⇐विषय सूचीमा फर्कन

पाठ ३.१०.५

सपना: मानिसको तेस्रो नेत्रको ग्रन्थि

सपना भन्ने शब्द सबै जानेको बुझेको शब्द नै हो । प्राय: सबै मानिसहरूले सपना देखेको अनुभव गरेका हुन्छन् । कसैले धेरै सपना देख्छन् कसैले थोरै सपना देख्छन् । कुनै सपना राम्रो खुसि ल्याउने, हसाउने हुन्छ भने कुनै सपना हेर्दै सम्झदै दु:ख लाग्ने, रूवाउने खालका हुन्छन् । सर्ब साधारण मानिसहरूले सपनाका बारेमा  भिन्न भिन्न अनुभव र विश्वास राख्दछन् । कसैले सपनाका कुराहरू पत्याउछन् कसैले पत्याउदैनन् । सपनाका कुराहरू नपत्याउनेहरुले पनि पटक्कै नपत्याउने पनि होइनन् भने पत्याउनेहरुले सबै कुरा बुझ्ने गरेर पत्याउने कोहि हुँदैनन् । सपनाका कुराहरू जीवनमा मिल्न आएकाे अनुभवहरू, कहिले कहिले भने पनि अलि अलि मिलेका अनुभवहरू धेरै मानिसहरूले गरेका हुन्छन् । सपनामा कहिले भइसकेका कुराहरूलाइ सम्बन्धित बनाएर आएको हुन्छ भने कहिले कहिले पछि भविष्यमा हुने घटनाहरूसँग सम्बन्धित हुन्छन् । विज्ञानका विषयहरू वायोलोजी तथा चिकित्साशास्त्रका अनुसार सपनाको कुनै अर्थ हुन्छ भनिएको छैन । तर मानिसले नराम्रो सपनाहरू देखेर झस्कने तर्सिने जस्ता लक्षणहरू लिएर मेडिकल डाक्टरहरु कहाँ समाधानका उपायहरू पाउन गएका हुन्छन् । चिकित्साशास्त्रमा यस विषयलाई साइकियाट्रिक्स विभागले, साइकोलोजी विभागले हेर्ने चलन छ । चिकित्साशास्त्रमा सपनाका विभिन्न अवस्थाको वर्णन गरिएको छ, त्यस अवस्था अनुसारको दिमागमा आएको परिवर्तन, मानसिक अवस्थामा असन्तुलन आएका वेलामा विभिन्न झस्कने तर्सने सपनाहरू आएका हुन्छन् भनिएको छ । सपना आउँदा मानिसको दिमागमा कस्तो परिवर्तनहरू आएका हुन्छन् भन्ने विभिन्न जाँच परिक्षणहरू गरेर मानसिक अवस्थाको विभिन्न लक्षणहरूको वर्णन गरिएको छ र उपचारका विभिन्न विधिहरू वर्णन गरिएको छ । तर चिकित्साशास्त्रमा कतै पनि सपनाको कुनै अर्थ हुन्छ र सपनाको स्रोत के हो ? भनेर भनिएको छैन । सपनाका बारेमा चिकित्साशास्त्रले गरेका अन्य परिभाषा र वर्णनहरू यहाँ गरिरहन परेन, त्यो चिकित्साशास्त्रका विषयका किताबहरूमा उल्लेख गरिएका छन् ।

तर यस किताबका लेखकहरू चिकित्साशास्त्रका डाक्टरहरू भएर पनि यस किताब मार्फत औपचारिक रूपमा समस्त मानिसहरू, विज्ञानका र चिकित्साशास्त्रका सहकर्मीहरूलाई भन्न गइरहेका छौँ कि सपनाको अर्थ हुँदो रहेछ, सपना एक समाचार खबर हो रहेछ । सपना एक समाचार खबर हो रहेछ भने त्यो समाचार खबर दिने स्रोत पनि अवस्य छ होला ? सपनाले अदृस्य संसारसँगको सम्बन्ध र समाचार आदान प्रदान गर्दो रहेछ, त्यसैले सपना एक तेस्रो नेत्रको ग्रन्थि हो रहेछ । यो शरीरको ज्ञानेन्द्रिय र कर्मेन्द्रियको  सँयुक्त ग्रन्थि हो । यो सुरुमा निस्कृय रुपमा रहेको हुन्छ । सपना भन्ने एक तेस्रो नेत्रको समाचारको यंत्र हो भनेर जानेर सपनाका बारेमा अध्ययन, अभ्यासहरु प्राप्त गरि सपनाका भावहरु बुझ्दै, अर्थ लगाउदै जाँदा ती सपनाहरु विकसित भएर ज्ञानेन्द्रियमा परिणत भइ समाचार ल्याउने यन्त्र हुन जान्छन् र अझ बढी ज्ञान र अभ्यास हुन सकेमा सपनाहरू कर्मेन्द्रिय (काम गर्ने यन्त्र) हुन सक्दछ । सपनाका बारेमा अझ गहिराइमा गएर बुझ्ने, आफैले अर्थ लगाउन जान्ने वा अर्थ लगाउन जान्ने अरू मानिसहरूसँग सहयोग लिन जाने पछि हाम्रा भावनाहरु पनि सपनामा व्यक्त हुन जाँदा सपना कर्मेन्द्रिय हुन जान्छन् वा भन्न खोजेको कुरा सपना मार्फत मानिसको अदृस्य संसारसँग सम्पर्क हुन सक्दछ र हामीले अदृस्य संसारसँग दोहोरो सम्पर्क र समाचार, कुराकानी आदान प्रदान गर्न सक्दछन् ।

यस अगाडिका पाठहरुमा तेस्रो नेत्रको विभिन्न ग्रन्थिहरुको वणर्न गरियो । ती सबै तेस्रो नेत्रका ग्रन्थिहरुमा सपना सबभन्दा प्रमुख हो । हरेक सपना, पटक पटकको सपना र अन्य ग्रन्थिहरुका स्पर्श, भाव, आँखा बन्द गर्दा पनि आउने चित्रहरु सबै मिलाएर भाव र अर्थ बन्दछ । त्यो भाव र अर्थ नै तेस्रो नेत्रको भाव हो । सपना अन्य सबै तेस्रो नेत्रका ग्रन्थिहरुको स्पर्शहरुको जोडिन जाने प्रमुख नहर जस्तो हो । सपनामा आउन खोजेको भाव र कुराहरु व्यक्त हुन नपाएर अडकिएर थुनिएर अन्य ग्रन्थि मार्फत बाहिर आएको हो र अन्य ग्रन्थिहरुमा अस्वस्थ स्पर्शहरु देखिन थालेका हुन् ।

चित्र ३८

यसरी सपनाबाट भन्न नपाएको भएर वा उनीहरुले सुरुमा सपना मार्फत भन्न खोजिएका कुराहरु कसैले नसुनि दिँदा, नबुझि दिँदा ती सम्पर्कका समाचारहरु अन्य ग्रन्थि मार्फत आउन थालेको हुन् । सही रुपमा सपनाको भावको अर्थ लगाउन थाल्यो, सपनामा भन्न खोजेका कुरा कसैले बुझिदिन थाल्यो भने अन्य अङ्गहरू मार्फत आउने स्पर्शहरू कम हुन थाल्दछन् र ती सपनाहरु अझ बढी भावात्मक, अर्थ पुर्ण, अझ बढी स्पस्ट हुन आउँछन् ।

 

सपना, सपनाको भाव र सपनाको भावको अर्थको भाव ।

सपना, सपनाको भाव र सपनाको भावको अर्थ भन्ने शब्द पटक पटक दोहोरिएको छ । पाठकहरुमा भ्रम नहोस भनेर खुलाउन चाहन्छु । हरेक सपनाका दृश्यहरुमा त्यस दृश्य सँगसँगै भाव आएको हुन्छ । जस्तै सपनामा कुनै नदी देखिन आयो भने त्यस दृश्य सँगसँगै केही भन्न खोजिएको हुन्छ, यात त्यस नदी बढेर तर्न नसक्ने भएको रहेछ भन्ने भाव आएको हुन्छ यात त्यस नदी सुकेर त्यो नदी त तर्न सक्छु भन्ने भाव आएको हुन्छ । यी भावहरु सपनासँग सँगै आउने भावहरु भए । अर्को भाव यी सपना र त्यस सपना सँग आएको भावको अर्थको भाव भन्न खोजेको हुँ । यहाँ दुइटा भावका कुरा गरिरहेको छु । दोस्रो भावले के अर्थ दिएको हुन्छ भने त्यो सपनामा देखेको नदी बढेको र तर्न सक्दिन होला भन्ने भावको अर्थ कुनै काम गर्न नसक्ने अवस्थामा आइपुगेको छ भन्ने अर्थ र भाव हो । त्यसै गरि नदी सुकेर सानो भइ तर्न सक्छु होला भनेर आएको भावको अर्थ हो कुनै काम सफल गर्न या सफल हुन लागिरहेछ भन्ने जनाउँछ र त्यसै अनुसारको परिणाम त्यसै दिन वा केही दिन पछि आएको हुन्छ

