⇐विषय सूचीमा फर्कन

पाठ ३.७.३

लिँग शरीर

यो चेतनाको अदृश्य शरीर हो । यो शरीर मानिसको प्रमुख शरीर हो । हरेक मानिसको म हुँ, म डाक्टर हुँ, म वैज्ञानिक हुँ भन्ने यही लिँग शरीरले हो । मानिसहरूले आत्मा भन्ने शब्द नबुझे पनि, विश्वास नहुँदा पनि विभिन्न सन्दर्भमा धर्म संस्कारका चर्चाहरूमा सुन्ने गरेका हुन्छन् । तर वास्तविकतामा आत्मा भन्ने शब्दको अर्थ नुबुझ्दा नबुझ्दा पनि यो आत्मा भन्ने शब्दकाे हरेकले आफ्नो आफ्नो अर्थ र तर्क निकाल्ने गरेको पाइन्छ । आज सम्मको आधुनिक विज्ञानले त यस आत्मा भन्ने चिज, शब्द, चर्चाका विषयहरूलाई झुटो भनिराखेको छ र यस सम्बन्धित चर्चाहरुलाई धार्मिक अन्धविश्वास, रुढिवादी भन्ने गरेको छ । यी विज्ञानका विश्वास नगर्नेदेखि धर्म र संस्कारमा विश्वास गर्ने सबै मानिसहरूलाई सम्बोधन गर्दै यो कुराको स्पुष्टि गर्न गइरहेको छु कि यी चर्चाको विषयमा केही सत्यताहरु छन् । ती सत्यताहरुका प्रमाण छन् र पछिका पाठहरुमा अरु बढी स्पष्ट हुँदै जानेछ । यिनै कुराहरुलाई लेखकले सबैलाई बुझ्न सजिलो हुने गरेर प्रस्तुत गर्न गइरहेको छ ।

आत्मा र  लिँग शरीर फरक छ ।

आत्मा लिँग शरीरको सबभन्दा भित्र हुन्छ । सर्वसाधारण मानिसहरुमा, कुनैकुनै धर्मावलम्बीहरुमा, शास्त्रहरुमा आत्माको चर्चा हुने गरेका छन् । साधारण रूपमा गहिरिएर नबुझेकाहरूले आत्मा भन्ने शब्दको अर्थ अलि गलत लगाएका छन् । प्रायः जसो आत्माका कुराहरु चर्चामा आउँदा आत्मा शब्द सँगसँगै मन भन्ने शब्दलाई पनि एउटै अर्थको शब्द जस्तो गरेर वर्णन गरिन्छ । आत्मा अथवा मनको चर्चा गर्दा आत्मा शान्ति, आत्माको सन्तुष्टि वा असन्तुष्टि, आत्माले सुख वा दुःख पाउँछ भन्ने जस्ता अभिव्यक्तिहरु गर्ने चलन छ । यस्ता अभिव्यक्तिहरु व्यक्त गर्ने व्यक्तिहरु आफै धेरै बर्ष देखि आश्रम धाउने गरेका भक्तहरू, आश्रमका प्रवचन दिने गुरूहरू, धार्मिक गुरु भइसकेका र गुरु दक्षिणा लिन भ्याएकाहरुलाई पनि यो फरक थाहा नहुन सक्दछ । तर त्यस्ता अर्थ र अभिव्यक्तिहरु  गलत हुन् ।

आत्मा र मनमा के फरक छ ?

आत्मा र मन फरक छ । आत्माको वर्णन माथि गरिसक्यौँ । आत्मा निश्चल र निर्दोष छ । ती माथि व्यक्त गरिएका आत्मा शान्ति, आत्मा सन्तुष्टि वा असन्तुष्टि, आत्माले सुख वा दुःख पाउँछ भन्ने अभिव्यक्तिहरु मनको बारेमा हो । मन भनेको लिँग शरीर हो । लिँग शरीरका आवरणहरुको वयान अगाडिका पाठमा गरिसक्यौँ ।

म भन्ने र मन भन्नेमा के फरक छ ?

