⇐विषय सूचीमा फर्कन

पाठ ३.८.२

मेरो खोजीमा लिँग शरीरसँगको सम्पर्क र सँघर्ष

मैले अध्ययनको खोजिको क्रममा लिँग शरीरको खोजी गरेको होइन र वेदशास्त्रको अध्ययन गर्ने मेरो उद्देश्य थिएन । तर चिकित्साशास्त्रको गहिराइमा पुग्दापुग्दा थुप्रै अर्थ नलागेका मानव जीवनका समस्याहरू देखेको थिएँ । आयुर्वेदशास्त्रले मानव जीवनको उपचारका विधिहरू वर्णन गरेको छ । म जन्मेको हुर्केको र पढाई सिध्याएपछि काम गर्नु पर्ने परिवेशमा पनि तिनै आयुर्वेदका चर्चा र विधिहरूको चर्चा सुन्नु पर्ने भएकोले त्यसआयुर्वेदलाई अलि गहिरिएर हेर्ने, सुन्ने, मौका मिलेको अवस्थामा पढ्ने गरेको थिएँ । साथै अन्य वेदशास्त्रहरुलाई पनि कुनै गहिराइमा पढ्ने गरेको होइन तर मौका मिलेको ठाउँमा पढ्ने र मनन गर्ने गरेको थिएँ । तर ती अलिअलि मात्र जानेको पढेको वेदशास्त्रहरु, आयुर्वेद र धर्म संस्कारका विधिहरू यति बढी भइसकेको रहेछ कि मेरो जीवनको हरेक कार्यमा त्यस्को सकारात्मक वा नकारात्मक प्रभाव पर्ने गरेको रहेछ । मैले पढेको विज्ञानका कुराहरूमा शङ्का उत्पन्न हुने गरेर म त्यस वेदशास्त्रहरु, आयुर्वेद र धर्म संस्कारका कुराहरूले उब्जाएका प्रश्नहरूमा अड्किन पुगेछु । मलाई मेरो विद्यामा के के नपुगेको आभास भयो र आफ्नो चिकित्साशास्त्रको डिग्री लिएपछि पनि म खुरूक्क काममा आउन सकिन ।

सुरूमा विज्ञान पढ्दा पैदा भएका जिज्ञासाहरूमा झन् चिकित्साशास्त्रको गहिराइको पढाइ र अनुभवले कता हो कता पुर्यायो । चिकित्साशास्त्रमा पनि मैले जिज्ञासा राखेका प्रश्नहरूको जवाफ थिएन र झन बढी समाधान नभएका प्रश्नहरू थपिदिएका थिए । कसैले वास्ता नगरेको समस्याको खोजी गर्न मन लाग्यो मृत्यु के हो ? भनेर । यस विषयलाई विज्ञान वा समाजले खासै वास्ता र खोजी नगरेको जस्तो गरे पनि समाजमा मानिआएको मृत्युपछिको कार्य नगर्न वा छोड्न कोही तयार थिएनन् । यिनै मृत्यु सम्बन्धित रितिरिवाजले नै मानिसलाई विभिन्न जात वर्गमा फरक बनाएको छ । म आफै पनि यी कुनै एक जात र वर्ग भित्र पर्दछु । म पनि समाजमा आएर त्यसैको विधि र बन्धनमा बाँधिन बाध्य थिएँ । त्यसो हो भने मैले विज्ञान पढेको के काम लाग्यो त आखिरमा विज्ञान नपढेकाहरूका शरणमा गुहार माग्नुपर्ने भए भन्ने लाग्न थालेर ती धर्म संस्कारले सिकाएका विधिमा, नियालेर, चिहाएर हेर्न थालेँ । यती कुराले नै मलाई अरू भन्दा फरक बनाएछ र आज सम्मको समाजमा चलेको बाटोबाट अर्कै बाटोमा पुर्याएछ । सुरूमा मलाई थाहा भएन म बाटोबाट बहकिएछु भनेर । म निकै टाढा पुगेछु तर पछि फर्केर आएर पुरानो बाटो पहिलाउन थाल्दा पुरानो बाटाहरूमा धेरै गल्तीहरू थिए । समाजमा चलिआएको रितिरिवाज संस्कारहरू बढी जसो देखासिकिमा गरिएका थिए जस्को कुनै आधार थिएन पालना गर्नै पर्छ भन्नको लागि । मैले मेरो जीवनमा त्यस गल्तीहरूलाई सच्याउन खोज्नु समाजिक चुनौती थियो । यो कार्य गर्न अगाडि सर्नु मेरो लागि अप्ठ्यारोमा झन अप्ठ्यारो थियो । तर जीवनका कार्यहरू वास्तविकतालाई बुझेर मात्र गर्नु थियो ।

