूका लहैलहैमा लागेर देखासिकिका आधारमा सँस्कारहरू बनाइएका हुन्छन्, वेदशास्त्रहरूका बारेमा केहि जानेका हुँदेनन् वा अलि अलि कुनै स्तुतीहरू वा स्तुतीका किताबहरू पढेका रहेछन् भने पनि अर्थ बुझ्ने गरेका हुँदैनन् र अर्थ बुझ्ने सोच गरेका पनि हुँदैनन् ।

वास्तवमा दुर्गामाता सावित्री र गायत्री कि पूर्ण रूप हुन् । उहाँमा शक्तीको पूर्णता छ र ब्रह्मका रूपी, सृष्टिका सबै रचनाको पूर्ण ज्ञान भएको भएर सृष्टिमा उहाँ भन्दा शक्तीशाली अरू काेहि छैनन्, सबै सस्त्रहरू र सबै अस्त्रहरू कि ज्ञान भएकि भएर उहाँका सबै हातमा साधन र हतियारहरू छन् ।  उहाँका ति थुप्रै हातहरूमा आशिर्वादका लागी भनेर आशिर्वाद दिदै गरेको हात छ, ज्ञान दिनका लागी भनेर माला जप्दै गरेको हात छ, हातमा कमलका फुल लिएको हात पनि छ, श्रृङ्गारले भरिपूर्ण पनि हुनु हुन्छ भने अन्य सबै हातहरूमा हतियारहरू लिनु भएको छ । उहाँले आवश्यकता अनुसार हातहरू धेरै र थोरै गर्न सक्नु हुन्छ । त्यसैले दुर्गामाता गायत्री र सावित्री कि पूर्ण रूप हुन् । दुर्गामातालाई गायत्री र सावित्री भनेर गरिएका परिचय र पुजा मात्र उहाँको लागी पूर्ण पुजा हुन्छ । आफ्नो मनोकामना पुरागरिदिनुस भनेर दुर्गामाताको पुजा आधा पूजा मात्र हो ।

ब्राह्मणहरूमा गायत्री मंत्र मुल मंत्र हो । त्यसैले ब्राह्मणहरूमा शक्तीको होडवाजी मारकाट तिर भन्दा ज्ञानका कुराहरू, मृत्यु, माेक्ष, अथवा शिक्षाका कुराहरूमा जोड दिइएको हुन्छ ।

गायत्री मंत्र र अर्थ

।। ॐ भूर्भुव: स्व :तत्सवितुवरेण्यं भर्गो देवस्य धीमहि धियो यो न: प्रचोदयत् ।।

अर्थ सहित

–ब्रह्म,  …   भू: -प्राणस्वरूप,   ……..   भुव: -दुख नाशक,  …….. स्व: – सुख स्वरूप,….. तत् -त्यो,     …….  सवितु:–  तेजस्वी, …….वरेण्यं  -श्रेष्ठ…….भर्गो -पाप नाशक,…… देवस्य -दिव्यलाई, …….धीमहि– धारण गर्न,….. धियो –  बुध्दिले, ….. यो–  जो,……  न: – मलाई,……  प्रचोदयात -प्रेरित् गरोस्   ..

यस गायत्री मंत्रले ब्रह्मको महत्वको वर्णन गरेको छ । हुन त महतहरुले गरेका सबै अनुभवहरू गायत्री हुन् । महतकाे प्रकृतीलाई देख्ने चिन्ने, त्यस प्रकृतीको महत्वलाई चिन्नु र उपयोग गर्ने ज्ञान गायत्री हो भने ब्रह्मको महत्वलाई चिन्नु, ब्रह्मको महत्वको उपयोग गर्नु  पनि ब्रह्मको गायत्री हाे र । त्यसैले गायत्री मंत्र सृष्टिमा भएका सबै रचना भएका मन्त्रहरू भन्दा श्रेष्ठ र उत्तम रचना र उत्तम मंत्र हो । त्यसैले यो मंत्र सबै भन्दा उत्तम गायत्री हो ।

त्यसैले ब्राह्मणहरूमा गरू कहाँ ज्ञान सिकेर प्रमाणपत्र दिए जस्तै गरेर गायत्री मन्त्र सिकाएर ब्राह्मणको पदवी र जिम्मेवारी दिइएको थियो र आज पनि त्यसै गरिन्छ ।

तर गायत्री मंत्रलाई घोक्ने र जप मात्र गर्ने तर सृष्टिका कुराहरू गहिराइमा नबुझ्ने हो भने गायत्री मंत्रको जप मात्रले सायद जति फल पाउनु गर्ने हो नपाइएला । सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रका कुराहरू बुझेर ब्रह्मज्ञानका कुराहरु पढेर, बुझेर, ब्रह्मका गुणहरूलाई गहिराइमा अनुभवहरू गर्न सक्षम भएर देवीदेवताहरूलाई देख्न सक्ने भएर ब्रह्मज्ञानी देवीदेवताहरूलाई देख्न सक्ने, उनीहरूसँग प्रत्यक्ष कुराकानीहरू गर्न सक्ने भएर ति ब्रह्मज्ञानी दुर्गामाता, शिवजीहरूसँग प्रत्यक्ष देखेर कुराकानी गर्न सक्ने भएर ति देवीदेवताहरूका सावित्री रूपको गायत्री बुझ्न सक्नु नै गायत्री मंत्रको उत्तम सदुपयोग हुन सक्दछ ।

