⇐विषय सूचीमा फर्कन

पाठ ३.९

सृष्टिका भौतिक र मानसिक जीवहरु

विज्ञानले दिएको परिभाषा अनुसार कोशहरू भएकाहरूलाई जीव भनिन्छ । कोशहरू नभएकाहरू निर्जीव हुन् । सृष्टिमा परमाणु, अणु, हुँदै मलेकुलहरू बन्दै जाँदा अर्गानिक मलेकुलहरू बन्दै जीवहरू बनेका हुन् । वनस्पति, सुक्ष्म जीवाणुहरू, किराहरू, चराहरू, माछाहरू, जनावरहरू, मानिसहरू जीवहरू हुन् । जीवको वारेमा यही हो वायोलोजी विज्ञानले दिएको छोटो परिचय । तर यी सबै भौतिक तत्वबाट बनेकाहरू जीवहरूको नाम र परिचयहरू हुन् । भौतिक तत्व र भौतिक जीवहरूभन्दा पनि अर्को कुनै चिजहरू हुन्छ भनेर आजसम्मको वायोलोजीले कतै उल्लेख गरेको छैन ।

तर वास्तविकतामा मानव समाजमा नजानि नजानि अस्पष्ट रूपमा भए पनि अन्य अदृश्य जीवहरूको चर्चा उल्लेख भइरहेको थियो । हामीले मान्दै आएका धर्म र संस्कारहरूले वायोलोजीले भनेकोभन्दा अरू पनि जीवहरू छन् भनेर तिनीहरूको आराधना, पूजा गर्न सिकाएको थियो र कुनै कुनै त्यस्ता जीवहरूसँग तर्केर बस्नु पर्दछ भनेर तर्केर बस्ने उपायहरू सिकाएका थिए । पुजारी, लामा, झाँक्री, पादरी, मुल्लाहरू आफ्ना आफ्ना संकारअनुसारका देवी देवताहरूका आफ्ना सँस्कार अनुसार पूजा आराधना गर्न सिकाउने, आफैले गरिदिने र यस्ता कार्य गरिदिए बापद सेवा सुल्क लिनेहरू हुन् । त्यसैले यो चर्चा समाजको लागि कुनै नौलाे होइन । तर अब यस तर्कलाई गहिरिएर हेर्ने, गहिरिएर बुझ्ने र वास्तविकतालाई बुझेर अगाडि बढ्ने बेला आएको छ जस्तो छ ।

वेदशास्त्रहरुमा पनि भौतिक र मानसिक जीवहरूका बारेमा चर्चा गरिएको छ । भौतिक  जीवहरूको बारेमा यहाँ चर्चा गर्नु पर्ने आवश्यकता छैन । तर अदृश्य मानसिक जीवहरूका जीवहरूका बारेमा वेदशास्त्रहरुमा गरिएका चर्चा अति महत्वपूर्ण छन् । यही कुराहरूको यहाँ चर्चा गर्दैछु ।

यो माथि दिइएको चित्र सृष्टिमा उपस्थित सबै, सम्पुर्ण बस्तुहरू, जीव, देख्न सकिने, देख्न नसकिने चिजहरुको एक आपसको सम्बन्ध र स्थान बताउन कोसिस गरेको छु । अगाडिका पाठहरुमा देख्न सकिने जीवहरुका साथ साथै मानिसले देख्न नसक्ने चेतनाका मात्र जीवहरु हुन्छन् भनेर वर्णन गरिएको छ । ती अदृश्य वा देख्न नसकिने जीवहरुका बारेमा विभिन्न धर्मशास्त्रहरुमा आफ्नो आफ्नो तरिका वर्णन गरिएको छ । लेखकको अध्ययन र अनुभव अनुसार ती वर्णनहरु कतिपय सही छन् भने कतिपय वर्णनहरुलाई सही चिजको गलत अर्थ लगाइएको छ । ती वर्णनहरु यति अस्पष्ट छन् कि ती कुराहरु केवल धार्मीक संस्कारका कथाहरु मात्र होलान् जस्तो लाग्दछ । धर्मशास्त्रहरुको एउटै किताबमा वा तिनीहरूका संस्कारहरुमा ती सबै कुरालाई समेट्ने सकेको, बुझाउन सकेको, अर्थ लगाउन सकेको र सही उपाय बताउन सकेको लेखकले पाउन सकेन । तर हरेक धर्म र संस्कारहरुमा केही न केही सत्य कुराहरुका तथ्यहरुको, प्रमाणहरुको र उपायहरुको तर सानो भागको रुपमा उल्लेख थियो । यसरी ती तथ्यहरु भिन्न भिन्न धर्म र संस्कारमा बाँडिएर छरिएका हुनाले मानिसले सही चित्रण बुझ्न पाएका थिएनन् । त्यसैले ती कुराहरु रुढिवादी संस्कारका रुपमा, अपभ्रंश भएर, कहिले आंशिक रुपमा, कहिले सही कहिले गलत अर्थ लगाइएर बाँच्दै आइरहेको रहेछ । लेखक फेरी पनि दोहर्याएर भन्न चाहन्छ कि यी कुराहरु वास्तविक हुन् र वास्तविकतामा छन् । केवल यति मात्र फरक हो कि मैले यी कुराहरुलार्इ अरु मानिसले बुझ्न सक्ने, अरु मानिसमा भाव आउन सक्ने गरेर व्यक्त गर्न सकेँ कि सकिन अथवा पढ्ने पाठकले पनि ध्यान दिएर पढेर भाव बुझ्न सक्यो कि सकेन भन्ने हो । अवस्य यो अति गहन र गहिरो कुरा हो । कुनै पनि मानिसले यो एकै दिनमा या एकचोटी मात्र पढेर बुझ्न सक्दैन । पटकपटक पढेर वषौँसम्म मनन गर्ने पुनः पढ्ने, मनन गर्ने, सम्भव भए लेखक वा अन्य बढी अनुभव भएकाहरुसँग अन्य अनुभवका कुराहरु बुझ्न कोसिस गर्ने गर्नु पर्दछ । यी कुराहरु कुनै धर्म र संस्कारसँग मात्र बाँधिएका छैनन् । यी ती जीवहरु सबैका आफ्नो आफ्नो परिचय, गुण, परिधि, संस्कारहरू छन् जुन कुरा संसारका सबै जाती र धर्मका मानिसका लागि समान हो ।

वेदशास्त्रले दिएको वयान अनुसार जीवहरूलाई यसरी विभाजन गरिएको छ ।
सृष्टिमा भएका जीवका प्रकारहरुः
सृष्टिमा भएका सबै जीवहरुलाई मुख्य रुपमा दुइ भागमा विभाजन गर्न सकिन्छ ।
१. भौतिक शरीरका जीवहरु
२.अदृश्य वा चेतना मात्रका शरीरका जीवहरु

तिनीहरुको विस्तृत परिचय र वर्णन ।

१. भौतिक शरीरका जीवहरुः

सृष्टिमा भौतिक तत्वबाट बनेका चार प्रकारका जीवहरू छन् ।

१. भौतिक तत्वबाट निर्मित जीवहरूः

१. जरायुजः आमाबाट बच्चा जन्माएर सन्तान दिनेहरू  २. अण्डजः अण्डाबाट सन्तान दिनेहरू  ३. स्वदेजः   एक शरीरबाट अर्को शरीर दिनेहरू सुक्ष्म जीवहरू  ४. जङ्गमः बिज र हाँगाहरूबाट सन्तान दिनेहरू वनस्पतिहरू