चित्र ३९

सपनामा व्यक्त भएका चित्र र भावहरु आफ्ना मानसिकताको स्तर, पढाइको स्तर, सोच्ने क्षमताको स्तर, मनमा जागेका प्रश्नहरुको उत्तर, सम्बन्ध, नाता, काम, रोजगारहरुको सम्बन्धमा नै व्यक्त गरिरहेको हुन्छन् । सपनाको अर्थ आफैले लगाउन नसके अरु कोही जानेको मानिससँग सोधेर लगाउने गर्नु पर्दछ । सपनामा विभिन्न अन्य लिँग शरीरहरुसँग सम्पर्क भइरहेको हुन्छ । सपनाबाट व्यक्त भएर भाव बुझेर कार्य गर्न थालेपछि अन्य ग्रन्थिबाट सम्पर्क बन्द हुन जान्छ वा एकदम कम भएर जान्छन् र अस्वस्थ तेस्रो नेत्रको अवस्था कम वा बन्द हुन जान्छ । जस्तै हामीले नजिकमा भएका आफ्नो मान्छेलाई बोलाएर केहि कुरा भन्न खोज्दा उसले सुनेन वा वास्ता गरेन, अन्तै अर्कै कुरामा ध्यान दिइराखेको छ भने अनि उस्लाई तानेर झक्झकाएर आफुतिर ध्यान तान्न खोज्दछौँ । हो त्यस्तै त्यस्तै भएको हो ।

सपनामा आउने भावहरुः
सपनामा देखिने चित्रहरु र भावहरु सिधा अर्थका नहुन पनि सक्दछन् । कहिले कहिले ति दृश्यहरु विपरित अर्थ बोकेर देखाइएको हुन्छ । सुल्टो वा विपरित जस्ता अर्थ बोकेपनि ति सपनाहरुले कुनै न कुनै अर्थ बोकेको हुन्छ । मानिसले सपनाको अर्थ लगाउन नजानेको तर हेरक सपनाहरुलाई अर्थ लगाउन कोसिस गर्ने र ति सपनाहरुलाई हँसि मजाकको साधन बनाउने गरेकाहरुलाई त्यस्तै खालका हाँसो लाग्ने वा ठिक विपरित अर्थ लागेर आउने खालका सपनाहरु आउँदछन् । यदि त्यस सपना देख्ने मानिसले आफ्नो सपनालाई कुनै अति सिपालु कहाँ गएर सोधेर अर्थ लगाउने गर्न थाल्यो भने उसका ति विना अर्थका अथवा ब्यङ्गात्मक मात्र अर्थ भएका सपनाहरुपछि सिधा अर्थ लाग्नेर जीवनसँग अति सम्बन्धित सपनाहरु देख्न थाल्नेछन् । यसरी सपनाका कुराहरू सोध्न जानेको मानिस कहाँ गएर सोध्ने गरेको छ भन्ने कुरा ति सपना दिनेहरूलाई थाहा भइसकेको हुन्छ र अनि बल्ल अर्थ पूर्ण खालका सपनाहरू आउँन थाल्दछन् । कहिले कहिले अति महत्वपूर्ण सपना आएका रहेछन् र सपना  देख्नेले अर्थ बुझ्न नखोजेर वास्ता नगरेको वा आफैले अर्थ लगाउदा गलत अर्थ लगाएको रहेछ भने ति सपनाहरू घरि घर याद आएर अर्थ लगाइदिनेलाई गएर भन भन्ने भावहरू आइरहन्छन् र जव अर्थ बुझ्ने कहाँ पुगेर सपनाको अर्थ सोधे पछि बल्ल त्यो सपनाको याद आउन छोड्छन् र सपना गएर भन भन भन्ने भाव पनि आउँन छोड्छन् ।

सपना मार्फतबाट मानिसमा अदृस्य संसारसँगको सम्पर्क भएको भएर पनि त्यो सम्पर्क धेरै टाढाको सम्बन्ध सम्पर्क जस्तो हुन्छ । जस्तै दुइ जना मानिसहरू टाढा टाढा आवाज नसुनिने तर इशारामात्र देख्न सक्ने दुरिमा छन् वा दुइ जना भाषा नबुझ्नेहरू सँगै छन् र एक आपसमा कुराकानी गरेर केहि काम लिन खोज्दै छन् जस्तै भएको हुन्छन् । जस्तै कुनै नबुझ्नेहरू भेट भएर कुरा गर्दा एउटाले हातमा ठुलो चप्पल उठाएर देखायो भने त्यसको दुइटा अर्थ हुन सक्छ । एक त्यो चप्पल तिमिलाई दिन्छु भनेको होला कित त्यो चप्पलले हान्छु भनेको होला । यस अवस्थामा वास्तवमा के भन्न खोजेको थियो भनेर बुझ्न त्यस चप्पल लेखाउने वेलामा त्यस चप्पल देखाउनेले अरू के के व्यवहार गरेको थियो ?, अनुहार आँखा कसरी हेरेको थियो ? भनेर अन्य कुराहरू पनि हेरेर भाव निकाल्नु पर्दछ । जस्तै त्यस चप्पल देखाउने मान्छेले अनुहार र अन्य शारीरिक अङ्गहरू रिसाएको जस्तो गरेको थियो भने त्यस व्यक्तिले चप्पल देखाएर चप्पलले हान्छु भनेको होला भने यदि त्यस चप्पल देखाउने व्यक्तिले चप्पल देखाउने वेलामा अनुहार हँसिलो थियो अन्य शारीरिक अङ्गहरूको चालचलन पनि खुसियालीमा जस्तै थियो भने त्यस चप्पल देखाउनेले चप्पल दिन्छु भनेको होला ?  साधारण रूपमा सपनाका सबै भावहरू नजानेका मानिसले आफुलाई चाहिदो आफुलाई मनपर्ने अर्थ लगाउन थाल्दछन् र भ्रममा परेर विपरित कार्य गरेर ती अदृस्य चिजहरूलाई अझै क्रोधित बनाएका हुन सक्दछन् । त्यसैले यस्ता महत्वपूर्ण खबर समाचारहरूलाई अर्थै नबुझि रद्दिको टोकरीमा फ्याक्नु पनि उचित होइन र नबुझिकन  आफ्नै पाराले अर्थ लगाउनु, त्यस अज्ञान अर्थअनुसार पालना गर्नु हुँदैन यो त झन् मुर्खता हो । अर्थै नलगाइ रद्दिको टोकरीमा फाल्नु भन्दा पनि सहि अर्थ नलगाइ गलत अर्थका पालना गर्नु ठुलो मुर्खता र जीवनका लागी ठुलो खतरा हो । किन कि सपनाका अर्थ नलगाउनेहरू जानी नजानी आफ्नै खुट्टामा उभिएका हुन्छन् र निर्णयहरू आफ्नै क्षमता अनुसारका लिन्छन् भने सपनाका नजानिकन अर्थ लगाउनेहरू आफ्नो खुट्टामा नउभिएर  सपनाको अज्ञात स्रोतहरूको इशारामा नाच्नेहरूमा पर्न आउछन्, निर्णयहरू लिँदा सपनाका आधारमा लिन खोज्छन् । ती सपनाका अज्ञात स्रोतहरू सहि भए कहिले कहिले सफल पनि भएका हुन्छन् कहिले कहिले ती अज्ञात स्रोतहरू गलत विचार र उद्देस्यका भएमा गलत इशारा गलत समाचार, खबरहरू आउने र र ती गलत इशाराको पालना गर्छु भन्दा विभिन्न कष्टहरु, समस्याहरु, पारिवारिक झगडाहरु, आर्थिक तथा सामाजिक समस्याहरूमा उल्झिएका हुन्छन् । त्यसैले कुनै समाचारको पालना गर्नु भन्दा पहिला त्यस समाचारको सहि स्रोत पत्ता लगाउनु अति आवश्यक हुन्छ । त्यसैले सामान्य रूपमा हेर्दा सपनाका अर्थ लगाउन खोज्ने, पालना गर्न खोज्नेहरूमा नै अस्वस्थ तेस्रो नेत्रको प्रकोप भएको थियो र तिनीहरु मानसिक रोगी जस्ता भएर धामीहरु, झाँक्रिहरु तथा मेडिकल डाक्टरहरु कहाँ पुगेर उपचार गर्दै गरेका थिए र प्राय: उनीहरू नबुझिकन सपनाका अर्थहरू लगाउनेहरू, सपना अनुसारका पालना गर्नेहरू थिए । धर्म संस्कार नमान्ने नास्तिकहरू पापी हुन होला र तिनीहरू मरेपछि पक्कै नर्कमा नै जान्छन् होला किन कि स्वर्ग के हो ? स्वर्गको बाटो के हो ? नजानेकाहरू अवस्य नर्कमा नै पर्लान् तर तिनीहरू मरेपछि मात्रै नर्कमा पर्नेहरू हुन् । उनीहरू जीवित हुँदा स्वस्थ जीवन नै व्यतित गरेका हुन्छन् । तर धर्म संस्कारका अपूर्ण ज्ञान भएकाहरू, धर्म संस्कारका अपूर्ण ज्ञान भएर कट्टर पालना गर्नेहरू प्राय: यस्तै सपनाका सहि अर्थ नबुझि पालना गर्नेहरू मध्येका हुन्छन् र उनीहरू विभिन्न मानसिक तथा शारीरिक कष्टहरू भोग्दै, मरे पछि पनि नर्ककै बास र जीउदै हुँदा पनि नर्कका अनुभव गरिरहेका हुन्छन् । किनकि त्यस अज्ञानताका सम्पर्कमा उनीहरू नर्कमा बस्नेहरूसँग नजिक हुन पुगेका हुन्छन् र तिनै नर्कमा बस्नेहरूको जस्तै अनुभवहरू गरिरहेका हुन्छन् ।

