लिङ्ग शरीरको आवरणहरुको रचना र कार्य

⇐विषय सूचीमा फर्कन

पाठ ३.८.४

लिङ्ग शरीरको आवरणहरुको रचना र कार्य

(Anatomy and Physiology of human’s casual  body)

१. अन्नमय कोश

                 यो लिँग शरीरको बाहिरको आवरण हो । यो आवरण स्थुल शरीरसँग जोडिएको हुन्छ । लिँग शरीर चेतनाको मात्रै हाे तर पनि त्यस चेतनाले यी वस्तुहरुलाई एकदम घनिष्ट मानेर मनमा राखेको हुन्छ । उसले मन पराएको चिजहरुको आकृतिहरु अन्नमय कोशमा छापिएर बसेको हुन्छ । स्थुल शरीरले गरेको सबै अन्य भौतिक पदार्थको अनुभव यस आवरणमा त्यस्तै आकृतिको रुपमा तर सुक्ष्म रुपमा सँचित भएको हुन्छ । जस्तै स्थुल शरीरको बनावट, उमेर, पहिरन, कपडा, गहना, सम्पत्ति, नाता, घर, रोजगार, साथीहरु, व्यापार, जग्गा, डाँडा, पहाड, नदी, पोखरी, सुर्य, चन्द्रमा, पढेका ज्ञान, अन्य सबै कर्म र अनुभवहरु यही अन्नमय कोशमा चित्र छापिएर बसेको हुन्छ ।

त्यो कसरी, किन भयो त ?

 मानिसले खाएको सबै खानेकुराहरु, प्रयोग गरेका सबै चिजहरु तिन भागमा विभाजित हुन्छन् ।
क.  प्रमुख ठुलो भाग मल  (मल भएर निस्कन्छ)
ख.  मध्यम भाग माँस (माँस, मासु हुन्छ, सदुपयाेग भएकाे हुन्छ)
ग.   कनिष्ट भाग मन ( मनमा बस्छ वा लिँग शरीरमा बस्छ, याद रह्याे)
यस्तो विभाजन खानेकुरामा मात्रै नभएर जीवले उपयोग गरिएको सबै चिजहरु पनि यसरी नै बाँडिएका हुन्छन् । ब्रह्मको सुरुको पहिलो सुक्ष्म जीवदेखि पछि विकसित हुँदै गएका सबै ठुलाठुला जनावर, मानिसमा पनि यही विधान अनुसार चलेको हुन्छ । उदाहरणकाे लागि जस्तै मानिसले कपडा किनेर लगाउछ  त्यो कपडा कुनै दिन फाटेर जान्छ । त्यो त्यस कपडाकाे मल भाग हाे । त्यस कपडाले कुनै दिन शरीरलार्इ ढाक्यो, बचायो, ततायो । त्यो त्यस्को माँस भाग हाे । त्यस कपडा लगाउदा मानिसलाई रमाइलो लागेको थियो न्यानो लागेको थियो, राम्रो कपडाको थियो, राम्रो डिजाइनको थियो, मेरो कपडा भन्ने भावना थियो, यो कनिष्ट भाग मनमा बस्छ । यसरी मनमा बस्छ भनेकाे अन्नमय काेशमा छाप बसेकाे हुन्छ । यो कनिष्ट भागको चेतनाले उस्लार्इ कुनै दिन त्यस्तै कपडा लगाउने मौका मिलेमा तुरुन्त तयार हुन्छ । किनकि उसको त्यो अनुभव अन्नमय कोशमा संचय भएर बसेको हुन्छ ।
त्यस्तै अर्को उदाहरण दिउँ । मनिसको घर हुन्छ । कुनै दिन घरको काठ ढुङ्गा, माटो पुरानो थोत्रो भएर जान्छ र घर भत्केर जान्छ । त्यो मल भाग हाे । घरको उपयोग गरेर घर भित्र बसेर, घाम पानीबाट बचेर आराम गरेको यो माँस भाग हाे । त्यो घर मेरो हो, राम्रो घर, महङ्गो घर, भन्ने भावनाहरु मनको भाग हो ।
सृष्टिको पहिलो जीवले पनि अरुसँग सँगत, सम्बन्ध राख्दछ, त्यो सम्बन्ध एक दिन छुट्दछ । त्यो मल भाग भयो । त्यो अर्को जीवसँग सँगै बस्दा आफ्नो चन्चलता कायम राख्न उपयोग भयो । त्यो माँस भाग भयो । त्यो जीवले अर्को जीवसँग सम्बन्ध राखेको अनुभव र चेतना त्यसको मनको भाग भयो । त्यही मनको भागमा भएको चेतना र छाप नै उसलाई त्यस्तै वस्तुसँग पटक पटक सम्बन्ध राख्न प्रेरित गराउँछ । त्यस वस्तुकाे सम्बन्धबाट आनन्द मिलेको भए फेरि त्यस्तो अवसर आउदा तुरुन्त प्रयोग गर्न खोज्दछ । यो रहस्य नै जीवको विकासको रहस्य हो । त्यसैले मानिसको आफ्नो जीवनमा भोग्न सकेका, मन पराएका, जानेका कुराहरु अन्नमय कोशमा छापिएको हुन्छ । कसरी छापिन्छ भनेर रसायनिक कारण, सुत्र त मलाइ थाहा छैन । तर ती सबै चेतनाका रुपमा संग्रहित भएर बसेका हुन्छन् ।

