ब्रह्मको महत्व

पाठ ६.१.४

(Under editing process)

⇐विषय सूचीमा फर्कन

अगाडीका पाठहरूमा ब्रह्मको परिचय, ब्रह्मको गुणहरूका बारेमा उल्लेख गरिसकेको छ । ब्रह्म भन्ने शब्द धेरैले सुनेका हुँदैनन् । हिन्दु धर्म सँस्कारहरूमा तथा हिन्दु धर्मसँग सम्बन्धित भएर रहेका अन्य सँस्कारहरूमा यस्को अलि अलि चर्चाहरू भएका हुन्छन् भने हिन्दु धर्म सँस्कृतीसँग नजिकको सम्बन्ध नभएका अन्य धर्म सँस्कारका लागी यो ब्रह्म भन्ने शब्द अज्ञात ने छ । अन्य सँस्कृतीहरूमा  ब्रह्मको चर्चाहरू केहि अप्रत्यक्ष रूपमा अथवा केहि मिल्दा जुल्दा गुणहरूका चर्चा गरिएका भए पनि प्रत्यक्ष रूपमा ब्रह्म भन्ने नै शब्द प्रयोग गरेर हिन्दु धर्म सँस्कृती बाहेक अन्त कतै चर्चा उल्लेख गरिएको छैन ।

हुन त ब्रह्म भन्ने शब्दका बारेमा कुनै जानकारी नै नभएका भए पनि मानव जातीको भौतिक विकासमा कुनै कठिनाइ आएको जस्तो देखिएन । ब्रह्मका ज्ञान नभएकाहरूले गाडी बनाए, बिजुली निकाले, इन्टरनेट बनाए, जहाज रकेट बनाए, अन्तरिक्षमा यान बनाएर पठाए, अन्तरिक्षमा बर्षाै सम्म मानिसहरू बस्न मिल्ने बनाएर, मानिसहरू अन्तरिक्षमा जाने आउने सजिलै गर्न थालेका छन् । बैँक, बैँकमा पैसा, ठुला ठुला घर, विभिन्न साधन सुविधाहरु प्राप्त गर्न ब्रह्मको ज्ञान र ब्रह्मको अनुभवको आवश्यकता पर्दैन रहेनछ । यी कुराहरू ब्रह्मका ज्ञान नभएकाहरूले नै उपभोग गरिरहेका छन् ।

मानव जीवनमा सृष्टिका बारेमा मानव शरीरहरूका बारेमा धेरै खोजि अनुसन्धानहरू भएका छन् । भौतिक कुराहरुका खोजिमा फिजिक्स, केमेष्ट्रि, वायाेलाेजी विज्ञानको ठुलो उपलब्धिहरू छन् । आज सन्सारभर विभिन्न विश्वविध्यालयहरू खोलिएका छन् यिनै भौतिक कुराहरूका विषयमा जानकारी लिन दिन भनेर । चिकित्साशास्त्रले पनि आजको युगमा ठुलो फट्को मारेको छ । मेडिकल युनिभर्सिटीहरू, विभिन्न सरकारी तथा निजी हस्पिटलहरू, डाक्टरहरू, नर्सहरू, विभिन्न उपचारका विधिहरू, विभिन्न उपचारका उपकरणहरू, औषधीहरु, औषधी उत्पादन गर्ने कम्पनीहरू कै आजको समाजमा सन्जाल बनेको छ ।

यि सबै मानव जीवनका प्रगतीहरू मानिसका भौतिक जीवनका लागी गरिएका साधनहरू रहेछन् । मृत्यु भन्ने विषयलाई आज सम्मको विज्ञानले छोटो परिचयमा टुङ्याइ दिएको छ । मानव जीवनका जति सुकै प्रगती र प्रयासहरू भएपनि ति प्रगतीहरु मानिसको स्वास फेर्ने सक्षमता रहुन्जेल सम्मका लागी मात्र हुन् । मानिसले स्वास फेर्न छोडेपछि, मुटुको धडकन चल्न छोडेपछि मानिसको मृत्यु हुन्छ । त्यसपछि त्यस मानिसको अस्तित्व सिध्दिन्छ । त्यस मरेका मानिसका नाममा यादहरू मात्र अब बाँकी रहन्छ भनिएको छ विज्ञानले । कानुनले पनि मानिसको मृत्युपछि उसका अस्तित्व र अधिकारहरूको अन्त्य हुन्छ भनेको छ । त्यस मृत मानिसका यादहरूलाई आफ्ना आफन्तहरूले कसरी याद राख्न मन छ त्यसरी नै यादहरु राख तर कानुनमा आधिकारिक रूपमा उस्को अस्तित्व छैन भनिएको छ ।