ब्रह्ममा सुरूमा उत्पन्न भएको आवरणले म भन्यो भनेर अगाडि उल्लेख गरियो । त्यो सुरूको अवस्था थियो । त्यसको पूर्ण अनुभव गर्न पाएको, जानेको र अर्थ लाउन सकेको छैन । त्यस म भन्ने आवरणको बिस्तार बिस्तार विकास हुँदै जाँदा उसले आफ्नो वरपरको धेरै चिजहरू चिन्न सक्ने बन्दै जाँदा तेरो मेरो भन्न सक्ने चेतनाको स्थितिमा आइपुगेछ र एक पूर्ण प्राणीको रूपमा आईपुगेछ । त्यही अवस्था हो आजको मानिसको लिँग शरीर । त्यही लिँग शरीरको मनोमय कोशले गरेको अनुभव मन हो ।
सुरुमा बनेको महतमा आत्माको चेतना र स्वप्रकाशका गुणलाई प्रयोग गरी विभिन्न आवरणहरु थप्दै गई यो लिँग शरीरको निर्माण भएको हो । आफ्नो चेतना र आवरणहरुको गुणको क्षमता अनुसार यस लिँग शरीरको निर्माण हुन्छ । आनन्द दिने(आनन्दमय कोश), ठोस तर्क वा बुध्दि दिने(विज्ञानमय कोश), तर्क, विचार दिने(मनोमय कोश), ज्ञानेन्द्रियहरु र कर्मेन्द्रियहरु(प्राणमय कोश) र बाहिरी आवरणको छाप(अन्नमय कोश)को गुणहरु नै लिँग शरीरका गुणहरु हुन् । स्थुल शरीरले गरेको सबै कार्यको चेतना राख्दै आफ्नो अनुभवहरु द्वारा आफ्नो चेतनाको स्तर बढाउदै लान्छ र गल्तीहरुका सुधारहरु गर्दै सफल तरिकाहरु अपनाउँछ । त्यसैले मानिसहरु पनि अध्ययन र अनुभव पछि सही मार्ग तिर लाग्ने चलन हुन्छ ।
यही लिँग शरीरले पटकपटक स्थुल शरीर ग्रहण गर्ने र छोड्ने गर्दछ । यहि लिँग शरीरको पुनर्जन्म हुन्छ । स्थुल शरीर छोडेपछि यस्ले विभिन्न गमन र भ्रमण गर्दछ । स्थुल शरीरका संचालन र भोग यसैले गर्दछ । यसैले नै स्थुल शरीरलाई बल र हिम्मत दिन्छ । स्थुल शरीरको अन्त्यपछि स्थुल शरीर हुँदा खेरिको सबै कर्म, ज्ञान, आनन्द, भोगहरुको याद लिँग शरीरले सँचय गरेर राखेको हुन्छ ।

लिँग शरीरको अवस्थाहरू 

लिँग शरीरको जाग्रत, स्वप्न र सुषुप्त अवस्थाहरु हुन्छन् ।  त्यसैले स्थुल शरीरको मृत्युपछि मानिस लिँग शरीरको अवस्थामा जीवित रहन्छ । यस लिँग शरीरले अज्ञानताको कारण ठुलो दुःख र कष्ट भोगिरहेको हुन्छ । लिँग शरीरमा स्थुल शरीर हुँदाको समयका विभिन्न चेतनाहरु याद आउने, त्यस सम्बन्धित कार्यहरु गर्न मन लाग्ने तर स्पष्ट याद नआउने, स्पष्ट कार्य नहुने जस्ता भ्रममा रहेको हुन्छ ।

जाग्रत अवस्थाः  उ जाग्रत अवस्थामा आएको बेलामा आफ्नो घरमा आउने, आफन्तहरुसँग सम्पर्क, सम्बन्ध राख्न चाहन्छ । आफन्तहरुले उसलाई देख्दैनन्, उसले सबैलाई देख्दछ । उ आफन्तहरुले गरेको कार्यमा सहभागी हुन चाहन्छ, तर उसले सहभागी हुने मौका पाउँदैनन् । परिवारले खानापिना गर्ने बेलामा पनि उसको उपस्थिति हुन्छ, तर कसैले उसलाई भाग लगाउदैनन् । उ रिसाउँछ, आफन्तलाई गालि गर्छ, हातपात गर्छन् तर सँधै समर्थ हुँदैन ।

स्वप्न अवस्थाः   उ सधैँ जाग्रत रहन सक्दैन र पछि स्वप्न अवस्थामा आउँछ । स्वप्न अवस्थामा उ आफै स्वप्नहरु देख्ने भ्रमहरु आउने, डराउने, रुने कराउने, इच्छाहरु पैदाहुने जस्ता कार्यहरु भइरहेका हुन्छन् । त्यो लिँग शरीर त्यस स्वप्न अवस्थाबाटपछि केही निष्कृय हुँदै सुषुप्त अवस्थामा पुग्दछ ।

सुषुप्त अवस्थाः यस सुषुप्त अवस्था भनेको गहिरो निन्द्राको अवस्था हो । उसलाई यस अवस्थामा केही थाहा हुँदेन, कुनै कष्ट हुँदैन । मानिसलाई गहिरो धेरै बेरको निन्द्रा पर्दा जुन आनन्द आउँछ त्यही आनन्द उसले पनि त्यस बखत प्राप्त गर्दछ अनुभव गर्दछ ।