५. मानसिक जीवहरूः  सृष्टिमा यी चार प्रकारका भौतिक जीवहरू बाहेक पाचौँ प्रकारको मानसिकता मात्र भएको जीवहरू हुन्छन् । यिनीहरू देवता वा श्रृषी बर्गहरू हुन् ।
   निर्जीव र जीवको फरक— आजसम्मका विज्ञानले परिभाषा गर्दै आएको जीव र निर्जीवको परिभाषामा यस पुस्तकको भाव अनुसार अलि भिन्न र फरक अर्थ हुन आएको छ । माथि उल्लेख गरीएको वायोलोजीशास्त्रले दिएको निर्जीव र जीवको फरक  स्वास फेर्ने र स्वास नफेर्नेका आधारमा विभाजन गरीएका हुन् । यस किताबमा दिइएको ज्ञानको वर्णन अलि फरक छन् । यस किताबका अनुसार संसारमा कुनै पनि चिज निर्जीव छैनन् । संसारमा भएका सबै चिजहरु जीवहरु हुन् । सृष्टिमा सुरूमा सृजना भएको महत नै सृष्टिको पहिलो जीव हो । सृष्टिमा भएका अरू जीवहरू त्यही महतबाट विकसित रूप लिन पुगेका  अरू जीवहरू हुन् । जीवहरुको चेतनाको स्तर र क्षमताको आधारमा स्वास फेर्ने जीवहरु, स्वास फेर्ने जीवहरुमा विभाजन भएका छन् । त्यस्तै जीवहरुको चल्न सक्ने क्षमता, आफ्नो ठाउँ छोड्न सक्ने क्षमताका आधारमा चल जीवहरु, अचल जीवहरुमा विभाजन भएका हुन्छन् । हामीले र हाम्रा विज्ञानले निर्जीव भनेर परिभाषा दिइएको चिजहरु पनि चेतना कम भएका सृष्टिका जीवहरु हुन् । तिनीहरु निर्जीव होइनन् । तिनीहरुको पनि उत्पत्ति र अन्त्यको विधि हुन्छन् । जीवका प्रमुख गुणहरु तिनीहरुमा पनि विद्यमान हुन्छन् । उनीहरुको पनि केही चेतना हुन्छ । त्यही चेतना अनुसारका आफ्ना जीवन चलेको हुन्छ र ती निर्जीव भनिएका जीवहरूले अन्य जीवहरुसँगको सम्पर्क र सम्बन्ध राखेका हुन्छन् । उनीहरुको आफ्नो जीवनको गुण हुन्छ र त्यस जीवन अनुसारको काल हुन्छ र अन्त्य वा मृत्यु हुन्छ । यसरी सबै स्थिर जीव वा हामीले भन्ने गरेको निर्जीवहरुको पनि चेतना हुन्छ र आयु काल हुन्छ । जस्तै हावा, पानी, माटो, ढुङ्गाहरुको पनि जीवन हुन्छ, तिनीहरूको आफ्नो स्तर अनुसारको चेतना हुन्छ, तिनीहरूका आफ्नो  त्यही चेतनाका आधारमा गुणहरु बनेका हुन्छन्, त्यही चेतनाका आधारमा एक आपसमा सम्बन्छ हुन्छ र अन्त्यमा कुनै कालमा वा समय आएपछि चाहे हजार बर्ष, लाख बर्ष, करोड बर्षपछि भए पनि तिनीहरुको पनि अन्त्य हुन्छ ।
भौतिक शरीर भएको जीवहरु किराहरु, चराहरु, जनावरहरु र मानिसहरुको वर्णन आधुनिक विज्ञानले गरिसकेको छ । विज्ञानले गरेका ती वर्णनहरु ती जीवहरुका भौतिक शरीरको मात्र वर्णन हो । विज्ञानले गरेका ती वर्णनहरुमा जीवहरुका ती भौतिक शरीरको संचालन र कार्यहरुमा त्यस जीवको लिँग शरीरको के महत्व रहेको हुन्छ भन्ने कुराको थप जानकारी जोड्न जरुरी हुन आएको छ । त्यसरी मानिसको शरीरमा आफ्नो लिँग शरीरको महत्वलाई ध्यानमा राखेर गरिएका कार्य, सुरक्षाका कार्य, समस्याहरुको विश्लेषण र उपचारहरु बढी प्रभावकारी हुनेछन् भन्ने कुरामा लेखक पूर्ण विश्वस्त छ ।
२.अदृश्य वा चेतना मात्रका शरीरका जीवहरु (लिँग शरीरहरू) 
यो अदृश्य वा चेतनामात्रका शरीरका जीवहरुलाई पनि तिनीहरुको गुण र क्षमताका आधारमा विभाजन गर्न सकिन्छ ।
क.—स्थुल शरीर धारणा गरिरहेको लिँग शरीर
ख.—पितृहरु, अन्य होस खुलेका लिँग शरीरहरु
ग.—भुत, प्रेतहरु
घ.—बोक्सी, राक्षसहरु
ङ.—३३ कोटि(करोड) देवी देवताहरु
च.— ब्रह्मज्ञानी देवी देवताहरु
यस किताबमा अदृश्य वा चेतनाका मात्र शरीरहरु भएका जीवहरुको विस्तृत वर्णन र चर्चा गर्नेछौँ ।

अदृश्य चेतनाका शरीरका जीवहरु वा लिँग शरीरहरू
स्थुल शरीर भित्रको लिँग शरीरः   यो मानवको स्थुल शरीर धारणा गरिरहेको चेतनाको शरीर हो । अज्ञानताले यस्ले आफुलाई चिनेको हुँदैन् । आफ्नो स्थुल शरीरलाई नै म भनेको हुन्छ । यो लिँग शरीर स्थुल शरीरको त्यागपछि पितृ अवस्थामा हुन्छ ।
पितृ लिँग शरीरः   यिनीहरु स्थुल शरीर धारण गरेर त्यागि सकेका जीवहरु हुन् । आफन्तहरुको सम्बन्धको आधारमा आफन्तहरु, जस्तै नातावालाहरुले, मामालीका नाताहरुले, ससुरालीका नाताहरुले, चिनजानकाहरुले, गाउलेहरुले पितृ भनेर भन्दछन्, ती सबैले  पितृको सम्बन्ध राखेका हुन्छन् । पितृहरु आफ्नो पहिलाको घर वा आफन्तहरुको घरमा भएको विभिन्न संस्कार र पर्वहरुमा सहभागी हुन आएका हुन्छन् । आफन्त नातावालहरु कहाँ आइ विभिन्न पारिवारिक समस्याहरुमा आफ्नो सल्लाह दिन आएका हुन्छन् । आफन्तहरुले भनेको मानेनन् भनेर रिसाइरहेको हुन्छन । आफन्तसँग आशा गरेका हुन्छन् र मागेर, आफन्तहरूले दिएर, अलिअलि पाएर त्यही अलिअलि भोग गरिरहेका हुन्छन् । तर पितृहरूको र जीवित आफन्तहरूको सम्पर्क र लेनदेन पूर्ण रूपमा भएको हुँदैन । पितृहरूले पनि आशिर्वाद दिने गरेका हुन्छन् । यसरी आफन्तहरूसँग मागेर भोग गर्दा उनीहरुलाई पाप लाग्दैन । यो उनीहरुको अधिकार भित्र पर्दछ । आफुसँग पितृको नाता राख्नेहरुभन्दा बाहिरकाहरुसँग गएर मागेर खोसेर खान थालेमा उनीहरुलाई पाप लाग्दछ ।

