शास्त्र विदुर नीती

⇐विषय सूचीमा फर्कन 

शास्त्र खण्ड

जीवनका लागि शास्त्रले दिएको मार्ग निर्देशनहरु:

विदुर निती  (महाभारत पुराण कथाबाट)

( पाण्डबहरु र कौरबहरुका बिचमा अब जसरी पनि लडाई हुनेनै भयो भनेर थाहा भए पछि कौरब राजा धृतराष्ट्रले दिक्दार मान्दै आफ्ना भाइ मन्त्री विदुर सँग गुनासो पोख्दै केही सान्तोना पाइन्छ कि भन्दै भाइ विदुरसँग केही ज्ञानका कुराहरु सुनाउन आज्ञा गरे । विदुरले यसै मौकामा राजा धृतराष्ट्रका कमी कमजोरी औँल्याउदै शास्त्रमा उल्लेख भएका अर्तिहरुलाई यी श्लोकहरुमा प्रस्तुत गरे ।)

दुर्वल् भै बलवान् पुरुषकन यहाँ, जस्ले चिढाई लिनन् ।

देख्ता रुपवती परस्त्री हरुमा, जो मन लगाई लिनन् ।।

अर्काको धनमाल चोर्न भनि जो, गर्छन् विचार मनमहाँ ।

त्यस्तै जनहरुलाई हे नरपते !, लाग्दैन निद्रा यहाँ ।।

योग्यै छोडि अयोग्य वस्तु लिन जो, यत्नै ठुलो गर्दछन् ।

जो दुश्मन सित मैत्री मित्र सँगमा, जो शत्रुता धर्दछ्न् ।।

जुन काम् जुन घरि गर्नुपर्छ न गरी, गर्छन् ढिलो जो यहाँ ।

त्यस्तै जनहरुलाई हे नरपते !, ताप् हुन्छ खुब मन् महाँ।।

आशा गर्छ नपाई सक्नु चिजको, जसले दरिद्री भई ।

जस्ले गर्दछ क्रोध ठुलो मनमहाँ, सामर्थ्य आफ्नो गई ।।

धन् नष्टै भइ धन् हुने बखतकै, चालमा रहन्छन् जति ।

त्यस्तै जनहरुलाई हे नरपते !, ताप हुन्छ मनमा अति ।।

आफ्नो कार्य बिगारी कार्य अरुको, जो सिद्ध पारी दिनन् ।

कंगाल् मुर्ख भई बडो हुँ  म भनी, जस्ले घमण्डै लिनन् ।।

कर्म गर्न भएर सुस्त उसको, फलको भरै गर्छ जुन् ।

जानी वक्सनुहोस् प्रभो ! हजुरले, लोकमा तिनै मुर्ख हुन् ।।

जसको छन् प्रसङ्ग गर्छ ति कुरा, जसले अनर्थै गरी ।

वात् गर्दा अरुले न सोधिकन जो, बात् काट्छ सामने सरी ।।

आफ्नो चाह जहाँ हुँदैन उही जो, जाला न डाके पनि ।

जानी वक्सनुहोस् प्रभो ! हजुरले, त्यसलाई मुर्खै भनि ।।

दोष् देला अरुहेरुलाई जसले, दोष् आफ्नु उस्तै भई ।

धनका खातिर पातकी पुरुषको, जो गर्छ सेवा गई ।।

मान्ने जनहरुलाई आदर जउँन्, गर्दैन सामने परी ।

जानी वक्सनुहोस् प्रभो ! हजुरले, त्यो हो गदाहा सरी ।।

क्रोधले होस् कि त लोभले गरिहवस्, डरले गरी होस् यहाँ ।

गर्ने छैन अयोग्य कर्म स्थिर भै, जो आफ्नु धर्मै महाँ ।।

जान्दैनन् जसको उपाय अरुले, कारवार फगत् देख्दछन् ।

त्यस्तै जनहरुलाई शास्त्रहरुमा, पण्डित भनी लेख्तछन् ।।

आफ्ना साथ महाँ कुनै विषयको, बार्ता भएका घडी ।