तर हाम्रो, यस किताबका लेखकहरूको, खोजि र अनुसन्धानका निचोड अनुसार  मानिसहरू मरेर पनि पूर्ण रूपमा मरेका हुँदैन रहेछन् । यो कुरा आजको मात्र नभएर आज भन्दा अगाडी देखि मरेकाहरू पनि मृत्युपछि यतै अज्ञानतामा भौतारिरहेका रहेछन्, सबै राजा देखि जनता सम्म, सबै धनी देखि गरिब सम्म, राम्रा भनेकाहरू पनि मरेपछि यतै रहेछन्, नराम्रा भनिएका भए पनि मरेपछि यतै रहेछन् । तिनीहरू मृत्यपछिको जीवनको वास्तविकतालाई नबुझेको भएर भ्रममा भौतारिरहेका हुँदा रहेछन् । यी कुराहरू प्रत्यक्ष देख्ने र तिनीहरूसँग बोल्ने मौका समेत पाइयो । मानिसले मरेपछि गरेका दु:खका अनुभवहरूको वर्णन गरेर गर्न नसकिने दु:खका अनुभवहरू हुन् । मानिसले जीवन र मृत्युको वास्तविकतालाई बुझ्न तिर नलागेर जीवनमा जीवनका भौतिक सुबिधाहरू तिर मात्र ध्यान केन्द्रित गर्ने गरेको हुन्छ र जीवनभर विभिन्न कामहरू गर्ने, सम्पत्तीहरु जोड्ने, परिवार बनाउने, साथीभाईहरू बनाउने, तिनै परिवार साथीभाइहरूसँग मिलेर खाने, मिलेर रमाइलो गर्ने, तिनै परिवार साथीभाइहरूका भरोसा र आशा गर्ने गर्दछन् । तर यि सबै सम्बन्धहरू मानिसको मृत्यु हुने वित्तिकै सिध्दिन्छन् । किन कि यी ब्रह्मका ज्ञान नभएका साथीहरूले मरिसकेका मानिसहरूलाई देख्न सक्दैनन् । ती मरेकाहरूलाई देख्न नसक्ने परिवार र साथीहरूले जति रोए पनि, जति विलौना गरे पनि मरेकाहरूलाई देख्ने र मरेकाहरूलाई परेका दु:ख आपदका कुनै समाधान गर्न सक्दैनन् । त्यसैले ब्रह्मका ज्ञान नभएका परिवारहरू साथीहरूसँगको सम्बन्धहरु घाट सम्मको सम्बन्ध मात्र हो । त्यस घाटमा मरेकाे मानिसको स्थुल शरीरको विसर्जनपछि अब के गर्ने, अब कता जाने भन्ने कुराहरुका कुनै सुझाव र सहयोग ती ब्रह्मका ज्ञान नभएका अज्ञानी परिवारले र साथीहरूले दिन सक्दैनन् ।

यसरी मरिसकेका मानिसहरू मरेपछि पनि पूर्ण रूपमा मरेका छैनन् भन्दा पनि अझ मानिसमा त्रास, होस, बुध्दि नआउन सक्छ किन कि उस्लाई लाग्दो हो कि उस्को अहिले नै मर्ने वेला आएको छैन भने किन मृत्युको बारेमा चिन्ता लिने भनेर । तर महत्वपूर्ण कुरा अझ यो छ कि ती मरिसकेका मानिसहरू जीवित मानिसहरूसँग नै सम्पर्क गरेर बसिराखेका हुन्छन् र जीवित मानिहरूका जीवनमा विभिन्न प्रभावहरू पारिराखेका हुन्छन् र जीवित मानिसहरूका जीवनमा आइपर्ने विभिन्न दुख कष्टहरू तथा अकाल मृत्युहरू तिनै मरिसकेका तर जीवितहरूसँग सम्पर्कमा आउन सकेका, आउने गरेकाहरूले गराउदछन् ।

