⇐विषय सूचीमा फर्कन

पाठ ३.४

आत्मा वा जीवको उत्पत्ति

ब्रह्मको व्यक्त र अव्यक्त अवस्था हुन्छ । ब्रह्म सुरूमा अव्यक्त अवस्थामा हुन्छ । ब्रह्मको आफ्नो स्वभाव अनुसार ब्रह्मको कुनै एक ठाउँमा अचानक चञ्चलता आउँछ र त्यो सिमित ठाउँको टुक्रा व्यक्त हुन्छ । त्यस टुक्रा ठाउँको वरपर तरङ्ग जस्तो पैदा हुन्छ । त्यस तरङ्गले ब्रह्मलाई त्यस तरङ्ग भन्दा भित्रको भाग र त्यस तरङ्ग भन्दा बाहिरको भागमा विभाजन भए जस्तो गरेर अलग गरिदिन्छ । त्यो अलग अवस्था तबसम्म रहन्छ जबसम्म त्यस वरपरका तरङ्गहरु रहिरहन्छन् । त्यसैले त्यो अलग अवस्था क्षणिक मात्र हो । यही अवस्थालाई ब्रह्मको व्यक्त अवस्था भनिन्छ । जस्तै कुनै पानीको शान्त पोखरीमा सानो ढुङ्गा फ्याक्दा त्यस पोखरीमा त्यस ढुङ्गा फ्याकेको वरपर तरङ्गहरु पैदा हुन्छन् । त्यस तरङ्गहरुले त्यस पोखरीको पानीलार्इ तरङ्ग भित्रको पानी र तरङ्ग बाहिरको पानीमा छुट्याई दिन्छ । यसरी पोखरीमा उत्पन्न भएको तरङ्ग भित्रको पानी र तरङ्ग बाहिरको पानीको अवस्था केही समयको लागि मात्र हो । पोखरीमा यस्तो अवस्था तबसम्म रहन्छ जबसम्म त्यस पोखरीमा ती तरङ्गहरु रहिरहन्छन् ।

त्यसैगरी ब्रह्ममा पैदा भएको तरङ्गले बनेको आवरणले ब्रह्मलाई त्यस तरङ्ग भन्दा भित्रको सानो भाग र त्यस तरङ्ग भन्दा बाहिरको ठुलो भागमा  विभाजन गरिदिन्छ । ब्रह्ममा पैदा भएको तरङ्गको आवरणलाई प्रकृती भनिन्छ । त्यस तरङ्गको आवरण भित्रको भागलाई आत्मा वा पुरूष  भनिन्छ । त्यस ब्रह्ममा पैदा भएको प्रकृती र आत्माको सम्युक्त रूपलाई महत भनिन्छ । यसलाई  आत्मा शरीर पनि भनिन्छ । यो नै सृष्टिको पहिलो जीव हो ।

 

चित्र ५ ब्रह्मका व्यक्त र अव्यक्त अवस्थाहरू

 आत्मा र परमात्मा

               जुन ब्रह्मको सानो भाग व्यक्त भएर बसेको थियो । त्यो तरङ्गको आवरणले मात्र फरक र भिन्न भएको थियो । त्यस तरङ्गको आवरण भन्दा बाहिरको भागलाई ब्रह्म वा परमात्मा भन्दछन् । त्यस तरङ्ग वा आवरणको भित्रको भागलाई आत्मा भन्दछन् । त्यस भिन्न भएको टुक्राको बाहिरको आवरणलाई प्रकृती वा प्रधान भन्दछन् ।

यसरी आत्मा चञ्चलताको तरङ्गबाट बनेको आवरणबाट मात्रै अलग भएको हुन्छ तर वास्तवमा ती दुबै भाग ब्रह्म र आत्मा एउटै हुन् । त्यसैले त्यस भिन्न भन्ने झुटो समझलाई अविद्या वा अहँकार भनिएको छ ।

