⇐विषय सूचीमा फर्कन

पाठ ३.८.६

स्थुल शरीर र लिँग शरीरको सम्बन्धको कारण

स्थुल शरीरको मुटुमा लिँग शरीर बस्ने कुरा थाहा भएपछि तिनीहरुको आपसिक सम्बन्धको कारण थाहा हुन जरुरी हुन्छ । ती सम्बन्धका कारणहरु तल उल्लेख गरिएका छन् ।
वेदशास्त्रहरूमा उल्लेखित केही सँस्कृतका पँक्तिहरु समावेश गर्न चाहन्छु ।
१. भुक्तँ पीतँ यदस्त्यत्र तद्रसादामबन्धनम् ।
स्थुलदेहस्य लिङ्गस्य तेन जीवनधारणम् ।।
स्थुल शरीरले जुन कुरा भोजन गर्दछ, पिउछ, उपभोग गर्दछ, त्यो लिँग शरीरले पनि पाउँछ । यसैले स्थुल शरीर र लिँग शरीरको सम्बन्ध रहेको हुन्छ । यसरी नै दुबैले जीवन धारणा गरिरहेको हुन्छ ।
२. भुक्तपीतरसाभावादाशु शुष्यन्ति धावतः ।
भुक्तपीतरसेनैव देहँ लिम्पति नित्यशः ।।
त्यही खाएका, पिएका खानाबाट स्थुल शरीरको अङ्गहरु सुखी हुने र तिनै नित्य खाएका पिएका खानाको रसबाट स्थुल शरीर तन्दुरुष्ट, पुष्ट हुने हुन्छ ।
३. परिपक्वरसत्वेन यथाम्रँवृन्ततः फलम् ।
स्वयमेव पतत्याशु तथा लिँग तनोव्र्रजेत् ।।
जसरी फलहरु पाकेर आफ्नो भारले खस्दछ त्यसैगरी स्थुल शरीर शिथिल भएपछि लिँग शरीरबाट छुट्दछ र बिछोड हुन्छ ।

यसरी स्थुल शरीर र लिँग शरीरको सम्बन्धमा तिन प्रकारका कार्यहरू भइरहेको हुन्छ ।
१. लिँग शरीरको चेतना, उर्जाद्वारा संचालित भएर स्थुल शरीरले कार्यहरु गर्दछ । स्थुल शरीरले खाएको, भोग गरेको आनन्द, अनुभवका केही भाग लिँग शरीरले पाउदछ र दुबै जनाको सम्बन्ध रहेको हुन्छ ।
२. स्थुल शरीरले राम्रो खाने, पिउने गरेपछि स्थुल शरीर आफु तन्दुरुष्ट हुन्छ । यसो गर्दा स्थुल शरीरको कार्य क्षमता र आयु बढ्दछ र स्थुल शरीर र लिँग शरीरको सम्बन्ध लामो समयसम्म रहन्छ ।
३. स्थुल शरीर पुरानो भएर, थाकेर, शिथिल हुँदै गएपछि त्यस स्थुल शरीरले गर्न सक्ने भोगहरु कम हुँदै जान्छन् । त्यसरी कुनै दिन स्थुल शरीरले कुनै भोग चलन गर्न नसक्ने, खान नसक्ने, खाएको नपचाउने, हिँडडुल गर्न नसक्ने, विभिन्न रोग कष्टहरु जम्मा भएर स्थुल शरीर असक्षम भएपछि लिँग शरीर र स्थुल शरीरको बिछोड हुन्छ । यो नै हामीले देख्ने गरेको मानिसको मृत्यु हो ।