ब्रह्मको गुणहरूको जानकारी पाउने, ब्रह्मको चर्चा सुन्ने, केहि अनुभवहरु गर्ने मौका मिल्यो भने ती पितृहरू, भुत प्रेतहरू, अन्य अज्ञानी देवीदेवताहरूमा भएका भ्रमहरु हटेर वास्तविकताको होस खुल्ने सम्भावनाहरू हुन्छन् । त्यसैले वेदशास्त्रहरूमा मानिसले आफु मर्नु भन्दा अगावै नै ब्रह्मको ज्ञान जानेर, वैराग्यता हासिल गरेर बल्ल मरेको हुनु पर्दछ भन्ने सुझाबहरू दिइएको छ अथवा ब्रह्मका ज्ञान भएका मानिसहरू, ब्रह्मज्ञानीहरू सँगत गर्नु,  तिनीहरूलाई घरमा बाेलाउनु, सत्कार गर्नु, मान मर्यादाहरू गर्नु, तिनीहरू कै हातबाट देवीदेवताहरूका पुजा आजा गराउनु, तिनै ब्रह्मज्ञानीहरू मार्फत मरिसकेका मानिसहरूको उद्दार हुन सक्छ भनिएको छ ।

त्यसैले मानव जीवनमा हरेक मानिसले ब्रह्मको बारेमा पढेको, बुझेको, अनुभव गरेको, अज्ञानी देवीदेवताहरू छन् भनेर थाहा भएको, ब्रह्मज्ञानी देवीदेवताहरू छन् भनेर थाहा पाएको, ब्रह्मज्ञानी देवीदेदताहरूसँग सम्पर्क गर्न सक्ने भएको, तिनीहरूसँग नजिकता भएको, घनिष्टता बनाउन सकेको हुनु पर्दछ ता की मरिसकेपछिको जीवनमा आइपर्ने भ्रम र आपदका वेलामा गुहार माग्दा ब्रह्मज्ञानी देवीदेवताहरू आएर उद्दार गरिदिउन । ब्रह्मका ज्ञान गहिराइमा पढेका, गहिराइमा बुझेका, मनन गरेकाहरूसँग मात्र ब्रह्मका ज्ञान भएका देवीदेवताहरूको लगातार सम्पर्कहरु, दोहोरो सम्पर्कहरु भएका हुन्छन् । आज जीवित हुँदा नै ब्रह्मज्ञानी देवीदेवताहरूको ज्ञान जानेर, उनीहरूसँग नजिक भएर, उनीहरूलाई रिझाइ रहेकाहरूले मृत्युपछिका जीवनमा परेका अप्ठेरो परस्थितीमा गुहार माग्दा ब्रह्मज्ञानी देवीदेवताहरू द्वारा मद्दत पाइने सम्भावना हुन्छ । ब्रह्मज्ञानी देवीदेवताहरूलाई आजै यति रिझाउन जानेको हुनु पर्छ कि म मरेपछि तपाइहरूसँग भेट हुनसकोस, मेरो मृत्युका समयमा भएका पिडाहरूले मैले ब्रह्मका ज्ञान भुलेछु, ब्रह्मज्ञानी देवीदेवताहरू छन् भनेर भुलेछु भने पनि मलाई सम्झाइ दिनु होला भनेर आजैबाट भनिराखेको हुनु पर्दछ । आफुलाई आपद पर्दा ती ब्रह्मज्ञानी देवीदेवताहरूका नामहरू याद होस, उनीहरूलाई नै पहिला गुहार माग्न आओस भनेर ती नामहरू पटक पटक घोकेको हुनु पर्दछ, तिनीहरुको नाम लिने बानी गरेको हुनु पर्दछ । ती ब्रह्मज्ञानी देवीदेवताहरूका नाम हाम्रो चेतनामा चुन ढुङ्गामा लेखिएका चित्रहरू जस्तै बसेका हुनुहुँदैन । यदि चुन ढुङ्गामा लेखिएको जस्तै चित्र वा छाप रहेछन् भने त्यो चुन ढुङ्गालाई पानीमा डुबाउदा चुन ढुङ्गामा लेखिएका चित्रहरू छिट्टै पखालिन्छन् । त्यसैले ती ब्रह्मज्ञानी देवीदेवताहरूका नाम, तिनीहरूसँगको मित्रता भित्रै देखि गहिराइमा रहने गरेर, लिङ्ग शरीरका सबै आवरणहरू हराएर जाँदा  पनि र महत मात्र बाँकी रहदा पनि ती यादहरूसँगै रहने गरेर गाढा गरेर याद गर्ने गरेको हुनु पर्दछ ।