बिचमा बात न काटी सुन्छ जसले, सब् बात एक् एक् गरी ।।

बातको मतलब झट्ट बुझेर न चुकी, हाजिर जवाफ् दिन्छ जो ।

जानी वक्सनुहोस् यहाँ नरपते !, सोहि विचारवान् हो ।।

कस्तै आपद होस् उपाय सकभर, जो गर्छ धैर्यै भई ।

सुर्ता जसकन हुन्न सत् चलनले, सर्वस्व आफ्नो गइ ।।

मर्यादा सव थामिलिन्छ जसले, लोकमा भएको जति ।

हे राजेन्द्र ! विचारी वक्सनु हवस्, त्यो धैर्यवान् हो अति ।।

विद्याका अनुसार बुद्धि हुन गै, भै बुद्धि विद्यानुसार ।

छलफल् केहि गरी निकाल्दछ यहाँ, सब् बातको जौन सार् ।।

कल्याण् आफ्नो नछोडी नित्य धनको, आर्जन् महाँ लाग्छ जो ।

हे राजेन्द्र ! विचारी वक्सनु हवस्, दब्दैन क्वै देखि सो ।।

उचनीच् जो सहिलिन्छ तेसकन यहाँ, दुष्टैहरुले गई ।

दिन्नन् दुख्ख ठुलो नपाई निउँ क्यै, लाचार आफै भइ ।।

तस्मात् जो छ समर्थहिन् उही पनी, होला सहनले खडा ।

जो हुन् शक्तिभइ सहन् गरिलिने, सो जन् ठहर्छन् बडा ।।

एक्लै शोच बिचार गरेर गरदा, ठीक हुन्न क्यै कामको ।

साहस गर्नु हुँदैन साथी नलिई, एक्लै विदेश् जानको ।।

एक्लो मर्द कुनै नजानु अरुकी, एक्ली छ भार्या जहाँ ।

मिठो बस्तु जहानलाई न दिई, एक्लै नखानु यहाँ ।।

यौटै धर्म छ सब् मनुष्यहरुको, उदधार गराई लिने ।

सबको हित् गरी बस्नुनै फगत हो, लोकमा ठुलो सुखदिने ।।

विद्या एक् छ मनुष्य सबकन यहाँ, सन्तोष् गराई लिने ।

एउटै दु:ख् सहनु उपाय छ प्रभो!, सबलाई शान्ती हुने ।।

सँगत सज्जनको गरेर रहने, बोल्ने हितैका कुरा ।

जसको ई दुई गुण रहन्छ उसले, मान पाइलेला पुरा ।।

आफुले सहि कष्ट दान् दिनु र फेर, माफ् गर्न ताकत् भई ।

जस्को इ दुई गुण् छ पार्दछ यहाँ, सबलाई वशमा उहि ।।

उत्तम् मध्यम फेर अधम् जनहरु, हुन्छन् इनै तीन् थरी ।

गर्छन् कर्म पृथक ति तीन् तरहका, आफ्ना स्वभावका सरि ।।

खेती गर्नु र नोकरी गरी लिनु, पढ्नु छ तीन् कार्य जो ।

आफैँ लागि परी गरेन जसले, व्यर्थै ति काम् गर्छत्यो ।।

देख्ता सुख अरुहरुको मन महाँ, डाहा जऊन् गर्दछन् ।

क्यै उद्योग् न गरी बसेर अरुको, आश्रा जऊन् धर्दछन् ।।

जो सन्तुष्ट हुँदैन आफ्नु हकको, पाइ लिँदा चीजहरु ।

लोकमा दु:खित जन् इ तीन सरि गुणी, मान्दैन कोही अरु ।।

अर्काको धन हर्नु, गर्नु अरुको, भार्याहरुमा गमन् ।

मित्रैजन् कन तोड्नु नष्ट हुनका, लोकमा इ तीन दोष छन् ।।

त्यस्तै क्रोध र लोभ मोह हुनु ई, भारी व्यसन् हुन् यहाँ ।