मानिसको शरीर भनेको लिँग शरीरको विकासको क्रममा अति विकसित अवस्थामा आएपछि भौतिक शरीर (स्थुल शरीर) धारणा गरेको अवस्था हो रहेछ । लिँग शरीरको चेतनाको स्तर अनुसार मानिसको चेतना बनेको हुन्छ र त्यसै अनुसारका कार्य गरिरहेको हुन्छ । लिँग शरीर जति विकसित चेतना भएको हुन्छ त्यतिकै स्तरको भोगहरु स्थुल शरीरलाई जुटाइ रहेको हुन्छ । जति बढी स्थुल शरीरले भोगहरु गर्यो त्यति नै स्थुल शरीर तन्दुरुष्ट भइ लिँग शरीरले भोग र आनन्द बढी पाउँदछ । जति धेरै दिनसम्म यस्ता सम्बन्धहरु भइ रहन्छन् त्यति नै उनीहरु दुबै शरीरहरु सुखी रहन्छन् । जति धेरै भोग स्थुल शरीरले गर्दछ त्यतिनै स्थुल शरीर तन्दुरुष्ट भइ धेरै दिनसम्म रहन्छ । स्थुल शरीरले आफ्नो दैनिक कार्य नियमित भएर गर्नको लागि आफ्नो स्थुल शरीरको तन्दुरुष्टि, क्षमता र लिँग शरीरको चेतना र उर्जा दुबै चाहिने रहेछ । लिँग शरीरले सँधै स्थुल शरीरको भलो नै चाहन्छ । त्यसैले स्थुल शरीरको भलो हुने काम गर्ने भनेको स्थुल शरीरले गरेको भोग खाना, आराम, सुरक्षा नै प्रमुख हो रहेछ । मानव शरीरको आयु बढी समयसम्म रहोस भन्नाका लागि स्थुल शरीरको पालन र सुरक्षा गर्नु प्रमुख आवश्यकता हो । स्थुल शरीरले राम्रो पौष्टिक खानेकुराहरु खाने, प्रशस्त खाने, खेल्ने, दौडने, घुम्ने, कुराकानी गर्ने, भेटघाट गर्ने, मेलमिलाग गर्ने, आराम र सुविधाका भोगहरु गर्ने गर्दा स्थुल शरीरको जीवन समय बढ्न सक्छ । स्थुल शरीरमा समयसमयमा आएका कमजोरी रोगहरुको बेलैमा जाँच र आवश्यक उपचार पुर्याउदा स्थुल शरीरको आयु बढ्न जान्छ । स्थुल शरीर कमजोर, बिरामी पर्न गए विभिन्न औषधी, उपचारहरु पुर्याउने, आवश्यक परे विभिन्न अपरेसनहरु गरी स्थुल शरीरको ग्रन्थिमा आएको कमजोरीलाई सुधार्ने, सुधार्न नसके ती बिग्रेका अङ्गहरुले अन्य अङ्गहरुमा कठिनाइ ल्याउन सक्ने खतरा बढे ती बिग्रेका अङ्गहरुलाई काटेर फ्याक्ने, आवश्यक अनुसारका साधन र सुविधा भए विभिन्न Implantation हरु गरी अङ्ग र ग्रन्थिहरुलाई काम गर्ने क्षमताको अवस्थामा राख्नु नै स्थुल शरीरको आयु थप्ने विधिहरु हुन् ।
स्थुल शरीरको पालन, पोषण, सुरक्षा नै मानव शरीरको जीवन लामो बनाउने तरिका रहेछ भनेर त थाहा भयो । तर लिँग शरीरको ज्ञान नभइकन गरेका शरीरको पालन, पोषण, सुरक्षाहरु पूर्ण नहुने, फलदायी नहुने, कहिले कहीँ उल्टा विधिहरु अपनाइने, हास्याद्पद हुन जाने हुन्छ । शरीर दुइटा छ सुरक्षा एउटा शरीरको मात्रै गर्दा मानिसले माथि राम्रो कोट लगाएर तल नाङ्गै हिडेको जस्तो हुन्छ होला । आफुले मात्र खाने सँगै बसेको साथीलाई सोध्न पनि नसोध्ने गर्दा ती साथीहरुमा कतिक प्रेम हुन्छ होला ?  स्थुल शरीरको मात्रै सुरक्षा गर्ने र लिँग शरीरको वास्ता नगर्ने भनेको उदाहरणको लागि घरको सुरक्षाको लागि घरका मुल ढोकामा ठुलो साँचो लगाएर झुण्ड्याउने तर घरका अन्य साना ढोका वा झ्यालहरु खुल्ला छोड्ने भनेको जस्तो होला । यसो गर्दा घरको कतिक सुरक्षा भयो होला ? आफु बेसरी पेट भरी खाने, आराम पनि गर्ने, आफ्नो गाडी चलाउने ड्राइभरलाई भोकै राखेर, आराम गर्न नदिएर, ड्राइभरलाई गाडी दौडाएर बढी स्पिडमा लैजा भनेर हप्कायो भने विभिन्न दुर्घटनाका अवस्था सृजना हुन सक्दछन् होला । त्यसो भयो भने बेलुका सकुसल घर फर्कने सम्भावना कतिक होला या कहिल्यै घर नफर्कने अवस्था पनि आउलान् । शरीरको पूर्ण रचना वा स्थुल शरीर, लिँग शरीर र आत्मा शरीर छन् भन्ने ज्ञानको कमी भएका अवस्थामा हामीले जीवनमा गरी आएका व्यवहारहरु, कामहरु त्यस्तै हास्याद्पद, अर्थ विहीन, उल्टा अर्थ, गलत संस्कार, आफैलाई खतरनाक पर्ने कामहरु गर्ने अवस्था पनि आईपर्यो होला । मेरो आफ्नो जीवनको अनुभवका कुराहरु सम्झदा यी ज्ञानका कुराको ज्ञान नहुँदासम्म म आफै पनि त्यस्तै उल्टा र हास्याद्पद, खतरनाक कदमहरु चाल्दै आएको रहेछु भन्ने कुराको अनुभवहरूको भण्डार भरिएको छ । सकेसम्म अरुहरुलाई यस्ता उल्टा, अज्ञानताका कामहरुगर्न नपरोस भनेर सजग गराउन चाहन्छु ।