मानिसको अन्य अदृश्यसँगको सम्पर्क हुने भनेको नै सबभन्दा पहिला पितृसँग हो । चाहे कुनै जप गरोस, चाहे कुनै पुजा गरोस, चाहे कुनै ध्यान गरोस, जानेर गरोस, नजानेर गरोस उसको सबभन्दा पहिलो भेट पितृसँग भएको हुन्छ । त्यसपछि अन्य अन्जानका लिँग शरीहरुसँग सम्पर्क हुन गएको हुन्छ । त्यस्ता अन्जानका लिँग शरीरहरु थुप्रै हुन्छन् । कसैको अलि होस खुलेको हुन्छ केही कुरा सिकाउन खोज्नेहरु हुन्छन् र सिकाउन आउँदा रहेछन् । कसैको पूर्ण होस खुलेको हुँदैन र भ्रममा बढी हुन्छन् र तिनीहरुको सम्पर्कमा आएको बेलामा उनीहरु केवल आफ्नो स्वार्थको कुरा मात्र गर्ने, अज्ञानका कुरा मात्र गर्ने, रिसाएका कुरा गर्ने, असन्तोषका कुरा मात्र गर्ने गर्दछन् । तर विडम्बनाले त्यस सम्पर्क गर्ने गरेको मानिसहरूलाई यो कुरा थाहा हुँदैन र उनीहरु बषौँसम्म त्यस्तै खालका सम्पर्कहरु गरेर बसिरहेको हुन्छन् । किन कि तिनीहरुले खासकुरा नबुझे पनि केही अदृश्य चिजहरुसँग सम्पर्क भएको अनुभव गरेका हुन्छन् । केही अदृश्य चिजको सम्पर्कको अनुभव गरेको हुनाले यही होला देवी देवता, भगवान भनेको भनेर झन् त्यसै कुराको स्पर्श अनुभव गर्न चाहन्छन्, तिनीहरूसँग के के माग्न चाहन्छन् । विभिन्न धार्मीक आश्रमहरुमा यसै गर्ने गरेका हुन्छन् । ती शिष्यहरुले कहिले कँही केही आनन्दको अनुभवहरू गरेका हुन्छन्, केही सम्पर्कको अनुभव, सरसल्लाहको अनुभव गरेका हुन्छन् । । त्यसैलाई भगवान होला भनेर ठानेका हुन्छन् । यसरी धेरै धर्म र संस्कारहरुमा विभिन्न अर्थ लगाइएको छ । धर्म र संस्कारहरुमा मानिसहरूले गरेका भगवानको वर्णनमा बढी जसो यस्तै अनुभवहरूका अँध्यारोको फल जस्तो हुन्छन् । आँखा चिम्म गरेको बेलामा हरियो उज्यालो देखे पनि भगवान यही होला भन्ने ठानेका हुन्छन् । आँखा चिम्म गरेको बेलामा पाएको हो, तर के के हात पर्यो पर्यो ?  जे होस रमाइलो नै गरेर बसेका हुन्छन् सबै गुरु र चेलाचेलीहरु । त्यसरी धर्म संस्कारमा तिनीहरूका भगवान र मरेका गुरूहरूका नाममा गरिने ध्यानहरु गर्दा गरिएका सुखका, आनन्दका अनुभवका साथ साथै थुप्रै कष्ट दिन सक्ने जीवहरुसँग पनि सम्पर्कमा आएका हुन्छन् । यस्तो गरेर अभ्यास गर्नेहरूलार्इ अवश्य अन्जानमा अनावश्यक लिँग शरीरहरुसँग सम्पर्क (१०० प्रतिशत) भएको हुन्छ । किनकि त्यस बेलामा मानिसले आफ्नो सुरक्षाको कवच तोडिइसकेको हुन्छ । मानिस जानेर वा नजानेर पितृ, देवी देवताहरू जस्लाई पुकार गरे पनि ती पुकार गरिएकाहरू नजिक आउने र सम्पर्क हुन सक्ने सम्भावनाहरू बढ्दछन् । त्यतिखेरबाट त्यो पुकार गर्नेको सुरक्षाको कवच ताेडिएको थियो । त्यसबाट बच्ने उपाय उसलाई कसैले भनिदिएको हुँदैन । ती सबै अदृश्य जीवहरु मध्य पितृ सबभन्दा नजिकमा रहेका हुन्छन । एक पटक त्यस्ता चिजहरुसँग सम्पर्क भएपछि पटकपटक सम्पर्क भइरहेको हुन्छ वा त्यसले छोडेको नै हुँदैन । यो कुरा त्यस ध्यान गर्ने शिष्य वा ध्यान सिकाउने गुरुलाई थाहा नहुन सक्छ । नत्र त्यस्तो खतरनाक चिजको आभास मात्र थाहा भएको भए तिनीहरू अँध्यारोमो झटारोको हानेर बस्दैनथे होलान् र अरुलाइ पनि त्यसै गर्न भनेर प्रेरणा दिन ध्यान केन्द्र खोलेर बस्दैनथे होलान् सायद । ती ध्यान बस्न सिक्न जाने चेलाचेलीहरु र तिनीहरूलाई ध्यान गर्न सिकाउने गुरुहरु सबै हरेक पटकको तिनको ध्यानले हरेक दिनको कम से कम एक पाइलाको दरले अझ अँध्यारोमा डुब्दै गइ रहेका हुन्छन्  ।
त्यसै गरेर हरेक पटकको अन्जानको वा पुर्णज्ञान नभइकन गरिइएका पुजा पाठ, अन्य धार्मिक कर्महरुले पनि मानिसहरू त्यस्ता अदृश्य जीवहरुसँगको सम्पर्कमा आउने सम्भावना भइरहेको हुन्छ । यो चाहे संसारका जुन सुकै धर्म र संस्कारका किन नहोस् । त्यसैले व्यवहारमा हेर्दा हरेक दिन पुजा पाठ गर्ने, ध्यान गर्ने, सँधै जपका माला हातमा लिएर हिड्ने, विभिन्न धार्मीक पहिरन गर्ने, विभिन्न टिका लगाउने, दाह्री पालेर भगवानको नजिक पुगेका, कपाल पालेर भगवानका नजिक पुगेका, टोपी लाएर भगवानका नजिक पुगेका, घाँटीमा रुद्राक्षको माला भिरेर हिड्नेहरु हेर्दा उनीहरु भरसक लुरे हुन्छन् । तिनैलाई सँधेको ऐया र आत्थु हुन्छ, घरमा खान सधैको धौ धौ हुन्छन् । तर केही पनि नजानेका मानिसहरु, भगवानको नाममा केही पनि नगरेका मानिसहरुले हिड्दा छिटो छिटो हिड्ने, जहाँ पनि पुग्ने, जे खाएपनि पचाउने गरेका हुन्छन् र घरमा पनि मिठै खाएर बसेका हुन्छन् । विश्वास नलाए यसो वरपरका धार्मीक मानिसहरुको अनुहार हेर्नु, धेरै टाढा जानु पर्ने छैन जस्तो लाग्दछ ।
अन्य लिँग शरीरहरुः  यी पितृको नातामा नपर्ने अन्य सबै लिँग शरीरहरु हुन् । होस खुलेका, नखुलेकाहरु पर्दछन् । कसैले आशा गरिरहेका हुन्छन् । कोही अरुलाई सहयोग पुर्याई रहेका हुन्छन् । यिनीहरु पनि कसैका पितृहरु हुन् । त्यसैले पितृ र अन्य लिँग शरीरहरु नजिक नजिक हुन्छन् । पितृहरु आफन्तसँग मौका पाउने बित्तिकै सम्पर्कमा आईहाल्छ तर अन्य लिँग शरीरहरु सुरुमा दर्शक मात्र भएका हुन्छन । मानिसहरु पटकपटक पितृको सम्पर्कमा आउने गरेपछि त्यस खुल्न गएको द्वारबाट अन्य लिँग शरीरहरु पनि प्रवेश गर्ने गर्दछन् ।

भाैतिक शरीर लिएर नजन्मेकाहरूः  कतिपय लिँग शरीरहरु मानिस भएर जन्मेका हुँदैनन् तर मानिसको चेतनाको स्तरमा कुरा बुझ्ने, सम्पर्क आउन सक्ने हुन्छन् ।
भुत, प्रेत लिँग शरीरहरूः
भुतः —यिनीहरु होस नखुलेका लिँग शरीरहरु हुन् र धेरै वर्षदेखि दुःखको अनुभव गरिरहेकाहरु हुन्छन् । आफन्तहरुका आशा गरेर भोग गर्न नपाएपछि अरुहरु कहाँ गएर, चोरेर, लुकेर, खोसेर, खाने, भोग गर्ने गर्दछन् । यसरी सयौँ वर्षको दुःखको अनुभवले भुतको गुणमा पुगेका हुन्छन् । सकेसम्म मानिसहरु नभएको, चहलपहल नभएको ठाउँमा बसेका हुन्छन् । भुतहरु आफ्नो निस्चित ठाउँमा बस्दछन् । जङ्गल, एकान्त, खोला, पोखरी, तालहरुमा बसेका हून्छन् । यिनीहरुको चेतनाको स्तर मानिसको चेतना भन्दा अलि टाढा पुगेका हुन्छन् । धरै वर्ष, सयौँ वर्ष, पुगि सकेकाहरु हुन्छन् । यिनीहरुको अन्नमय कोशहरु बिग्रेका हुन्छन् । यिनीहरुको चेतना बिग्रेको र अस्पष्ष्ट हुन्छन् ।
प्रेतः  प्रेत भनेको पनि पितृ नै हो । पितृहरुले आफन्तबाट आदर र मान पाएका हुन्छन् । पितृहरू  भुत र  प्रेतहरूभन्दा अलि शान्त हुन्छन् । प्रेतहरु आदर र मान नपाएका, असन्टुष्ट हुन्छन् । आफ्ना जीवन कालमा उत्पन्न भएका इच्छाहरु पुरा नभएको तर त्यसको प्राप्तिको एकदम चाहना भएकाहरु वा अचानक दुर्घटना भई मृत्यु हुन पुगेकाहरु अझ बढी भ्रममा रहने सम्भावना हुन्छ र तिनीहरु नै प्रेतका प्रकृतिका हुन्छन् । अचानक आफैले महसुस गर्न नपाइ मरेकाहरु, विभिन्न दुर्घटनामा परेर मरेकाहरु, घरभन्दा टाढा भएको बेलामा मरेकाहरु मध्य कोही कोही बढी भ्रमित भइरहेका हुन्छन् । तिनीहरु जाग्रतमा आउने बित्तिकै काम, रोजगार, लेन देनको मात्रै कुरा गर्न थाल्दछन् र धेरै दिनसम्म भ्रममा पर्दछन् । प्रेत अज्ञानताले आफ्नाहरुले गरेको आदरमान पनि बुझ्न नसक्ने भएको हुन्छ । आफ्ना जीवन कालमा अनादर महसुस गरेर मन दुःखाएर घर छोडेर गएरपछि अन्तै कतै नै मरेर आफन्तहरुले थाहा समेत नपाएकाहरु अथवा मन दुःखाएर आत्माहत्या गरेकाहरु आफ्ना स्थुल शरीरको त्यागपछि पनि त्यस्तै होस नखुलेको अवस्थामा हुने र आफन्तहरुसँग त्यसरी नै मन दुःखाइ रहेका हुन्छन् । तिनीहरुको मन एकदम दुःखेको भएर उनीहरु सुषुप्त अवस्थामा आउन सक्दैनन् । आए पनि छोटो समयलाई मात्र आउँछन् । आफ्ना अन्य पितृहरुसँग पनि सम्बन्ध राख्न चाहँदैनन् । धेरै वर्ष बित्दै जाँदा दुःखाइहरु कम हुँदै भुल्दै जान्छ र अलि बढी समय सुषुप्तमा रहन्छन् । तर जाग्रत अवस्थामा आउने बित्तिकै उनीहरुलाई त्यही याद आइरहेको हुन्छ र त्यस्तो अन्धकारमा डुबेका हुन्छन् । यिनीहरु भुतहरुभन्दा मानिसको चेतनासँग अलिक नजिक हुन्छन् । त्यसैले यिनीहरु मानिसहरुको वरपर, होहल्ला तिर वास्ता गरिरहेका हुन्छन् । सम्पर्कमा आउने बित्तिकै दुःख कष्ट पुर्याएका हुन्छन् । यो उनीहरुको स्वभाव हो । मानिसहरुसँगको सम्पर्कद्वारा आफ्नो जाग्रत अवस्थालाई लम्ब्याएर त्यही आनन्द लिन्छन् ।

