⇐विषय सूचीमा फर्कन

पाठ २  विज्ञान खण्ड छोटकरीमा

मानव शरीरको रचना

मानिसको हामीले देख्ने गरेको शरीर तीनवटा विभिन्न शरीर मिलेर बनेको हुन्छ ।

१. बाहिरबाट देखिने भौतिक तत्वको शरीर हुन्छ-जसलाई स्थुल शरीर भनिन्छ ।

२. त्यस बाहिरको स्थुल शरीर भित्र चेतनाको अदृस्य शरीर हुन्छ-जसलाई लिंग शरीर भनिन्छ ।

३. त्यस लिंग शरीर भित्र आत्मा शरीर हुन्छ ।

यी तीनवटा शरीर मध्य चेतनाको लिंग शरीरनै मानिसको प्रमुख शरीर हो ।

मानिसको अपूर्ण मृत्यु

मानिसको हामीले देख्ने मृत्यु भनेको त्यस स्थुल शरीरलाई आफ्नो लिङ्ग शरीरले त्यागेको हो । त्यस स्थुल शरीरलाई त्यागेपछि पनि चेतनाको लिंग शरीर जीवित रहन्छ त्यसैले हामीले देख्ने गरेको मृत्यु अपूर्ण मृत्यु मात्र हो ।

वास्तवमा मानिसको जीवनमा सबै कार्य र कर्महरुको कर्ता कार्य लिङ्ग शरीरले नै गरेको हुन्छ । स्थुलशरीर, लिङ्ग शरीर र आत्मा शरीरको संयुक्त शरीरले गरेका अनुभवहरु स्थुल शरीरको मृत्युपछि पनि लिङ्ग शरीरमा याद रहेको हुन्छ । त्यसैले मानिसको संयुक्त शरीरले गरेका कामहरु, कामका यादहरु, कामका सम्बन्धहरु, नाता सम्बन्धहरु, सुख दु:ख, रोजगार, सम्पत्ति, मित्रता, शत्रुता, पढेका, बुझेका आदि कुराहरु सबै उसको चेतनाको लिंग शरीरमा याद रहेको हुन्छ र स्थुल शरीरको मृत्युपछि पनि ती यादहरुलाई साथै लिएर जान्छ ।

यसरी स्थुल शरीरको त्यागपछि पनि लिंग शरीर जीवित रहेको हुन्छ र मृत्युपछि अपूर्ण चेतनाको अवस्थामा केही भ्रमका चेतना सहित ऊ आफ्ना परिवारका सदस्य, नातेदार, साथीभाइ, रोजगार वा अन्य कुनै  सम्बन्धितहरुसंग सम्पर्कमा आइरहेको हुन्छ वा आउन खोजेको हुन्छ । त्यसैगरी अन्य विभिन्न लिंग शरीरहरु हुन्छन् । जसले मानिसहरुसंग सम्पर्क गर्न चाहेका र सम्पर्क गरिरहेका हुन्छन् ।

ब्रह्मको छोटो परिचय

ब्रह्म भनेको सृष्टिको सबभन्दा सुरुको अवस्था हो । यो सुरुमा अव्यक्त अवस्थामा रहेको हुन्छ । ब्रह्मलाई परमात्मा वा सदाशिव पनि भनिन्छ । सृष्टिमा अवस्थित सम्पूर्ण चिजहरुको सुरुआत त्यहिं ब्रह्मबाट भएको हो र अन्त्य पनि त्यहिं ब्रह्ममा हुन्छ । ब्रह्मको आकार छैन त्यसैले त्यसलाई निराकार भनिन्छ । त्यो अति सुक्ष्म छ तर सर्वत्र छ ।

ब्रह्मका विभिन्न गुणहरु मध्ये चारवटा प्रमुख गुणहरु छन् । शान्त, आनन्द, स्वप्रकाश र चेतना ब्रह्मका प्रमुख गुणहरु हुन् । यिनै गुणहरुको स्वभाव, प्रभाव र त्यसको विश्लेषणकोआधारमा सृष्टिको विभिन्न रहस्यहरु खुल्न ऑउछन् ।