               मानिसले कुनै चिज मेरो हाे  भनेकाे छ भने त्यो चिजकाे केही कनिष्ट भाग लिँग शरीरकाे अन्नमय कोशमा पनि बस्ने रहेछ । यसरी  मानिसले भोगेका सुख सम्पत्ति, लगाएका गहनाहरुको केही भाग अन्नमय कोशमा टाँसिन्छ भनेपछि त सम्पत्ति कम हुनेको कम टाँसियो होला भने धेरै हुनेहरुका धेरै टाँसिए होलान् । ती सम्पत्तिको जति सुकै सुक्ष्म र कनिष्ट भाग टाँसिएछ भने पनि त्यस्ता कनिष्ट भागको पनि कनिष्ट नै भए पनि वजन अवश्य हुन सक्दछ । त्यसै अनुसार अन्नमय कोशका कारण लिँग शरीरको वजन हलुङ्गोे वा गह्रुङ्गो हुन सक्दछ । अन्नमय काेशमा जति बढी चित्र टाँसिएकाे हुन्छ त्यतिनै लिँग शरीरकाे वजन बढी हुँदै जान्छ । धनी मानिसहरूकाे, ठुलाबडा मानिसहरूकाे, बढी जिम्मेवारी अाेगटेका मानिसहरूकाे अन्नमय काेशमा धेरै चित्र छापिएका भएर लिँग शरीर पनि बढी वजनकाे हुन्छन् । त्यसैमा पनि कोही यदि बढी लोभी रहेछ वा दुष्ट स्वभावको रहेछ र अरुको भाग पनि ओगट्न भ्याएको भए उस्को अन्नमय कोशको वजन अरुको भन्दा बढी हुन सक्दछ । गरिब साधारण जिम्मेवारी लिएका मानिसहरूकाे लिँग शरीर हलुङ्गाे हुन्छ । त्यसैले लाेभी मान्छेकाे लिँग शरीरकाे वजन कुनै एक मागेर खाने जोगीको लिँग शरीरकाे वजन भन्दा त अवश्य बढी होला ?
स्थुल शरीरले भोगेको, प्राप्त गर्न सकेको सबै अनुभवहरु अन्नमय कोशमा छापिने हुन्छ । स्थुल शरीरले जति बढी आफ्नो, मेरो भनेर माया गरेको चिजहरूको छाप अझ बढी गाढा बस्दछ ।

त्यस अन्नमय कोशमा लागेको छापका प्रकारहरु
 सही आकारका, वजन र गाढा पनका आधारमा ३ प्रकारका छापहरू हुन्छन् ।

१. राम्रा, सुन्दर छापहरु, हलुङ्गो, कम गाढा
मानिसले प्रयोगमा ल्याएको साधन सही तरिकाबाट आर्जन गरेका र सही तरिकाबाट प्रयोेग गरेको, त्यसका भोगका अनुभूतिहरु आनन्दमय वा सुन्दर भएको भए अन्नमय कोशमा सुन्दर र सही आकारका छापहरु बस्दछ ।

          मानिसले आफ्नो जीवनमा अध्ययन गरेर, ज्ञान प्राप्त गरेर, जीव र सृष्टिका विषयमा बुझेर, सृष्टि र मृत्युको अर्थ बुझेर बैराग्यता अाइसकेकाे छ, यस संसारमा मेरो भन्ने केही पनि छैन, हैन रहेछ, भनेर बुझेको छ, जुनसुकै वस्तु खरिद या प्रयोगमा ल्याए पनि त्यसलाई ठिक्क अड्कलेर आफुलाई चाहिने मात्र प्रयोगमा ल्याउँछ, आफुले कमाएको भएपनि आफुलाई चाहिने प्रयोग र आवश्यक सञ्चय गरेर बढी भएको अरुलाई दिएर सहयोग पुर्याउछ, संसारमा प्रयोग गरेका सबै सामाग्रीहरु आफ्नो हैनन् भनेर यी सामानहरु मानिसको जीवनकाल सम्मको लागि मात्र प्रयोगमा ल्याएको हाे र स्थुल शरीरको त्याग पछि यी सबै चिजहरू यहीँ छाडेर जाने हो भनेर भावनाले चिनिसकेको छ, आफ्ना नाताहरुसँग ठिक्क मात्रामा सम्बन्ध राख्न जानेकाे छ, मानिसहरूसँग जीवनका आवश्यक व्यवहारहरु मात्र गरेर बढी मायामा वा रिसइवीमा नअल्झने गरेको छ, भौतिक चिजहरु आफुलार्इ नचाहिने भए अरु व्यक्तिलार्इ बाड्न सक्ने, त्यस्ता भौतिक चिजहरु उपयोगका साधनहरु मात्र हुन्, ती उपयाेगका साधनहरू तेरो वा मेरो हुन सक्दैनन् भन्ने भावना राख्न सक्नेहरुको अन्नमय कोश हलुङ्गो र कम गाढापनको हुन्छ ।
हुन त यी भौतिक चिजहरु वास्तवमा आफ्ना नै हुन् । आफैले खरीद गरिएका हुन् । तर भावना र तर्कले मात्रै आफ्नो हैन रहेछ भन्दैमा त्यो चिजलार्इ तुरुन्तै अरुलाई दिइहाल्नु पर्छ भनेको होइन । ती सामानहरु आफ्नै रहन्छन, आफ्नो मात्रै हो भनेर भुतुक्कै नभएपनि त्यस्को प्रयोगमा कसैले रोक नलगाउने र त्यस सामानको उपयोगबाट हुने सुविधा, भोग र आनन्दमा कति पनि कमी आउँदैन । ती सामान, गहना, कपडा, घर, सम्पत्ति आफुसँगै रहन्छन् । तिनीहरु प्रतिको अनावश्यक नजिकको सम्बन्ध मात्र कम हुन जान्छ र आफ्नो अन्नमय कोशमा पर्न गएका वा पर्न आउने बोझ मात्र कम हुन्छ । यस्ता अभ्यासले मानिसको जीवनमा जीवनयापनका बाटाहरु खुल्दै जाने, झन बढी सुख र खुसीका क्षणहरु थपिदै जान्छन् ।

२. केही राम्राे केही नराम्राे छापहरू, ठिक्क गह्रुङ्गो, ठिक्क गाढा

मानिसले गरेका सम्पर्क र प्रयाेग गरेका सामानहरू कुनै उचित रूपले गरेकाे कुनै अनुचित रूपले गरेकाे छ भने उसकाे अन्नमय काेशमा छापिएका चित्रहरू कुनै सुन्दर छाप भएका र कुनै कुरूप छापहरू भएका हुन्छन् ।