 

अरु कुनै तेस्रो व्यक्ति कहाँ आफ्नो सपना आउन सक्दछ:

मानिसहरुले अरुको बारेमा सपनाहरु देख्ने गरेका हुन्छन् कहिले कहीँ । यस्तो घटना आफ्ना नजिकका नाताका मान्छे कहाँ, आमा बुबा, दिदिबहिनी वा नजिकका प्रेमी साथीहरु कहाँ त्यस्ता सपनाहरु आउन सक्दछन् । यो किन भएको हो भनेर भन्दा मानिसहरुको अदृश्य सँसारसँग वा अन्य लिङ्ग शरीरसँग पटकपटक सम्पर्क भइरहेको रहेछ । ती अदृश्य सँसारबाट केही खबरहरु भनिदिन खोजेका हुँदा रहेछन् । तर त्यो सपना देख्ने ब्यक्तिमा विहान उठेर ती सपनाहरुलाई याद गर्ने क्षमता र कुनै पनि सही अर्थ लगाउने क्षमता छैन रहेछ भने उसलाई त्यस्ता सपनाहरु देखाएर कुनै अर्थ र फाईदा नहुने भयो । त्यसैले यदि उसका नजिकका नातावाला कहाँ वा नजिकका साथीहरुमा त्यस्ता सपनाहरुलाई याद गरेर भनिदिने क्षमता छन् भने तिन कहाँ ती सपनाहरु आउँदछन् ।

कहिले कहिले सपनामा अरूको बारेमा आउनुमा अर्को पनि कारण हुन्छन् । अदृस्य संसारबाट वा अन्य लिङ्गशरीरसँग सम्पर्क भएका वेलामा ती सम्पर्क गर्न आउनेले अरूका बारेमा पनि चर्चा गर्न सक्दछन्, सरसल्लाह, सुझाबहरू दिन सक्दछन् । खास गरेर पारिवारिक, व्यवहारिक  कुराहरू हुँदा रहेछ्न् सपनामा । ती सम्पर्कमा आउनेहरूले परिवारका सहस्यहरूका बारेमा सुझाबहरू दिन्छन् कसैलाइ सहयोग गरिदेउ भन्न आउछन्, अरूले नराम्रो सोचेको भए पनि भनिदिन्छन्, कसैलाई भेट्नु पर्ने भए भेट भन्न आउछन्, कोहि बिरामी परेका भए भनि दिन्छन्, कतै मृत्यु परेका भए भनिदिन्छन्  तर यी सबै कुराहरू कस्तो लिङ्ग शरीरसँग सम्पर्क भएको छ त्यस अनुसारका खबर, सत्यता, परिणाम र फलहरू हुन्छन् ।

कुनै कुराहरू लुकाउन नहुने सबैले थाहा पाउनु पर्ने कुराहरू छन् भने पनि ती कुराहरूका सपनाहरू समुहका अन्य सदस्यहरूमा आउन सक्दछन् ।

सपनामा पारिवारिक दुर्घटनाहरूका बारेमा देखेको अनि त्यस्तै खालका दुर्घटनाहरू भएका थुप्रै तथ्य र प्रमाणहरू छन् । सामाजिक रूपमा गाउँ, शहर, देश तथा अन्तराष्ट्रिय घटनाहरूका बारेमा सपनामा पहिले नै खबर पाएका थिए । आगलागीहरू, भुकम्पहरू तथा अन्य दुर्घटनाहरू जस्ता घटनाहरूका बारेमा पहिले नै खबर आएका तथ्य र प्रमाणहरू छन् । सायद मानिसमा त्यस्ता खालका समाचारहरूका मुल्याङ्कन गर्ने क्षमता आइसकेको छैन ।

जसरी आफु कहाँ अरू मानिसका बारेमा सपनामा आएको हुन्छ त्यसै गरि अरू मानिसकोमा पनि हाम्रो सपना आएको हुन सक्दछ । जसरी जस कहाँ आएको भए पनि सपनामा आपसिक सम्बन्धका बारेमा खबर समाचार आएको हुन्छ र सपना दिनेको स्तर अनुसारको खबरहरू हुन्छन् ।

अरु कुनै तेस्रो व्यक्ति कहाँ आफ्नो सपना आउँन सक्दछ भनेको के हो ? किन यस्तो भयो ?  कारण के हो ? भन्ने कुराका लागि यस्ता  उदाहरणहरू हेरौँ । यदि कोही मानिस अनपढ छ र उसका टाढा विदेशमा भएका आफन्तले चिठी पठाएको छ भने उ त्यस चिठीलाई पढ्न सक्ने नभए अरु कहाँ लगेर पढ्न लगाएर अर्थ बुझ्दछ । या आफ्नो घरमा टेलिफोनको व्यवस्था छैन भने नजिकको घरमा जस कहाँ टेलिफोन छ त्यसै कहाँ फोन  गरेर यो खबर भनिदिनुस न भनेर पठाएको जस्तै जस्तै हो । यो सबै काम गर्ने तरिका वा कसरी गर्दछन् त थाहा छैन तर यस्तै हुन्छ भनेर प्रमाणित गर्नसक्नेछु ।

           (सपना कतै मानिसको मानसिक विचार मात्र हो कि भन्ने चलन छ । केही वैज्ञानिकहरुले मानसिक सोचाइको कारण सपनामा चित्रहरु आएका हुन् भनेर भन्दछन् । मानिसले जे कुरा सोच्दछ त्यसैको बारेमा देख्दछ भन्ने तर्क छ । हो कहिले कहीँ त्यस्तै भएको जस्तो लाग्दछ । तर त्यसो होइन । सपना आफुले चाहेर वा चाहेका जस्तो विचारको सपना आउन सक्दैन । मेरो जीवनमा मलाइ भुलभुलैयामा पारेर अन्जानका बाटामा पुर्याएर विभिन्न अदृश्य चीजहरुको खोजि गराउन डोहोर्याउने मेरा सपनाहरु हुन् । मैले देखेका सपनाहरु सत्य हुन्थे, मैले देखेका सपनाहरु मेरा लागी भविश्यबाणी भएका हुन्थे, कहिले कहीँ सल्लाह भएर आएका हुन्थे  र म झन अन्योलमा हुँदै त्यस सपनाको अर्थ र कारण खोज्न पछि पछि लाग्दथेँ । यसो गर्दागर्दा मैले धेरैबाटाहरु विराएर अर्कै अप्ठ्यारा  बाटाहरु, काँडाका बाटाहरुमा हिड्नु पर्यो । हुँदा हुँदा म हरेक दिन सपना देख्ने र हरेक दिन त्यो सपना जीवनमा मिल्ने मान्छे हुन पुगेँ । आफुलाईनै विश्वास नहुँने स्थितीमा पुगेँ । तर ति कुनैपनि सपनाहरु मैले चाहेर आएका थिएनन् । न मैले नदेख्न चाहेर नदेख्न सक्दथेँ ।
मलाई देवी देवताहरु प्रती विश्वास थिएन । त्यसैले सुरुसुरुमा कुनैपनि देवीदेवताहरुलाई पुकार गर्ने, तिनीहरुसँग केही माग्ने मेरो चलन थिएन । तर सबै खालका धार्मीक समारोहरुमा मौका परेको खण्डमा भाग लिन्थेँ । मलाई नजिकबाट त्यहाँका स्थिती बुझ्न मन लाग्दथ्यो । म हिन्दु धर्मको सँस्कारमा हुर्केको भएर हिन्दु सस्कृतिका समारोहमा उपस्थित हुनु त स्वभाविकनै थियो तर मलाई रुसको मस्कोमा धेरै बर्ष बस्ने मौका मिलेको थियो र त्यहाँ बस्दा प्राय सबै कृश्चियन धर्म सम्बन्धित समारोहहरुमा मौका मिलेसम्म उपस्थित भएको छु । त्यहाँ मलाइ कसैले बोलाएर, फकाएर जाने गरेको होइन, म आफै मौका मिलेमा यसो छिर्ने गर्दथेँ । तिनीहरुले जे जे गर्दछन् त्यसै त्यसै गर्दथेँ । मलाई थाहा थियो कि मेरो यस्तो दुइमुखे व्यवहार न त कृश्चियन पादरीलाई मन पर्थ्यो होला न त हिन्दु पुजारीलाई । मेरो त्यस बखत एउटा मात्र धारणा थियो । या त यि दुबै थरी झुटा हुन् । यदि भगवान् छदैछैनन् भने यहाँ यिन कहाँ पनि छैनन् । यदि छन् भने यि दुबै एकै हुनु पर्दछ । कहाँ नेर कुरा फरक परेको जस्तो छ भनेर सोच्दथेँ र अगाडि बढ्दथेँ ।
मेरा सपनाहरुले मलाई बाटो छेके जस्तो गरेको थियो । त्यसै सपनाको अर्थको खोजिमा लागेकोछु जस्तो लाग्दथ्यो । मलाइ कता कता मेरा विचार, सोचाइकै कारण त्यस्ता सपनाहरु आउने गरेका हुन् कि भन्ने पनि लाग्दथ्यो । तर त्यसो पनि हुने गरेको थिएन । मैले मेरो जीवनमा आफ्ना केही घटनाहरू थिए जसलाई बिर्सन मन थिएन अगाडि बढ्दा पनि तिनै यादहरू सँगै अगाडि बढेको थिएँ । सपना सँचारको माध्यम हो रहेछ भन्ने पनि थाहा भयो तर समाचार पाउन त कसैले समाचार पठाउनु पर्यो  अनि मात्र समाचार पाइने रहेछ । समाचार पठाउनेले समाचार पठाउन आ वश्यक नठाने समाचार नआउदो रहेछ । मैले हजार कोसिस गर्दापनि कुनैपनि दिन ति मैले चाहेका यादहरू मेरा सपनाहरुमा आएनन् ।  )