आत्मा वा जीवको उत्पत्ति   

ब्रह्मको व्यक्त र अव्यक्त अवस्था हुन्छ । सुरुमा ब्रह्म अव्यक्त अवस्थामा रहेको हुन्छ । ब्रह्मको आफ्नो स्वभाव अनुसार ब्रह्मको कुनै एक ठाउँमा अचानक चंचलता ऑउछ र त्यो सिमित ठाउंको टुक्रा व्यक्त हुन्छ । त्यस व्यक्त भएको टुक्राको वरपर तरङ्ग जस्तो पैदा हुन्छ, जस्तै: कुनै पानीको शान्त पोखरीमा सानो ढुङ्गा फ्याक्दा त्यस पोखरीमा त्यस ढुङ्गा फ्याकेको वरपर तरङ्ग जस्तो पैदा हुन्छ । त्यस पोखरीमा उत्पन्न भएको तरङ्गको आवरणले त्यस पोखरीको पानीलाई तरङ्ग भित्रको पानी र तरङ्ग बाहिरको पानीमा छुट्याई दिन्छ । यसरी पोखरीमा उत्पन्न भएको तरङ्ग केही समयको लागि मात्र हो ।

त्यसैगरी ब्रह्ममा पैदा भएको तरङ्गले बनेको आवरणले ब्रह्मलाई त्यस तरङ्गभन्दा भित्रको सानो भाग र तरङ्ग भन्दा बाहिरको ठुलो भागमा विभाजन गरिदिन्छ । ब्रह्ममा पैदा भएको तरङ्गको आवरणलाई प्रकृती भनिन्छ । त्यस तरङ्गको आवरण भित्रको भागलाई आत्मा वा पुरुष भनिन्छ । त्यस ब्रह्ममा पैदा भएको प्रकृती र आत्माको संयुक्त रुपलाई  महत भनिन्छ । यसलाई आत्मा शरीर पनि भनिन्छ । यो नै सृष्टिको पहिलो जीव हो ।

त्यस महत वा पहिलो जीवको विभिन्न गुणहरु हुन्छन् । ब्रह्मको प्रमुख गुणहरु शान्त, आनन्द, स्वप्रकाश र चेतना त्यस जीवमा रहेका हुन्छन् । त्यस महत वा जीवमा यी ब्रह्मका प्रमुख गुणहरु बाहेक अरु थप गुणहरु पैदा हुन्छन्, जस्तै: त्यस महत वा जीवले  आफुलाई ठुलो ब्रह्मको सानो भाग हुँ भनेर चिन्दैन । यो त्यस जीवको भ्रम हो । उसले आफुलाई अलग ठान्दछ । उसले आफुलाई म भन्ने ठान्दछ । त्यस महतले आफु भित्रको आत्मालाई देख्दैन र चिन्दैन । उ आफ्नो प्रकृती प्रति दंग पर्दछ र  मोहित हुन्छ, जस्तै: म गोलो छु, च्याप्टो छु, कालो छु वा गोह्रो छु भन्ने ठान्दछ । त्यसैगरी नजिकमा रहेका अन्य जीव वा महतको पनि प्रकृतीलाई मात्र देख्दछ । त्यस भित्रको आत्मा वा पुरुषलाई देख्दैन । आत्मा वा पुरुषलाई ज्ञानको आँखाले मात्र देख्न सकिन्छ । ब्रह्मलाई पनि ज्ञानको आँखाले मात्र देख्न सकिन्छ  ।