कुन शरीरको महत्व प्रमुख रहेको हुन्छ त ?
लिँग शरीरले स्थुल शरीर धारण गर्नुको उद्देश्य हो त्यस स्थुल शरीरको माध्यमबाट भौतिक संसारको भोग चलन गर्नु । स्थुल शरीरनै रहेन भने लिँग शरीरको भौतिक संसारको भोगको लागि कुनै उपाय र क्षमता बाँकी रहदैन । त्यसैले त्यस लिँग शरीरको सुख भोगको लागि पनि स्थुल शरीरको तन्दुरुष्ट र लामो आयु हुनु आवश्यक हुन्छ । त्यसैले स्थुल शरीरको लालन पालन, सुरक्षा गर्नु नै प्रमुख महत्व हुन आउँछ ।

यस ज्ञानका आधारमा शरीरले गर्ने भोगहरुलाई यसरी बाड्न सकिन्छ ।

१. लिँग शरीर हुन्छ भनेर थाहा हुनु र स्थुल शरीरको भोग र रक्षा गर्नु (उत्तम तरिका)
लिँग शरीर पनि छ भनेर जानेर स्थुल शरीरको उचित भोग चलन, सुरक्षा गर्नु यो जीवनको उत्तम विधि हो । मानिसको जन्मको प्रमुख उद्देश्य यही हो । स्थुल शरीरको पालन पोषणले लिँग शरीर सुखी हुने, स्थुल शरीरको आयु बढ्ने, चाहनाहरु तृप्ति हुने हो । त्यसैले साधन स्रोतले उपलब्ध गराएसम्मको भोग मानिसले गर्न मिल्दछ । यो खान हुन्छ त्यो खान हुन्न भन्ने परिधिमा बाँधिनुभन्दा मानिसले खान हुने सबै चिजहरु मानिसको जीवनलाई घात नपर्ने गरेर प्रयोग र भोग गर्न जान्नु पर्दछ । अँगुर, आँप फल्ने ठाउँमा त्यसै अनुसारको खाना खानु पर्दछ भने हिँउले सँधै ढाकिराख्ने ठाउँका मानिसले त्यहाँको चलन अनुसारको मासु, माछा वा  त्यहाँको प्रकृतिले जे उपलब्ध गराएको छ त्यही अनुसारको उपभोग गर्नु पर्दछ । तर स्थुल शरीरको भोगका लागि गरिएका ती भोगका उपाय र विधिहरुमा अहँकार हुनु हुँदैन, अरुलाई अन्याय भएको हुनु हुँदैन, लोभ लालचले भरिएको हुनु हुँदैन । मानिसमा सकेसम्म अरुको सेवा गर्ने र अरुसँग बाँडेर खाने भावना भएको हुनु पर्दछ । मानिसको जीवनमा आफ्ना सही चाहनाहरुलाई पूर्ण पुर्ति गर्न सक्नु पर्दछ । मानिसका सबै चाहनाहरु पुर्ण हुन अति आवश्यक छ । तर मानिसका सबै चाहनाहरु पूर्ण हुनको लागि ती चाहनाहरुलार्इ आफ्ना घेरा भित्र बाध्न जान्नु पर्दछ । चाहनामा धैर्यता हुनु पर्दछ । मानिसको क्षमता भन्दा चाहना अगाडि दौडने भएमा ती चाहनाहरु कहिल्यै पुरा हुन सक्दैनन् । त्यसरी पूर्ण नभएका चाहनाका पुर्तिका लागि मानिसको मृत्यु वा स्थुल शरीरको त्याग पछि पनि अरुले भोग गरेको ठाउँमा आएर थुक निल्दै बस्न नपरोस् भन्नका लागि