तन्द्रा: आँखा बन्द गर्दा आउने चित्र

कहिले कहीँ खास गरेर अस्वस्थ अवस्थामा आँखा चिम्ममात्र गरेर बस्दा, ननिदाएको बेलामा वा अलि अलि  निद लागे जस्तो भएको बेलामा पनि चित्रहरु, शब्दहरू, कुराकानीहरू आएका हुन्छन्  र त्यससँग भावहरु आइरहेको हुन्छन । यस्तो अवस्थालाई तन्द्रा भनिन्छ । यो पनि सपना नै हो र यो झन नजिकबाट भएको सम्पर्क, खबर हो । यो खबर वा इशाराहरू नबुझ्दा अस्वस्थ अवस्था पुगिन्छ । यो तन्द्राका कुराहरू, यो तन्द्राका चित्रहरु तेस्रो नेत्रका विकसित अवस्थाको लक्षणहरु हुन् ।

सपनाका अर्थ 
आँखा बन्द गर्दा कुनै चित्र आयो भने त्यो चित्र र त्यस चित्र सँगसँगै आएको भाव वा सपना र सपनामा सँगै आएको भाव आफै नै तेस्रो नेत्र नभएर त्यस चित्र र भावबाट निकालिएको अर्थ भाव तेस्रो नेत्र हो । सपनामा कुनै फलफुल खाएको देख्नुको मतलब त्यो फलफुल नै खाएको, खान पाइने भन्न खाजेको हुँदैन । यस्को मतलव कुनै कामको सफलताको फल अब खान पाइन्छ या खाइरहेको छ भन्ने हुन्छ । कुनै किताब देखियो भने त्यस किताब सँग आएको भावले पुरानो किताव, नयाँ किताब, स्कुलको किताब, शास्त्रको किताब, जतन गरेको किताब, फ्याकेको किताब भनेर भाव आएको हुन्छ । त्यस्को मतलव किताब पढ, शास्त्र पढ, किताब जतन गर या किताबबाट प्राप्त गरेको ज्ञान जतन गर भन्ने जस्ता भावहरु पर्न आउँछन् । हरेक व्यक्तिको लागि आफ्नो आफ्नो अवस्था, कार्य र सम्बन्ध अनुसार फरक अर्थ हुन सक्दछ । त्यसैले मानिसले त्यस तेस्रो नेत्रको भाव बुझ्न आँखा बन्द गरेर सबै समाचार र सम्पर्कहरुलाई केलाएर तर्क गर्न थाल्नुपर्दछ । बिस्तारै बिस्तारै तर्क र विश्लेषण गर्न नियम, ज्ञान र बिधिहरु थाहा हुँदै तेस्रो नेत्रको भाव खुल्न थाल्दछ । आफुलाई पुरा ज्ञान नहुदासम्म अरु जानेको सँग गएर सोधेर अर्थ लगाउन सकिन्छ । महत्त्व पुर्ण कुरा यो छ कि यदि कुनै नया व्यक्तिले भर्खरै भर्खरै सपनाको कुरालाई विश्लेषण गर्न थालेको छ भने ती सपनाहरु त्यस्तै साधारण खालका अर्थ लगाउन सजिलो हुने वा उसले जानेको क्षमता र तर्क भित्र अर्थ खुल्ने गरेर सानो सानो सपनाहरु आउँछन् । यो अर्थ लगाउन थाले पछिको कुरा हो । अर्थ लगाउन नजान्दा वा अर्थ लगाउन नगरेको बेलामा जस्ता खाले पनि सपना पनि आउने गर्दछन् । जब बढि बढि बुझ्दै आए पछि ती सपनाहरु त्यति त्यति बढि अर्थ र भाव बोकेका हुन्छन् । यदि सपना देख्ने व्यक्तिले अरु कोही सिपालु व्यक्ति कहाँ गएर सपनाको अर्थ लगाउन थाल्यो भने ती नयाँ सपनाहरु त्यस सपनाको अर्थ लगाइ दिने व्यक्तिको चेतना र अर्थ लगाउने खुबिको स्तरमा आउन थाल्दछ । पछि पछि त्यस सिपालु व्यक्तिलाई पनि कठिन हुने खालका सपनाहरु आउँदछन् । कुनै सपना क्रोधले भरिएको हुन्छ कुनै ममताले, कुनै व्यङ्गले, कुनै शिक्षा, अर्ति, उपदेशले भरिएको हुन्छन् । कुनै उपायहरु सिकाउने, कुनै अर्थबुझ्न नसकेको अर्थ बुझाइ दिने, सिकाउने खालका हुन्छन् । कुनै आफुले देख्न र बुझ्न नसकेका पारिवारिक समस्याहरुका उपायहरु बताइ दिन्छन् । सपनामा आएको सल्लाह भन्दैमा तुरुन्त लागु गर्न मिलेन तर केही बेर आँखा चिम्म गरेर सोच्दा त्यो भन्दा अर्को सही सल्लाह र उपाय हुन नै सक्दैन जस्तो गरेर सही उत्तर आएको हुन्छ । मानौँ कि कुनै विद्वान गुरु सँग सोध्ने र सिक्ने गरिरहेका छौँ वा सिकिरहेका छौँ । कुनै प्रमुख गुरु नै छेउमा बसेर हाम्रा सबैकुरा सुनेर जानेर हाम्रा लागि अर्को नयाँ नयाँ कठिन प्रश्नहरु तयार गर्दै सोधिरहनु भएको छ जस्तो लाग्दछ । सानो कक्षामा पढ्ने लाई सानो प्रश्न, ठुलो कक्षामा पढ्नेलाई ठुलो प्रश्न जस्तो गरेर आउँछ । ठुला ठुला कवि, साहित्यकार, सेनारिष्टहरुले व्यक्त गरे जस्तो गरेर हरेक सानो सानो चित्र र भावको अर्थ लाग्ने वा अर्थ लगाउनु पर्ने नत्र सही अर्थ नलाग्ने हुन्छ ।

सपनाको अर्थ लगाउन सक्ने भए पछि, अन्य अस्वस्थ तेस्रो नेत्रको अवस्था काटे पछि, ती सपना र तिनको अर्थ लगाउने क्रममा अति आनन्दको अनुभव हुन्छ । कुनै ठुला अदृश्य गुरु सँग त्यस सपना र त्यस्को अर्थ लगाउदै सम्पर्क स्थापना भएको अनुभुति र आनन्दको अनुभव हुन्छ ।
लिँग शरीरको ज्ञानको अनुसार सपना एक अन्य लिँग शरीरका सँगको सम्बन्धको अवस्था हो । सपना कसरी बन्छ, कसले बनाउछ, मलाइ थाहा छैन । तर त्यस सपना भित्र छोटो १ देखि १० सेकेन्डको सपनामा थुप्रैकुराहरु, घटनाहरु समावेश भएका हुन्छन् । सपनामा देखिएका हरएक सानासाना चित्र र चित्रका विवरणहरुको अर्थ हुन्छ ।