बोक्सी, राक्षस लिँग शरीरहरु
बोक्सीः बोक्सीहरु मानिसको शरीर कहिले पनि धारण नगरेका लिँग शरीरहरु हुन् । तर चेतनाको स्तरले मानिसको विचारको, मानिसको रहन सहनको नजिकको हुन्छन् । मानिसले गर्ने गरेको सबै व्यवहार यिनीहरुलाई थाहा हुन्छ । भुत प्रेतकोभन्दा बढी होस खुलेको हुन्छन्, चलाख हुन्छन्, झुटोकुरा गर्न जानेका हुन्छन्, ढाँट्न जानेका हुन्छन्, झगडाको वातावरण मन पराउँछन् । सधैँ दुष्ट स्वभावका हुन्छन् । स्वभावले आइमाईको स्वभावका हुन्छन् । पुरुष वा स्त्री दुवै लिँङ्गमा प्रवेश गरी भोग र शोषण गर्न सक्दछन् । आफ्नो स्वभाव स्त्रीको जस्तो भएको भएर बढी जसो स्त्रीहरुको शरीरमा प्रवेश गर्ने गर्दछन् । अरुको शरीरमा प्रवेश गरेर अरु जीवित मान्छेको नक्कल गरेर त्यस मान्छेको रुपको स्वरुप, नाम, बोलीबचन, बानी ब्यहोरा धारणा गरेर झुक्याएर बस्दछन् । परजीवी (parasite) ले जस्तो व्यवहार गरेका हुन्छन् मानिसको शरीरमा प्रवेश गरेर बसेका हुन्छन् ।
राक्षसः  राक्षसहरु सृष्टिका क्रममा अदृश्य जीवको सृजना हुँदै विकसित हुने क्रममा पुरा होस् नखुलेका तर विकसित आवरणहरु भएकाहरु हुन् । विकासका सबै गुणहरु हुँदा हुँदै सँधै गलत तर्कको मात्र साथ लिन्छन् । उनीहरु पनि मानव शरीर कहिल्यै धारणा गरेका हुँदैनन् । अरु शरीरको शोषण गरेरखाने बानी हुन्छ । यिनिहरु अति बलिया हुन्छन् । तर निष्कृय भएर बसेका हुन्छन् । यिनिहरुको चेतनाको स्तर मानिसकोभन्दा धेरै टाढा हुन्छ । त्यसैले मानिसहरुको सम्पर्कमा आउँदैनन् । हजारौँ, दशौँ हजार बर्षमा मात्रै तिनीहरु जाग्रत भएका भनेर वेदशास्त्रहरूमा लेखिएको छ । उनीहरुसँगको प्रतिकार गर्न मानिसलाई कठिन वा असम्भव हुन सक्दछ । तिनीहरुको नाम कोट्याइ राख्नु हुँदैन । पाठकहरुलाई पनि यस नामहरु पटकपटक नलिन सल्लाह र अनुरोध गर्न चाहन्छु । यस चिजको खतराको महसुस मलाई भइसकेको छ । त्यसैले अब यस पुस्तकमा यसको नाम पुनः लिइने छैन ।

३३ कोटि देवी देवताहरुः
३३ कोटि भनेको शब्दको अर्थ ३३ करोड हो । यो ३३ कोटि किन भयो, ३२ या ३४ कोटि किन भएन भनेर सोध्यो भने मलाई थाहा छैन । हिन्दु धर्मका वेदशास्त्रहरूमा ३३ कोटि देवताहरूको नाम र वर्णन भएको भएर मैले पनि यही नाम राखेको हुँ । यी देवी देवताहरु छन् भन्ने आजकाे आधुनिक समाजको प्रमुख महत्वको कुरा हुन् । यिनीहरु थुप्रै र अति धेरै करोडौँ छन् । सबै होस खुलेका लिँग शरीरहरु, श्रृषीहरु, गुरुहरु, देवी देवताहरु यस बर्गमा पर्दछन् । विभिन्न मठ मन्दिरहरु, चौतारा, थान आदिमा गरिएका पुजाहरु गरिन्छ भने यिनै देवी देवताका पुजा गरिएको हो । मन्दिरमा मुर्ति राखेर जुनसुकै देवताको पुजा गर्दा यिनै देवी देवता सरहको पुजा हुन्छ । संसारमा विभिन्न देश, संस्कारहरुमा कसैलाई सम्झे र पूजा आराधना गरिन्छ भने यिनै देवी देवताको पुजा भएको हुन्छ । यी ३३ कोटि देवी देवताहरुमा ब्रह्मको ज्ञान हुँदैन । ब्रह्मको ज्ञान नबुझिकन यदि कुनै भक्तहरुले ब्रह्मज्ञानी देवी देवताहरुका मन्दिरमा गएर पूजा गरेका छन भने पनि उनीहरुले त्यही ३३ कोटि देवी देवताका पूजा सरहको फल प्राप्त गर्दछन् । यिनीहरु मानिससँग सम्पर्कमा रहेर, लेन देन गरेर, मानिसलाई सहयोग पुर्याएर, सम्बन्धमा रहेका हुन्छन् । मानिसहरु उनीहरुको आराधना गरेर, सम्पर्कमा आएको, विभिन्न प्राप्तिहरु गरेको अनुभव र महसुस गरेका हुन्छन् ।
ब्रह्मज्ञानी देवी देवताहरुः
यो ब्रह्मज्ञानी देवी देवता भनेको सृष्टिमा चेतना शरीरमा पैदा भइ आफ्नो ब्रह्मको निर्गुण स्वरुप पहिचान गर्न सकेका देवी देवताहरु हुन् । त्यसैले यिनीहरुलाई ब्रह्मको सगुन रुप पनि भनिन्छ । यी भगवान शिव, विष्णु, ब्रह्मा, दुर्गा, सरस्वती, लक्ष्मी, गणेश, हनुमान, सिता, राम,राधा कृष्ण, नारद ऋषिहरु हुन् । साथै ब्रह्मज्ञान प्राप्त भएका अन्य ऋषि, ज्ञानीहरु उनीहरुका साथमा हुन्छन् । कुनै पनि भक्तले आफुले जुन स्तरको ज्ञान सँगालेको हुन्छ त्यहि स्तरको मात्र उसले फल पाएको हुन्छ । कुनै भक्तले भगवान शिवको वास्तविक ज्ञान विना अलि अलि मात्र ज्ञानको आधारमा गरिएका शिवको ध्यान र पुजाले शिवको पूर्ण परिचय र त्यसको पूर्ण फल प्राप्त गर्न सक्दैन । जुन भक्तले ब्रह्मको ज्ञान र अनुभूति अनुभव गरिसकेको हुन्छ उनीहरुले ब्रह्मज्ञानी देवी देवता पाउन तिनीहरुको मन्दिर जानु, धाउनु पर्दैन । ती भक्तहरुका लागि सबै ठाउँमा ती देवी देवताहरु हुन्छन् ।
मानिसहरुले जुनसुकै धार्मिक कार्य गर्दा पनि, देवी देवताका पुजाहरु, आराधना, जप ध्यानहरु गर्दा पहिला यी पितृ, बोक्सीहरुको सम्पर्कमा आएका हुन्छन् र ती पितृ, बोक्सी, भुत, प्रेतहरुका लाइन काटेर मात्र अन्य देवीदेवताहरु कहाँ जानु पर्ने वा पुग्न सकिन्छ । जुनसुकै धार्मिक कार्य गर्दा पनि, देवी देवताका पुजाहरु, आराधना, जप ध्यानहरु गर्दा आवश्यक ज्ञानको अभावमा यिनै पितृ, बोक्सी, भुत, प्रेतहरुका लाइन काटेर जाने देवी देवता कहाँ पुग्ने र त्यहाँबाट सकुसल फिर्ता भइ आफ्नो घर व्यवहारमा आउने विधिको अभावमा मानिस पुग्नु पर्ने ठाउँमा नपुगि तिनै लाइन नकाटि त्यहीँ बाटोमा अड्केर यिनै पितृ, बोक्सी, भुत, प्रेतहरुका सँगमा फँसेका, बसेका हुन्छन् र विभिन्न कष्टहरु भोगिरहेका हुन्छन् ।
वास्तवमा देदशास्त्रहरूमा मानसिक जीवहरूका माथि उल्लेखित अदृश्य शरीरहरुका गरिएका बर्गिकरण भित्र अझ बढी नामहरु छन् । वेदशास्त्रहरूमा तिनीहरूका अझै बढी चर्चा र बर्गिकरणहरू छन् । तर मैले यहाँ सबै उल्लेख गराएर भारि बढाउन चाहिन र समावेश गरिन । ती माथि विभाजन गरिएर वर्णन गरिएका बर्गका नामहरुका गुण र कार्यको सिमाना एकदम आफ्नो आफ्नो ठाउँमा सिमित र निश्चित छन् । तिनीहरूले आफ्नो आफ्नो निश्चित नाम र गुण अनुसार नै मानिसहरूसँग सम्पर्क र सम्बन्ध गरिरहेका हुन्छन् । हुन त ती सबै मानसिक जीवहरू भएको भएर केही गुँण र क्षमता उस्तै उस्तै हुन्छन् भने केही गुँणहरू अति भिन्न हुन्छन् । तिनीहरूको सोचाइ, चाहना, बुध्दि र क्षमताहरू आफ्नो जात अनुसारको भिन्न भिन्न हुन्छन् ।