अहिले नै ती चाहनालाई या त आफ्नो क्षमता अनुसार पुरा गर्न सक्नु पर्दछ या त आकाशको फल आँखा तरि मर भन्ने चलन जस्तो गरेर चित्त बुझाउन जानेको हुनु पर्दछ । नत्रपछि के के हुन सक्दा रहेछ । मानिस मरेपछि पनि आफ्ना परिवारमा आफन्त कहाँ आइ मागेर खान खोज्ने, खोसेर खान खोज्ने, कसैले नबुझ्ने सल्लाह दिन आउदा रहेछन् । अवश्य पनि सबै मानिसमा त्यस्ता अदृश्यहरुले भन्न खोजेका कुराहरु बुझ्ने क्षमता हुँदैन । तर आफु मरिसकेपछि पनि पटकपटक आफन्तहरू कहाँ आइ मागेर खान्छु वा सरसल्लाह दिन्छु भन्दा जीउदो मानिसहरुले पनि अलि अलि अनुभव गरेका हुँदा रहेछन् । त्यही अस्पष्ट अनुभवका कारण जनमानसमा विभिन्न धारण बन्न गएका, धार्मीक संस्कारहरु बन्न गएका रहेछन् । ती धारणाहरु कतिपय सही हुँदा रहेछन् भने कतिपय गलत हुँदा रहेछन् । अनि नबुझेर के के अर्थ लगाउदा रहेछन् । आफ्ना पितृहरुलार्इ पनि कसैले भुत प्रेत, बोक्सी भन्लान्, कसैले अझ दुर्वचन बोल्लान्, दुइ चार झापड हिर्काउलान् । यदि कुनै मानिसले आफ्नो मृत्युपछि यस्तो अवस्था नआओस् भन्ने चाहन्छ भने उसले आफ्नो जीवनमा नै विभिन्न चाहनाहरुलार्इ चित्त बुझाएर सम्हाल्न जानेको हुनु पर्दछ । नत्र भविष्यमा आफ्नो मृत्युपछि आफ्ना आफन्त कहाँ यसो के हाल खबर छ भनेर सोध्न आउँदा आफन्तहरू भुत प्रेत आए भनेर तर्सेर भाग्लान् वा भाग्दा रहेछन् ।
२. लिँग शरीर हुन्छ भनेर थाहा हुनु तर स्थुल शरीरले भोग नगर्नु र रक्षा नगर्नु (मध्यम तरिका)
लिँग शरीर र स्थुल शरीर भनेर थाहा हुँदा हुँदै स्थुल शरीरको उचित भोग गर्न नसक्नु यो अलिक कमसल विधि हो । लिँग शरीर हुन्छ भनेर जानेपछि स्थुल शरीरलाई यो त भौतिक शरीरमात्र हो रहेछ, यो त केही पनि हैन रहेछ, झुटो रहेछ भनेर शरीरलाई आवश्यक पर्ने भोगहरु पनि उपलब्ध नगराउने विधि हो । हामी कहाँ यस्तै भावनाका धेरै श्लोक, कविता र गीतले भरिएका धर्मशास्त्र र संस्कारहरू हुन्छन् । भौतिक सुखको पछाडि लाग्नु हुँदैन यो सबै झुटो हो भन्ने खालका कुरा प्रायः सबै धर्ममा र सबै प्रवचनहरुमा बुझाउन कोसिस गरिएको हुन्छ । धर्मशास्त्रको ज्ञान पाएपछि, धर्म गुरुको आश्रम धाउन थालेपछि यो खान हुन्छ र त्यो खान हुन्दैन भन्ने कुरा र विधिहरू धर्मशास्त्रहरुको वास्तविक ज्ञान र भाव भन्दा महत्वपूर्ण भएर बसेका हुन्छन् ।