गायत्रीले सावित्रीको प्रयोग उपयोग गर्न सिकाउने हो रहेछ ।

त्यसै भएर हरेक सावित्रीको महत्व गायत्रीले सिकाउने हो रहेछ । त्यहि गायत्री नजानेर मानिसले जीवनमा दु:ख पाउने गरेका हुँदा रहेछन् । अज्ञानताले मानिसलाई भ्रममा अल्मलाइरहेको हुन्छ र आफुसँग भएको चिजको वेलामा महत्व नबुझ्नु, समयको वेलामा महत्व नबुझ्ने परिरस्थितीमा आएका हुन्छन् । माल पाएर चाल नपाउने भन्ने चलन त छ । तर त्यो भनेको त माल भनेको सावित्री र चाल भनेको गायत्री भनेका रहेछन् । हुन पनि त्यस्तै भएको हुन्छ । पितृ, भुत, प्रेत, अज्ञानी देवीदेवताहरूले आफ्नो सावित्रीको गायत्री नबुझेकाहरू हुन् । हरेक मन्दिरहरूमा थुप्रै भुत प्रेतहरूले हामी नै देवीदेवताहरू हौँ, हामी नै तिमीहरूको मागहरू पुरा गरिदिन्छौँ भनेर बसेका हुन्छन् । उनीहरू आफ्नो सावित्री रूप मात्र देखेका तर आफु को हो भनेर सावित्रीका गायत्री नचिनेकाहरू हुन् । त्यस्तै गरेर मानिहरू पनि आफ्नो सावित्रीलाई देख्ने तर आफ्नो सावित्रीको गायत्री थाहा नभएकाहरु हुन्छन् । सिङ्गार पटार र ऐना हेरेर दिन फाल्ने अनि जाँच आयो कि फेल, फेरि जाँच आयो फेरि फेल हुन्छन् । यो पनि आफ्नो सावित्रीको गायत्री नचिनेकाहरू नै होलान् । कसैले घरमा श्रीमती विहे गरेर ल्याएर पछि झगडा गर्ने  पिट्ने गर्छन, अझ कता मार्छ कि भन्ने डर, कतिले त मारिसके । यस्तो हुनु पनि श्रीमतिको गायत्री नचिनेर होला । छोराको बिहे गरेर बुहारी ल्यायो अनि सासु बुहारी झगडा, अनि छोरा बुहारीसँग आमा एक्लै । यो पनि सासु बुहारीको गायत्री नचिनेर नै होला ।

हुन त सावित्री र गायत्री बराबर चिनेका मानिसहरू हुँदैनन् होला वा त्यहि सावसत्री र गायत्री चिनेको अनुसार मानिसको चेतनाको स्तर थाहा हुन्छ । सबैलाई सावित्री र गायत्रीको बराबर ज्ञान हुनलाई परिस्थितीहरूले दिएका हुँदैनन् । कसैका घरमा श्रीमती हुँदैन । त्यसैले श्रीमती बिहे गरेर ल्याउन पाए हुन्थ्यो भनेर अर्काको छोरी देखेर मनमा माया बुनेर बसेको हुन्छन् । यस्ता मानिसहरु सावित्री नभएका गायत्री मात्र भरिएकाहरु हुन् । कोहि घरमा श्रीमती भएर पनि स्वास्नी पिट्नमा गाउँमा नै नाम कमाएकाहरू हुन्छन् । तिनीहरू सावित्री मात्र भएका गायत्री नभएकाहरू होलान् ।