यी माथि उल्लेख भएका लिँग शरीरको वर्णन कुनै एक धर्मसँग सम्बन्धित हैनन्, छैनन् । मानिसको पुराना पुर्वाग्रहका विचार नै अगाडि आउने गरेर ती माथि दिइएका विचारलाई धर्म र संस्कारसँग सम्बन्धित लाग्न सक्दछ । लेखक आफै कुनै धर्म र संस्कारसँगको परिधिमा छैन र यो कुनै निश्चित धर्म र संस्कारको प्रचारको दृष्टिकोणले भनिएको होइन । ती माथि वर्णन गरिएका नामहरु संसारका सबै धर्मावलम्विहरुका लागि उपलब्ध हुन सक्ने नामहरु हुन् । आवश्यक परे लेखक यस कुराको प्रमाण पेश गर्न सक्षम छ । ती देवी देवताहरु पनि हामी मानिसले मान्दै आए जस्तो गरेर धर्म, संस्कारका र जातका परिधि भित्र छैनन् । जति बढी चेतना भएको अदृश्य शरीरहरु हुन्छन् त्यति उनीहरु धर्म र संकारका परिधि भित्र हुँदैनन् । गुहार दिनेले पनि धर्म र संस्कृति हेर्दैनन् । आवश्यक परिस्थितिमा आवश्यक गुहार सबैलाई पुर्याएका हुन्छन् भने दुःख कष्ट दिन जानेकाहरुले पनि कुन धर्म र संस्कारको हो भनेर सोध्ने चलन हुँदैन रहेछ । ती दुःख दिनेहरुको एक मात्र नियम छ जस्को घरमा ढोका खुल्ला छोडेको छ त्यहीँ छिर्ने हो । देवी देवताहरुको पनि एउटै नियम छ जो सही विचारको छ र सही कामको लागि गुहार माग्छ र निर्दोष छ उसैलाई सहयोग पुर्याउँदा रहेछन् । जात, संस्कार र धर्म त्यहाँ मन्दिरमा, चर्चमा बस्ने पाले र पुजारीलाई मात्र मतलव छ अरु त्यहाँ भित्र बसेका देवी देवता र भुत प्रेतहरुलाई छैन । यी कुरा कुनै गफ र तर्क छाट्न भनेका कुरा होईनन् । मलाई परिक्षण नभएका तर्क र गफ लगाउन पटक्कै फुर्सद छैन । यी सबै माथिका कुराहरु मैले आफ्ना अनुभवका व्यथाहरु पोखेको हुँ । तर यो कुरामा कसैलाई विश्वास लाग्न केही अध्ययन, खोजी, समय समयका अनुभवहरु र विश्लेषणहरु गर्ने गरेको हुनु पर्दछ । यो कुरा कुनै टाढाको फल आँखा तरि मर भनेर भन्नु पर्ने नभएर हाम्रो वरपर घटिरहेको घटनाहरू हो । हरेक इच्छुकले बुझ्न चाहेमा हरेकको घर छेउको ठेस लाग्ने ढुङ्गा हो ।  हरेक मानिस, हरेक जात र धर्म संस्कारमा यो चर्चा र घटनाहरू हुने गरेको छ । विज्ञानका र चिकित्साशास्त्रका जिम्मेवारी लिएकाहरूलाई जनताको यस दुःखको समस्यालाई गहिरिएर सुनेर अर्थ तर्क लगाउन मन नभएको, फुर्सद नभएको या क्षमता नभएकाे भएर आजसम्म यो कुराहरू जनताका बिचमा मात्र रूढिवादी बिचार भएर रहेको थियो ।