अझ मानिस जत्ति बढी ज्ञानी भयो त्यत्ति काम कम गर्ने चलन हुन्छ । भरसक अरुले ल्याइदिएको खाएर पेट भर्न पाए हुन्थ्यो भनेर आफ्ना ज्ञानलाई त्यसै अनुसार ढल्काउन र विश्लेषण गर्नपछि पर्दैनन् ज्ञानीहरु । मागेर खान पाइन्छ भने किन काम गरेर खाने भन्ने भावना जाग्न थाल्ला । त्यति गहिरो गरेर धर्मशास्त्रका ज्ञानका कुरा जानेका, केही आश्रम धाएका, कोही खरानी लगाएका गुरुका पछि लाग्न भ्याएकाहरु, केही भागवत गीताको ज्ञानहरु जानि सकेपछि अरुले जस्तै गरेर फेरी कोदालो र हलो समात्ने कुरा आएन । त्यसै लहैलहैमा लागेर धर्मशास्त्र पढेको र धर्मशास्त्रको ज्ञान पाएको झोँकमा घरबार छोड्न र जोगी बन्न पछि पर्दैनन् । मान्छे भन्दा जोगी धेरै भएका ठाउँहरु पनी छन् । आफुले पनि त्यसै गरेका र अरुलार्इ पनि त्यसै गर्न सिकाउने गुरुहरु पनि थोरै छैनन् । दिनभर ज्ञानको कुरा गर्ने अनी भोक लागेपछि अरुको अनुहार तिर हेर्न रुचाउने गुरुहरु थुप्रै हुन्छन् । धेरै धर्मावलम्बीहरु यसै विधिलाई अपनाउन चाहेका हुन्छन र मनका धेरै चाहनाहरु थुक निलेर मात्र चित्त बुझाउन चाहन्छन् । तर सधैँ सफल हुन सकिरहेका हुँदैनन् । काम गर्ने उमेर छदा सम्म भगवानले पुर्यादिन्छन् भनेर पर्खियो, बेला छदै धन कमाउने तरिका सिकिएन, अब उमेर ढल्क्यो मनमा उठेका चाहनालाई जबरजस्ती रोकेर गरेको भक्ति सफल नहुन सक्दछ । आफ्नो धन कमाउने बाटो छैन अरुले जस्तै मोबाइल लिन मन लागेपछि परेन आपद । अनि भगवानके नाम पर सब कुछ करदेँगे भनेर ठग्न पनि पछाडि पर्दैनन् जोगीहरु । जात फाल्नु गहतको झोलमा भन्ने उखान यसै आएको हैन र यो यिनै भक्तहरुलाई भनिएका हुन्छन् । काम गर्नको डरले जोगी भएँ र जोगी भएको भोली पल्ट भोकै रहेँ भन्ने चलन छ । त्यस्तै बुढेसकालमा आएर आफ्नै सुन्दरी शिष्यहरुलाई स्वास्नी बनाउन भ्याएका स्वामीहरु, धार्मीक गुरुहरु धेरै छन् । हुन त ती स्वामीजी, गुरुजीहरुले बुढेसकालमा तरुनी स्वास्नी ल्याए भनेर भन्न खोजेको होइन । तर तिनै गुरुहरुले जीवनभर अरु चेला चेलीहरुलाई भौतिक सुखभोग तिर लाग्न हुँदैन, यो सबै दुःखको बाटो हो भन्दै भर्खरैका भक्तहरूलाई ब्रह्मचारी बन्न सिकाउने गर्छन् । यिनकै लहैलहैमा लागेर कति जना भर्खरै उमेरका तरुना तरुनी शिष्यहरु जोगी बस्त्र लगाएर मख्ख परेका देखेको छु् । पछि ती भर्खरै उमेरका जोगी जोगीनीहरुको के