यदि मानिसले प्रयोगमा ल्याएको चिज सही मात्रामा छ, आफुलार्इ चाहिने भन्दा बढी छैन, आफैले आर्जन गरेको हो, कसैलार्इ एकदम बढी माया प्रेम देखाउदैन, ठिक्क छ, चोरी गरेका सामान उपयोग गर्दैन, बढी लोभ गर्दैन, तर सृष्टि, जीवन र मृत्युकाे रहस्य बुझेकाे छैन र बैराग्यता अाइसकेकाे छैन भने पनि त्यसको अन्नमय कोशकाे अलिअलि मात्र वजन भएर बसेका हुन्छन् ।
३. नराम्रा, कुरुप छापहरु, अति गह्रुङ्गो, बढी गाढा
मानिसले प्रयोगमा ल्याएको साधन असत्य तरिकाबाट आर्जन गरेको, साधनको सही प्रयोग गर्न नसकेको, त्यस्का भोगको अनुभूतिहरु आनन्दमय र सुन्दर नभएर कष्ट या समस्या, झगडा, अप्ठ्यारा वातावरणहरु आएको भए अन्नमय कोशमा नराम्रा, कुरुप छापहरु बसेका हुन्छन् । किनकि त्यसरी कतैबाट चोरेर ल्याएको साधन प्रयोगमा ल्याइरहेको भए आँखा चारैतिर नचाउदै बसेको होला कसैले चिन्छ कि भनेर, डराइरहेको होला, त्यसैले त्यस्ता चिजको प्रयोगबाट पूर्ण रुपमा सन्टुष्ट भएको हुँदैन । त्यसैले उसले प्रयोग गरेका चिजहरुको कुरुप खालका चित्रहरु छापिएका हुन्छन् ।

यदि मानिसले प्रयोगमा ल्याएको चिजहरु एकदम धेरै सँख्यामा भएको, आफुलाई चाहिने भन्दा एकदम धेरै, त्यस सामान प्रति अति धेरै माया प्रेमका भावना राखेको, ती प्रयोगमा ल्याएको सामानहरु गलत तरिकाबाट आर्जन गरेको, चोरेको, लुटेको, ढाँटेको, कसैलार्इ मारेर प्राप्त गरेको, अरुको भाग खोसेको वा अन्य झुटो तरिकाबाट आर्जन गरेको छ भने अन्नमय कोशमा गह्रुँगो, गाढा छाप पर्न आउँछ । यदि ती सामाग्रीहरु गलत तरिकाबाट प्राप्त गरिएको छ भने ती अन्नमय कोशमा गाढा छापका साथै नराम्रा चित्र, बिग्रेको चित्र, नराम्रा, कुरुप चित्रहरु छापिएको हुन्छ । ती छापहरुमा कपडा फाटेको वा पुरानो, नसुहाएको, फेशन नमिलेको, इत्यादिहरु देखिन आउँछन् । त्यस्तै अस्त व्यस्तका चित्रहरु बसेको हुन्छ ।

चित्र नँ १३

सफा सुग्घर स्थुल शरीरले सफा सुग्घर लिँग शरीर बन्छ र अस्त व्यस्त स्थुल शरीरले अस्त व्यस्त लिँग शरीर बन्छ । अस्त व्यस्त लिँग शरीरले अस्त व्यस्त सञ्चार स्थुल शरीरलाई दिन्छ ।

स्थुल शरीर र लिँग शरीरको बिचमा एेना जस्ताे सम्बन्ध
यसरी स्थुल शरीरको भोगका साथसाथै लिँग शरीरले भोग र आनन्द लिने गर्दछ र ती भोगका चित्र लिँग शरीरको अन्नमय कोशमा गइ बस्ने गर्दछ । यदि लिँग शरीर आनन्दित, सुखी भए त्यही भावना र चेतनाका अनुसार स्थुल शरीरको संचार र संचालन गर्दछ । यदि लिँग शरीर दुःखी, त्यस्को अन्नमय कोश अस्तव्यस्त छ भने उसले आफै अनुसारको संचार दिइ स्थुल शरीरलार्इ संचालन गर्दछ । त्यसैले यदि कोही व्यक्ति गलत तरिकाबाट काम गर्ने, धन आर्जन गर्ने गरेको छ भने उसको अन्नमय कोश अस्तव्यस्त भएको हुन्छ । उसले गर्ने कामहरुको सञ्चार र सञ्चालन तिनै अस्तव्यस्त अन्नमय कोश भएका लिँग शरीरबाट हुने भएकाले उसले गर्ने गरेको कामहरु पनि त्यस्तै अस्तव्यस्त वा अन्त्यमा असफल हुन्छन् । उसका ती अस्तव्यस्त लिँग शरीरले उसलार्इ गलत गलत काम र बाटाहरुमा लैजान्छ । यस्तै उदाहरणका मानिसहरु व्यवहारमा देखिन्छन् । चोर, डाँका, फटाहा, लुटेरा, हत्यारा आदि यस्तै कामका उदाहरणहरु हुन् ।
राम्रो, सुन्दर मान्छे सँधै सफा सुग्घरमा रहने, सफा सुग्घर कपडा लगाउने, विभिन्न राम्रा फेशनका कपडा लगाउने, पढेको, सभ्यहरुको अन्नमय कोशमा त्यस्तै राम्रो, सुन्दर, सही चित्रहरुको आकृतिहरु छापिने गरेको हुन्छ । उनीहरुले अन्य कामहरु पनि त्यस्तै राम्रोसँग गर्ने गरेका हुन्छन् र जीवनमा सुखी देखिन्छन् । यी समाजका सज्जन व्यक्तिहरु हुन् । यस्ता जीवनका राम्रा र नराम्रा प्रभावहरु यिनै अन्नमय कोशको कारण हो । अन्नमय कोशको चित्र एेनामा जस्तो गरेर स्थुल शरीरमा आइ रहेको हुन्छ ।
त्यसरी गहिरिएर हेर्दा अन्नमय कोशको प्रभाव अनुसार मानिस आफ्नो जीवन तरिका बनाइरहेका हुन्छन् । त्यसैले सुख पाएकाहरुलार्इ स्वर्गको जस्तो जीवन बिताइ रहेका छन वा दुःख पाइरहेकालार्इ नर्कको जीवन बिताइ रहेको छ भन्ने चलन मानिसहरुमा छ ।
उदाहरणको लागि जस्तै कसैेसँग छाता छ । छाताको काम पानीबाट ओत लाग्ने हो । त्यो छाता आफ्नो हो र प्रयोग पनि आफैले गर्ने हो । तर यदि कोही आफ्ना नजिककाहरु पानीमा रुझेर हिड्नु पर्ने वातावरण आएमा आफ्नो छाता तिनीहरुलाई दिएर (पछि काम सिध्याएपछि फिर्ता ल्याईदेउ भनी) पानीबाट बच्न मद्दत गरेर छाताको भोग बाँडेको छ भने त्यस छाताको चित्रण सुन्दर, आनन्द र सही आकारका हुन्छन । त्यस्तै वा अझ महङ्गो छाता कसैको छ । आफुले प्रयोग गरेको छ । राम्रै भोग चलन गरेको छ तर कसै आफन्तहरु पानीमा रुझ्ने परिस्थिति आउँदा र छाता केही बेरको लागि सापट माग्न आउँदा छाता भित्र लुकाएर भर्खरै अर्कोले लिएर गयो भनेर ढाँटेर जानेका सबै कसम खान भ्याउनेहरुको त्यस छाताको चित्रण नराम्रो, मिठास विनाको भएर, गह्रुङ्गो भएर बसेको हुन्छ ।
अन्नमय काेशकाे चित्र र वजन अनुसार यसरी बसेका हुन्छन् ।