मानिसहरुको सम्पर्कमा सबभन्दा बढी आउनेहरु पितृहरु हुन् । त्यसपछि बोक्सीहरु हुन् । यिनीहरुको चेतना र मानसिकता मानिससँग सबभन्दा नजिकको हुन्छ । त्यसपछि प्रेतहरु हुन् । यिनीहरुको धेरै होस खुलेको हुँदैन र धेरै लुकेर बस्ने शोषण भोग गर्न सक्दैनन् । यस भन्दा अन्य बर्गका लिँग शरीरहरुको मानसिकता मानिसको भन्दा अलि भिन्न र पर हुन्छ र मानिसको सम्पर्कमा आएका हुँदैनन् । मानिसहरू नै अन्जानको कारण तिनीहरुको सम्पर्कमा पुगेको हुन्छन् ।  देवी देवताहरु चेतनाका स्तरको आधारमा धेरै थरिका हुन्छन् त्यसैले ३३ कोटि छन् भनिएको छ । कुनै कुनै देवी देवताहरुको चेतना मानिसको भन्दा धेरै विकसित हुन्छ । कुनै कुनै दिवी देवताहरूको चेतना मानिसको भन्दा कम स्तरको हुन्छ । तिनीहरुको चेतनाका स्तरको आधारमा तिनीहरु फरक हुन्छन् र फरक व्यवहार हुन्छ । देवताहरुको जति कम विकसित चेतना हुन्छ त्यति बढी मानिसको सम्पर्कमा आएका हुन्छन् । जति बढी विकसित चेतना हुन्छ त्यति मानिसको सम्पर्क भन्दा पर हुन्छन् । ठुला देवी देवताहरु आफै मानिसको सम्पर्कमा आएका हुँदैनन् । उनीहरुसँगको सम्पर्कको चाहनाहरुको कारणमात्र सम्पर्कहरु भएका हुन्छन् ।
माथि उल्लेख गरिएको चित्रमा पृथ्वीको सतह देखाइएको छ र केही जीवहरु त्यस सतहभन्दा तल देखाइएको छ भने केहीलाई माथि देखाइएको छ । ती जीवहरु त्यसरी नै तिनै ठाउँहरुमा बस्दछन् या रहन्छन् । लिँग शरीरको बाहिरी आवरण अन्नमय कोशमा रहेको छाप र वजनको अनुसार लिँग शरीरले वजन अनुभव गरेको हुन्छ र त्यसै अनुसारको चेतनाको स्तर भएको हुन्छ । लिँग शरीरको अन्नमय कोश गह्रुँगो हुनेहरु पृथ्वी सतहभन्दा तल पुगेका हुन्छन् । लिँग शरीरको अन्नमय कोश हलुङ्गो हुनेहरु पृथ्वी सतहभन्दा माथि पुगेका हुन्छन् । त्यसै चेतनाका अनुसार सुर र असुर भनेर वेदशास्त्रहरूमा विभाजन गरिएको छ । असुरहरु पृथ्वी सतहभन्दा तल पुगेकाहरु हुन् भने सुरहरु पृथ्वी सतहभन्दा माथि पुगेका हुन्छन् ।
माथि उल्लेख गरिएका विभिन्न जीवहरु मध्य मानिसले सबभन्दा बढी पितृ, प्रेत र भुतको सम्बन्धमा महत्वपूर्ण रुपमा बुझ्नु पर्ने हो । हुन त अरु जीवहरु पनि महत्वपूर्ण छैनन् भन्न खोजेको होइन तर यी पितृ, प्रेत र भुत भनेको मानिसको मृत्युपछिका अवस्था हुन् । त्यसैले अब हरेक मानिसले सावधान हुनुपर्ने र केही अति आवस्यक कुरा जान्नै पर्ने लागेको छ । नत्र कतिपय मानिसको आफ्नो मृत्युपछि त्यस्ता भय,  त्रासको, अज्ञान अन्धकारको जीवन लिएर अझ बाच्न बाध्य हुँदा रहेछन् । केवल सत्य कुरा, सही तर्क र अर्थको ज्ञान हुन गएमा मात्र मानिस त्यस्ता परिस्थितीमा आउनबाट बच्न सक्नेछन् । आधुनिक विज्ञानले, चिकित्साशास्त्रले मानिसको मृत्युपछि सबै अस्तित्व सिद्धिन्छ भनेर भनेको हो । त्यसै भइदिएको भए बरु सजिलो हुने थियो होला । तर त्यसो होइन रहेछ । मानिसको अस्तित्व मृत्युपछि पनि सिद्धिएको रहेनछ । मानिसले मृत्युपछि आफुले व्यवहारमा ल्याएको सबै चिजहरुलाई आफ्नो ठान्दै आएको हुँदो रहेछ र आफ्नो मृत शरीरलाई कुरेर बसेको हुँदो रहेछ । मानिसको शरीर कुहेर जाँदा पनि ती कुहिन समय लाग्ने हाडहरु खप्परहरु छउन्जेल ती मृतहरुले ती बाँकी हाडहरुमा आफ्नो महसुस गर्दा रहेछन् । त्यसैले मानिसहरुले मानिसको हाडहरु देख्दा, खप्परहरु देख्दा त्रास महसुस हुने गरेका रहेछन् । मसानघाटमा, चिहानहरुमा, गिर्जाघरहरुमा मानिसहरुले केही त्रास महसुस गर्ने गरेका हुन्छन् । तर त्यो त्रास त्यस्ता मानिसमा बढी अनुभव हुन सक्दछ जुन मानिसहरु अल्पज्ञानका साथ विभिन्न धार्मीक प्रचलनहरु गर्ने, देवीदेवता वा भुत प्रेतहरुका चर्चा गर्ने गरेका हुन्छन् । अन्य साधारण मानिसहरुमा ती त्रासहरुले कम प्रभाव पारेका हुन्छन् । मानौ कि जो मानिसले कुनै दिन देवी देवताका कुरा गर्ने, पितृ भुत प्रेतको कुरा गर्ने गरेका थिए तिनीहरूलाई नै ती अन्य लिँग शरीरहरुले छुन सकेका हुन्छन् ।
स्पष्ट रुपमा अर्थ नलागेको र उपाय स्पष्ट थाहा नभको भए पनि आदी कालदेखि मानिसहरु मृत्युपछि पनि सम्पर्कमा आएको महसुस गरेका रहेछन् । विभिन्न संस्कारहरुमा त्यसको विभिन्न कारण दिन खोजेका रहेछन् र उपाय दिन खोजेका रहेछन् । त्यसै उद्देश्यले विभिन्न धार्मीक बिचार र संस्कारहरु बन्न पुगेछन् । ती संस्कारहरु एक आसपमा यति भिन्न भिन्न थिए कि एक संस्कारका मानिसले अर्को संस्कार अपनाउन नसक्ने मात्र नभएर ती भिन्न संस्कारहरू एक आपसमा काहाली लाग्दो भिन्नता थियो त्यसैले तिनै संस्कारहरुलाई लिएर एक आपसमा विभिन्न बहसहरु हुने, झगडाहरु हुने, लडाइहरु हुने गरेको थियो इतिहाँसमा । तर लेखकलाई आफ्नो जीवनमा उपलब्ध भएका विभिन्न धर्म संस्कारका ज्ञानलाई र विधिहरुलांई विश्लेषण र मुल्याङ्कन गर्दा र आफुले प्राप्त गर्न सकेको अध्ययन र अनुभवलाई जोडेर निचोड निकाल्दा के थाहा हुन आयो भने ती सबै जसो धर्ममा गरिदै आएका संस्कारहरुमा एउटै कुराहरु गरिरहेको थिए । त्यो कुरा थियो कि मानिस मृत्युपछि पनि उ आफ्नो घर, काम, परिवार, गाउँमा, नातेदार कहाँ फर्कआएको छ । यस कुराको महसुस मानिसहरुले गरिराखेका रहेछन् । ती मृतकहरुले सबभन्दा पहिला आफ्नो शरीरलाई खोजिरहेका छन् । त्यसैले विभिन्न धर्ममा मानिसको मृत शरीरलाई आफ्नो तरिकाले विसर्जन गर्ने चलन छ । मुसलमानहरुले लासलाई आफ्नो मस्जितमा लगेर केही क्षण राखेरपछि त्यसलाई चिहानमा लगेर गाड्दछ र त्यहा चिहानको नजिकमा केही दिन आफ्नो धार्मिक संस्कार अनुसारको नमाज पढ्ने गर्दछन् । त्यसरी त्यस मृतकलाई आफ्नो मृत्युको बोध गराएर उसलार्इ शान्त हुन आब्हान गरिरहेका हुन्छन् । भरसक त्यस चिहानको नजिकतिर कोही जाँदैनन् । हुन त आजकल सबै चिहानहरुका वरपर मानिसको बस्ति भएको भएर त्यस कुराको अर्थ लाग्दैन । तर कुनै दिन सुरुमा चिहान बनाउदा कोही मानिसहरु भरसक कम जाने स्थान पारेर ठाउँ चयन गरिएको हुनु पर्दछ । त्यस चिहानको मुख खुल्ला राखिएको हुन्छ । हुन सक्दछ कुनै समयका मानिसहरुले आभास पाएर त्यस मृतकहरुलाई निस्कन सजिलो हाेस भन्ने उपाय सोचेका थिए कि । यो भनाइ कुनै टिका टिप्पणी, आदर अनादरको दृष्टिकोणले भनिएको होइन । मानिसको जीवनको अति महत्वपूर्ण क्षणको रहस्य मानिसले बुझ्न सकोस भनेर सबै त्रासलाई पर सारेर लेखकले यी विषयहरुलाई गहिरिएर नियालेको हो । भनाइ र व्यक्त गराइमा कतिपय बिचारहरु त्रुटि र गल्तीहरू भए होलान्, यो लेखकको अन्जानको कारण हो । तर लेखकले यी कुराहरु कुनै धर्म संस्कारको कुराभन्दा त्यस संस्कारका महत्वको कुरालार्इ समात्न खोजेको हो । त्यसै गरी आफ्नो भिन्न खालको संस्कार कृश्चियन धर्ममा प्रचलित छ । उनीहरु लासलाई खाडलमा गाड्दै पादरीले मन्त्रद्वारा मृतकलार्इ शान्त हुन आब्हान गरिरहेका हुन्छन् । त्यस पछि आफन्तहरु जम्मा भएर विभिन्न खालका खानेकुराहरु तयार गरी मृतकलाई सम्झदै मृतकका बितेका दिनहरुका राम्रा राम्रा कुराहरु याद गराउदै मृतकको प्रशंसा गर्दै खानेकुराहरु खान्छन् । गिर्जाघरमा लास गाडेको ठाउँमा मृतकको सालिक बनाएर सजाएर राख्दछन् । केही सुगन्धित फुलका बिरुवाहरु लगाएर सजाएका हुन्छन् । बर्ष भरि विभिन्न दिनहरु पारेर वा मृतकको मृत्युको दिन पारेर त्यस सालिकको आडमा गएर बस्ने, कुराकानी गर्नेे, फुल चढाउने, कसैले केही खानेकुराहरु लगेर राखिदिने गर्दछन् । धर्ममा विश्वास गर्ने मानिस होस या नगर्ने मानिस होस यी संस्कारहरु प्रायः सबैले पालन गर्ने चलन हुन्छ । त्यसरी मृतकलाई भेट्न जाने प्रचलन भएका दिनहरुमा मृतकका आफन्तहरु जस्तै आफ्नो लोग्नेलाई, आफ्नो स्वास्नीलाई, छोरा छोरीहरुलाई सपनामा आएर मृतकले केही सम्पर्कका कुराहरु गर्ने, सरसल्लाहका कुराहरु गर्ने गरेको अनुभवहरु बोकेका हुन्छन् सर्वसाधारण मानिसहरुले । बौद्ध धर्ममा हरेक देशहरुमा विभिन्न प्रचलनहरु भए पनि पुर्नजन्म र मृतकसँग सम्पर्कमा आउन खोज्ने खालका प्रचलनहरु बढी हुन्छन् । तिब्बतीहरुको धर्म गुरु दलाइलामाको चयन पहिलाको दलाइलामाको नयाँ पुर्नजन्मको आधारमा चयन गरिन्छ । नेपालमा लामा धर्म संस्कृति र संस्कारमा मृतकलार्इ बोलाएर उसका इच्छाहरु सोधेर पुरा गर्ने चलन हुन्छ । हिन्दु धर्म संस्कारमा मृतकको लासलार्इ मृत्युपछि तुरुन्त घरबाट बाहिर निकाल्ने, त्यसै दिनभित्र नै ठुलाठुला नदिका किनारमा लगेर जलाएर नाम निसाना मेटिने गरी खरानी बनाइ नदीको पानीमा बगाइदिने चलन छ । मृतकका नजिकका परिवार स्वास्नी, छोरा छोरीलाई कसैले नछुने, उनीहरु पनि घरबाट बाहिर कुनै असजिलो ठाउँमा केही दिनसम्म बार बारेर बिना कुनै सुविधाका पराल ओच्छ्याएर, बिना सिलाएको चोखो साधारण कपडाले बेरेर लगाउछन्, पछि त्यो कपडा पनि नदीमा बगाइ दिन्छन् । ती मृतकका आफन्तहरुले १३ दिनसम्म कृया बस्दा खाना नुन नहालेको खाने, अति नमिठो खाना जुन खाना मानिसहरुले साधारण दिनहरुमा खाँदैनन् त्यस्ता खानाहरु पकाएर खाने गर्दछन् । त्यो खाना पनि घरमा आफ्नो भान्छामा नपकाएर बाहिर खेत तिर खोलाको किनार तिर गएर नुहाइ धुवाइ गरी पकाएर खाने चलन हुन्छ । ब्राह्मणले विभिन्न पाठहरु पढेर मृतकलाई मृत्युको बोध गराउने र मृत्युपछिको गमनको बारेमा सिकाउने चलन हुन्छ । हिन्दु संस्कारका गरुड पुराण त्यही उद्देश्यले पढिन्छ ।
लेखकले यी विभिन्न धर्म संस्कारका कुराहरु उल्लेख गरेर कुन धर्म र संस्कार राम्रो भन्न खोजेको होइन । यी सबै धर्म संस्कारहरुमा गरिएका प्रचलनहरुले भिन्न भिन्न तरिकाले तर एउटै कुरा गरिरहेका थिए । त्यो एउटा कुरा हो मृत्युपछि मानिस आफन्तकहाँ फर्कन्छन् भनेर । तर आफ्नो आफ्नो धर्म अनुसार विभिन्न तर्क र उपाय निकालेका छन् । कसैले लासलाई जलाएर नाम निसाना मेटाएका छन् र मृतकलाई सम्पर्कमा आउन नदिन विभिन्न उपायहरु अपनाएका छन् । कसैले मृतकसँग सम्पर्कमा आएर मृतकका कुराहरु सुनेर तिनका अपुरा कुराहरु पुर्ति गर्न कोसिस गरेका छन् । को कतिक सफल भए यो लेखकको उद्देश्य होइन । लेखकको उद्देश्य हो मृतक आफन्त कहाँ फर्केको छ भन्नेकुराको चर्चा कहाँ कहाँ भएको छ कुन कुन धर्म संस्कारमा भएको भनेर खोजी गरेको हो । संसारभर नै जहाँ जत्ति टाढाका मानिस भए पनि विभिन्न तरिकाले एउटै कुरा गरिरहेको थिए । यदि मरिसकेको मानिस पुःन सम्पर्कमा आएको हो भने त्यो मृतक पुनः फर्कन कसरी सम्भव भयो ? मानिस मर्यो भनेर कसैलाई गाडेर आएका हुन्, कसैलाई जलाएर आएका हुन् । विज्ञान र डाक्टरले मरेर गएपछि अब सबै सिद्धियो भनेको चिज कसरी फिर्ता आयो त ? विभिन्न घटना र अनुभवहरुले मृतक फिर्ता आउछ भन्ने कुरा लेखक विश्वस्त भयो तर यो को हो त ? भन्ने प्रश्न लेखकमा जाग्यो र वैज्ञानिक विश्लेषण गर्न थाल्यो । कुनै धर्म, संस्कार र वेदशास्त्रका कुरामा मात्र लेखक विश्वस्त हुन तयार थिएन र चारै तिर यिनै कुराहरुका बारेमा सुराक खोज्ने गर्दथ्यो लेखक । यसै सन्दर्भमा लेखक पटकपटक मृत्यु भइसकेकाहरुसँग जानेर नजानेर सम्पर्कमा आउनु पर्यो । विभिन्न भय, त्रास, कष्टहरु झेल्नु पर्यो । ती अदृश्य भनिएका जीवहरु, मृत भनिएका जीवहरुलाई पनि मानिसले देख्न सक्ने, स्पर्श गर्न सक्ने हुँदोरहेछ । लेखक अन्जानमा नै तिनीहरुलाई देख्न सक्ने, स्पर्श गर्न सक्ने, तिनीहरुको प्रहार अनुभव गर्न सक्ने भइसकेको थियो ।