हालत हुने हो मागेर खाने बेलामा । तिनलाई भोली आइपर्ने यो कुरा थाहै छैन त्यसैले मख्ख भएका छन् आज । तर ती गुरुहरू बुढेसकालमा, कसैले बिहेगर्ने, कसैले भोग सुख सुविधाकोपछि लाग्ने गरेको देखेको छु । अझ भरसकसँधै पैसा गन्न पाए हुन्थ्यो जस्तो गर्छन् । मैले कतिपय भारतीय जोगीहरुलाई देख्ने, भेट्ने मौका पाएको छु । तर ती सबै जसो जोगीहरु पैसा पाए थुकले पनि टिपौँला जस्तै गर्दथे । जोगी हुन्, यिनको यसो सेवा गरौँ, केही दिउ भनेर लाग्ने हो भने तिनीहरूको सेवा गरेरै, तिनीहरूलाई केही दिएरै सकिदैनथ्यो । तिनीहरूको चाहनाहरु देख्दा यिनीहरु किन जोगी भएका हु्न् जस्तो लाग्दथ्यो । उदाहरणहरु दिन तिर लाग्दिन नत्र धेरै र रमाईला सत्य कथाहरुको सँग्रह हुन जान्छ । त्यसो गर्नु गलत तरिका हो । मानिस तृप्त भएको हुनु पर्दछ, कसरी तृप्त बन्न सकिन्छ भन्ने उपायको खोजीमा लाग्नु पर्दछ । मानिस तृप्त तब मात्र हुन सक्दछ जब उसले अनावश्यक चाहनालाई आउन दिदैन । यो कार्य सही ज्ञान, लामो समयसम्मको प्रयास, अभ्यासपछि मात्र सम्भव हुन्छ । मानिसहरूले तृप्त हुन जानेका छैनन् ।
३. लिँग शरीर हुन्छ भनेर थाहा नहुनु र स्थुल शरीरले भोग गर्नु र रक्षा गर्नु (निम्न तरिका)
मानिसले स्थुल शरीरको पुर्ण रुपमा उपयोग र भोग गर्नु तर मानिसको लिँग शरीरको ज्ञान नहुनु अपूर्ण सफलता हो । सबै मानिसहरु यस्तै रमाइलोमा नै भुल्न भ्याएका हुन्छन् । यी मानिसहरुले जीवनको अर्थ बुझेका हुँदैनन् । यिनीहरुलाई लिँग शरीरको ज्ञान हुँदैन, मृत्युपछिको जीवनका कुराहरु थाहा हुँदैन तर आफ्नो जीवनका दैनिक कार्यमा सफलभइ संसारिक भोग गरिरहेका हुन्छन् । संसारिक भोगको हिसाबले सफल देखिएका हुन्छन् । तर यो क्षणिक सफलता हो र यो सफलता नै पछिको उसको मृत्युपछिको लिँग शरीरको मात्रको जीवनमा कष्टका बाटाहरु खोलेका हुन्छन् । यस्ता मानिसहरूले आफुलाई सफल, सुखी भनेर अभिमान गर्नु हास्याद्पद हो, कुरुपता हो, झुट हो । उस्को भित्रको अन्धकारको र अज्ञानताको सङ्केत हो ।
४. लिँग शरीरको पनि ज्ञान नहुनु, स्थुल शरीरले पनि भोग नगर्नु र रक्षा नगर्नु (अति निम्न तरिका)
लिँग शरीरको पनि ज्ञान नहुनु, स्थुल शरीरले पनि भोग नगर्नु र रक्षा नगर्नु यो पुर्ण असफल अवस्था हो । जीवनमा उसले न त ज्ञान प्राप्त गर्न सक्यो न जीवनको संसारिक भोग नै गर्न सक्यो ।