अझ एउटा कुरा भन्न डर लागि रहेछ । नपत्याउलान भन्ने डर छ । तै पनि सही कुरा भन्नै पर्यो । कतिपय सपनाहरुले भविष्यका कुरा भनिरहेका हुन्छन् । सपनाका अनुसारका घटना घटिरहेको हुन्छ । सपना अनुसारको परिणाम भविष्यमा भइरहेको हुन्छ । लेखकको बिसौँ, तिसौँ बर्षका अनुभवहरु सँकलित छन् । जति जति अर्थ लगाउदै गयो त्यति त्यति स्पष्ट भएर आउँछ । सपनाको अर्थ लगाउने एउटा ठुलो काम लाग्ने ज्ञानको कुरा हो रहेछ । आजसम्मको अनुभवले सबै सपनाहरु ९९ —१००% मिल्ने गरेर अर्थ विश्लेषण गर्ने गरेको छु । अन्य इच्छुक व्यक्तिलाई पनि आवश्यक परे सपनाको अर्थ लगाउन सहयोग पुर्याउन तयार छु । यसरी नै आफुले सकेको सहयोग पुर्याएर यस सपनाको विषयलाई लुकेको अवस्थाबाट बाहिर खुलामञ्चमा ल्याउने कोसिस गर्नेछु ।

सपनालाई तिन भागमा विभाजन गर्न सकिन्छ ।

१. निष्कृय सपना—यस निष्कृय अवस्थामा सपनाहरुको अर्थ लगाउने गरिएको हुँदैन । त्यसैले त्यस्ता अर्थ लगाउने नगरिएका सपनाहरु जीवनसँग नमिल्न सक्दछन् । सपनाहरु कहिले कहिले मात्रै देखिन्छन । यस्ता सपनाहरु विना मतलव वा फाल्तु जस्तो लाग्दछ र रद्दिको टोकरीमा फ्याक्ने गरेका हुन्छौँ ।
तर देखिएका सपनालाई यसरी रद्दिको टोकरीमा फ्याक्नु परेको कारण सपनाको अर्थ वा भाषा नबुझेर हो । जस्तो कि हामीसँग कुनै विदेशी नबुझिने भाषाको कुनै पत्रिका वा किताब थियो र हामीलाई महत्त्व नभएको भएर रद्दिको टोकरीमा फ्याकेका थियौँ । अचानक त्यहाँ त्यस भाषा जान्ने कोही मान्छे आयो र त्यस रद्दिको टोकरीको पत्रिका वा किताब उठाएर पढ्न थाल्न सक्दछ । उसले त्यस पत्रिकाको वा किताबको भाव बुझेर हास्ने, रुने गर्न सक्दछ । त्यसै गरि त्यो व्यक्ति सधैँ आइ त्यस्ता रद्दिको टोकरीका पत्रिका वा पुस्तक पढ्ने, भाव बुझने गरेको खण्डमा त्यस पत्रिका वा पुस्तकका दाताले अन्य पत्रिका पुस्तकहरु उपलब्ध गराइदिन सक्दछन् । त्यो पत्रिका रद्दिको टोकरीमा फ्याक्नु परेको त्यस्को भाषा नबुझेर हो । भाषा बुझ्नेलाई त्यो त्यतिकै महत्त्वपुर्ण हुनसक्दछ । त्यसैगरि कसैलाई चिठीपत्रहरु पठाउने गर्दा उसबाट जवाफहरु आउने गरेको भए फेरि चिठीपत्रहरु पठाउन मन लाग्छ । चिठीपत्रका जवाफहरू नआउने भए किन पठाउने तिनीहरुलाई चिठी यदि नपढिकन रद्दिको टोकरीमा फ्याक्छन् भने  ?

मेरो जीवनका धेरै बर्षहरु यिनै रद्दिका टोकरीका नबुझिने फाल्तु पत्रिका र किताब जस्ता सपनाहरुलाई केलाएर त्यस्मा कुनै अर्थ छ कि भनेर खोज्न र बुझ्न खोज्दैमा बितेकोछ र अन्त्यमा स्पष्ट हुन आयो कि ती सपनाहरु फाल्तु पत्रिका वा किताब होइनन् रहेछ । सपना साँचो समाचारको माध्यम हो रहेछ । सँचार र सम्बन्धको यन्त्र हो रहेछ । सबै मानिसमा सबभन्दा उपयुक्त र उपलब्ध रुपमा रहेको रहेछ । ती फाल्तु पत्रिका वा किताब जस्ता सपनाहरुलाई सँगालेर बुझ्न सकेको खण्डमा सबैको आफ्नो आफ्नो जीवनको शास्त्र र आफ्नो कथा तथा मार्ग दर्शक हुन सक्दछन् ।

विकसित देशहरुमा धेरै जसो वा आज काल सबै अन्य विकसित शहरहरूमा विज्ञापनहरु बढी समावेश भएका विभिन्न पत्रिकाहरु, विज्ञापनका पानाहरु, विज्ञापनका उद्देश्यले बनाइएका विभिन्न चिठीहरु ल्याएर घरघरमा सित्तैमा छोड्ने चलनहरु छन् । ती विज्ञापनका पत्रिका, चिठीहरु कसैले पढ्छन् होला, आवश्यक परेकाले सदुपयोग गर्छन् होला, त्यस पत्रिका, चिठीहरु पठाउनेहरूलाई केहि न केहि फाइदा भएको होला र त यस्ता यस्ता सित्तैका पत्रिकाहरू घरघरमा ल्याएर  छोड्ने  चलन चलेको । तर धेरै जसोले ति पत्रिकहरु, विज्ञापनका पानाहरु र चिठीहरु कित पढ्दै नपढिकन रद्दिको टोकरीमा फ्याक्ने गर्दछन् कित अन्य कामका लागी जस्तै कुनै सामान पोको पार्नलाई प्रयोग गर्ने गर्दछन् । यो सपना पनि त्यस्तै हामी भन्दा विकसित ठाउँबाट वा अदृश्य सन्सारबाट त्यस्तै विज्ञापनहरु समेटिएका समाचारका पत्रिका, विभिन्न विज्ञापनका पानाहरु, चिठीहरु, ल्याएर हाम्रा घरघरमा, टाउको टाउकोमा फालेर जाने गरेका रहेछन् । कतिपय भाषा बुझ्न सक्ने मानिसले सदुपयोग गरे होलान् भने धेरै जसोले सिधै रद्दिको टोकरीमा फ्याक्ने गरेको अथवा त्यस्तै हाँसि मजाकका लागि सपनाका कुराहरु गर्ने गरेको चलन छ । त्यो सबै सपनाको भाषा नबुझेर भएर भएको हो । उदाहरणका लागि जस्तै  आजको आधुनिक कम्प्युटरको युगमा हाम्रो इमेल ठेगानालाई जतन नगर्दा कतिपय अनावश्यक पत्रहरु, जँक इमेलहरु आउने गरेको देखेका छौँ । कम्प्युटरका ज्ञान भएकाहरुले ती जँक, अनावश्यक पत्रहरु आउन रोक्ने उपायहरु जानेका हुन्छन् केही हद सम्म र ती जँक, अनावश्यक पत्रहरु आउन रोक्दछन् । तर कम्प्युटरको राम्रो ज्ञान नभएकाहरुको ती इमेल ठेगानामा तिनै जँक इमेल नै आएर थुप्रीएको र तिनै जँक इमेलले कहिले कहीँ कम्प्युटर नै बन्द गराउने गरेको अनुभवहरु प्राय सबैले भोग्नु परेको हुन्छ । त्यसैगरि सुरक्षाको कुनै नीति नअपनाइएको सपनाको ठेगानामा पनि त्यस्तै अनावश्यक जँक इमेल जस्ता जँक सपनाहरु आए होलान् । ती अनावश्यक जँक सपनाले जीवनमा गलत प्रभाव पार्न पनि भ्यायो होला ।
तर अब सपनाको अर्थ बुझ्न थालेपछि त्यस सपनालाई मानिसहरुले अव नबुझ्ने पत्रिका वा किताव नठानेर हरेक दिन वा केही दिन बिराएर घरघरमा ल्याइदीने समाचारका माध्यम बनाउन सकुन् । सपनालाई रद्दिको टोकरीको रद्दि कागज जस्तो नबनाएर इच्छुक मानिसहरुले त्यस सपनाको पत्रिकाको कमसे कम मुख्य लाइन सम्म भने पनि पढ्न सक्ने बनुन भन्ने लेखकको शुभकामना छ ।