जतिजति लामोलामो समय सम्म सुषुप्त अवस्थामा रहन्छ त्यत्तित्यत्ति उसलाई त्यस सुखको अनुभव हुँदै थपिदै जान्छ र उसको बिस्तारै बिस्तारै होस खुल्न थाल्दछ र उसलार्इ उ आफु मृत्यु भई सकेको अनुभव आउन सक्दछ । लिँग शरीरलाई उ आफु मृत्यु भइसकेको कुरा थाहा हुनु र त्यस परिस्थितीमा के गर्नु पर्दछ भनेर थाहा छ भने उ शान्त हुन थाल्दछ र पटकपटक आफन्त कहाँ आउन चाहदैन र कुनै कुराको माग गर्दैन । होस नखुलेका लिँग शरीरहरु धेरै लामो समयसम्म कहिले कहिले कालान्तर सम्म त्यस्तैगरी जाग्रत अवस्थामा आउने बित्तिकै आफन्त कहाँ आउने र सम्बन्ध राख्न चाहने र आफु पनि कष्टको अनुभव गर्ने र आफन्तलाई पनि कष्ट पुर्याउने गरिरहेको हुन्छन् ।
त्यसैले यदि कुनै लिँग शरीरको लागि उसको मृत्युपछि उसको होस नखुले पनि उ सुषप्त अवस्थामा रहन पाउनु उसको लागि ठुलो सहयोग र दान हुनजान्छ । तर व्यवहारमा हामी लिँग शरीरलार्इ बिउँझाएर त्यत्तिकै छाडीदिने खालका अज्ञानताले भरिएको चलन र संस्कार मात्रले घेरिएका रहेछौँ । लेखकले यस लिँग शरीरको बारेमा खोजी गर्ने क्रममा विभिन्न धर्म संस्कार चलनहरुको बारेमा गहिरिएर विश्लेषण गर्न खोज्दा के देखिन आएको छ भने हरेक देश, धर्म संस्कारले यी मृत भइसकेकाहरुका लागि भनेर विभिन्न कार्यहरु गर्ने चलन देखेको छु । तर कुनैपनि चलनले त्यसको सही अर्थ लगाएको देखिएन र सबैले गरेका कर्महरु अधुरा छन् र ती कर्महरुले ती लिँग शरीरलाई अझ बढी भ्रममा पारेको र अझ बढी कष्टको बाटोमा डोर्याएको छ । त्यसैले जसको घरमा मरेको मान्छेलाई अनावश्यक समयमा पनि सम्झने, धेरै दिन वा वर्षौसम्म सम्झेर रुने,  मृतकका लागि भनेर अन्य धार्मिक विधिहरु पटकपटक गरिराख्ने गरेको छ भने त्यस घरका मान्छेले दिन खोजेको, भन्न वा गर्न खोजेको कुरा पुरा भयो कि भएन लेखकलाई सबै थाहा हुने कुरा त भएन तर उसका ती कृयाकलापले उसका ती लिँग शरीरको रूपमा रहेको पितृलाई बिउँझाइदिन्छ भन्ने कुरा स्पष्ट थाहा छ । उ पितृ बिउँझिएपछि आउने ठाउँ, भेट्ने ठाउँ त्यही आफ्नो घर, आफन्त, गाउँ, काम, रोजगारमा हो । उसले सम्पर्कमा आएर कुराकानी गर्न खोज्दा त्यही पैसा, सम्पत्ति, घर, जग्गाका बारेमा गर्दछ, सल्लाह दिन खोज्दछन् । यिनै कुराहरु पुरा गर्न नसकेर, नपाएर, अरुले उसका कुरा नमानिदिएर क्रोधित हुन्छ, खान नदिएर रिसाउने गर्छ । यिनै कुराहरु, घटनाहरु पटक पटक दोहोरिरहेको हुन्छ ।
उदाहरणको लागी जस्तै एक जीवित मानिसको जीवनमा राती सुतेर बिहान उठे पछि अलि अलि आँखा मिच्दै हात मुख धुन जान्छ, त्यसपछि बिहानको चिया, बिहानको खाना खाने गरेको भए त्यही गर्दछ । त्यसपछि बानी अनुसार नित्य काम गर्दछ । ठिक त्यसैगरि भर्खरै बिउँझेको लिँग शरीरले बिउँझने बित्तिकै आफन्त कहाँ आउँदछ र काम गर्न खोज्दछ । चेतना पुरा खुलेको हुँदैन । त्यसैले टुक्रा टुक्रा याद र कामहरू गर्दछ । काम पुरा किन नभएको भनेर अर्थ लगाउन सकिरहेको हुँदैन । त्यसैले क्रोध, कष्ट र त्रासले भरिएर बसेको हुन्छ ।
यसको उपाय के छ त ?
यसका उपायको दुई वटा खुटकिला छन् ।
क. मृत्यु पछिको पहिलो खुटकिला स्थुल शरीरको त्याग वा मृत्यु पछि लिँग शरीरको होस खुल्नु (अपूर्ण मृत्यु)