पातालको जीवन
भौतिक चिजहरुको प्रयोग, सम्बन्ध, तिनीहरु प्रतिको सम्बन्धको आधारमा लिँग शरीरको वजन बढी वा घटी हुन सक्दछ ।
यदि कुनै लिँग शरीरको वजन बढी भईसकेको छ भने उ आफ्नो स्थुल शरीर रहुन्जेल त जमिनमा रहने तर स्थुल शरीरको त्यागपछि लिँग शरीर मात्रै भएको बेलामा आफ्नो लिँग शरीरको वजनले जमिन मुनि जान सक्दछ ।

(मरिसकेका थुप्रै लिँग शरीरहरूसँग सम्पर्क हुँदा तिमीकहाँ छाै वा अथवा कहाँबाट अाएका हाै भनेर मैले साेध्दा जमिन मुनी छाैँ, जाडाे अन्धकार छ भनेर भन्दथे । थुप्रै पितृहरूले पनि जमिन मुनी छाैँ अति जाडाे र अन्धकार छ भनेका थिए ।)

अन्नमय कोशको जीवनमा प्रभाव
यसरी अन्नमय कोशको बोझको कारण स्थुल शरीरको अन्त्यपछि तल या माथि जान सक्दछ । लिँग शरीरको वजनको, राम्रो वा नराम्रो आकृतिको प्रभाव हालको स्थुल शरीरमा नै परिरहेको हुन्छ । हाम्रो अन्नमय कोशमा कस्ता आकृति र बोझले भरिएको छ त्यसै अनुसारको जीवन शैली बनेको हुन्छ । त्यसैले मानिसले भोगी रहेको सुख वा दुःखको कारण उसले जम्मा गरिएका सम्पत्तिको आधारमा नभएर अन्नमय कोशको बोझको आधारमा स्थुल शरीरमा एेना जस्तो भएर आएको हुन्छ । त्यसैले कोही मानिस सम्पत्ति नहुँदा सधैँ हाँसि खुसी रहने, अलिअलि भएको पनि बाँडेर खान मन पराउने, अरुलाई आपत परेको बेलामा सहयोग पुर्याउन मन पराउने, सकेको सहयोग पुर्याउने, अाफ्नाे मुख सँधै  उज्यालो, खुसी देखिने र तिनीहरुसँगको केही बेरको सम्बन्ध, सम्पर्क, बोलचालमा अरुहरुलाई खुसी, आनन्द आउने, उनीहरुसँगको क्षणिक भेटघाटले अन्य मानिसमा धेरै बेरसम्म आनन्दको अनुभव दिने हुन्छ । कोही ठिक उल्टा प्रवृतिले प्रेरित भएका, सम्पत्ति प्रशस्त भएका तर अझै नपुगेका, अर्काको सम्पत्ति झडप्न सधैँ तयार रहने, आफु सँधै दुःखी, अनुहार सँधै अँधेरो, सधैँ पिडा, अशान्ति, अरुलाई बाँडेर खान नजान्ने, अरुलाई दुःखको बेलामा सहयोग पुर्याउनुको साटो त्यही बेला पारेर हाँस्ने, भ्याए अझ एक दुइ वचनका मुक्का हान्न भ्याउने हुन्छन् । तिनीहरुसँगको क्षणिक भेटघाट अरुको लागि धेरै बेर वा धेरैदिन सम्मको पिडाका कारण हुन्छन् । उनीहरुले गरेको व्यवहारले सँधै अरुलाई होच्याइ रहेको हुन्छन् । उसको विचारमा उ धनी छ भनेको अर्थ अरु उ भन्दा गरिब छन् भनेको हो र त्यही कुरा देखाउने प्रयास गरीरहेका हुन्छन् । उसले राम्रो गहना लगाएको भए अरुको त्यस्तो गहना छैन भनेर देखाउने कोसिस भइरहेको हुन्छ । कपडा भित्र लुक्न पुगेको गहना सकिनसकि कपडा बाहिर निकालेर देखाइ रहेका हुन्छन् । राम्रो मोवाइल फाेन किनेका रहेछन् भने काम नै नपरे पनि अरु मान्छेको नै आडमा गएर आफ्नो नयाँ मोवाइल फाेनको एसएमएस पढ्नु परेको हुन्छ । उ सुन्दर भए अरु त्यस्ता छैनन् भन्ने देखाउन खोजिरहेका हुँन्छन् । उसलाई थाहा छैन कि त्यस्ता कृयाकलापले उसका बाहिरका सुन्दरता हैन कि भित्रको कुरुपता, अज्ञानतालाई सबैको सामु प्रदर्शन गरिरहेको हुन्छन् ।

लिँग शरीरले स्थुल शरीरबाट सिक्छ र पछि स्थुल शरीरलार्इ सिकाउछ । त्यसैले लिँग शरीरले सिक्दै गर्छ र सिकाउदै गर्छ ।