२.अस्वस्थ सपना —यस अवस्थामा सपनामा तर्सने, झस्कने, सपनामा नै नराम्रा घटनाहरुका चित्रहरु देखिने हुन्छ । सपना पटक पटक देखिन्छन् । कहिले कँही एउटै सपना, एकै खालको भाव र अर्थ आउने सपना पटक पटक बर्षौँ, दसौँ, बिसौँ बर्षसम्ममा पटक पटक दोहोरिरहेको हुन्छन् । त्यो दोहोरिनु परेको कारण सपनाको अर्थ नबुझेर हो । सपनाको सही अर्थ लगाएर आफ्नो जीवन सँगको सम्बन्धलाई बुझेपछि ती सपनाहरु बन्द हुन्छन् । पछि पछि त्यस पछिका घटनाहरु सँग सम्बन्धित भएका सपनाहरु आउन थाल्दछ ।

अस्वस्थ सपना २ भागमा विभाजित हुन्छ ।

क. अस्वस्थ सपनाको सुरुको तयार गर्ने अवस्था, Preparatory Conditions

यस अवस्थामा पटक पटक सपना देखि राख्ने, अर्थ नलगाउने, अर्थ लगाउन नसक्ने, नखोज्ने हुन्छ । सपनामा तर्सने, डराउने, चिच्चाउने हुन्छ । सपनाबाट उठ्दा पसिना पसिना भइ रहेकोहुन्छ ।

ख. अस्वस्थ सपनाका पछिको तयारी अवस्था, Prepared Conditions

यस अबस्थामा पटक पटक सपना देख्ने, अर्थ नलाग्ने, अर्थ लगाउन खोज्ने, अर्थ लगाउन नसक्ने, , सपनामा नै झस्कने, सपनामा नै चिच्चाउने साथै जति खेर पनि सपना देख्ने, बसेको बेलामा पनि सपना देख्ने, हिँडेको बेलामा सपना देख्ने, काम गर्दा गर्दै सपना देख्ने हुन्छ । सपनाका साथ साथै डर, त्रासहरु आउँछन् । निन्द्रा खुलेर होस खुलि सक्दा पनि आँखा नखुलेर सपना देखिरहेको हुन्छ । सपनामा डराउन दिने चिजहरु, मरेको मान्छे, मान्छेको खप्पर, हाड अन्य अस्तिपञ्जरहरु, पहाड, भिरहरु देखिन्छन् । यस अवस्थामा मानिसमा अन्य शारीरिक कमजोरी बिरामी भइसकेको हुन्छ र एक्लै छोड्न नमिल्ने हुन्छ । सपनामा बोल्ने, कराउने, रुने, प्रहार गर्ने, निन्द्रामा उठेर हिड्ने, निन्द्रामा बाहिर निस्केर हिड्ने आदि गर्न सक्दछ ।

३.स्वस्थ सपना—यो सपनाको अर्थ र भाव बुझ्न सक्ने अवस्था हो । अध्ययन, ज्ञान र अभ्यास पछि सपनाको अर्थ लगाउन सक्ने भइन्छ । यस अवस्थामा विरामीको अन्य ग्रन्थिहरुको अस्वस्थ स्पर्शहरु कम भइसकेका हुन्छन् । सपनाको अर्थ बुझेर त्यस अनुसारको व्यवहार, चालचलनगर्न थाले पछि सपनाहरु अझ स्पष्ट हुँदै एक आपसमा जोडिएका सपनाहरु आउन थाल्दछन् । सपनाहरु chronological हुँदै आउँछन् । लामो सिरीएलका टेलिभिजन फिल्मको सेरिएलहरु जस्तो गरेर एक आपसमा जोडिदै, घटनाहरु थपिदै दोस्रो तेस्रो भाग जस्तो भएर आउँछन् ।

स्वस्थ सपना २ भागमा विभाजित हुन्छ ।

क. स्वस्थ सपनाको सुरुको तयार गर्ने अवस्था  Preparatory Conditions

यस अवस्थामा अस्वस्थ अवस्थाका लक्षणहरु बन्द भएका हुन्छन् । सपनाको अर्थ लगाउन सक्ने हुन्छ । सपना द्वारा अदृश्य चीजहरू वा अन्य लिङ्ग शरीरहरुसँग केही सम्बन्ध स्थापना भएको, तिनीहरुसँग समाचार लेनदेन गर्नसकेको अनुभव हुन्छ । सपना देख्न अलि कम भएको हुन्छ । देखिएका सपनाहरु शान्ति पुर्ण हुँदैआएको भएर दैनिक जीवनमा कुनै बाधा नपरेको, कठिनाइ पुर्याएको हुँदैन । सर्ब साधारणलाई यसै अवस्थामा रहनु उचित हुन्छ । कहिले कहिले मात्र सपना देख्ने, सपनाको अर्थ लगाउन सक्ने, सपनामा नतर्सने, नझस्कने, आफ्नो दैनिक काममा व्यस्त रहने अवस्था नै उत्तम हुन्छ ।

यो अवस्थाले तेस्रो नेत्रको अस्वस्थ अवस्थाबाट निस्केको अनुभव गराउछ । तर यो अस्वस्थ अवस्था के हो ?  किन आयो र यो तेस्रो नेत्रको उपयोग सदुपयोगका कुराहरू बुझ्न भ्याएको हुँदैन । अस्वस्थ अवस्थामा किन आएको थियो भनेर पूर्ण रूपमा नबुझेको भएर उ फेरि फेरि पनि त्यहि अस्वस्थ अवस्थामा फर्कने सम्भावनाहरू हुन्छन् ।

ख. स्वस्थ सपनाको पछिको तयारी, Prepared Conditions

यस अवस्थामा सपना प्राय: देख्ने, सपनाको अर्थ लगाउने, अर्थ लाग्ने, अरु व्यक्तिलाई पनि अरुको सपनाको अर्थ लगाउन सहयोग पुर्याउन सक्ने हुन्छ । सपनाहरु सामुहिक हुन सक्दछन् र परिवारको एक सदस्यले देखेको सपना सबै परिवारको लागि अर्थ र समाचार हुन सक्दछ । सपना मार्फत अन्य लिँग शरीरहरु सँग दोहोरो सम्पर्क भएको हुन्छ । आफ्ना प्रश्नहरुको उत्तरहरु प्राप्त गर्न सक्ने भएको हुन्छ । सपनाका अर्थ लगाउन जान्ने, सपना मार्फत अदृस्य लिङ्ग संसारसँग दोहोरो सम्पर्क स्थापना गरेर कुराकानी गर्न सक्ने, आफ्नो मात्र नभएर अरू सपनाहरू पनि आएर अर्थ लगाए भनिदिन सक्ने, अरूले देखेका सपनाहरूका अर्थहरू लगाइदिन सक्ने भएका हुन्छन् । यस्ता कार्यहरू गर्न सक्ने हुनलाई सृष्टि, जीवन, मृत्यु, तेस्रो नेत्रका ज्ञान भएर अदृस्य लिङ्ग शरीरहरू मध्येका दु:ख कष्ट पुर्याउने लिङ्ग शरीरहरूका सम्पर्कबाट प्राप्त कष्टहरूबाट निस्कन सक्ने, तर्कन सक्ने विधिहरू र क्षमताहरू जानि सकेको हुनुपर्दछ । यो कठिन अभ्यास हो । ब्रह्मज्ञानलाई गहिराइमा बुझेर ब्रह्मको र सदाशिवको अनुभव गरेकाहरूमा यस्ता क्षमता आएको हुनसक्दछ । सर्वसाधारणले यस्तो गर्न सँधै कोसिस गर्नु हुँदैन । सर्वसाधारणले पनि कहिले कँही यस्तो दोहोरो सम्पर्कका अनुभवहरु गर्न पाउनु सफलता नै हो । तर अध्ययन, अभ्यास, मनन गर्न सकेमा हरेकमानिसले यस्तो दोहोरो सम्पर्कको क्षमता पाउन सम्भवको कुरा हो । तर सँधै त्यस्तो अभ्यास गर्छु भन्दा भौतिक सँसारको कृयाकलापबाट अलिक टाढा पुगिएको हुन्छ बढि, समय अदृश्य सँसारको सम्पर्क, तर्क, अर्थमा समय बित्दछ । आफ्ना व्यवहारिक कामहरुमा बाधा आउँन सक्दछ । तर पनि यस्ता क्षमता भएकाहरूले यो क्षमता नघटोस, यो क्षमता सँधै साधनका रूपमा रहिरहोस भन्नका लागि यस्ता प्रयासहरू गरिरहनु पर्दछ र अवसरहरू छोड्नु हुँदैन । यो क्षमताको वास्तविक महत्व हो यस क्षमता मार्फत ब्रह्मज्ञानी देविदेवताहरूसँग नजिक हुने अवसर मिल्दछ ।
सपना हाम्रो इच्छाले आउने होइन । सपनाले राम्रो वा नराम्रो फल दिने होइन । यस्ले हाम्रो स्थितिलाई बताइ दिने हो ।
धर्मशास्त्रहरुमा सपनाका उदाहरणहरु उल्लेख छन् । पुराणकथाहरुमा विभिन्न सँग्रामहरुमा राती देखिएका सपनाका आधारमा भोलिपल्टको सँग्राम जित्ने या हार्ने, कोही मर्ने, कसैले मार्ने भएको भनिएको छ । त्यो सपनाको कारण जीत हार नभएर, कसैले खबर अगाडि ल्याएको हो । यस्तो कसरी हुन्छ कसकसले समाचार ल्याएका थिए भनेर सबैकुरा त थाहा छैन । तर केही उदाहरणहरू दिन चाहन्छु । बस स्टेसनमा काम गर्ने, टिकट बेच्नेहरुलाई अरुलाई भन्दा कुन बस कहिले छुट्छ, कता र कहिले पुग्छ भन्ने थाहा हुन्छ । हामी चढेको बस कता, कहिले पुग्छ भनेर हामी आफैलाई थाहा नभए पनि कोही माथि बसेकाहरुलाई थाहा भए आएर भनिदिएका हुन् कि ?