मृत्युपछिको पहिलो खुटकिला हो मरेपछि होस खुल्नु र आफ्नो अवस्थाको बोध हुनु । स्थुल शरीरको मृत्युपछि अज्ञानताले गर्दा लिँग शरीरले झन कष्टको अनुभव गर्न थाल्दछ । उ कहिले जमिनको मुनी पुग्दछ त उसलाई कहिले आकाशमा उडाउँछ । उसले यसको अर्थ बुझ्नसक्दैन र आफन्त कहाँ गुहारमाग्न आउन खोज्दछ र आएको हुन्छ । उसलाई जीवितहरू कसैले देख्दैनन् । आफन्तहरूले उसलाई देख्दैनन्, उ आफ्ना प्यारा नाता र साथीहरु कहाँ आइ गुहार माग्दछ । मृत्युपछिको पुरा परिस्थिती उसलाई पनि थाहा हुँदैन, पुरा बुझ्दैन र उ केवल, खाने लाउने, सम्पत्ति, काम यिनै कुराहरुको माग गर्न थाल्दछ । उसलाई भोक, प्यास, जाडो भइरहेको हुँदो रहेछ । आफ्ना आफन्तहरू प्रति माया, इर्ष्या, शत्रु प्रति प्रतिशोध, बदलाको भावना रहेको हुँदो रहेछ । आफुले जीवनमा भोगेका दुखाइहरूको, सुखहरूको याद हुँदो रहेछ । आफु मर्ने बेलामा जे रोग लागेर मरेको थियो त्यो लक्षण लिएर बसेको हुँदो रहेछ । मानिसको मर्नु भन्दा अगाडि जे बानी थियो उसले त्यस्तै खालको कृयाकलाप गर्ने गर्दछ । यी सबै परिस्थिति र समस्याहरु अज्ञानताको कारणले भएको हो । लामो समयसम्म उसलाई कसैले कोट्याएन, उ निन्द्रा अवस्थामा धेरैदिन बस्न पायो भने बिस्तार बिस्तार उसको अलि अलि होस खुल्न थाल्दछ, मृत्युको अवस्था अलि अलि बोध हुन थाल्दछ । तर उसको पुर्ण रुपमा होस खुल्दैन । जब सम्म मानिसलाई उसको शरीरको पुर्णज्ञान हुँदैन, लिँग शरीरको ज्ञान बुझेको हुँदैन उसले स्थुल शरीरको मृत्युपछि आफ्नो लिँग शरीरको अवस्थाको पुर्ण अर्थ लगाउन सक्दैन र उ भ्रममा नै रहेको हुन्छ । कोही कम भ्रममा कोही बढि भ्रममा रहने मात्रको फरक हो । तर यदि मानिसमा उसको स्थुल शरीरको मृत्युभन्दा अगाडि नै ज्ञानद्वारा यस मानिसको रचना तिनवटा शरीर मिलेर बनेको हुन्छ, मृत्युपछि लिँग शरीर जीवित रहेको हुन्छ र त्यस लिँग शरीरले भोग्ने कष्ट भ्रमको बारेमा थाहा छ र त्यसबाट बचावट गर्ने तरिका थाहा छ भने तब मात्र त्यस लिँग शरीरको होस पुर्ण रुपमा खुल्न सक्दछ नत्र उसको होस पुर्ण रुपमा कहिल्यै खुल्दैनन् ।
त्यसैले मानिसले मृत्युपछि पनि झन ठुलो कठिनाइ भोग्नु पर्ने रहेछ, मरिसकेकाहरूले कष्ट खाइ रहेका रहेछन् । यी कुराहरु लेखकहरूले विभिन्न घटना, प्रमाणहरुका साथमा संकलन गरेर, विभिन्न अनुभव र शास्त्रहरुको अध्ययन, मनन र प्रत्यक्षदर्शिको हैसियतले लेखेको हो । आजसम्म मानिसलाई आफ्नो वास्तविक शरीरको रचना थाहा रहेन छ । हुन त यी विषयका बारेमा पुराना वेदशास्त्रहरुमा उल्लेख भएका रहेछन् । वेदशास्त्रहरुमा यी कुराहरूलार्इ अन्य सन्दर्भ र उदाहरणहरु सँगसँगै जोडेर भनिएको रहेछ । विभिन्न धर्महरुमा यी कुराहरुलार्इ आफ्नो आफ्नो तरिकाले वर्णन र उपायहरु निकालेका छन् । हिन्दु धर्मसँग सम्बन्धित भएर चलाई आइरहेको संस्कार र चलन चल्तीहरुले यस बारेमा विभिन्न ठाउँमा वर्णन र विधिहरु बनाउन खोजेका छन् । प्रायः जसो वास्तविकताको सही मुल्याङ्कन गर्न नसक्दा, धर्मका विश्लेषण र विधिका जिम्मा लिएका पण्डितहरू नै यस विषयमा अन्जान छन् र तिनमा अपुर्ण ज्ञान छ भन्ने कुरा तिनले अपनाएका गलत तर्क र उपायहरुबाट थाहा हुन्छ । ती विधिहरुको सही अर्थ नबुझ्दा उल्टो परिणाम हुने विधिमा परिणत भएका छन् । यी कुराहरू कुनै पनि शास्त्रमा स्पष्ठ गरेर लेखेको छैनन् । एउटै शास्त्रमा सबै कुराहरु उल्लेख छैनन् । यी तर्क र समाधानहरु लेखकको विभिन्न शास्त्रहरूको अध्ययन, मनन, साथमा विज्ञानशास्त्र वायोलोजी, केमेष्ट्रि, फिजिक्स, गणित, चिकित्साशास्त्रको उच्च शिक्षाको ज्ञान, अनुभव र त्यहाँबाट निकालिएका ज्ञानहरूका टुक्रा टुक्राहरु जोडेर निकालिएका हुन् । त्यसैगरी यी तर्क र समाधानहरु व्यवहारमा जाँच र परिक्षण भइसकेका तथ्यहरु हुन् ।
मानिसका तिनवटा शरीर हुन्छन् — आत्मा, लिँग शरीर, स्थुल शरीर । त्यस मध्य लिँग शरीर मानिसको सबभन्दा प्रमुख शरीर हो । यस लिँग शरीरको मृत्यु छिटो हुँदैन । यो कालान्तरसम्म जीवित रहन्छ । यो शरीरले नै कार्य गर्दछ, भोग गर्दछ, सुख दुःखको अनुभव गर्दछ । यसैले स्थुल शरीर धारणा गर्दछ र छोड्दछ । यस्ता कार्यहरु यसले पटकपटक गर्दछ । यी तिन शरीर मिलेर विभिन्न खालका शरीरहरु बनेका हुन्छन् जस्तै किरा,चरा,जनावर, मानिसहरू । त्यो तिन शरीर मिलेर बनेको शरीरको सबभन्दा विकसित रुप मानिस हो । मानव जीवनको सबैभन्दा विकसित अङ्ग त्यसको चेतना हो । चेतना सबै अन्य जीवहरू मध्य मानव जीवनमा सबभन्दा विकसित हुन्छ । त्यस मानव जीवनमा पनि कोहीकोही चेतनाका विकास भएका सभ्य मानिसहरूले मात्र फर्केर आफुलाई हेर्न सक्दछ र आफु को हो ?  भनेर खोज्न सक्दछ, आफु र सृष्टिका बारेमा सोध र खोज गर्न सक्दछ । यो क्षमता सबै मानिसको बिचारमा विकसित हुन सकेको हुन्दैन र उसले आफ्नो बारेमा खाज्न सक्ने मौका गुमाइ रहेको हुन्छ ।