२. प्राणमय कोश

यो अन्नमय कोश भित्रको आवरण हो । शरीरको सबै ज्ञानेन्द्रियका अङ्गहरु, कर्मेन्द्रियका अङ्गहरु र अन्य सबै भित्री अङ्गहरु यहाँ हुन्छन् । विभिन्न अङ्गहरु जस्तै मुटु, रगत प्रणाली, फाेक्सो, स्वास प्रणाली, पाचन प्रणाली आदिहरु स्वचालित अङ्ग अथवा चालित अङ्गहरूकाे चेतनाकाे अङ्गहरू हुन्छन् । लिँग शरीर चेतनाले बनेको हुन्छ स्थुल शरीरको सबै अङ्गहरुको हरेक टुक्रा टुक्रामा, कोश कोशमा संचार र संचालनको सबै कार्य यस्ले गर्दछ भने ती सबै कोशहरुको चेतनाको पनि याद राख्दछ । प्राणमय कोशमा भएका अङ्गहरु भनेको तिनै कोश कोशको बनावटको संचारको चेतनाको अङ्गहरु हुन् । तिनै कोशहरुको चेतनाको जालोको अङ्गहरु हुन् । तिनै कोशहरुको याद हुँदा जस्तो आकारको ग्रन्थि, जस्तो प्रकारको कामहरु गर्दथे त्यस्तै प्रकारको चेतनाको ग्रन्थि प्राणमय कोशमा बनेको हुन्छ ।

यसरी स्थुल शरीरको सबै अङ्गहरु, ग्रन्थिहरुको संचारको जालो जस्तै लिँग शरीरमा अर्काे चेतनाको जालो हुन्छ । लिँग शरीरले आत्माबाट स्वप्रकाशको उर्जा लिएर स्थुल शरीरलार्इ उर्जा प्रदान गर्दछ । स्थुल शरीरको कार्य सँचालन गर्दछ । त्यसरी लिँग शरीरले स्थुल शरीर र आत्माको बिचको उर्जा संचारको सम्बन्ध गरिदिने बिचको कर्ताकाे काम गर्दछ ।

यसरी आत्मा चेतनाको केन्द्र हाे सबै चेतनाहरु त्यहाँ संग्रहित हुन्छन् । तर त्यहाँ संग्रहित भएको चेतनाको चित्र लिँग शरीरमा रहेको हुन्छ  । जस्तो कि कम्प्युटरमा हार्ड डिस्क (Hard Disc) हुन्छ । त्यहाँ सबै मेमोरी (Memory) राख्ने ठाउँ हुन्छ । त्यस कम्प्युटरमा अन्य विभिन्न प्रोग्रामहरु, ग्राफिकल प्रोग्रामहरु भएकोले कम्प्युटरको मोनिटरमा विभिन्न चित्रहरु राख्न सकिने, देख्न सकिने हुन्छ र तिनै प्रोग्रामहरुको कारण कम्प्युटर एक काम गर्ने मेसिन बनेको हुन्छ । तर त्यहाँ भएको हार्ड डिस्क (Hard Disc) लार्इ ती प्रोग्राम र चित्रहरुसँग केही मतलव हुँदैन, त्यस्ले कुनै भोग गर्दैन । ती प्रोग्राम, ग्राफिकल प्रोग्रामहरु मेटिदिए र त्यहाँ राखिएका सबै चित्रहरु मेटिए पनि (Hard Disc) मा उत्तिनै मेमोरी (Memory) रहन्छ ।
कम्प्युटरको जस्तै गरि लिँग शरीरले आत्माको चेतन शक्ति प्रयोग गरि लिँग शरीरमा विभिन्न आवरणहरु पैदा भएको, अङ्गहरु पैदा भएको, चित्रहरु छापिएको, सोच विचार गर्ने क्षमता, बुध्दिहरु भएको र यिनै खुबीहरु प्रयोग गरि स्थुल शरीरको सञ्चालन र भोग गरिरहेको हुन्छ ।

यदि विभिन्न कारणवस त्यस सञ्चार कृयामा बाधा पर्न जाँदा स्थुल शरीरको कृया र सञ्चालनमा बाधा पर्न सक्ने हुन्छ । जस्तै चेतनाका चित्रहरु मेटिन जाने, बिग्रने, सञ्चारका कृयामा बाधा पर्न जाँदा स्थुल शरीरमा रहेका ग्रन्थिहरुमा सही मात्रामा सञ्चार नपुग्न सक्दछ र स्थुल शरीरको ग्रन्थिको कार्यमा अवरोध, बाधाहरु आउन सक्दछन र विभिन्न रोगका लक्षण र कारण (Symptoms and Syndromes)हरु पैदा हुन सक्दछन् ।

मानिसमा हुने विभिन्न रोगका लक्षण र कारणहरू
त्यसैले स्थुल शरीरमा देखिन आउने विभिन्न लक्षण र कारण (Symptoms and Syndromes) हरु स्थुल शरीरको आफ्नो शिथिलता, कमजोरीका कारणबाट हुन सक्दछन् भने त्यस्तै गरि लिँग शरीरकाे कारणबाट पनि अाएकाे हुन सक्दछ ।

३. मनोमय कोश

यो प्राणमय कोशको भित्र हुन्छ । प्राणमय कोशमा गरिने सबै कार्यहरुलाई तर्क, विचार दिने, सोच्ने, सँकल्प गर्ने, इच्छा व्यक्त गर्ने, कार्यहरु गर्दछ । मनोमय कोशले प्राणमय कोशका अङ्गहरुको कार्यका बारेमा, सोच्ने, तर्क, वितर्क, विचार, इच्छाहरु जाग्रत गराउने कार्य गर्दछ । जस्तै सुत्न मन लाग्यो भने कोठामा जानु पर्यो, बेड मिलाउनु पर्यो, आवश्यक तयारी गर्नु पर्याे अनि मात्र सुतिन्छ । सुत्न जान मन लाग्ने कामको जाग्रत गराउने मनोमय कोशको काम हो । सुत्न जानको लागि कोठा, बेड सम्म हिडाउने, अन्य तयारी गर्ने काम प्राणमय कोशको हो । त्यसरी मनोमय कोशको सानो इच्छा प्राणमय कोशको लागि ठुलो, लामो काम हुन सक्दछ । जस्तै कसैलाई डाक्टर बन्ने इच्छा जाग्यो भने उस्ले त्यस कामको लागि धेरै काम र लामो समय सम्म काम गर्नु पर्दछ । इन्स्टिच्युटमा भर्नाको तयारी, भर्ना हुने वातावरण बनाउने, भर्नाकाे लागि आवश्यक पढाइ, भर्ना पछिका कठिन पढाइ र विभिन्न जाँचहरु पासगरी बल्ल करीव ८- १० वर्षमा बल्ल पुरा उतिर्ण हुन्छन् । यी सबै मनोमय कोशमा जाग्रत भएको डाक्टर बन्ने इच्छाको कारण हो ।
त्यसैले मन बलियो र सन्टुष्ट राख्नु पर्छ नत्र त्यो मनले विभिन्न कार्यमा फसाइ, अल्झाइ राख्छ । सानो सानो मनका कुरा पुरा गर्छु भन्दा गलत कार्य गर्न अघि सरेकाहरू लामो समय सम्म जेलको हावा खानु परेको घटनाका उदाहरणहरु हुन्छन् ।