                 यसरी ब्रह्ममा उत्पन्न भएको व्यक्त अवस्थाको बाहिरको आवरण प्रकृती र त्यस प्रकृती भित्रको आत्मा दुवैलाई मिलाएर बनेको सम्मिश्रणलाई महत वा महान् भन्दछन् । महान् भनेको आफुलाई बुद्धिमान, ठुलो भनेको हो । त्यसैले यसलाई अहँकार भनिएको हो । ब्रह्ममा व्यक्त अवस्थामा उत्पन्न भएको यो महत वा महान् नै सृष्टिको प्रथम जीव हो ।
त्यस महतका विभिन्न गुणहरु हुन्छन् । ब्रह्मको सानो भाग भएको भएर यसमा ब्रह्मका प्रमुख गुणहरु शान्त, आनन्द, स्वप्रकास र चेतना त्यस महतमा हुन्छन्  तर सानो मात्रामा मात्र ।  ब्रह्मका यी प्रमुख गुणहरू बाहेक यसमा केही थप गुणहरु पैदा हुन्छन् । उसले आफुलाई ब्रह्मको सानो भाग हो भनेर चिन्दैन । यो उसको भ्रम हो । उसले आफुलाई अलग ठान्दछ । उसले आफुलाई म भन्ने ठान्दछ । उसले आफ्नो आवरण प्रकृतीलाई मात्र देख्दछ र आफु भित्रको आत्मालाई देख्दैन, चिन्दैन र वेवास्ता गर्दछ । उ त्यस महतको बाहिरी आवरण प्रकृती प्रति  दङ्ग पर्दछ र मोहित हुन्छ, जस्तैः म गोलो छु, चेप्टो छु, कालो छु,  गोह्रो छु, राम्रो छु वा नराम्रो छु भनेर ठान्दछ । त्यस्तैगरी नजिकमा भएका अन्य जीव वा महतको पनि प्रकृतीलाई मात्र देख्दछ, त्यस भित्रको आत्मा वा पुरूषलाई देख्दैन ।