मानिसको मृत्यु पूर्ण रहेनछ र मरिसकेकाहरू यतै वरपर रहेछन् । तिनीहरू अति धेरै रहेछन् । तिनीहरू अति कष्ठ पिडामा रहेछन् । तिनीहरूको सम्पर्कमा आउँदा तिनीहरूको दुःख कष्ठ पनि मानिसमा आउँदो रहेछ । सुरू सुरूमा यो कुराहरू मलाइ थाहा थिएन तिनीहरूको सम्पर्कमा आएको धेरै पछि बल्ल थाहा भयो । मरिसकेको मानिसहरूबाट हुने खतराको बारेमा थाहा थिएन तर म मा जागेको जिज्ञासाका कारण मेरो मरिसकेका मानिसहरूसँग प्रत्यक्ष सम्पर्क हुन पुग्यो । मरिसकेकाहरू अझै यतै छन् भन्ने मलाई थाहा थिएन । तर  मरिसकेको मानिसहरूसँगको सम्पर्क नै मृत्यु के हो भन्ने प्रश्नको जवाफ हो रहेछ । हामीले देख्ने गरेकाे मृत्यु अपूर्ण मृत्यु हो भन्ने कुरा मरेका मानिसहरू सँगको सम्पर्कले स्पष्ठ गरायो । तर म यस जवाफको लागि तयार रहेनेछु । सुरूमा ती सम्पर्कहरू हुँदा के गर्नु पर्छ र त्यसको प्रतिफल के हुन्छ भनेर मैले सबै कुरा बुझिन । तर म डराइन र झन तिनीहरूको नजिक आउन चाहेँ । पछि तिनीहरूसँगको सम्पर्क स्पष्ठ हुन थाल्यो । मैले तिनीहरूसँग कुराकानी गर्न जानेँ, कुरा गरेँ र धेरै कुराहरू बुझेँ । अब  यी मरेका मानिसहरूको सम्पर्कको सबै अप्ठ्यारोमा म एक्लो थिएँ । आफैले खोजेको कुरा र हरेक मानिस, विज्ञान, चिकित्साशास्त्रसँग सम्बन्धित कुरालाई बुझेर पार नगर्नु आफ्नो जीवनको सवाल थियो । यो कुरा आफ्नो र आफन्तको जीवन मरणको कुरा थियो । यसरी वास्तविकतालाई बुझेर अगाडि बढ्नु पर्ने बखतमा समाजका गलत कुरालाई अरूको डर, त्रास, करकापमा सही हो भन्न तयार थिइन र मैले झन निडर भएर आफ्नो बाटोमा लागेँ ।

मैले गरेको जिज्ञासा सृष्टि, जीवन, मृत्युको बारेमा अझै गहिरिएर बुझ्रनु थियो । त्यो भनेको मृत्यु के हो ? भन्ने बारेमा गहिरिएर बुझ्नु थियो । मलाई यस मार्गमा धेरै कठिनाइहरू आए । धेरै पटक मैले मेरो अध्ययन गर्ने अठोटलाई बाटैमा रोक्नु पर्ने परिस्थितिहरू आइपर्यो । तर हरेक पटक अडिन खोज्दा मलाई यहि प्रश्नले अडिन दिएन र म हरेस नखाइ अझै अगाडि बढ्दथेँ । त्यो प्रश्न थियो मेरो मृत्यु भनेको वास्तविकतामा के हो ? आफ्नो जीवनको प्रमुख कुराको नै जवाफ र रहस्य नबुझि अरू कुरामा चाहना राख्नु यो ठुलो मुर्खता हुन सक्दछ । विज्ञानले भनेको जस्तै भौतिक शरीरको नास भएपछि सबै कुरा सिध्दिने भए पनि मैले के को लागि मरिमेट्नु ।  धर्मशास्त्रहरुले भने जस्तो गरेर मरेपछि अझै अरूले पानी र खाना खुलाउनु पर्ने हो भने त अरूको लहै लहैमा लागेर ढुक्क हुन त भएन भन्ने लाग्दथ्यो । अरूले दिँदा पुरा नदेलान्, कति दिनु पर्ने हो, मन पर्ने चिज पाउनु पर्यो, अरूले मन नपर्ने चिज देलान इत्यादी । त्यसैले बाटोमा थाकेर कतै रोकिने वा आफ्नो बाटो फेर्ने चाहनाहरूले ठाउँ पाएनन् ।

आत्मा भन्ने शब्दमा विश्वास गरे पनि नगरे पनि समाजमा यो शब्द कुनै नौलो होइन । तर म त्यस विषयहरूलाई देख्न र सुन्न थालेँ । यो मेरो लागि अनौठो र चुनौती थियो । सुरूमा मैले देख्ने गरेको चिजहरू मैले चाहना गरेका विषयहरू थिए त्यसैले तिनीहरूको सम्पर्कबाट तर्कन खोजिन । कठिन भए पनि तिनीहरूको सम्पर्कले मलाई धेरै कुरा सिकायो, धेरै चाहिने ज्ञानहरू दियो । सबैभन्दा अचम्मको कुराहरू थिए कि मैले मेरो १२ बर्ष अगाडि बित्नु भएको बुबासँग भेट गरेँ । उहाँ १२ बर्षपछि पनि मर्ने बेलामा जुन रोग लागेर जुन पिडामा बित्नु भएको थियो त्यही अवस्थामा हुनु हुन्थ्यो । मेरो अगाडि मरेको बुबा देखिनु र उहाँको त्यो अवस्थामा मैले केही सहयोग गर्न नसक्नु मेरो लाचार अवस्था थियो । उहाँले पानी माग्नु भएको थियो मैले किन, कसरी, कताबाट दिने केही अर्थ लगाउन सकिन र मैले उहाँलाई पानी दिन सकिन । मैले मेरो मरिसक्नु भएकी आमालाई पनि भेटेँ । उहाँ बित्नु भएको १८ बर्ष भइसकेको थियो । उहाँ पनि मर्ने अवस्थामा जुन रोग लागेर मर्नु भएको थियो त्यही अवस्थामा हुनु हुन्थ्यो । उहाँ रोइरहनु भएको थियो । मलाइ तेरो बुबासँग भेटाइदे भन्नु भयो । अब मैले कसरी भेटाइदिने । त्यो दिन त्यसै बिना जवाफ बिदा भएँ । तर त्यो दिन देखि मेरो लागि जीवनमा नयाँ आयाम सुरू भयो । मैले यसको जवाफ पत्ता लगाउने निर्णय गरेँ । अब म आजसम्म पढेको चिकित्साशास्त्रको शिक्षा र विधिमा बाँधिएर बस्न सक्दिन भनेर निधो गरेँ । चिकित्साशास्त्रले भन्न नसकेको कुराको सम्पर्कमा म पुगेको हुनाले कित म यो मेरो सम्पर्कको कुरा सबैलाई भन्न सक्ने भएर फर्कन्छु हैन भने चिकित्साशास्त्रको विद्याबाट बिदा हुन्छु भनेर बिचार गरेँ । अब पुरानो नजानेको अवस्थामा म आउँन सक्दिन । त्यो अवस्थाको सरसल्लाह मेरी श्रीमती यस किताबको सहलेखिकासँग भयो । उनी पनि सहमती भइन र अब डाक्टर भएर हामीले जानेका कुरालाई नजानेको जस्तो गरेर काम गर्न नसक्ने भनेर कसम खाएर हामी दुबैले हाम्रो डाक्टरको  स्टेथोस्कोप र ब्लडप्रेसर नाप्ने यन्त्र रसियाको मस्को शहरको मस्को नदीमा लगेर बगाइदियौँ । ( हामी त्यस बखत रसियाको मस्को शहरमा बस्दै थियौँ ) यदि हामीहरू पुनः चिकित्साशास्त्रमा फर्केर आयौँ  भने अरू डाक्टरहरूले गर्न नसकेको काम गर्न सक्ने भएर फर्कने छौँ भनेका थियौँ  । When Medical Council fail then we will start भनेर अँग्रेजीमा भनेका थियौँ । हामीलाई थाहा भईसकेको थियो कि विज्ञान, चिकित्साशास्त्रले मानव जीवनको प्रमुख समस्या मृत्युको बारेमा दिएको परिभाषा गलत छ भनेर । मेडिकल काउन्सिल अन्तर्गतका डाक्टरहरूले मृत्यु भनेर प्रमाणपत्र दिइसकेका मरेका मानिसहरूसँग हामीहरू कुरा गर्दै थियौँ  । यति कुरा सप्रमाण लेख्न बुझाउन सकिएमा सम्पुर्ण विज्ञान, चिकित्साशास्त्र र मानव जातीको ठुलो समस्याको रहस्य खुल्न जानेछ भनेर थाहा थियो ।