४. विज्ञानमय कोश

यो मनोमय कोश भित्रको कोश हो । यस्ले मनोमय कोशले सोचेको, विचार गरेको, तर्क, वितर्कलाई ठोस निर्णय दिन्छ । मनमा विभिन्न तर्क वितर्क आइरहे पनि अन्तिममा ठोस निर्णय लिने यस विज्ञानमय कोशले हो । यसलार्इ बुद्धि पनि भन्दछन् । यसले मानिसलार्इ सुत्न जाने कि नजाने भन्दै सोच्दै गर्दा सुत्न जाउँ भनेर ठोस निर्णय दिन्छ । डाक्टर बन्ने कि एक्टर बन्ने भनेर तर्क विचार आउँदा डाक्टर, एक्टर वा कन्डक्टर बन्न सल्लाह दिने यही हो ।

५. आनन्दमय कोश

यो विज्ञानमय कोशको भित्रको कोश हो । यो आत्मासँगको सबभन्दा नजिकको कोश हो । आत्माको गुण स्वभाव आनन्द, शान्त, स्वप्रकाशको भएकोले यस कोशको गुण पनि आत्माका तिनै गुणहरु जस्तो हुन्छ । सबै कोशले गरेको कामको फलको भोग गरेर आनन्द अनुभव गर्दछ । यस आनन्दमय कोशको प्रेरणा र संचारको कारण अन्य कोशहरु प्रेरित र संचालित हुने गर्दछन् । विज्ञानमय कोशको बुद्धि र ठोस निर्णय दिने, मनोमय कोशको तर्क र विचार त्यसभन्दा माथिका प्राणमय कोशका विभिन्न अङ्गहरुको कार्य, त्यसभन्दा माथिको अन्नमय कोशको अनुभवका छापहरु सबैलाई चलाउने र कार्य गराउने केन्द्र आनन्दमय कोशले हो ।