पार्दिन्छन् सहजै  इ तीन व्यसनले, सबलाई नरक् महाँ ।।

फर्काइ धन दिन्न जुन् घरि भन्यो, हातमा अरुका परि ।

भ्रष्टै स्त्री तरुणी हुनेछ सहवास्, आर्को पुरुषका गरी ।।

ढल्छन् वृक्ष नदी बढेर जलले, तटमा रहेका जति ।

ई तीन साबुत पाई भोग्छ उहिजो, हो भाग्यवान् त्यो अति ।।

सम्झाइकन जो कहन्न गुरु भै, भार्या भइ जो यहाँ ।

बोल्छे मनपरी बात बढेर बहुतै, डर् भर् नली मनमहाँ ।।

राजा भै कन न्याय केहि न गरी, शोषण तरफ लाग्छ जुन् ।

चाँडो हुन्छ जति इ तिनकन् यहाँ, जन् छोडी टाडा रहनु ।।

वरदान पाउनु राज्य पाउनु यहाँ, बेस् पुत्र पैदा हुनु ।

आफुले गइ शत्रुका उपरको, कष्टै छुटाई दिनु ।।

चार इ सुख हुन् बराबर भनी, विद्वानहरु मान्दछन् ।

दु:खमा दु:ख दिनु शत्रुलाई पनि गै, कर्मै खराब ठान्दछन् ।।

जो चाडो खुश हुन्छ मुर्ख छ जऊँन्, अल्छीछ जोजन अति ।

तारिफले अरुलाई खुशगरु भनी, जो राख्छ आफ्नो मति ।।

चारै ई जनहेरुका सँग महाँ, जान्ने कुनै जन पनि ।

लिन्नन् सम्मति ठीक् विचार इनिहरु, दिन्नन् कसैले भनी ।।

ज्ञानी जनहरुलाई मान गरिलिनु, जानु बडा जन् कहाँ ।

मुढेबल् न गरेर बुद्धिबलले, सब काम निकाल्नु यहाँ ।।

पापी जनहरुलाई दण्ड दिनु खुब, कौनै प्रकारले गरी ।

चारै कर्म इ मुख्य हुन् फल पनि, दिन्छन् इ सोही घरी ।।

सत्यैमा रहनु सहन् गरी लिनु, आलस्य छोडी दिनु ।

इर्स्या छोड्नु सहाय गर्नु हकिको, कामकाज् समाली लिनु ।।

जस्ले ई षड्गुण निरन्तर यहाँ, सम्झेर काम गर्दछन् ।

आफ्नो किर्ति ठुलो चलाइकन ती, आनन्दमा पर्दछन् ।।

आरोग्यै रहनु कमाई लिनु धन्, भार्या पियारी हुनु ।

विद्या पाउनु धन हुनु वश महाँ, मन लाई राखी लिनु ।।

आज्ञा मानि लिएर पुत्र रहनु, जस्का सुखै षट् इ छन् ।

पृथ्वीमा रही स्वर्ग सुख सबै, सोही जनै भोग्दछन् ।।

दाताको जब दान मिल्यो गुरुजीको, गुण प्राप्त  गर्दा महाँ ।

वृदधैको युवती र पाइ रमणी, आमा समेतको यहाँ ।।

काम् गर्नेहरुको भएर सब काम, रोग छुट्न गै वैद्यको ।

छोडछन् साथ सहज् छ इन कन छ ई, यै चालहो लोकको ।।

                                                                 वास्ना सुघनु मधुर वचन सुनिलिनु, राम्रो चिजै हेरनु ।

मिठो खानु तपन् चिसो रहितको, स्पर्शै नरम चिज् हुनु ।।

सम्भोग गर्नु इनै छ हुन् बिषय भोग, पैल्है क्यै सुखछ दिने ।

छुट्न गै पछि भोग इ नै सकल हुन्, खुब दु:ख गराई लिने ।।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English