यी सबै परिस्थितिमा अब लेखकको लागि दुइटा समस्याको समाधान खोज्नु थियो ।

१. पहिलो ती मैले देख्ने गरेका मृतकहरु को हुन्, किन र कसरी मृत्युपछि पुनः सम्पर्कमा आए ? तिनीहरुले सम्केपर्कमा आएर के गर्न, के भन्न खोजेका छन् ।

२. दोश्रो ममा अचानक ती चिजहरुलार्इ देख्न सक्ने, छुन सक्ने, स्पर्श गर्न सक्ने क्षमता कताबाट आयो ?           यो के भएको हो ? यस्को वैज्ञानिक र चिकित्साशास्त्रको कारण के हो ?

लेखक आफैले चिकित्साशास्त्रको गहिरिएर अध्ययन गरेको त्यसैमा पनि Anatomy , Physiology  लाई अति महत्व दिएर गहिरिएर अध्ययन गरेको थिएँ । ती अध्ययनमा कता केही छुट्यो कि त ? कतै विज्ञानले केही छुटायो कि त ? भनेर गहिरिएर अध्ययन गरेको थिए भने मलाई नै अचानक चिकित्साशास्त्रको अध्ययनले कतै उल्लेख नगरेका, कतै नपढेको मानिसको क्षमताका लक्षणहरु आउन थाले । मेरो देख्न सक्ने क्षमता, सुन्न सक्ने क्षमता, स्पर्श गर्ने क्षमता अर्कै भइसकेको थियो । मैले ती लिँग शरीहरुलाई देख्न, सुन्न, स्पर्श गर्न थालेको थिएँ । चिकित्साशास्त्रमा त्यस्ता लक्षणहरुलाई सानोसानो रुपमा कोट्याइएको छ तर तिनीहरूलाई साइकियाट्रिक्स विषयमामा लगेर राखिएको छ । मसँग उत्पन्न भएका लक्षणहरुलाई साइकियाट्रिक्सले मानसिक रोगको संज्ञा दिने वा अलि जनताको भाषामा भन्ने हो भने पागलपन भन्ने गरेको छ । तर म आफै डाक्टर हुँ । पागलको अन्य लक्षणहरु पनि हुन्छन् । पागलका अन्य लक्षणहरु म मा थिएनन् । म आफै डाक्टर नभएर त्यस्तो अवस्थामा अरु साइकियाट्रिक्स डाक्टर कहाँ गुहार माग्न गएको भए मलाई पक्कै पनि निदाउने औषधीका ट्याब्लेट र सुइ दिन्थे होलान् । तर सँजोगले हामी दुबै लोग्ने स्वास्नी आफै डाक्टर भएको भएर आफुलाई लागेका शङ्काहरु आफु जत्तिकै चिकित्साशास्त्रको ज्ञान भएको साथीसँग सरसल्लाह, विश्लेषण गर्न पाउने भएको भएर हामीमा उत्पन्न भएका लक्षणहरु पागलका लक्षणहरु थिएनन् भनेर विश्वस्त थियौँ । मेरो लक्षणहरुको बारेमा मेरी श्रीमतीलाई बताउने बित्तिकै ती लक्षणहरु उनीमा सर्दथ्यो केही बेरको लागि । उनीमा त्यो लक्षण आएको बेलामा म मा त्यो लक्षण हराउथ्यो केही सेकेण्डमा नै । तर हामी एकदम सावधान भएको भएर सानो सानो लक्षणहरुलाई पनि केलाएर विश्लेषण गर्ने गर्दथ्यौँ । त्यसैले अरु डाक्टर कहाँ गुहार माग्नु परेन ।