महतको यो गुण अति महत्वपूर्ण छ । यही गुण नै जीवको लागि कहिले गुण भएर फाइदा दिएको हुन्छ भने कहिले अवगुण भएर वास्तविकता भन्दा टाढाबाट हेर्ने, सोच्ने, कार्य गर्न लगाउँछ । यही गुण र अवगुणलाई साथमा लिएर जीव र सृष्टि अगाडि बढेको हुन्छ । सृष्टिको पहिलो जीव, महतको यही स्वभाव र गुण हरेक अचल जीवहरु, चल जीवहरु, चराचुरुङ्गी, जनावर र मानिसमा हुन्छ । त्यसैले सामान्य मानिसले अन्य सबै जीवलार्इ वा मानिसलाई त्यसको प्रकृतिको रुपमा मात्रै देख्ने, हेर्ने गर्दछ । त्यस प्रकृती भित्रको पुरुष वा चेतनालाई हेर्ने स्वभाव हुँदैन र वेवास्ता गर्ने स्वभाव हुन्छ ।
त्यसैले साधारण मानिसहरुको दृष्टिकोणमा अरू मानिसहरूलाई राम्रो वा नराम्रो रुपमा देख्ने, बच्चा, तरुणा, तरुणी, बुढा, बुढी, आमा, बुवा, छोरा, छोरी, श्रीमान, श्रीमती, केटा, केटी, धनी, गरिबको रुपमा देख्दछन् । तर यो रूपहरू त्यस जीवको प्रकृतीको रूप हो । त्यही प्रकृतीको आधारमा एक आपसलाई उपभोग गरिरहेका हुन्छन् । मानिस र मानिसको सम्बन्ध समेत त्यही प्रकृतीको अनुसारको भोगको उद्देश्यले बनेको हुन्छ । त्यस जीव र मानिसको सम्बन्धमा जीवको बाहिरी आवरण प्रकृतीको साथसाथै त्यस भित्रको आत्मा वा चेतनाको गुण र महत्वलाई पनि बुझेर एक आपसको आपसिक सम्बन्ध राख्न सक्ने व्यक्तिहरु ज्ञानी व्यक्ति मानिन्छन् । मानिस बाहेक यस सृष्टिका अन्य जीवहरुमा यो महत्व बुझ्ने र फरक छुट्याउने सम्भावना र क्षमता हुँदैन । प्रायः साधारण ज्ञान, विचार, अभ्यास भएका मानिसहरुमा पनि यो कुरा बुझ्न सक्ने क्षमता हुँदैन र उनीहरु केवल त्यस जीवको बाहिरी आबरण प्रकृतीको गुणअनुसारको महत्वलाई प्रमुख ठानेर व्यबहार गरिरहेको हुन्छन् । तर हरेक मानिसले सही अध्ययन, सही सँगत, सही सँस्कार र निरन्तर अभ्यास गरेमा सृष्टिको जीवको भित्री भाग आत्मा वा पुरुषको गुण र महत्व बुझ्न सक्ने क्षमता प्राप्त गर्न सक्दछन् । यही क्षमता प्राप्त गर्न सक्ने इच्छा र उद्देश्य सबै मानिसले राख्नु पर्दछ ।
त्यसरी नै अन्य सबै जीवहरु पनि अर्को जीवलाइ प्रकृतीको मात्र महत्व दिइ उपयोग गर्दछन् । बनस्पतिहरुलाई किराहरुले खान्छन् । किराहरुलाई अलि ठुला किराले खान्छन् । ती अलि ठुला किराहरुलाई चरा चुरुङ्गिहरुले खान्छन् । बनस्पतिहरुलाई जनावरहरुले खान्छन् । साना जनावरहरुलाई ठुला जनावरहरुले खान्छन् । त्यसरी सबै जीवहरुको वा मानिसहरुको जीवको प्रकृती प्रति मोहित हुने गुणका कारण नै जीवहरुको र मानिसहरुको विकास भइरहेको हुन्छ । एक जीवले अर्को जीवको उपभोग गरिरहेको हुन्छ वा त्यस उपभोगको चाहना बोकेको हुन्छ । त्यस उपभोगको लागि आवश्यक कार्य गर्दछ । जनावरहरु चउरमा चर्न जान्छन् । चराहरु रुख बिरुवामा बसेर किराहरु खोजीरहेका हुन्छन् । बाघ वा अन्य शिकारी जनावरहरु मिहिनेत गरेर लडेर अरु जनावरहरूलार्इ मारेर खान्छन् र त्यस शिकारको लागी चाहिने आवस्यक शिप र अनुभव लिएर बसेका हुन्छन् । त्यस कार्यको लागि भनेर आफ्ना नयाँ सन्तानहरुलार्इ आवस्यक शिपहरु सिकाइ रहेका