आफ्नो चेतनालाई खान, लाउन, बस्न, सुत्न, घुम्न, खेल्न, काम गर्न, पैसा कमाउन, परिवार, इष्टमित्र, साथीभाईहरूका बारेमा मात्र सोचेर जीवन बिताउने मानव जीवनलाई अपूर्ण मानव जीवन भनिएको छ वेदशास्त्रमा । किन कि यति कुरा त आफ्नो हैसियत र क्षमता अनुसार  प्रायः सबै जनावरहरूले पनि गरिराखेका हुन्छन् । त्यसैले यदि कुनै मानव जातीले जीवनमा यतिमात्र काम गरेको छ भने त्यसलाई मानव हैसियतका कुरा मानिदैनन् । मानव जातीले यी माथि उल्लेखित कुराहरूलाई हैसियत अनुसार प्राप्त गरेर म आफु को हुँ भनेर सोच्न र खोज्न थालेको छ भने बल्ल् त्यो मानव चेतनाको हैसियत हुन भनेर भनिएको छ । किन कि मानव जीवनमा मात्र यो कार्य गर्न सम्भव छ भनिएको छ वेदशास्त्रमा ।
अज्ञानताका कारण मानिसले आफ्नो अन्य शरीरलाई चिन्न सकेको हुँदैन र स्थुल शरीरलाई नै आफ्नो एक मात्र शरीर भनेर ठानेको हुन्छ । स्थुल शरीर बुढो भएपछि स्थुल शरीरको मृत्यु या अन्त्य हुन्छ । त्यस लिँग शरीरले अति कठिनाई र कष्टका साथ अन्तिम अवस्थासम्म त्यस स्थुल शरीरको उपयोग गर्दछ र अन्त्यमा वाध्य भएर छुट्दछ । त्यसपछि लिँग शरीरले स्थुल शरीरको उपयोग गर्न सक्दैन । त्यसपछिको एक्लो लिँग शरीरको जीवन अझ बढी कठिन हुन्छ । तिनै चेतना, चाहना, माया, ममता, ईच्छा र थुप्रै कुराहरु आफ्नो हुँदा हुँदै अचानक ती कुराहरु आफ्नो नभएको, उपयोग गर्न नसकेको पाउँछ । त्यस बेलामा के गर्नु पर्छ भन्ने ज्ञान प्राप्त गरेको हुँदैन । कता जाउँ, के गरुँ भन्दै आफन्त कहाँ आउँछ । आफ्ना श्रीमती वा श्रीमान कहाँ गुहार माग्न आउँछ, आफ्ना छोराछोरीहरु कहाँ गुहार माग्न आउँछ । अज्ञानताले नयाँ वातावरण बुझ्न नसक्दा त्रासले भरिएको उसको मानसिकता बच्चाको जस्तो भएको हुन्छ । यसरी स्थुल शरीरको मृत्युको बेला यता आफ्ना परिवारमा रुवाबासी उता मरेको मानिसको रुवाबासी भईरहेको हुन्छ । उसले पटकपटक फर्कने कोसिस गर्दछ । यसरी सुरु भएको उसको कष्ट सँधै रहिरहन्छ । उसलाई याद गर्ने मानिस जीवित रहुन्जेल सम्म या उसको त्यहाँ होस नखुले सम्म यिनै भ्रममा रहन्छ । तर यी सबै घटना र नयाँ अनुभवको अर्थ र तर्क लगाउन सक्दैन । यदि उसले आफ्नो स्थुल शरीर त्यागेको कुरा बुझ्नु, परिस्थिती र सत्यता महसुस गर्न सक्नु नै उसको सबभन्दा ठुलो सफलता हुन्छ । तर त्यो कुरा स्पष्ट रुपमा त्यहाँ आफै बुझ्न सक्दैन ।