ती लिँग शरीरसँगको सम्पर्क एक भय त्रासहरूको अवस्था हो रहेछ । तिनीहरू छन् कि छैनन् वा कहाँ गएर खोज्ने होला भनेर सोचेको थिएँ तर पछि थाहा भयो तिनीहरू सँधै छेउमा रहेछन् । सृष्टिमा ती अदृश्य लिँग शरीरहरू हुँदा रहेछन् । साधारण अवस्थामा मानिसहरूले तिनीहरूलाई देख्न सक्दैन रहेछन् । तर अचानक मेरो र तिनीहरूको बिचको पर्दा हटेको जस्तो भयो । मैले देख्न थालेपछि अचानक तिनीहरूको र मेरो जम्का भेट भयो । तिनीहरू विभिन्न खालका थिए  गुहार माग्नेहरू, सुझाव दिने, हातमा हतियार लिएका डरलाग्दा कहाली लाग्दा र मार्न खोज्नेहरू पनि थिए । हुन त म यस विषयको खोजि गर्न भनेर आवश्यक आर्थिक, समाजिक, पारिवारिक तयारी गरिरहेको थिएँ  तर मेरो यस विषयमा अगाडि बढ्न गरेको तयारी एक छिनलाई पनि टिकेन । अरू कुनै तयारी म मा थिएन । त्यसैले ती लिँग शरीरहरूको सम्पर्कमा आउँदा म रित्तो हात थिएँ । यसरी मेरो सँघर्ष सुरू भयो । तिनीहरू चारै तिर थिए । म जहाँ गए पनी थिए  घरमा, काममा, बाटोमा, सुत्ने ठाउँमा, खाने ठाउँमा, काम गर्ने ठाउँमा । तिनीहरूले पारेको नराम्रो प्रभावहरू मेरा नजिक भएका, म सँग सम्बन्धित अरू मानिसहरूलाई पनि परेको थियो । मेरा परिवारका सदस्यहरू, काममा सहयोग गर्ने कर्मचारीहरू, लेनदेन, व्यवसायहरूमा विभिन्न तरिकाबाट प्रभाव परेको थियो । तिनीहरूले सबै सम्बन्धितहरूलाई पनि आफ्नो प्रभाव पार्दा रहेछन् ।

मरेका मानिसहरूसँगको भेट र कुराकानी भइराख्न थाल्यो । आफ्ना पितृहरू प्रायः सबैसँग कुरा भयो । मैले नजिकबाट देखेको चिनेको राजनितिक नेताहरु जस्तै नेपाली काँग्रेसको नेताहरु गणेशमान सिँह, बी. पी. कोइरालाहरू लगायत थुप्रै देश विदेशका नेता वा प्रशिध्द मरिसकेका मानिसहरूसँग सम्पर्क कुराकानी भयो । हजारौँ मरेका मानिसहरूसँग कुराकानी भयो । कोही गुहार माग्न आए, कोही शिक्षा दिन आए, कोही गाली गर्न आए । यही सम्पर्कको बेलामा मैले तिनीहरूका प्रकृती, गुण, क्षमता, चाहना, भावनाहरु बुझ्न खोजेँ अनि बुझ्रने मौका पाएँ ।

तिनीहरूसँग सम्पर्कमा आउँदा हामीलाई धेरै दुःख भयो । पछिका दिनहरूमा हामी अब ती मरेकाहरूको सम्पर्कबाट बाहिरिन खोज्यौँ । अनेक प्रयासहरू गरियो तर कुनै उपाय पूर्ण सफल भएनन् । तिनीहरूसँग सम्पर्क भएपछि उम्कन कठिन हुंदोरहेछ । तिनीहरू मध्य कोहीकोहीसँग यत्तिकै उम्कन मिलेन । तिनीहरूको लागि केही गर्नु पर्ने मेरो कर्तव्य र जिम्मेवारी थियो । आफ्नो जीवनको सबैभन्दा मायालु आदरणिय आमा बुबा नै रूदै गुहार मागेको अवस्थामा तिनीहरूलाई सकेको गुहार दिनु थियो । तिनिहरुलाई देखेर पनि नदेखे झैँ गर्ने ठाउँ थिएन । त्यसैले मैले यसलाई निचोड र निकासमा ल्याउने उद्देश्यले खोजी गर्न तिर लागेँ । यो अति कठिन, अध्ययन, मननका साथै एकान्तको आवश्यकता पर्दो रहेछ ।

अब मेरो खोजीको उद्देश्य लिँग शरीरको पूर्ण जानकारी र त्यसबाट पूर्ण छुटकारा पाउनु थियो ।

यसरी पत्याउन नसकिने कुराहरु, कतिपय मानिसलाई सुन्न पनि डर लाग्ने कुराहरुसँग मेरो पहिला सँजोगले भेट भयो अनि पछिपछि बाध्यताले यिनै कुराहरुलाई बोक्दै, खोज्दै हिडनुपर्यो । धेरै बर्षको अध्ययन मनन गर्नु पर्यो । यसै कुराहरुको जरो पत्ता लगाउँछु भन्दा लेखकले आफ्ना जीवनका सबै मुल्यहरु त्याग्नु पर्यो । जीवनमा हाँसिल गरेका सबै कुराहरु त्यागेर केवल यसै कुराको खोजी गर्छु भन्दा, पढाइ, डाक्टरको क्यारियर, परिवार, नातेदार, दाजुभाइ, दिदीबहिनी, घर, सम्पत्ति, साथीहरु सबैकुराहरु त्याग्नु पर्यो ।