ब्रह्मको बारेमा आवश्यक जानकारी पाउने, ब्रह्मज्ञानी देवीदेवताहरुलाई नजिकबाट पाउने, उनीहरुसँग दोहोरो कुराकानी गर्ने, उनीहरुसँग मित्रता गर्न सक्षम बनाउने ज्ञान दिने साधन भनेको ब्रह्मज्ञानको किताब नै हो ।

ब्रह्मको ज्ञानलाई गहिराइमा पढेका र ब्रह्मका गुणहरूलाई गहिराइमा अनुभव गरिरहेका ब्रह्मज्ञानीहरूले ब्रह्मको अनुभव गर्न सक्दछन् । ब्रह्मको अनुभव गरेरर ब्रह्मलाई देख्न सक्ने र ब्रह्मकाे शान्त, आनन्द, स्वप्रकाश र चेतनाको गुणलाई प्रत्यक्ष देखेर प्रत्यक्ष अनुभव गरेपछि ब्रह्मलाई अझ गहिराइमा बुझ्नु पर्दछ । ब्रह्मलाई प्रत्यक्ष अनुभव गरेकाहरूले ब्रह्मज्ञानी देवीदेवताहरूसँग झन् नजिकताका अनुभव गरेका हुन्छन्, अन्य ब्रह्मका ज्ञान नभएका देवीदेवताहरूका कष्टहरूबाट निस्कन उम्कन मार्ग मिल्दछ । ब्रह्मको गुण बुझेर ब्रह्मज्ञानी शिवजीसँग नजिक भएकाहरूले, जीवनका कठिनाइ र महत्वहरू बुझेकाहरूले, जीवनमा वैराग्यताका कुराहरू बुझेकाहरूले सदाशिवको अनुभव पनि गर्न सक्दछन् । यो सदाशिवको अनुभव नै कैवल्य मुक्तीको अनुभव हो ।

मानव जीवनका विभिन्न समस्याहरूका कारणहरू र समाधानका उपायहरू यहि ब्रह्मको ज्ञान द्वारा प्राप्त गर्न सकिन्छ । विज्ञानले सृष्टि, जीवनका, मृत्यु र तेस्रो नेत्रका बारेमा नबुझेका कुराहरू यहि ब्रह्मज्ञानमा उल्लेख गरिएका छन् । चिकित्साशास्त्रमा उपचार हुन नसकेका कतिपय रोग लक्षणहरूका उपचार यहि ब्रह्मको ज्ञान द्वारा उपचार हुन सक्दछन् ।

मानव जीवनमा सबै भन्दा महत्वपूर्ण कुरा नै ब्रह्मको जानकारी पाउनु हो । यो जानकारी ब्रह्मज्ञानले केहि मात्रामा भने पनि दिन प्रयास गरेको छ । हामी डाक्टरहरूले, यस किताबका लेखकहरू, लेखहरू मार्फत, परामर्शहरू मार्फत, विरामीहरूका उपचारका विभिन्न उदाहरणहरू र उपचारका विधिहरू द्वारा ब्रह्मका केहि गुणहरूका मानव जीवनमा परिरहेका प्रभावहरू बुझाउने, स्पष्ट पार्ने अनुभव गराउने, सदुपयोगहरू गर्न सिकाउने प्रयासहरू गरेका छौँ ।

 

⇐विषय सूचीमा फर्कन