मानिस आफ्नो जीवनमा जुन स्तरको अनुभव र चेतनाले भरिएको थियो तिनै स्तरका कार्यहरु मात्र त्यहाँ गर्न सक्दछ । त्यसैले यदि मानिसले आफ्नो जीवन कालमा आत्मा, लिँग शरीर र स्थुल शरीरको ज्ञान जानेर, स्थुल शरीरको त्यागपछि उसँग केवल लिँग शरीर मात्र रहने र त्यहाँ उत्पन्न भएका चाहनाहरु भ्रम मात्र भएको भन्ने कुराको ज्ञान थाहा पाउन सकेको छ भने उसले स्थुल शरीरको मृत्युपछि त्यहाँको नयाँ परिस्थितिमा तुरुन्त पुर्ण होस नखुले पनि ती प्राप्त गरेका ज्ञानहरु उसँग नै रहने र तिनै ज्ञान द्वारा बिस्तारै बिस्तारै तर्क र अर्थ लगाउदै जाँदा होस खुल्दै जान्छ र त्यहाँको कष्टबाट बिस्तारै बिस्तारै मुक्ति पाउन थाल्दछ ।

सबै विद्याको पनि ठुलो विद्या
मानिसले आफ्नो जीवनमा यी तिन शरीरको ज्ञान जानेर जीवनको अन्तिम घडीमा आफ्नो मृत्युको अर्थलाई चिनेर स्थुल शरीरको त्यागपछि हुन सक्ने नयाँ परिस्थिति र लिँग शरीरको कष्टहरुबाट बच्ने उपायको सोच गर्नसक्यो भने उसको त्यहाँ छिटो होस खुल्न सक्दछ । मृत्युको खाडलमा नखसि नहुने भएपछि उल्टो फर्केर खाडलमा खस्नेको भन्दा खाडल तिर हेरेर सक्दा बचावटका उपायहरु अपनाउन सकिने र खाडलमा खसेकाहरुको कम चोटपटक लाग्ने स्वभाविक हुन्छ । त्यसैले मृत्युको बेलामा मृत्युपछि होस खुलोस र लिँग शरीरको वास्तविकताको अनुभव होस भन्ने चाहना राख्नु पर्दछ । मानिसको जीवनमा मृत्यु र मृत्युपछिको जीवनको बारेमा ज्ञान पाउनु र आफ्नो जीवीत जीवनमा यसका बारेमा अलिकति पनि अनुभव गर्न पाउनु भनेको सबै विद्याको पनि ठुलो विद्या हो  भनेर भनिएको छ वेदशास्त्रहरूमा । यस ज्ञानका कुराको अलिक अनुभव गर्न धेरै कोसिस र मनन गरेको हुनुपर्दछ ।