यसरी आफ्ना मरिसकेका पितृहरूसँगको सम्पर्क, अन्य चिनेका वा नचिनेका थुप्रै मरिसकेका मानिसहरूसँग सम्पर्क, तिनीहरूसँग कुराकानी र साथ साथै तिनीहरूको सम्पर्कका बेलामा भएका दुःख सुखका अनुभवहरू स्पष्ठ भएपछि यो के भएको हो भनेर गहिरिएर खोजी गर्नु थियो । तर मैले पढेको विज्ञान र चिकित्साशास्त्रमा यस विषयको बारेमा केही उल्लेख तथा जवाफहरु थिएनन्  अथवा केही सुझावहरू थिए जुन गलत छ भनेर थाहा भइसकेको थियो । त्यसैले बरू यस विषयमा धर्म संस्कार, हिन्दु धर्मका वेदशास्त्रहरूमा चर्चा गरिएको थियो त्यसैले त्यहाँका संस्कारका विधिहरुमा र किताबहरूमा खोज्न थालेँ । यस विषयमा खोजी गर्ने क्रममा धर्म संस्कृती, धार्मिक शास्त्रहरु, पुराणहरूका साथै वेदशास्त्रहरूमा गहिरिएर खोजी गर्न थालेँ । वेदशास्त्रहरूमा, पुराणशास्त्रहरूमा लेखिएका कुराहरू आज सम्म कसैले प्रमाणित अनुभव नगरेको भए पनि तर्क, अर्थ, विधिहरू त्यहाँ भनिएको थियो । ती वेदशास्त्रहरूमा लेखिएका कुराहरू, धर्म संस्कारमा भनिएका कुराहरू केही सत्य रहेछन् केही कुराहरू सत्य लागेनन् सायद भाव बुझ्रन सकिएन होला । तर त्यहाँ केही तर्कहरू भनिएको थियो जुनकुरा मेरो अनुभव, समाजको समस्या र मेरो खोजीको विषयसँग सम्बन्धित थियो । ब्रह्मको ज्ञान र ब्रह्मको अनुभव हुनु नै मानिसको मृत्युपछिको मुक्तिको बाटो हो भनिएको थियो वेदशास्त्रहरूमा । त्यस मुक्तिपछि मात्र लिँग शरीरको अस्तित्व हराउछ, त्यसले पुनः जन्म लिँदैन भनिएको थियो । त्यो मुक्ति कार्य भगवानहरूले मात्र सम्पन्न गराउन सक्दछन् भनिएको थियो वेदशास्त्रहरूमा । तर आजसम्म कुनै मानव जातीले त्यो कुरा प्राप्त गरेको वर्णन कतै थिएन ।

अब त्यो मुक्तिको बारेमा गहिरिएर बुझ्नु र त्यसलाई प्राप्त गर्नु मेरो उद्देश्य र प्रयास भयो । सुरूमा त्यहाँ व्यक्त गरिएका कुराहरूको भाव बुझ्न अति कठिन भयो । आजको आधुनिक युगमा ती शास्त्रका कथाहरूमा अर्थ र सत्यता खोज्नु पागलपन जस्तो देखिन्थ्यो । तर मलाई जसरी पनि जवाफ चाहिएको थियो किन कि म फँसिसकेको थिएँ त्यस दलदलमा । मैले देखेका, भोगेका कुराहरू समाजमा भन्ने हो भने १०० प्रतिशत मलाई पागल भन्नेछन् भन्ने थाहा थियो । त्यस कुराको गहिराइमा गएर बुझ्न एकान्त आवश्यक हुँदै गयो । अझै गहिराइमा पुग्दा थाहा भयो कि त्यो अनुभव गर्न सबैकुरा त्याग्नु पर्ने साथ साथ केवल एक्लो भएको अनुभव गर्नु पर्ने रहेछ । त्यस एकान्तमा एकाग्रतामा पुग्नलाई सन्यासी बन्नु पर्ने रहेछ । अब मेरो जीवन साथी, किताबको सहलेखिकालाई नै छोड्नु पर्ने अवस्था आयो । अन्त्यमा सबभन्दा प्रिय श्रीमती त्याग्नु पर्यो । मैले घरमै बसेर जोगी सन्यासी बन्ने निर्णय गरेँ । घरमानै सँगै बस्ने तर म आफुलाई सन्यासी बनेको श्रीमतीलाई भनेँ । यो ठुलो चुनौती र चोटको घडी थियो । हजारौँ पटक सोच्दा पनि यस भन्दा अर्को उपाय रहेनछ । मेरो खोजीलाई निष्कर्षमा पुर्याउनलाई मैले त्यस्तो निर्णय लिएको थिएँ । तर म कुनै दिन यस समस्याको समाधान लिएर अवश्य फर्कन्छु र यस सन्यासीपनबाट निस्कनेछु भनेर श्रीमतीलाई बचन दिएको थिएँ । हुन त कुनै पनि वेदशास्त्रहरूमा सन्यासी बनेपछि फेरि फर्कन मिल्छ भनेर उल्लेख छैन । तर मलाई म फेरि फर्केर आउने आशा थियो । म एक दिन फर्केर आउछु भन्दा उनीलाई पनि केही राहत हुने र म भित्र पनि म अवश्य सफल हुन्छु भन्ने लागि रहेको थियो । मैले सन्यासी बन्छु भनेर निर्णय लिए पछि उनी साह्रै दुःखी भइन तर मैले मेरो उद्देश्य पुरा गर्न एकान्त एकाग्र प्राप्त गर्न सन्यासी हुनु परेको भनेपछि केही दिनपछि अब मेरो पो के बाँकी रह्यो र भनेर उनी पनि सन्यासी बनिन् घरमै बसेर । हामीहरूले सन्यासी बन्न कुनै धार्मिक गुरू कहाँ गएनौँ । त्यसको आवश्यकता छैन भनेर त्यस बेला सम्मको वेदशास्त्रहरुको अध्ययनले मैले बुझिसकेको थिएँ ।