 

चित्र नँ ४०

सपनाको स्रोत अदृस्य संसारसँगको सम्पर्क हो रहेछ । त्यस अदृस्य संसारमा अज्ञानीहरू पनि हुन्छन् ती अज्ञानीहरूको सम्पर्कमा पुगेको वेलामा तिनै अज्ञानीहरूले आफ्नै क्षमता अनुसारका समाचारहरू पठाएका हुन्छन् भने ती अदृस्य संसारमा ज्ञान भएकाहरू पनि हुन्छन् र ती ज्ञानीहरूका सम्पर्कमा पुगेका वेलामा ती ज्ञानीहरूले आफ्ना क्षमता अनुसारका समाचारहरू पठाएका हुन्छन् । त्यसैले यदि मानिसले ज्ञानीहरूको सम्पर्कमा पुगेको र समाचारहरू ती ज्ञानीहरूले नै दिएको हो भन्ने अठोटमा पुग्न सक्ने भएको छ भने तिनै ज्ञानीहरूसँगका समाचार अनुसार पालना गर्नु उचित हुन्छ तर धेरै जाँचहरू गरेर मात्र । त्यसैले आफुमा आएका समाचारहरु सहि छन् कि छैनन् भनेर जाच्न यस्ता सपनाका अर्थ लगाउन सक्नेहरू सँग सोधेको हुनु पर्दछ । सपनाका बारेमा अध्ययन अनुभवहरू गरेका र सपनाका बारेमा यस किताब पढेकाहरूमा सपनालाई  दोहोरो सम्पर्कका साधन बनाउन क्षमता बनाउन सफल भएका हुन्छन् र आफुले प्रश्नहरू सोधेर सुतेर सपनामा त्यस प्रश्नका जवाफहरू पाउने गरेका हुन्छन् । उनीहरू सपना मार्फत नै देवीदेवताहरू, अन्य लिङ्ग शरीरहरूसँग दोहोरो कुराकानी गर्ने माध्यम र साधन बनाएका हुन्छन् । यति कुरा गर्न सक्ने बन्न लामो समयको अध्ययन, मनन र जानेको मान्छेको सहयोगको आवश्यकता पर्दछ । यदि कुनै व्यक्तिमा यो क्षमता आइसकेको छ भने उ जीवनमा धरै परिपक्क र सुरक्षित अनुभव गरिरहेको हुन्छ किन कि उस्ले आफु भन्दा धेरै सिपालु, सक्षम साथी पाएको अनुभव गरेको हुन्छ र परिणाममा उ चारै तिरबाट सफलताका अनुभवहरू गर्दै आएको हुन्छ । अदृस्य लिङ्ग शरीरका संसारमा अज्ञानी देवीदेवताहरू, ज्ञानी देवी देवताहरू तथा ब्रह्मका ज्ञान भएका देवी देवताहरू छन् । तिनीहरू मध्ये ब्रह्मका ज्ञान भएका देवी देवताहरूका सम्पर्कमा पुगेर ती ब्रह्मज्ञानी देवीदेवताहरू मार्फत समाचार, सोधपुछ गर्न सक्षमहरू सबै भन्दा उत्तम, सुखि, सुरक्षित र सम्रक्षित हुन्छन् ।

यदि मानिस स्वस्थ सपनाको अवस्थामा पुगेको छ भने त्यो ठुलो उपलब्धि हो र मानिसको एउटा ठुलो साधन हो । अस्वस्थ तेस्रो नेत्रको कठिनाइ भोगेर अस्वस्थ सपनाका अवस्थाहरू भोगेर पनि सन्जोगले सपना सम्बन्धित ज्ञानहरू लिन पाईयो भने त्यो सबै भोगिएका कठिनाइहरू अब अनुभवहरू हुन जान्छन् र ती अनुभवहरू जीवनमा एक मार्ग निर्देशन र हतियार जस्तो बन्न थाल्दछन् । अस्वस्थ सपनालाई स्वस्थमा अवस्थामा लाने विधि भनेको सपना सम्बन्धित सहि ज्ञान पाउनु हो । सपना सम्बन्धित सहि ज्ञान आजका दिन सम्म यस किताबमा लेखिएका जति ज्ञान अन्त कतै थिएन र छैनन् पनि किन भने यस किताबका लेखकहरूले आफ्नो अध्ययन, अभ्यास र अनुभवहरूबाट लेखिएका पङ्तिहरू हुन् अन्त कुनै अरू लेखकहरूका किताबहरूबाट सारिएको सङ्ग्रह होइन ।

त्यसैले स्वस्थ सपना एक साधन हो, सम्पत्ति हो, मार्ग निर्देशक हो । अदृस्य संसारसँगको सम्पर्क एक भयानक कष्टको अनुभवका क्षणहरू थिए भने ती अवस्था सुरक्षा तरिकाहरु, विधिहरु, साधनहरू नजानेका अवस्थाले आएको हो रहेछ । अब यस ब्रह्मज्ञानको किताबले भन्न खोजेका कुराहरू बुझ्न सफल भईयो भने ब्रह्मज्ञानी देवीदेवताहरूका बारेमा पनि बुझ्न सक्षम भइन्छ । ती ब्रह्मज्ञानी देवताहरूसँग दोहोरो कुराकानी गर्न सकिने सजिलो माध्यम सपना मार्फत हो । तेस्रो नेत्र स्पष्ट खुलेकाहरूले त ब्रह्मज्ञानी देविदेवताहरूलाई हात जोडेर देखेर कुराकानी गर्ने क्षमता हुन्छन् र त्यसरि नै सम्पर्क गर्छन् । ती स्पष्ठ तेस्रो नेत्र खुलेकाहरूले सँधै हात जोडेर कुराकानी गर्ने मेसो नमिलेको सन्दर्भ नमिलेकोमा सुत्ने वेलामा सपनामा देखाइदिनुस भनेर सुत्छन् र तिनीहरूले सोधेका प्रश्नहरूका जवाफहरू सपना मार्फत पाउँछन् । ती स्वस्थ तेस्रो नेत्र खुलेकाहरूले धेरै कुराहरू बुझ्रन भ्याएका हुन्छन् र आफुलाई कुनै कष्ट समस्याहरू आई पर्दा समस्याका समाधानका उपायहरू सपनामा भनिदिनुस भनेर सोध्छन् र जवाफहरु पाएका हुन्छन् । तिनीहरूले कुनै कष्ट र समस्याहरूका कारण जान्न चाहना भएमा त्यस कष्टको कारण र अझ स्पष्ठ चाहिएमा कष्ठ दिनेको नाम, ठेगाना दिनुस भनेर सोध्छन् र त्यस्को जवाफहरु पाएका हुन्छन् ।

अरूको तेस्रो नेत्र खुलेको देखेर, अरू साथीहरू ब्रह्मज्ञानी बनेका, ब्रह्मज्ञानका विभिन्न अनुभवहरू, शिक्षाहरू पाएको देखेर , ब्रह्मज्ञानी देवीदेवताहरू सँग सपना मार्फत कुराकानीहरू सम्पर्कहरू गरेको देखेर तेस्रो नेत्र नखुलेकाहरू नयाँहरुलाई पनि ती क्षमता हासिल गर्न सपना मार्फत शिक्षा पाएका हुन्छन् र ति तेस्रो नेत्र नखुलेकाहरू ब्रह्मज्ञानका नयाँ विध्धार्थीहरुका लागि सपना नै सजिलो, सबैसँग उपलब्ध भइरहेको साधन हो र यसै सपना मार्फत ब्रह्मज्ञानी देवीदेवताहरूले उनीहरूलाई आफु तिर डोर्याइरहेका हुन्छन् र अन्य चाहिने शिक्षाहरू दिइरहेका हुन्छन् । ब्रह्मज्ञानका नयाँ विध्धार्थीहरुका पुरानाहरू अनुभवीहरू सँग सोध्दै सपना तथा अन्य तेस्रो नेत्र सम्बन्धित अनुभवहरू सिक्दै गरेका हुन्छन् ।