                  मानिसहरुको स्वभावमा साना व्यक्तित्वका देखि ठुला नेता, व्यापारी, वैज्ञानिक, डाक्टर सम्मकाले आफ्नो मृत्युको कुरा गर्न डराएर काम चलाउन चाहन्छन् । तर तिनीहरुले आफ्नो मृत्युको कुरा गर्न डराउँदैमा मृत्यु टर्ने होईन । बरु समयमा नै त्यस भयानक त्रासको विषयमा ज्ञान हुनु फाईदाजनक होला जस्तो लाग्दछ । त्यस अन्जान खाडलमा बुझेर खस्नु नै लाभदायक होला । त्यस अन्जान समुद्रमा पौडी खेलेर उत्रनलाई दश बिस वटा भारी र बाकसका गुन्टाहरु बोकेर पौडन खोज्नेलाई भन्दा लाईफ ज्याकेट लगाएर पौडन खोज्नेलाई पौडन सजिलो होला । जीवनभर समेटेको ती कुनै पनि सामानका पोकाले मृत्युपछिको यात्रा र कष्टमा साथ दिदैन भन्ने कुरा बोध गराउन चाहन्छु । ती समेट्न सकिएका सामानहरु सबै यहीँ छोड्न बाध्य छौँ । केवल आफ्नो जीवनमा दिमागमा समेट्न सकिएका सही ज्ञान र अनुभव मात्र आफुसँग वा त्यस लिँग शरीरसँगै जाने रहेछ र स्थुल शरीर हुँदा खेरी घोक्न सकेको ब्रह्मको ज्ञान मृत्युपछि त्यहाँ लिँग शरीरलाइ काममा आउँने रहेछ । त्यसैले मृत्युका घडीमा ती सबै सम्पत्ति, चाहना, माया, ममताहरु, गहना, घर, घडेरी, भिजिटिङ्ग कार्ड देखि क्रेडिट कार्डहरू यहीँ छोडेर बिदा भएर जान सक्नु पर्दछ । यसको मतलव बिरामी भएर सिकिस्त भएको बेलामा आफ्नो रोग र व्यथासँगको लडाइँलाई बिचैमा छोडेर हस्पिटलबाट घर आएर जग्गाको लालपुर्जा बाड्न लाग्नु पर्छ भनेको होइन । जीवनभर दुःख र सँघर्ष गरेर जम्मा गरिएका सम्पत्ति भए पनि अब छोडेर जानु पर्छ भन्ने भावनाले सोचेर सकेसम्म ती आर्जन गरिएका सम्पत्तिको हेर विचार र उपभोग गर्नेहरुको बेलैमा व्यवस्था मिलाएर जिम्मेवारीबाट उम्कनु पर्दछ भनेको हो । नत्र आफ्नो मृत्युपछि आफ्ना ती बेवारिस सम्पत्तिको बाँडफाँडमा अरुले गरेको तानातानीमा आफु पनि फर्केर आएर ती तानातानीमा सहभागी हुन मन लाग्न सक्दछ, सिकाउन मन लाग्न सक्दछ । अनि के गर्ने ? ती सम्पत्तिको लुछाचुडि गरेकाहरुका अगाडि आएर आफुले पनि नबुझ्ने अरुले पनि नबुझ्ने, नसुन्ने सरसल्लाह दिएर पो के गर्ने । त्यसैले समयमा नै आफ्ना यी सम्पत्ति, चाहना, माया, ममताहरु छोड्न सक्ने भावना जगाउनुनै नै मृत्युपछिको भवसागरमा लाईफ ज्याकेटको रुपमा काम लाग्दछ । नत्र तिनै सामानका पोकाका बोझमा समुन्द्रको पिँधमा पुगेकालाई कसैले बचाउन खोज्दा पनि नसक्ने परिस्थिति आउँछ । यही कुरा विभिन्न धर्म र संस्कृतीहरुमा मानिसलाई बुझाउन खोजिएको छ । सबै सर्वसाधारण, धर्मका जिम्मेवारी बोकेका धर्म गुरुदेखि मन्दिरका पुजारीसम्मका सबैले यो भावना बुझ्न जरुरी छ । यो कुराको चर्चा धर्म र संस्कारहरूमा गरिने चलन छन् । त्यसैले सँसारमा जहाँ पनि, जुनसुकै धर्म वा संस्कारमा यिनै भावनाका कुराहरु जनतामा बोध गराउने उद्देश्य राखेका छन् भने त्यो सही धर्म र सही संस्कार हो नत्र ती धर्म, संस्कार, धर्म संस्कारका गुरूहरू र पुजारीहरू केवल धर्मका नाममा जनतालाई शोषण गर्ने सङ्गठनहरु मात्र हुन् ।

ख. मृत्युपछिको दोश्रो खुटकिला लिँग शरीरको मृत्यु हुनु (पूर्ण मृत्यु)