यसरी सन्यासी बनेपछि मैले आफ्ना जीवनका सबै मुल्यहरु बाजीमा राखेँ र म एक्लो भएँ । चिकित्शासास्त्रको उच्चशिक्षा सिध्याएर खोजि गर्ने निर्णय लिएर विभिन्न कुराका सम्पर्कमा भौतारिए देखि एकान्त खोज्दै एक्लो हुंदा हुंदा अझ सन्यासी समेत बनेर एकान्त बनेर गहिरिन्छु भन्दा भन्दै यसो गर्दै मानौँ कि म कम्तिमा १२ -१५ बर्ष आफै भित्र हराएको थिएँ । कति साथीहरुले खोज्दा नभेटिने गरी भुमिगत जस्तो भएछु । अन्तिममा कता कता असफल भएँ, बाजी हारेँ जस्तो लाग्न थालेको पनि थियो । समाजको जीवन शैली भन्दा म धेरै टाढा पुगिसकेको थिएँ । कहिले काहीँ अब त समाजमा फर्कने बाटाहरु बन्द भैसकेका थिए जतो लागेको थियो । समय धेरै बर्ष बितिसकेको थियो । १२ -१५ बर्ष जति भौतारिए खोज्दै गर्दा पनि समस्याहरूको टुङ्गो र निष्कर्ष निस्केन झन बढी अनुभव र प्रश्नहरू मात्र थपिन आए । अन्त्य अन्त्य तिर आईपुग्दा अब त कतै रित्तै हुन्छु जस्तो पनि लाग्न थालेको थियो । कहिले काहीँ यसो आफ्नो जीवन तिर फर्केर हेर्न खोज्दा बाटो बिराएँ कि जस्तो पनि लाग्यो । असफल भए जस्तो भएर खोजिको बाटोबाट फर्केर  संसारिक जीवनमा फर्कु जस्तो पनि लाग्थ्यो । तर अब फर्केर पनि कहाँ जाने वा के गर्ने कताबाट सुरुगर्नेभन्दा पनि ती मेरा जिज्ञासाहरुलाई कसरी भुल्ने भन्ने समस्या थियो । जानेका कुराहरू भुल्न नमिल्ने रहेछ । जानेका कुराहरू भुल्न नसकेर मलाई ठुलो आपद परेको थियो । अब ती आधा मात्र प्राप्त भइसकेका ज्ञान र अनुभवलाई भुल्न खोजेर केही थाहा नभएको जस्तो गरेर बाच्न म नसक्ने भएछु ? म जसरी पनि अधुरो नै रहन्छु भन्ने लाग्यो । बरु अझ गहिरिनुभन्दा मेरा लागि अरु केही उपाय बाकीँ थिएनन् । कहिले काहीँ असफल भएँ कि भनेर सोच्दा र आफुले प्राप्त गरेका जवाफहरूलाई गहिरिएर मनन गर्दा कताकता केही बाटाहरू भेटिएका हुन् कि जस्तो लाग्दथ्यो र म अझै अगाडि बढ्दै गएँ । भक्ति पागल जस्तो लाग्नु पर्दछ अरुको नजरमा भन्ने सुनेको थिएँ । अब पागल जस्तै भएर एक चित्त भएर अध्ययनमा लाग्नु मात्र उपाय बाँकी रह्यो । धेरै बर्षदेखि एकान्त भएर अध्ययन गर्दागर्दा अझ म जोगी, सन्यासीको अभ्यास गरेको २ बर्ष पुगिसकेको थियो । श्रीमतीले मेरो आवश्यक सेवा पुर्याउथिन तर पनि एक आइमाइको सहन सक्ने क्षमता भन्दा बढी कष्ठ र समस्या आइपर्यो उनीको जीवनमा । घरमा भएको श्रीमान श्रीमान नभएर एक सँगै बस्ने साथी मात्र थियौँ । अन्त्यमा श्रीमतीले मलाइ छोडेर बृन्दावन गएर आश्रममा बस्ने निर्णय लिन थालेकी थिइन् र मलाई यस्ता कुराहरु हुन गएमा मन बुझाउन सल्लाह दिदै मेरो मानसिकताको तयारी गर्दै थिइन् । कुनैदिन म घर फर्कदा उनी घरमा रहिनछिन वा कुनैदिन उनी घर फर्किनन् भने मैले उनीलाई खोज्नु नपर्ने कुराको सुचना उनीले मलाइ दिइसकेकी थिइन् । यी कुराहरु रिसाएर आवेशमा भएका कुरा होइनन् । यो कुराले ठाउँ पाउनेको कारणहरु प्रसस्थ थियो । मैले जीवनका सबै मुल्य त्यागेर सन्यासीको अभ्यास गर्न थालेपछि उनीको जीवन शुन्य, खाली बन्न पुगेको थियो। उनीले मेरो अध्ययनमा सहयोग पुर्याउने प्रण गरेकी थिइन तर मेरो अध्ययनले कुनै अन्त्य नदेखाए जस्तो भएपछि उनीले आफैले एकान्त खोज्न मबाट टाढा हुन चाहेकि हुन् । त्यसपछि म मा अझ बढी खलबलि मच्चियो । मैले आफुले अध्ययनमा प्राप्त गरेका जवाफ र अनुभवहरू सुनाउँदै उनीलाई हौसला दिने गर्थेँ । यसरी पारिवारिक, सामाजिक, व्यक्तिगत चुनौतीका साथ अगाडि बढ्दै जाँदा त्यसको केही समयपछि मेरो खोजले निचोड निकाल्यो । मैले खोजेको पूर्ण जवाफहरु पाउन थालेँ ।