हाम्रो जीवनमा यी कोशहरु र तिनका गुणहरुको ज्ञानको के महत्व छ त ?
यस ज्ञानलाई अझ ठुलो बनाएर, लम्ब्याएर, तन्काएर गहिरिएर हेर्ने हो भने के देखिन आउँछ भने जीवनमा राम्रो काम गर्ने, नराम्रो काम गर्ने, राम्रो असल आचरण गर्ने, नराम्रो गलत आचरण गर्ने, गलत चिजहरुको सेवन गरी व्यर्थ समय बिताउने वा रातभरि नसुति नसुति पढ्ने, दिन भर घाममा नथाकि घाम सहेर काम गर्ने भन्ने कुरा यस आनन्दमय कोशमा उब्जिएको आनन्दको अनुभवमा निर्भर गर्दछ ।
यदि कुनै व्यक्तिमा विभिन्न कारणवस गलत काम र त्यसबाट निस्केको फलबाट पनि आनन्दको अनुभव भयो भने त्यस व्यक्ति त्यस आनन्द प्राप्तिको लागि आफ्ना सबै बुध्दि, सबै तर्क, आफ्ना सबै अङ्गहरु, अनुभव, कला, क्षमता, आफ्ना उपलब्ध साधनहरु प्रयोग गरी त्यस गलत कामको प्राप्तिको लागि प्रयोग गर्दछ र त्यस कामको लागि प्रेरित गर्दछ । अर्को थरी व्यक्ति सही कामबाट आनन्द लिन जानेको छ भने उसले आफ्नो बुद्धि, तर्क, अङ्गहरु, अनुभव, कला, क्षमता त्यस सही काम प्राप्तिका लागि प्रयोग गर्दछ र त्यस कामको लागि प्रेरित गर्दछ ।
डाक्टरकाे काम कति कठिन छ तर कुनै एक व्यक्तिलाई जीवनमा उस्को त्यही आनन्दमय कोशको आनन्दले प्रेरित गरी डाक्टर बनेर सबै बुद्धि, तर्क, अङ्गहरु सबै साधनहरु प्रयोग गरिरहेको हुन्छ ।
कुनै एक चोरले चोरी गरेर पनि आनन्दको अनुभव गर्ने भएकोले आफ्नाे सबै बुद्धि, तर्क, अङ्गहरु, क्षमता, अनुभव, हिम्मत, साधन प्रयोग गरेर अर्काको घरमा राती गएर चोरेर ल्याउन सक्दछ । अर्काको घरमा राती गएर चोरेर ल्याउन सक्नु धेरै बुद्धिवालाको काम हो । यस्को लागि धेरै बुद्धि र हिम्मत, शक्ति, कला चाहिन्छ । त्यति गरेर चाेर्ने काम गर्न सक्ने बुद्धि, हिम्मत, शक्ति, कला र शरीरको अङ्गको क्षमता कुनै डाक्टर, प्राेफेसरको नहुन सक्दछ । कुनै डाक्टर वा प्रोफेसरलाई अर्काको घरमा गएर केही चिज चोरेर ल्याउ भनेमा सायद तिनीहरूको बुद्धि, हिम्मत पनि पुग्दैन र शरीरका अङ्गको क्षमता, ज्ञान, साधन केही पनि पुग्दैन हाेला । तर कोसिस पनि नगर्नु होला । कसै कसैले हामीलार्इ के कम ठानेको भनेर गरेर देखाउन खोज्लान् । त्यसो भन्न खोजेको पनि हैन । अर्काको घरमा चोर्नलाई, पहिला नै थाहा नपाउने गरेर, त्यहाँ नजिक गएर, थाहै नपाउने गरेर, अर्कै तिर हेरेजस्तो गरेर, झुलुक्क हेर्दा नै सबै कुरा थाहा पाउने गरेर, हेरेर मुल्याङ्कन गरेर राती चाेर्न आउँदा कुन बाटो आएर कुन बाटो फर्केर जाने सबै प्लान मिलाएर, राती कसैले थाहा नपाउने गरी आएर कताबाट पसेर केही क्षणमा नै आफ्नो काम पुरा गरेर थाहै नपाउने गरी जान्छन् । फेरी केही दिन पछि तिनीहरूकाे अर्को चाेर्ने प्लान तयार भइसकेको हुन्छ । त्यस्तो गर्न ती डाक्टर र प्रोफेसरका कुनै विधि र ज्ञानले पुग्दैन । त्यो चोर त्यस्तो बुद्धि र शिप भएको व्यक्ति तर चोरेर आनन्द प्राप्त गर्न सिकेको भएर त्यस्तै आनन्द र आनन्द प्राप्तिका प्रयासमा नै व्यस्त हुन्छ ।
मानिसहरु जति जति शिक्षित भए पनि, ती आफ्नो मिहिनेत र समाज र सभ्यताले प्राप्त गराएको शिक्षा र सुविधाहरुको प्रयोग तिनै गलत भावना र आनन्द प्राप्तिका लागि प्रयोग गर्न तत्पर हुन्छन् । अर्काको बैँककाे कार्डबाट पैसा निकाल्ने, नक्कली सरकारी कागज पत्र बनाउने, नक्कली सरकारी परिचय पत्र, नक्कली पासपोर्ट, नक्कली भिसा, नक्कली नोटहरु छाप्ने खुबी भएकाहरु पक्कै पनि साधारण ज्ञान भएकाहरु होइनन् । तर गलत आदतबाट आनन्द लिने आदत परेकाहरु हुन् । तिनीहरु आज ठुला र शिक्षित हुन पाएर बैँक फाेर्ने मौका पाए । सानो उमेर छँदा आमाको सुटकेश फाेर्ने पनि तिनीहरू नै हुन् । यदि शहरको  वातावरण र शिक्षा नपाएका भए र तिनीहरू गाउँमा भएका अरुहरुको खेतबारीको मकै चोरेर, अरुको घरको कुखुरा चोरेर भने पनि आनन्द लिन्थे । गलत आनन्दका आदत भएपछि चाहे सरकारी जागिर खाउन, चाहै नाम कमाएर नेता र मन्त्रि बनुन्, त्यो केही दिनको मौका नपाउन्जेल सम्मको विश्राम हो । मौका पाउने बित्तिकै भित्र लुकेर बसेको गलत आदतको आनन्दको चाहना बाहिर आउँदछ । कतिपयले अाफ्ना गल्तीहरु छोप्न भ्याए होलान् भने कतिलाई मन्त्रि भएर हतकडी लगाएर जेल पुर्याइएको घटनाहरु विश्वमा नै कुनै नौलो खबर होइन ।
अब आफ्नो विषय तिर फर्काैं । यसरी हामीले कुनै गलत आदतमा फसेँकाहरुलार्इ यही आनन्दमय कोशको ज्ञानको आधारमा उसलाई सही कामबाट आनन्द लिन सिकाउन सक्यौँ भने उसले गलत काम गर्न छोड्न सक्दछ । जस्तै विभिन्न मादक पदार्थ सेवन गरिरहेकाहरुलाई, चोरी गरेर सजाँय भोगिरहेकाहरुलाई वा भविष्यमा चोरी गर्न सक्ने भएर आजैदेखि घरमा चालचलन र अभ्यास गरिरहेकाहरुलाई सही कार्यबाट आनन्द लिन सिकाउन सकिन्छ । उसको गलत आदत सुधार्न सकिन्छ ।
हरेक गलत काम गर्नेले पनि त्यस काम सफल भएपछि आनन्दको महसुस गर्दछ । शितल, शान्त महसुस गर्दछ । यो आत्माको गुण हो । आनन्दमय कोश र आत्मासँगै जोडिएको भएर तिनीहरुको गुण एकै जस्तो भएको हो । त्यस आनन्दमय कोशले उसको त्यस गलत कामको लागि होस् वा सही कामको लागि होस् चाहिने चेतना, उर्जा, आत्माबाट लिन्छ । त्यसैले त्यस आनन्द प्राप्तिको लागि आवश्यक उर्जा, तयारी, जाँगर, फुर्ती आउँछ ।