त्यसभन्दा अगाडि मैले मेरो जीवनमा धेरै अनुभव बोकेको थिएँ । एकान्तमा बस्ने, रातमा बाहिर बाहिर जान नडराउने, विभिन्न डाँडाहरूमा जाने,  अग्ला पर्बतहरूमा जाने, जङ्गलहरूमा जाने, हिउँले ढाकिएको हिमालमा पुगेको छु, उकालो ओरालो, खोलानालाहरू यी सबै पार गरिसकेको थिएँ । विभिन्न परिस्थितिमा लडभिड झगडाहरुको परिस्थितहरु भोगेको थिएँ । जीवनमा मलाई आफ्नो मृत्युको नजिक पुगेको आभास धेरै पटक भइसकेको थियो । सानोसानो सँजोगबाट म त्यस्ता मृत्युबाट बच्न पाएको थिएँ । म आफुलाई निडर बनाउन चाहन्थेँ र जीवनमा थुप्रै अप्ठ्यारा परिस्थितिहरूको सामना गर्न मन लाग्थ्यो । तर आफुले सोचेको र वास्तविक परिस्थिति फरक हुने रहेछ र म पटक पटक मर्त्युको नजिक पुगर फर्कन्थेँ । मलाइ मृत्युबाट एक सेकेण्डले बचाउथ्यो । म आफुलाई निडर बनाउन चाहन्थेँ तर मुर्ख बन्न खोजेको होइन भनेर सँधै सोच बिचार गरेर तयार हुन्थेँ । तिनै मेरा सावधानी र शान्तपनले मलाई बचाउथ्यो । ती सोचेर सावधान भएर गरिएका निडर कार्यमा पनि त्यहाँ परिस्थिति अर्कै हुन्थ्यो । म भिरबाट खसेर मर्न सक्दथेँ, कर्णाली नदीको किनार हुँदै लामो धेरै दिनको सफर गर्ने बेलामा त्यहाँ नदी खसेर मर्न सक्ने सम्भावना आएका थिए । त्यहाँ कर्णाली नदीको किनार किनार हिड्नु पर्दा अग्लो पहाडको टुपपाबाट गुड्केर आएको ढुङ्गाले लागेर मर्न सक्दथेँ । तर हरेक पटक सँजोगले मात्र बच्दथेँ । त्यसैले ममा मृत्युको त्रास पटक्कै थिएन । म भित्र एउटा भयानक निडरपन आएर बसेको थियो । मलाई कुनै अवस्था आइपरे आफ्नो सुरक्षाको लागि मानिसलाई मार्न परे कुनै डर थिएन । म आफुलाई त्यस कुराको लागि मानसिक र शारीरिक रुपमा पनि तयार पारेको थिए । आफ्नो सुरक्षा म जसरी पनि गर्न सक्ने छु जहाँ जस्तो अवस्थामा पनि भन्ने लाग्दथ्यो ।

तर मेरो लिँग शरीरहरूसँगको सम्पर्क हुँदा विभिन्न अचम्मका अनुभवहरू हुन थाले । मलाई अचानक आफ्नै घरमा ट्वाइलेट जान डर लाग्न थाल्यो, राती उढ्न डर लाग्न थाल्यो । त्यो पनि सँधै होइन कहिले कहिले मात्र । त्यस डराएको बेलामा अन्य विभिन्न स्पर्शहरु हुन्थे, आवाजहरु कतैकतैबाट आउथे । मैले बुझेँ कि त्यो त्रास मेरो आफ्नो होइन । यो त्रास ममा बाहिर अन्तै कताबाट आइरहेको छ । त्यो त्रासहरु भुत प्रेतका थिए भनेर थाहा हुन थाल्यो जसलाई मैले घरीघरी देख्दथेँ । तिनीहरूसँग मेरो घरिघरि जम्का भेट भए जस्तो हुन्थ्यो । तिनीहरूले मलाई पिटेको दुखाइ धेरै दिनसम्म दुख्दथ्यो । तिनीहरूले मेरो शरीरमा कोतारेको ठाउँबाट साँचैकै रगत बग्दथ्यो । तिनीहरूले पछाडिबाट मेरो चप्पलमा टेकेर मलाई धकाल्दा मेरो लगाइ रहेको चप्पल चुडिएको थियो । तिनीहरूले मलाई लडाएको मैले देख्दा म साच्चैकै आफै लडेको हुन्थेँ । त्यस्तो हुँदा डराएर सातो पुत्लो उड्नु स्वभाविकै थियो । मेरो पनि सातो पुत्लो उडेर जीउ फुलेर चल्न नसक्ने हुन्थ्यो । तर म एक मिनेटमा नै शान्त भएर तिनीहरुलाई धन्यवाद दिन्थे र भन्दथेँ । तिमीहरुले जत्ति नजिकबाट प्रहार गर्छौ त्यत्ति म तिमीहरुको बारेमा चिन्न र बुझ्न सफल हुने छु र एकदिन तिमीहरुको भण्डाफोर गरिदिने छु र त्यसदिन सबै मानिसले यो कुरा बुझ्नेछन् । मानिसले नबुझेको भएर आजसम्म गरिखाएका रहेछौ, मानिसलाई शोषण गरिराखेको रहेछौ । अब कुनैदिन तिम्रो भागा भाग पारिदिन्छु भनेर औँला ठड्याएर गाली गर्दथेँ । त्यसरी म तिनीहरुसँगको लडाइमा फँसेको थिए हरेक क्षण जस्तै तिनीहरूको सम्पर्क र तिनीहरूबाट प्राप्ट कष्टको प्रभावमा थिएँ । सायद म एक्लै भएको भए म सफल हुन सक्दिनथेँ कि जस्तो लाग्दछ । तर मेरी श्रीमती अति निडर थिइन । यस्ता कुराहरु थाहा पाएपछि पनि नडराइकन मलाई सहयोग गर्न र तिनीहरूको मुकाबिला गर्न अगाडि सरिन् । यो कुरा सुन्ने बित्तिकै रोइकराइ माइत गएर बस्छु भनेकि भए मेरो लाग्दथ्यो होला र ? तर उनीले मसँगै बसेर मेरो सक्दो हेरचाह गरिन् । आवश्यक साधनहरु जुटाइन् । मेरो त्यस्तो कष्टको अवस्था आएको देखेर रसियाबाट फर्केर नेपाल गएर बसौँ त्यहाँ हारगुहार गर्ने मान्छेहरु, आफन्तहरु धेरै छन् भनेर सल्लाह दिइन् । मलाई यो सल्लाह उपयुक्त लागेन । यो गर्नु भनेको लडाइको मैदान छोडेर भाग्नु भनेको जस्तो लाग्यो । मलाई भएका यी प्रहारहरुले मलाई कष्टका हुनुका साथ साथ शिक्षा दिइरहेको थियो । मैले श्रीमतीलाई भने कि म मेरो अध्ययन पुरा नगरी घर फर्कन्न बरु मर्न परे म मर्न तयार छु । यतिखेर म तिनीहरुको अति नजिक पुगेको छु । यस अध्ययनको यस बेलामा आफ्नो बासस्थान परिवर्तन गरेर अन्य नयाँ मान्छेहरुसँग सम्पर्क गरेर मलाई बिचलित नगरिदेउ । मलाई यहीँ मस्कोमा बसेर यस अध्ययन पुरा गर्न देउ र यसैको लागि सक्दो वातावरण मिलाइदेउ भनेर बिन्ती गरेर भने र उनीको चित्त बुझाएँ । त्यस बेलामा हामी रसिया देशको मस्को शहरमा बसोबास गर्थ्यौँ । त्यो अवस्था लेखकका लागि साँचैकै अकाल मृत्युको सम्भावनाले चारै तिर घेरेको अवस्था थियो । लेखकको गहिरिएर हेर्ने क्षमता, निडरपन र अन्य थुप्रै सहयोगका कारण त्यस भुमरीबाट उम्कन सफल भयौँ । अलि विस्तृत वर्णन पछिका पाठहरुमा गरिएको छ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English