            मानिसले आफ्नो जीवनमा ज्ञानद्वारा यी लिँग शरीरको आवरणलाई झुटो हो भनेर जानेको छ र त्यस आवरणलार्इ त्याग्नु पर्दछ भनेर जानेको छ भने त्यस आवरणलाई ज्ञानद्वारा नै त्यागेर, ज्ञानद्वारा आत्मा र ब्रह्मको अनुभव प्राप्त हुन सक्छ र त्यस आत्मा र ब्रह्मको बिचको भिन्नताको भ्रम हट्न जान्छ । मानिसले आफ्नो अभ्यासको क्रममा ज्ञानद्वारा लिँग शरीरको आवरणहरू त्यागेको, आफ्नो मनमा इच्छा, चाहनाका चित्रण र अनुभवहरुको सट्टा आत्मा र ब्रह्मको चित्रण र अनुभवहरु आउन थाल्दछन् । त्यस्ता अनुभवका अभ्यासहरु हुन थालेपछि आत्मा र ब्रह्मको अनुभूतिहरु थपिदै जान्छन् । यसरी ज्ञानद्वारा अध्ययन, तर्क, मनन, अर्थहरु लगाउँदै जीवनका रहस्यहरु, मानिसको शरीरको रहस्यहरु र सृष्टिका रहस्यहरु आफुमा खुल्दै गएपछि अविद्याका आवरणहरु अझ झन झन हट्दै जान्छन् । जीवनमा यस्ता अनुभवका अभ्यासहरु भएपछि र स्थुल शरीरको अन्त्यपछिका जीवनका बारेमा जानेको छ र आफ्नो चेतनामा स्पष्ट भएर बसेको छ भने मानिसको स्थुल शरीरको अन्त्यपछि लिँग शरीरको होस छिटो खुल्न जान्छ । मानिसले जीवनमा नै चाहनाहरु त्यागी सकेको छ भने त्यसको मृत्युपछि बाँकी रहेको लिँग शरीरले पनि चाहनाहरु त्यागेको हुन्छ र लिँग शरीरको आवरणहरु बिस्तारै नष्ट हुँदै गइ आत्मा स्वतन्त्र भई ब्रह्ममा मिल्न जान्छ । यसलाई लिँग शरीरको मृत्यु भनिन्छ । यो नै मानिसको सही र साँचो मृत्यु हो । यही लिँग शरीरको मृत्युलाई मुक्ति भन्दछन् । यसैलाई मोक्ष भन्दछन् । त्यसैले मानिसले आफ्नो स्थुल शरीरको मृत्युपछि आफ्नो लिँग शरीरको पनि यही सही र साँचो मृत्युको चाहना हुनुपर्दछ ।
यी ज्ञानहरु र अभ्यासहरु मानिसले आफु जीवित हुँदा नै प्राप्त गर्न जरुरी हुन्छ । यी ज्ञानहरु प्राप्त गर्न, अध्ययन गर्न, अभ्यास गर्न स्थुल शरीरको त्यागपछि सम्भावना हुन सक्दैन् ।
तर परीवारका कुनै नजिकका छोरा, छोरी, नाती नातीनी, ज्वाइ र अन्य आफन्तहरूले यस ब्रह्मज्ञानको अध्ययन गरेर, तर्क, मनन, अर्थ लगाउन सक्ने भएको छ भने उसले पाएको ज्ञानको अनुभव उसको मरिसकेको आफन्तहरु, पितृहरुले पनि प्राप्त गर्नसक्दछ । त्यस ज्ञानको प्रभावले त्यस पितृको भ्रमहरु नष्ट हुन्छन् र आवरणहरु नष्ट हुन जान्छन् । त्यसपछी बिस्तारै बिस्तारै उसको होस खुल्न गई कतिपय भ्रमका कार्य, कष्टबाट बच्न जान्छ र अन्तमा उ पनि ब्रह्मकाद्वारमा पुग्न सक्दछ ।
धर्मशास्त्रहरुमा वर्णन गरिएका विभिन्न विधिहरुमा मृतकका परिवारले ज्ञानद्वारा आत्मा र ब्रह्मको अनुभूति, अनुभव प्राप्त गरोस् भनेर विभिन्न कार्यहरु गरिने चलन छ । त्यसरी मृतकका परिवारले आत्मा र ब्रह्मको ज्ञान अनुभव गर्न सकेमा सँग सँगै आफ्ना पितृको उध्दार हुन्छ भनेर पितृ उध्दार गरोस भनेर विभिन्न धार्मिक प्रचलनहरु गरिने, धामहरुमा जानु भनेको हो । तर ती धार्मिक प्रचलनमा, धामको भ्रमणमा वा अन्य पितृ उध्दार कार्यहरुमा त्यस आफन्त व्यक्तिले ब्रह्मको ज्ञान र अनुभूति प्राप्त गर्न सकेन वा सकेको छैन भने त्यस्ता प्रचलनबाट पितृलाई उध्दार गर्नु तार्नु या मोक्ष दिलाउनुको सट्टा बिउँझाउने काम बढी हुनजान्छ । ती भ्रममा भौतारिरहेका पितृहरुले अझ कष्ट र भ्रम भोगिरहेका हुन्छन् ।  उनिहरुलाई नबोलाइ दिए उनीहरू सुषुप्त अवस्थामा निदाएका हुन्छन् । उनीहरू निदाएको अवस्थामा लिँग शरीरको ज्ञान, ब्रह्मको ज्ञान नभए पनि कष्टबाट बाहिर हुन्छन् । तर तिनीहरूलाई पितृ उध्दार गर्ने भनेर पटकपटक बोलाएर विभिन्न कुराहरु खाने लाउने दिने गर्नाले पितृले पाउदैनन् तर यस्ता कार्यले ती पितृहरूमा भ्रम मात्र थपिरहेको हुन्छ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English