लिँग शरीरको बारेमा गहिराइमा बुझ्रदै जाँदा यदि वेदशास्त्रहरुमा उल्लेख गरिएका पात्रहरू पितृहरू आजका आधुनिक युगमा पनि रहेछन् भने त्यस वेदशास्त्रहरुमा उल्लेख गरिएका मुख्य पात्रहरू पनि हुनु पर्ने हो भनेर खोज्दै थिएँ । वेदशास्त्रहरूमा वर्णन गरिए अनुसार ब्राह्मणले ब्रह्मा, बिष्णु, महेश्वरलाई बोलाएर उनीहरूको पूजा आराधना गरेर पितृलाई उनीहरूको जिम्मा लगाउछन् भनिएको छ । त्यसो भए ती देवीदेवताहरू छन् कि छैनन् खोज्नु पर्यो । ती देवीदेवताहरू साक्षात छन् भने मेरा पितृहरूको केही उध्दार हुने भयो हैन भने म पनि मरेपछि तिनीहरूकै हालत हुने भयो । यदि भगवानहरू छैनन् भने मैले त्यसबेला सम्ममा सम्पर्कमा आएकाे अरू लिँग शरीरहरूबाट बच्ने मेरो केही उपाय छैनन् । यसरी घरमै बसेर तपस्या गरे जस्तो गरेर एकान्तमा अध्ययन मनन गर्दै जाँदा एक दिन भगवान शिवजीले मलाई दर्शन दिनु भयो । उहाँको दर्शन पाउँदा पहिला मलाई विश्वास भएन । पछि पछिको भेटमा उहाँसँग कुराकानी गर्न थालेँ र मेरा सबै जिज्ञासाहरू उहाँलाईनै सोध्न थालेँ । शिवजीले मलाई ब्रह्मको ज्ञान सिकाउनु भयो र त्यस ब्रह्मको अनुभव गराइदिनु भयो र ब्रह्मको महत्व बुझाई दिनु भयो । अझै सृष्टि, जीवन र मृत्युका रहस्यहरू र ब्रह्मको गहिराइको कुराहरू सिकाइदिनुस भनेर शिवजीसँग माग्दा सदाशिव वा कैवल्य मुक्तिको अनुभव गराइदिनु भयो । उहाँसँगका भेटका बारेमापछिका पाठहरूमा वर्णन गरिने छ ।

त्यसपछि बिस्तार बिस्तार म जीवनमा फिर्ता हुन थालेँ । कतिपय हराइएका मुल्यवान चिजहरु फिर्ता पाएँ जस्तै श्रीमती फिर्ता पाएँ । मेरा जीवनका कतिपय मुल्यवान चिजहरु सदाका लागि हराइसकेको थियो, उमेर ढल्केर धेरै टाढा पुगिसकेको थियो, कतिपय चिजहरु अब मलाई आवश्यक नपर्ने भइसकेको थियो । संसारिक जीवनमा फर्केर आउँन खोज्दा कहिले काहीँ कस्तो लाग्दथ्यो भने यो संसार नै परिवर्तन भइसकेछ, मैले नबुझ्ने भइसकेछ जस्तो लाग्दथ्यो या सायद म आफै नै अर्कै भइसकेको थिएँ । तर यस सम्पर्क र सँघर्षमा मैले सबैभन्दा महत्वपुर्ण उपलब्धि यही ज्ञान पाएको छु । यसरी यस किताब मार्फत मैले आफ्नो जीवनलार्इ बाजीमा राखेर प्राप्त गरेका ज्ञानहरु सबैको लागि बाड्न खोजेको हुँ ।
यस विषयलाई विज्ञानको दृष्टिकोणबाट अगाडि बढाउन चाहने इच्छुक विज्ञानका सहकर्मी, वैज्ञानिक, विद्यार्थी अनुसन्धान कर्ताहरुलार्इ आवश्यक थप जानकारीको जरुरत भएमा उपलव्ध गराउन कोसिस गर्नैछु ।
यो पुस्तक सबै सर्वसाधारणको विचारलाई पनि समेट्न सक्ने र बुझ्न सक्ने गरेर तयार गरेको छु । त्यसैलै कतिपय विज्ञानका विशेषज्ञहरुका लागि आवश्यकताका गहिराइका कुरा यहाँ अटाउन सकेका छैन । ती गहिराइका कुराहरु पछि आवश्यक अनुसार वर्णन गरिनेछन् ।