परिवारहरू सृजना हुन्छन्, आफ्नी छोरी अर्काका घरमा जान्छन्, आफ्ना घरमा अर्का कि छोरी बुहारी भएर आउछन् । यि कुराहरु सत्य हुन् । यहि सत्यलाई ध्यानमा राखेर काम गर्नुको सट्टा विपरित गर्न खोज्दा अनि सावित्री मिल्दैन रहेछन् । छोरी पाए ज्वाइले लान्छ छोरा पाए बुहारीले लान्छ भनेर मात्रै जानि दिए पनि कति कलह कम हुन्थ्यो होला । श्रीमान श्रीमती भनेको सम्युक्त जीवन बाच्न भनेर सृजना गरिएको हो । श्रीमानको काम कमाउने हो श्रीमतीको काम श्रीमानले कमाएको व्यवस्थित गरेर थन्को लगाएर, पकाएर मिलेर खाने भनेको हो । श्रीमानले कमाएर ल्याएको चामल काचै खान मिल्दैन । घरमा भएकी श्रीमतीले त्यस चामललाई भात बनाइदिएकि हुन् । त्यो चामललाई भात बनाएर खान पाइन्जेल यो शरीर धेरै बाच्छ । त्यसो भएर यो शरीर धेरै दिन बाच्नलाई त्यो चामललाई भात बनाइदिने श्रीमती पनि धेरै बाचोस भन्ने चाहना राखेको हुनुपर्छ । श्रीमतीले पकाएको भात वेलामा खान पाएर आफु पनि धेरै बाच्न पाइने सम्भावना रहेछ । त्यो भात पकाइदिने श्रीमती धेरै दिन बाचोस भनेर आजैबाट श्रीमतीको  हेरविचार गर्ने हो । आजै हेरविचार गरे भात धेरै दिन खान पाइयो नत्र अनि दु:ख पाइयो र यति कुरा मात्रै जाने पनि श्रीमतीको गायत्री अलि अलि बुझेको भन्न मिल्छ । हु त आजको जमानामा सबै श्रीमतीले भात पकाएर बस्ने गरेका हुँदैनन्, श्रीमानले भन्दा बढि कमाउने श्रीमती पनि हुन्छन् । मैले त समाजमा प्राय: त्यस्तै खालको चलन र सोचाइ हुन्थ्यो र भनेको हुँ । राम्री श्रीमती लिएर हिड्न मन भए घरकि श्रीमतीलाई सिगार्ने हो अर्काकि श्रीमती ताक्ने होइन भनेर थाहा नभएका धेरै मानिसहरु हुन्छन् । बाठी श्रीमती चाहिएको भए अब घरकि श्रीमतीलाई सिकाएर बाठी बनाउने हो । बिहे गर्ने वेलामा वेलामा फाेटाे मात्र हेरेर बिहे गर्छन् अनि बिहे गरेर ल्याइसके पछि ३२ लक्षण पनि भएकाे हुनु पर्छ भनेर खाेज्छन् । अनि कहाँको कुरा मिल्छ ? ब्याट्रीले कतिक काम गर्छ भनेर फोटो हेरेर कहाँ थाहा हुन्छ त ? ब्याट्री त भोल्ट मिटरले चेक गर्नु पर्छ अनि बल्ल थाहा हुन्छ । हो यति गायत्री त समाजले नबुझि भएको छैन । हरेकको घरमा एउटै कथा छ प्राय: । जुन जोगी आएनि कानै चिरेकाे भने जस्तै छ ।

परिवार भनेको यिनै सावित्रीहरूको जमघट हो । परिवारमा त्यस परिवारको गायत्रीलाई बुझेको भएर श्रीमान बाहिर गएर काम गर्ने, श्रीमती घरमा बसेर काम गर्ने, श्रीमतीले श्रीमानलाई कुरेर बसेर श्रीमानले कमाएर ल्याउछ र म पकाउछु र सबैले मिलेर खाम्ला भनेर बसेका हुन्छन् । यस्ता गुण भएका परिवारहरू भनेका परिवारका गायत्री बुझेकाहरू हुन् । कुनै कुनै परिवारमा सावित्रीहरू मात्र जम्मा भएर गायत्री आइनन् भने अनि बसिखानु हुँदैन ।

त्यसैले कसै कसैको घरमा कतै नभएको टेन्सन भइरहेको हुन्छ ।

श्रीमती कुरेर घर मै बसम् त आर्थिक चाप ।

पैसा कमाउन भनेर बाहिर जाम त श्रीमती टाप ।।

परिवारमा यस्तो कुराहरू हुनु भनेको यिनै सावित्री र गायत्रीको मात्रा पुग नपुग भएर हो ।

मानिसहरूका जीवनमा जतिपनि अभाव, असहाय, कठिनताहरू अनुभव गरिरहेका हुन्छन् । तिनीहरू मध्येमा कतिपय समस्याहरू यिनै सावित्रीर गायत्रीका कुरा वेलैमा नबुझेका भएर हाे । सृष्टिमा भएका हरेक कुराहरू आफ्नाे लागी उपयुक्त बनाउन सक्नु पर्छ । बारीमा फलेका घासपातहरू खाने तरिका जानेको भएर साग भएका हुन् । अन्य मानिसलाई मित्र वा शत्रु बनाउने पनि प्राय: मानिसले आफैले बनाउने हाे ।

यहि सावित्री र गायत्रीको ज्ञान ब्रह्मज्ञानको उच्चस्तरको ज्ञान हो । यो कुराहरू  ब्रह्मज्ञानका अगाडीका पाठहरू पढेर ब्रह्मज्ञानले भनेका कुराहरूका केहि अनुभवहरू पनि गरिसकेकाहरूले मात्र बुझ्न सक्नेछन् । यो पाठ गहिराइमा पढेका बुझेकाहरूले ब्रह्मज्ञानी देवीदेवताहरूलाई नजिकबाट पाउन सक्षम हुने छन् ।

गायत्री र सावित्री नै सृष्टिका रचनाका रहस्यहरू हुन् । शिवजीले पनि गायत्री र सावित्रीका कुराहरू जानेकाहरुले स्वतह संसारको सागर पार गर्नेछन् भन्नु भएको छ ।

 

⇐विषय सूचीमा फर्कन