यी उल्लेखित ज्ञानलाई जीवनमा प्रयोगमा ल्याउन सकिने विभिन्न विधिहरु छन । त्यसले परिवारमा र समाजमा देखिदै आएको विभिन्न कुलतहरुलार्इ सुधार्न नयाँ विधि दिनेछ । त्यस कुलतको मुख्य केन्द्रमा नै परिवर्तन हुने गरी उपचारका उपायहरु अपनाउन सकिन्छ ।
मानिसलार्इ उसको कुलत विचार र आदत सुधार्न निम्न साधारण विधिहरुद्वारा पनि ठुलो परिवर्तनको आशा राख्न सकिन्छ ।
मानिसले जीवनमा आनन्दको अनुभव गर्ने चिज र अवसरहरु निम्न तरिकाहरू हुन् ।
क. खानाः  मिठो खाना, प्रशस्त खाना खुवाएर मानिसलार्इ पटकपटक त्यस खाना खान पाउने वातावरणमा फर्काउन सकिन्छ । घरमा बस्न नरुचाउनेहरुलार्इ खानाको लोभद्वारा घरमा अडाउन सकिन्छ । कुनै अन्य कामहरु गर्न लगाएर काम सिध्दिए पछि मिठो, प्रशस्त खाना खान दिँदा उ फेरी फेरी त्यस्तै काम र खाना खान मन गर्दछ ।
ख. प्रशंसाः प्रशंसा गरिदिनु, धन्यवाद भनिदिनु, शरीरमा अँगालो मारेर प्रशंसा र धन्यवाद दिनु, हात मिलाएर गुट गर्नु, कुममा थमथमाएर स्यावासी दिनु । यस्तो गर्दा आनन्दको अनुभव हुने, सफलताको अनुभव हुने र फेरी फेरी त्यस्तै काम गर्न मन लाग्न सक्दछ ।
ग. पुरस्कारः केही पैसाहरु दिनु, पुरस्कार दिनु, उपहारहरु दिनु । यस्तो गर्दा सफलताको अनुभव हुन्छ र आनन्दको अनुभव हुन्छ । यसरी मानिसलाई त्यस काममा चाख बढ्ने, काम गर्न मन लाग्ने, त्यस ठाउँमा आउन मन लागिरहने हुन्छ ।
घ. कुराकानीः  मिठा मिठा कुराहरु गरिदिने, गर्न लगाउने, हास्ने, खेल्ने मौका मिलाइ दिने, राम्रा कुराहरु हेर्ने मौका मिलाइ दिने
ड. साथीः मानिसहरुसँग परिचय हुने, साथी बनाउने मौका मिलाइ दिने ।
यी अवसरहरुमा मानिसलाई नयाँ आनन्दको अनुभव गर्ने मौका मिल्दछ र पटकपटकको अवसरपछि आफ्ना पुराना कुलत बिर्सन गइ नयाँ आदतमा आदत बस्दछ ।
सर्कसमा जनावरहरुलाई खेलाएर नचाउने मान्छेले ती जनावरलाई हरेक एउटा काम गर्ने बित्तिकै केही त्यस जनावरको मन पर्ने दाना, खाना मुखमा हालि दिन्छ र धन्यवाद दिइराखेको हुन्छ । त्यसै भएर नै त्यस जनावरले त्यहाँ पटकपटक विभिन्न कृयाकलापहरु देखाइ रहेको हुन्छ । नत्र त्यस जनावरलाई त्यहाँ जम्मा भएका दर्शकसँग कुनै मतलब हुँदैन । त्यहाँ त्यस जनावरले खानावाट प्राप्त गरेको आनन्द र त्यस आनन्द प्राप्तिको लागि गरेको कृया कलाप हो । यसैगरी हामी हाम्रो परिवारमा कुनै नराम्रो काम गर्ने, नपढ्ने, घरको काम गर्न मन नपराउने, लागुपदार्थ सेवन गर्ने जस्ता परिवारका सदस्यहरुलाई गालि गरेर, विभिन्न सँजाय दिएर पनि आदत सपार्न सकिएन भने यस आनन्दमय कोशको प्रभावको तर्कबाट सपार्न कोसिस गर्न सकिन्छ । जस्तै तिनीहरुलाई सानोसानो काम गर्ने बित्तिकै धन्यवाद दिने, स्यावासी दिने, सानो मिठाइ, खानेकुरा भने पनि दिने, बच्चाहरूले पढेर पाठ बुझायो भने त्यस्तै प्रशंसा, खाना, मिठाइहरु दिने गर्न सकिन्छ । मादक पदार्थ सेवन गर्नेहरु अर्काको देखासिकी गरेर सिकेका हुन् । तिनीहरुले आफ्नो जीवन कालमा अर्को राम्रो काम गरेर आनन्द लिन पाएका थिएनन् । त्यसैले तिनीहरुलाई विभिन्न राम्रो काम गर्ने मौका दिने र त्यस बापत धन्यवाद गुलियो, खानेकुरा वा अन्य स्यावासीहरु दिने गर्नु पर्दछ । तिनीहरुलाई समाजिक कार्यमा सहभागिता गराएर, घर वरपरको सफार्इ, बाटो वरपरको सफार्इ, मन्दिर परिसरको सफार्इ, स्कुल परिसरको सफार्इ गर्न लगाउने, धन्यवाद, पुरस्कार, खानेकुरा दिने, साना साना भने पनि प्रशंसा पत्रहरु दिने गर्नु पर्दछ । यस्ता कामहरुले तुरुन्त आनन्दको अनुभव हुन्छ । यस्तै गर्दै खेतबारीमा काम गर्न लगाउने, फलफुल टिप्न लगाउने, खानाकाे तयारी गर्न लगाउने, खाना पकाउन लगाउने यस्ता कृयाकलापले उसलाई नयाँ आनन्दको अनुभव दिन्छ । उस्ले गलत कामबाट प्राप्त गरेका आनन्द भन्दा यो प्राकृतिक आनन्द हो । यो लाभदायक, लामो समयसम्म रहने हुन्छ । यसरी उस्का आनन्दका कारण परिवर्तन भइ नयाँ आनन्दसँग जोडिन आउँछ । पुराना नराम्रा आदतहरु बिस्तारै भुल्न सक्दछ ।
यस तरिकालाई यसै विषयमा काम गरिरहेका विशेषज्ञहरुले अझ व्यवहारिक, प्रभावकारी बनाउन सक्दछन् । यी तरिका, विधिहरु लेखकले विभिन्न ठाउँमा, विभिन्न परिस्थितिमा परिक्षण गरी सही परिणाम पाइसकेका उपायहरु हुन् ।
कहिले कहीँ हामी गलत आदतमा परिसकेका, नसालु चिज सेवन गर्ने, तासजुवा खेल्नेहरुलाई उसलाई नयाँ कुरा सिकाएर डोर्याउनुको सट्टा उसलार्इ देख्ने बित्तिकै गालि गरेर झन उसको अन्धकारमा अझ प्रकाश छेकिरहेका हुन्छौँ । तर यस आननदमय कोशको प्रभावको ज्ञानलाई ध्यानमा राखि उपायहरु जोड्ने हो भने बढी प्रभावकारी हुन सक्दछ जस्तो लाग्छ ।
सृष्टिमा त्यही आनन्द भन्ने भावनावाट प्रेरित भएर सबै जीव संचालित भइरहेको हुन्छ । मानिसहरुमा सबै वर्गका मानिस, नेता, वैज्ञानिक, कर्मचारी, व्यापारी, कृषक सबै तिनै आनन्द र आनन्द प्राप्तिका लागि प्रयास गर्दै सबै काम र सम्बन्ध जोडिरहेका हुन्छन् । सबै जनावर, चराचुरुङ्गी, सबैले आफ्नो आफ्नो कार्य त्यही आनन्द प्राप्तिको लागि गरिरहेको हुन्छ । यो सृष्टिको पहिलो गुणहरुमा पर्दछ । यही गुण सृष्टिको पहिलो जीव महतमा हुन्छ । त्यही गुण हात्ती, डाक्टर, एक्टरमा हुन्छ । यसरी नै सृष्टि चलिरहेको छ ।

जीवनको प्रमुख विधान ।
कुलत खराब आचरण गराउने पनि त्यही आनन्द हो ।
कुलत खराब आचरणबाट निकाल्ने पनि त्यही आनन्द हो

⇐विषय सूचीमा फर्कन

This post is also available in: Nepali