व्यवहारमा समाजमा दुइ किसिमका तर्कहरुले सर्वसाधारण मानिसहरुलाई एक आपसमा तानातानमा पारेर असमन्जस्यमा पारेको हुन्छ ।

१. धार्मीक गुरु वा धर्मका नजिक पुगेका धर्मालम्बीहरुः

             धार्मीक गुरु वा धर्मका नजिक पुगेका धर्मालम्बीहरूले मानव शरीर भौतिक तत्वले बनेको झुटो शरीर हो भन्दछन् । मानव जीवनमा प्रमुख अस्तित्व आत्माको हुन्छ । त्यसैले यो भौतिक शरीरको माया र भोग तिर लाग्नु हुँदैन भन्दै विभिन्न ज्ञान र धर्मका कुरा गर्दा यो पनि खान हुँदेन त्यो पनि खान हुँदैन भन्दै आधुनिक चिकित्साशास्त्रको विधि र उपचारहरुलाई पनि त्यसै भित्र गाँसेर विरोध गर्ने, इन्कार गर्ने गर्दछन् । यी धार्मीक गुरुहरुका लागी आयुर्वेदमात्र एक भरपर्दो उपचारको साधन हो भन्न खोज्दछन् । तर वास्तविकतामा यो तर्क र विधि सही होइन । मानिसको आफ्नो भलाइको लागि उसले सबै उपलब्ध साधनको प्रयोग गरेर उचित खाना र शारीरिक भोग गर्नु र लामो आयुको जीवन व्यतित गर्न सक्नु नै मानिसको स्थुल शरीरको र लिँग शरीरको भलो हुने हुन्छ । आधुनिक चिकित्साशास्त्रका उपलब्ध साधनको विरोध, इन्कार गरी केवल आयुर्वेदको भर पर्नु र त्यसेैगर्न अरुलाई पनि सिकाउनु ती धार्मीक गुरुदेखि योगी गुरु सबैको अल्पज्ञान र अहँकार हो । आधुनिक चिकित्साशास्त्रका साधन र विधिबाट शरीरको जाँच गरेर, शरीरको वास्तविक अवस्था पत्ता लगाएर, रोग पत्ता लगाएर त्यसको उपचार विधिमा यदि त्यसभन्दा राम्रा भरपर्दा, जाँच भइसकेका उपचारका विधि र औषधीहरु आयुर्वेदमा छन् भने त्यसको प्रयोग गर्नु वा सम्युक्त विधि बनाइ प्रयोग गर्नु उचित हुन्थ्यो होला । बिरामीलाई परिणामसँग मतलव हुन्छ सिद्धान्तसँग होइन । तर व्यवहारमा आयुर्वेदको सर्मथकको हैसियतले लामो दाह्री पालेका, जोगी बस्त्र लगाएकाहरुले टेलिभिजनबाट विभिन्न पोजमा आसन देखाउदै वास्तविकता नै नबुझि सबै वैज्ञानिक आविष्कार र परिणामहरुको विरोध गरिदिन्छन् । सर्वसाधारणहरु कस्को पछि लाग्ने भनेर असमन्जस्यमा परेका हुन्छन् ।

२. आधुनिक विज्ञानका ज्ञानी र चिकित्सकहरुः आधुनिक विज्ञान र चिकित्सा शास्त्रमा शरीरको वास्तविक रचनाको ज्ञान नहुँदा वा लिँग शरीरको ज्ञान नहुँदा केवल स्थुल शरीरको मात्र हेरविचार गर्छु भनेर भनेको हुन जान्छ । यो अवश्य उचित हुँदैन होला । यही ज्ञानको अभावमा आधुनिक विज्ञानले मान्यता नदिएको अन्य लिँग शरीरका चर्चा र विभिन्न उपचारका विधिहरु अपनाउदै जनताहरु हिड्छन् र त्यसबाट प्राप्त गरिएका सफल उपचारहरुका खबरहरुलार्इ नसुनेको जस्तो अभिनय गर्न बाध्य हुन्छन् डाक्टरहरु । त्यसैले आजको समाजमा पर्याप्त ज्ञानको अभावमा आयुर्वेद, धर्म गुरु वा डाक्टर, वैज्ञानिक दुबै थरि पुणँ रुपमा सही छैनन् । दुबै थरिकाहरूले जीवनको आधाआधा भागलाई मात्र समेट्न सकेका छन् । जब ती दुबै तर्कहरु एक आपसमा पुरक भएर आउन सक्दछन्, त्यसपछि मानव जीवन अझ बढी स्वस्थ, सुरक्षित सुखी र बढी आयुको हुन सक्नेछ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English