हुन्छन् । मानिसहरुपनि जीवको प्रकृती गुण प्रति मोहित भएका हुन्छन् । त्यस कार्यको लागि आवश्यक तयारी गर्दछ । मिठो खाने, प्रशस्त खाने, राम्रो कपडा, गहना लगाउने, घर, गाडी, यात्रा, आराम, अन्य सुविधाको उपभोग गर्दछ या उपभोगको चाहना राख्दछ । त्यसैको कारण विभिन्न कामहरु, खेती, उद्योग, कारखाना, घर, बाटो, गाउँ, शहरहरु बनेका हुन्छन् । मानिसको जीवको प्रकृती प्रति मात्र मोहित हुने र त्यस जीवको भित्रको चेतना गुणलाई वेवास्ता गर्ने गुणका कारण सृष्टिमा मानिसको यति धेर विकास भएको हो । यदि मानिस जीवको प्रकृती प्रति मोहित नभएर जीवको चेतना प्रति मात्रै मोहित भएर प्रकृतीको वेवास्ता गर्ने गरेको भए के हुन्थ्यो होला ? हाम्रा पुर्खाहरुले चेतना सित मात्रै मोहित भएर त्यस चेतनासँग मात्र सम्पर्क राख्दै आनन्दित भएर शरीर नाङ्गै राख्न थालेका भए आजको विकासको कल्पना पनि गर्न सकिदैनथ्यो । त्यसैले मानिसले जीवको प्रकृती प्रति मोहित हुने गुण मानिसको भौतिक विकासको लागी फाइदा जनक ठहरिन्छ ।
तर त्यसरी मानिसको प्रकृती प्रति मात्र मोहित हुने गुण नै मानिसको लागी अवगुणको रुपमा पनि आएको हुन्छ । मानिस प्रकृती प्रमुख हुँदै जाँदा जीवको महत्व र सृष्टिको महत्वको वास्तविकता भन्दा टाढा पुग्दछन्, जीवको भित्रको आत्मा वा चेतनाको महत्व बुझ्ने मौका गुमाउछ र सँधै गलत तर्क र भ्रममा रहेको हुन्छन् । जस्तै हरेक मानिसको शरीरको रचना केही केही साधारण भिन्नता बाहेक प्रायः उस्तै उस्तै हुन्छ । तर मानिसमा भएको चेतनाको स्तरको अनुसार त्यस मानिसको गुणमा र क्षमतामा फरक आइरहेको हुन्छ । उहि मानिस केही दिनको अध्ययन, प्रशिक्षणले, कहिले कहीँ केही घण्टाको अध्ययन र प्रशिक्षणले उसको चेतनाको स्तरमा ठुलो परिवर्तन आएको हुन्छ र त्यस मानिसको क्षमतामा ठुलो परिवर्तन आएको हुन्छ । तर उसको शरीरको प्रकृतीको दृष्टिकोणले कुनै फरक परेको हुँदैन वा बाहिरबाट हेर्दा उसको चेतनामा आएको फरक देखिदैन । कहिले काहीँ शारिरीक रुपमा कमजोर देखिनेहरुको मानसिक क्षमता बढी शक्तिसाली हुन्छ । कमजोर देखिने, सानो शरीर, नराम्रो बाहिरी रुप भएकाहरुले आफु भन्दा बढी शक्तिशाली, बढी राम्रो, आफु भन्दा ठुलालार्इ काम लगाइ रहेको हुन्छ वा नियन्त्रणमा लिएको हुन्छन् । यी क्षमताहरु मानिसको प्रकृतीको गुणभन्दा चेतनाका गुण बढी विकसित भएको प्रमाण हो । कहिले राम्रा कपडा लगाएर मानिसको भिड एकत्र गरेर भाषण गर्ने नेताजी वा राम्रा कपडा लगाएर अरुलार्इ मोहित गर्दै धेरै बेर विभिन्न टेलिभिजन, रेडीयोबाट बोल्नु हुने नेता अभिनेताहरुको भन्दा कहिले कहीँ नराम्रा भेषभुषा गरेका, फाटेका जुत्ता चप्पल लगाएका साधारण शिक्षक वा कोही बृद्ध, कहिले कोही अपाङ्गहरुले बढी स्तरको कुरा र सल्लाह दिन सक्दछन् । कहिले काहीँ शारीरिक रुपमा क्षिण देखिने कुनै बृद्ध ज्ञानीवानको क्षणिक सँगत र सुझावले मानिसको जीवनमा ठुलो परिवर्तन आएको हुन सक्दछन् र मानिसले सधैँको लागि नयाँ बाटो पाएको हुन्छन् । यी सबै चेतना प्रमुख गुणहरु हुन् ।