लिँग शरीरहरूमा चाहना र बिचार धर्म संस्कार, विधि, पूजाआजा, आराधना र आशिर्वाद, पितृकार्य, धार्मिक पर्व, खुसियाली सम्पत्ति, लेनदेन माया, रिस इर्ष्या बदलाको भावहरू थिए । तर वेदशास्त्रहरुको गहिराइमा पुगेर हेर्दा लिँग शरीरको समस्याको पूर्ण निकास र समाधान हामीले गर्दै आएकाे धर्म र संस्कार भन्दा बाहिर मात्र सम्भव थियो ।

लिँग शरीरको समस्याको वास्तविक निकास के को पछिका पाठहरूमा वर्णन गरिने छन् ।

[ यी अति कठिन विषय र तर्कहरु हुन् । साधारण व्यवहारिक मानसिकतामा अल्झिएका व्यक्तिहरुमा यस विषयको भाव तुरुन्त नखुल्न पनि सक्दछ । त्यसैले ध्यान दिएर, एकान्तमा, एकचित्त लगाएर, पटक पटक पढ्न सक्नेमा मात्र यी कुराका भाव खुल्न सक्दछन् । हुन सक्दछ कि यो कुरा मानिसहरुले बुझ्न नखोज्लान् अथवा बुझ्न नसक्लान् । तर यो सत्य कुराहरु हुन् । सत्यकुरा जसरी पनि लुक्दैन । अब यी कुराहरु बढी बुझ्न अन्त कहीँ जानु पर्दैन । यहि किताबनै पटकपटक पढेर अर्थ लगाउन खोजेमा मानिसको मृत्युपछिका जीवन छन् भन्ने कुरा बुझ्न सक्ने ज्ञान र भाव यहा उल्लेख छन् । मलाइ विश्वास छ आज नभए पनि कुनैदिन कुनै मानिसमा यस कुराको भाव खुल्ने छ र अन्य मानिसमा यो कुरा बुझाउन लेखकलाई साथ दिनेछ त्यो चाहे १०० बर्षपछि किन नहोस । कमसेकम कुनै एकजना व्यक्तिमा यी तर्कका ज्ञान र भाव खुल्न सकेमा म आफुलाई सफल सम्झने छु ।     (लेखक)]

(किताबको यो भाग लेखकले  सन 2012  सालमा लेखेको हो । त्यतिखेरसम्म यो शिक्षाको वा ज्ञानको बारेमा  लेखकहरू भन्दा बाहेक अरू कसैसँग पनि चर्चा गरिएको थिएन ।  त्यसैले लेखकले यो किताबको भाव मानिसले बुझ्लान कि नबुझ्लान भन्दै लेखिएको थियो । 2013 March बाट ब्रह्मज्ञानको चर्चा गर्न नेपालको पोखरामा क्लासमा सुरूगरेको थिएँ । तर आज 2017 April 1 मा यो भाग प्रकाशित गर्ने बेलासम्ममा ब्रह्मज्ञान पढेका बुझेकाहरू थुप्रै छन् । ब्रह्मज्ञान पढेका बुझेकाहरूलाई  मानिसको तेस्रोनेत्र हुन्छ  भनेर जानेर, त्यस तेस्रोनेत्रको क्षमतालाई विकास गरेर त्यस तेस्रोनेत्र मार्फत पितृहरू, भुतप्रेतहरूलाई देख्नसक्ने भएर ब्रह्मज्ञानी देवीदेवताहरूलाई पनि देख्न सक्ने भएर ब्रह्मज्ञान अनुभवहरू गर्न सक्ने भएका छन् । ब्रह्मज्ञानको क्लासमा आएर तेस्रोनेत्र खुलेर ब्रह्मको अनुभव गर्ने ५२ जना र सदाशिवको अनुभव गर्ने २८ जना पुगेका छन् ।)

⇐विषय सूचीमा फर्कन

This post is also available in: English