सपना समाचार ल्याउने सँचारको माध्यम हो । यस्मा कुनै दुइमत छैन । यदि कसैलाई यस कुरामा विश्वास भइ सकेको छैन भने चाहे उ सर्वसाधारण व्यक्ति होस चाहे ठुलो डाक्टर साइक्रियाटिक्स होस वा अन्तराष्ट्रिय स्तरका वैज्ञानिक होस उनीहरुले यस विषय तिर फर्केर हेरेका छैनन् या यस विषयको अध्ययनको कमी छ या त यस विषयको अध्ययनमा र अभ्यासमा चाहिने गहिराइ र त्यस गहिराइबाट निचोड निकाल्ने क्षमताको कमजोरी छ । बिहान घरघरमा आएको पत्रिका पढ्न नजान्नेहरु, पढेर पनि नबुझ्ने अनपढहरु थुप्रै हुन्छन् । यस्मा कसैले आश्चर्य मान्नु जरुरी छैन । तर यस्ता कुराहरु बुझ्नेहरुको विरोध गर्नु पनि जरुरी छैन । कुनै विज्ञानका प्रोफेसर देखि चिकित्साशास्त्रका डाक्टरहरू अझ त्यसमा पनि साइक्रियाटिक्स र साइकोलोजी विभागका डाक्टरहरूले सपनाको अर्थ हुन्छन् भनेर यस किताबका साधारण डाक्टरहरूले भनेको लेखेको देखेर नपत्याउलान् । यदि साच्चैकै तिनिहरूलाई सपना एक खबर हो भनेर थाहा रहेनछ भने तिनिहरू पनि घरमा ल्याईदिएको पत्रपत्रिका पढ्न नजानेका अनपढहरू जत्तिकै हुन् ।

सपना र जीवनको दुरी कस्तो हुनु पर्दछ भनेर मेरो आफ्ना विचार राख्न चाहन्छु ।
१. सपनाको अर्थ १०० प्रतिसत सही हुन्छ । त्यही १०० प्रतिसत सही हुने गरेर अर्थ लगाउने खुबि हुनु पर्दछ । चाहे अरु जानेकोहरुसँग सोधेर भए पनि गर्नु पर्दछ ।
२. सपनाको अर्थ अनुसार आफ्नो स्थितिको ज्ञान, अदृश्य सन्सार सँगको ज्ञान, पितृहरुको स्थितिको ज्ञान थाहा पाइ त्यस अनुसारको जीवनमा परिवर्तन, सुधारहरु गरेर लैजानु पर्दछ ।
३. सपना एक सन्चार माध्म मात्र हो । सपना राम्रो या नराम्रो, राम्रो फल दिने वा नराम्रो फल दिने हुँदैन । सपना दोषी हुँदैन । यदि कसैले राम्रो सपना र नराम्रा सपना या सपनाको कारण दोष भएको भन्ने गरेको छ भने उस्ले नराम्रो खवर ल्याउने हुलाकीलाई दोष दिने गरेको छ । राम्रो काम हुँदा पनि राम्रो फल दिलाइ दिनेलाई हैन फलको खवर ल्याइ दिने हुलाकीलाई धन्यवाद दिने गरेको छ ।
४. सपनाको नै आधारमा दैनिक कार्य तय गर्न तिर लाग्नु हुँदैन । त्यसो गर्दा जीवन पुनः अन्धकारमा पर्दछ । जीवन आफ्ना नियन्त्रणमा हुनुपर्दछ ।
५. तर दैनिक जीवनमा घट्न जाने, घटेका, घटिरहेका घटनाको अर्थ यदि सपनासँग मिल्न गएमा त्यसै सपना अनुसारका निचोड निकाल्न सहयोग पुग्दछ । जस्तो जीवनमा प्रत्येक दिन घट्ने जस्तै गरेर कुनै घटना घट्यो, कुनै मानिससँग अचानक झगडा भयो, आफ्नो गल्ती नहुदा पनि आफु पीडित हुनु पर्यो । त्यसैले त्यस दोषीसँग तछाडमछाड गर्न र बदला लिन सक्ने भएसँम सबैको इच्छा हुन्छ । तर त्यो घटनाको समाचार यदि गएको रातीनै कसैले भनिसकेको थियो भने, त्यस घटना पहिलेनै घटेको थियो क्यार भने जस्तो भए पछि त्यस अगाडि उभिएको दोषीसँग पाखुरा मिच्न कतिक जायज होला ? आफै सोच्नुस् । त्यो अगाडिको दोषी त कसैको इशारामा काम गरिदीन आएको एजेन्ट जस्तो मात्रै भयो । सपनाको अर्थ लगाउन जानेपछि हरेकको जीवनमा यस्तै विश्वास नलाग्ने तर वास्तविक भविश्यवाँणी जस्ता खालका घटनाहरु हुन थाल्दछन् ।

मैले आफ्नो जीवनमा यस्ता घटनाहरु भोग्नु परेर र त्यस्को अर्थ लगाउन नसकेर ठुलो अन्योलमा भौतारिनु परेको थियो । आफ्ना तर्कको अर्थ नपाएर पागल जस्तो हुनु परेको थियो । कुनै दिनहरु यस्ता थिए जीवनका घटेका महत्वपुर्ण घटना सबै राती सपनामा घटि सकेको हुन्थ्यो । त्यो अन्योलको स्थिति सम्झदा पनि आँखामा आँसु आउँछ । तर ती अन्योलका दिनहरु पार गर्न सफल भएँ । आफ्ना पितृहरुले पाइरहेका कष्टका कारण यस्तो परिस्थिति आएको हो रहेछ । आफु अन्जानमा ती लिँग शरीरहरसँगको सम्पर्कमा भएको बेला दुःख पाइरहेका पितृ, तिनको सम्पर्कमा पुग्न जाँदा भेटिन आउने अन्य दु:खीहरु, दुष्ट र अन्य लिँग शरीरसँगको सम्पर्कको अवस्थामा दुःखका स्पर्शहरु र दुःखका सपनाहरु आएका थिए भने, ती पितृहरुका दुःखहरुको निवारण भइ ती अन्य दु:खीहरु र दुष्ट अन्य लिँग शरीरहरुको सम्पर्कबाट बच्न गइ अन्य होस खुलेका ज्ञानी लिँग शरीरहरुको सम्पर्कमा आउन थालेको वेला सुखका सपनाहरु आएका थिए । यी सपनाका समाचारहरू कस्ले बनाउछन्, कस्ले देखाउछन्, कसरी हामी देख्दछौँ यस्ता प्रश्नको जवाफ मैले पनि राम्ररी पाउन सकेको छैन त्यसैले मलाइ थाहा छैन र मैले खोजी गर्न पनि छोडिसकेको छु । ती दुःस्वप्नका दिनहरु कटेर निस्कन सकेको मानै दुःखका बेलामा सहयोग पुर्याएका ती सम्पूर्ण ज्ञानी अदृश्य शरीरहरु, ज्ञानी अदृश्य लिङ्ग शरीरहरुलाई बारबार धन्यवाद दिइरहेको छु ।

खै त सपनाको अर्थ लगाउने तरिका वा विधिहरुको वर्णन ? भनेर सोध्लान् । सपनाको अर्थ लगाउने विधि भन्दा पनि सपनाको सही अर्थ लगाउने विधि कठिन छ । यो किताब मा लेखिएका धेरै कुराहरू सम्पूर्ण मानव जातीहरू र सम्पूर्ण विज्ञानका लागि नै नयाँ नपत्याउने खबर बराबर छन् ।  यो किताबको सुरूको प्रमुख उद्देश्य हो मानिसलाई अदृश्य जीवहरु छन् भनेर परिचय गराउन कोसिस गरिएको किताब हो । अन्य सबै विषयहरु अवश्य यस किताबमा नअटाउलान् । सबै गहिराइ एकै पटक प्राप्त गर्न कठिन हुनेछ । त्यसैले सपनाको भाव अर्थ लगाउने बिधि यस पुस्तकमा समावेश गरिएको छैन ।  सपनाका अर्थ लगाउने विधिहरू स्पष्ठ छैनन् र लेखकहरूका अनुभवका आधारमा नै  काम चलाइ र सिमित छन् । र लेखकका सपनाका अर्थ लगाउने विधि र क्षमता हाल सम्म  लेखकमानै सिमित छन् । हुन सक्छ कुनैदिन लेखकका सपनाका अर्थ लगाउने विधि र क्षमताहरू लेखहरू किताबहरूका रूपमा प्रकाशित हुन सक्लान् तर हालसालै ती कुराहरूलाई प्रकाशित गर्न सक्ने स्तरमा आइपुगेको छैन। 

⇐विषय सूचीमा फर्कन

 

This post is also available in: English