यसरी मानिसको जीवको भित्रको चेतनाको महत्वलाई नदेख्ने अवगुणका कारणले गर्दा मानिसको जीवनको लागि आवश्यक सही सुझावहरु पाउने अवसरबाट वञ्चित हुन पुग्दछौँ ।

मानिसले अन्य मानिसको प्रकृती साथ साथै चेतनाको स्तर अनुसारको परिचय र गुणहरूको महत्व दिन जान्न थाल्यो भने बल्ल् उ त्यस जीवको भित्ररहेको आत्मा शरीरको महत्वलाई बुझ्न बाटो खुल्ने छ र कुनै दिन सफल हुनेछ ।
हिन्दु संस्कृतीका शास्त्रहरुमा विभिन्न सन्दर्भमा सुर र असुर, वेसुर भन्ने हुन्छन् भनेर चर्चा गरिएको छ । तिनीहरुको एक आपसको भिन्नता तिनीहरुको आफु भित्रको आत्मा, चेतना, ब्रह्मको ज्ञान भएको वा नभएको आधारमा गरिएका हुन् । आफु भित्रको आत्मालाई पुर्ण रुपमा चिनेकाहरुलाई वेदशास्त्रहरूमा सुरहरु भनिएको छ । आत्मालाई नचिनी प्रकृतीको मात्र चाहनालाई प्रमुख ठानेकाहरुलाई असुर भनिएको छ । आत्मा र प्रकृती दुबैको वेवास्ता गर्ने गरेकाहरुलाई वेसुर भनिएको छ । हरेक मानिसहरु पनि आफ्नो ज्ञानको स्तर अनुसार सुर, असुर वा वेसुर अवस्थामा रहेका हुन्छन् । तिनीहरुमा आवश्यक ज्ञान प्राप्त हुन सकेमा हरेक मानिसले आफ्नो अवस्था सुधार्न सक्नेछन् भनेर शास्त्रमा उल्लेख छन् । ज्ञान प्राप्त भन्दैमा किताब पढेका वा धार्मीक शास्त्रहरु पढेकाहरु भन्न खोजिएको होइन । ब्रह्मको ज्ञान भएका र ब्रह्मको आभास भएकाहरु ज्ञानी हुन् र सुरहरु हुन् । यदि कसैले शास्त्र पढेर त्यसको भाव बुझेको छैनन् भने चाहे तिनीहरु पण्डित, पुजारी, गुरु, जोगी, सन्त, भक्त जो भए पनी उनीहरु असुर वा वेसुर अवस्थामा रहेका हुन सक्दछन् ।
ब्रह्मको विषयमा चर्चा हुँदा धर्मशास्त्रहरुमा पूर्ण ज्ञान नभएर केही साधारण मात्र ज्ञान भएको व्यक्तिहरु यस ब्रह्म भन्ने शब्दसँग झुक्किन सक्दछन् र अरु नै अर्थ लगाइ रहेको हुन सक्दछन् । त्यसैले यी शब्दहरुको अर्थ दिन चाहन्छु ।
ब्रह्माण्ड— संसारमा भएका सबै चीजहरु, ढुङ्गा, माटो, जीवजन्तु, मानिस, आकाश, पृथ्वी, चन्द्रमा, ग्रहहरु, सुर्य, ताराहरु, तारापुञ्जहरु पर्दछन् ।
ब्रह्मा— हिन्दु वेदशास्त्रमा उल्लेखित सृष्टिकर्ता, चारमुख भएको भगवानको नाम ।
ब्रह्म—सृष्टिको सुरुको अवस्था, अव्यक्त अवस्था, सबभन्दा सुक्ष्म तर सर्वत्र ।
ब्रह्मको यस्तो नबुझिने परिचय र त्यसैमा पनि झन नबुझिने ब्रह्मका गुणहरु, त्यसैमा पनि ब्रह्मका ती गुणहरु हाम्रो दैनिक जीवनमा आज पनि त्यतिकै महत्वपूर्ण रुपमा रहेको छ भन्ने कुरा बुझ्न यतिकै सजिलो बिषय होइन । यो बुझ्न सजिलो हुन्छ भनेर कहीँ भनिएको पनि छैन । धेरै अध्ययन, अभ्यास, मननपछि बल्ल खुल्न आउने चिज हो । त्यसैले कसैले यो कुरा पढेर पनि नबुझ्नु स्वभाविक हो । यदि कसैलाइ यी विषय महत्वपूर्ण लागेनन् भने उसको यस पढाइमा गहिराइ पुगेनछ वा उसको मानसिक अवस्था यस्ता गहन विषयका चर्चा गर्न अझै सक्षम भएको रहेनछ भनेर आफैले जान्नु पर्दछ अरु कसैले आएर भन्नु नपरोस । त्यसैले यी विषयका बारेमा विभिन्न चर्चाहरु समाजमा भइराखेका हुन्छन् तर गहिराइमा पुग्न सबै सक्षम भएका हुँदैनन् । यो बुझ्न कठिन कुरा हो तर यो कुरा बुझेपछि अरु बुझ्न बाँकी रहदैन भनेर वेदशास्त्रहरूमा भनिएको छ । यो कुरा ठुला ठुला त्रिशुल बोकेर हिड्ने गुरु महाराज, ठुला लामा टिका लगाउने भक्त, सँधै मन्दिरमा पुजा गर्ने पुजारीहरुले पनि सबैले स्पष्टसँग नबुझेको हुन सक्दछन् । तिनीहरूले यदि यो कुरा बुझेका भए सानो सानो धर्म र संस्कारका कुरामा पाखुरा मिचेर झगडा गर्न किन अगाडि सर्दछन् त ? यो कुरा बुझेकालाई त कसैसँग पाखुरा मिच्नु पर्ने कुरै छैन, तँ ठुलो कि म ठूलो भन्नु पनि छैन, तेरो धर्म ठुलो कि मेरो धर्म ठुलो भन्नु पनि छैन । किनकि ब्रह्मको कुरा कुनै धर्मसँग सम्बन्धित नै छैन । धर्म र संस्कारहरु ब्रह्मको ज्ञानभन्दा धेरै तल रहेका हुन्छन् । जुन सुकै धर्म, संस्कार, देश भाषाहरुमा यहि ब्रह्मको बारेमा वा सृष्टिको बारेमा चर्चा गरिएको छ भने पनि त्यो ब्रह्मको ज्ञान र चर्चा त्यस धर्म वा संस्कारको व्यक्तिगत सम्पती हुन सक्दैन । ती चर्चा गर्न खोजिएका कुराहरु सबै मानव जातीका लागि भन्न खोजीएको हुनु पर्दछ । त्यसैले यो ब्रह्मको ज्ञानको कुरा जुन सुकै धर्म वा संस्कारहरुमा उल्लेख गरिएका पँक्तिहरुबाट विश्लेषण गरिएका भएपनि यो विषय धर्मभन्दा बाहिरको विषय हो । सिधा कुरा गर्नु पर्दा ब्रह्मको चर्चा विस्तृतरूपमा हिन्दु धर्म संस्कारमा र हिन्दु धर्मका वेदशास्त्रहरूमा बढी गरिएको छ तर यो हिन्दु धर्मालम्बीहरूको व्यक्तिगत सम्पत्ति होइन । यो सृष्टिको मुल मन्त्र हो र मानव जातीको लागि सबभन्दा महत्वपुर्ण औषधी अमृत हो । यो ब्रह्मको ज्ञानको कुरा सम्पुर्ण मानव जातीको लागि साझा हो । यो ब्रह्मको ज्ञानको कुरा धार्मिकशास्त्रहरुमा मात्र चर्चा हुने चलन थियो र आजका दिनसम्म कुनै पनी विज्ञानका शास्त्रहरुमा, पुस्तकहरुमा, पाठ्यक्रमहरुमा चर्चा हुने चलन थिएन । तर त्यसो नभएर यो विषय विज्ञानको पनि महत्वको विषय हो रहेछ । यी ब्रह्मका विषयका चर्चाहरुमा विज्ञानले सयौँ बर्ष लगाएर खोजेर नभेट्याएका प्रश्न र समस्याहरुको रहस्य र जवाफ पाउन सक्ने सागर हो रहेछ । लेखकको जीवनमा गरिएका अध्ययनबाट सृष्टिका बारेमा खुल्न गएका केही रहस्यहरु सबैको लागि फलदायी र प्राप्त गर्न सकिने होस भनेर पोख्न खोजेको छु ।

आत्मा वा पुरूषलाई ज्ञानको आखाले मात्र देख्न सकिन्छ । ब्रह्मलाई पनि ज्ञानको आखाले मात्र देख्न सकिन्छ ।

⇐विषय सूचीमा फर्कन

This post is also available in: English