लिंग शरीरको उत्पत्ति 

हरेक चञ्चलताको आफ्नो काल वा समय हुन्छ । त्यस चञ्चलताको आफ्नो समय पुरा भएपछि अन्त्य हुन्छ । त्यहि समयको अन्त्य हुनेलाई काल भनिएको हो । त्यसरी ब्रह्ममा पैदा भएका ती चञ्चलताका तरङ्गहरु आफ्ना समय पुरा भएर समाप्त वा निष्क्रिय भए पछि ब्रह्मको  त्यो व्यक्त भाग पुनः  अव्यक्त भएर ब्रह्ममा मिल्दछ ।

त्यसैगरि ब्रह्ममा पैदा भएको महतको आवरणहरु केही समयपछि बिलाएर जान्छ र आत्मा पुनः ब्रह्ममा मिल्दछ । यो नै महत वा जीवको अन्त्य वा मृत्यु हो । अथवा त्यस महत वा जीवले अन्य जीवहरुसंग सम्पर्क, सम्बन्ध राख्न पायो भने त्यस महतको चंचलताको समय लामो हुन सक्दछ र आफ्नो आयु लम्ब्याउन सक्दछ । यसरी त्यस महतले अरु जीवहरुसंग गरेका सम्पर्क, सम्बन्धका सबै अनुभवका यादहरु आफ्ना आवरणका रुपमा रहेको हुन्छ ।  महतहरुले आफ्ना अनुभवका आधारमा पटक पटक अरु महतहरुसंग सम्पर्क राखी आफ्नो आयु लम्ब्याउन चाहन्छन् ।

महतहरुले अरु महतहरुसंग जति बढी सम्पर्क हुँदै गए त्यतिनै त्यस महतका आवरणहरु थपिदै जान्छन र महतहरु झन् अनुभवी बन्दै जान्छन् । यसरी महतमा अनुभवका आवरणहरु थपिदै जाँदै विभिन्न लिंग शरीरको रुप लिन्छन् ।

मानिसको पूर्ण मृत्यु

वर्तमान मानिसको शरीर भनेको त्यस लिंग शरीरले स्थुल शरीर धारणा गरेको अवस्था हो । मानिसको मृत्युमा स्थुल शरीरको मात्र त्याग भएको हुन्छ तर लिंग शरीर जीवित रहेको हुन्छ । तर ज्ञानको अभावमा त्यस लिंग शरीरले आफ्नो परिस्थिती बुझ्न सक्दैन र अलपत्र परेर विभिन्न दु:ख कष्ट खाई रहेको हुन्छ । अव त्यस लिंग शरीरले म को हुन र कहाँबाट आएको हुँ भन्ने चिन्न जरुरी हुन्छ । म ब्रह्मबाट केही क्षणको लागी उत्पन्न भएको हुँ र त्यहि ब्रह्ममा फर्कनु पर्दछ भन्ने चाहना राखी आवश्यक कार्यहरु गर्नुपर्दछ । लिंग शरीर भनेको अनुभवका आवरणहरुले बनेको हो, जस्तै: खाएको, लाएको, नाता, इष्टमित्र, घर सम्पत्ति, काम, रिस, क्रोध, माया र जिम्मेवारीहरु । यिनै यादहरुलाई मेरो होइन अब मलाई चाहिंदैन भनेर भन्न थाल्यो भने उसका आवरणहरु बिलाउन थाल्दछन् । यसरी सबै कुरा भुल्दै जाँदा सुरुको महतमा पुगेको अनुभव गर्नु पर्दछ । त्यस सुरुको महत वा आत्मा शरीरबाट त्यसको म भन्ने भावनाको आवरणलाई छोडेर आत्माले आफु ब्रह्ममा बिलाएको अनुभव गर्नु पर्दछ । यो नै लिंग शरीरको मृत्यु हो र मानिसको पूर्ण यात्रा हो । यहि पूर्ण यात्राको मानिसले चाहना राखेको हुनुपर्दछ ।

मानिसको  मृत्युको समस्या र समाधान

समस्याहरू:

यसरी स्थुल शरीरको मृत्युपछि लिंग शरीर जीवित रहन्छ र विभिन्न दु:ख कष्ट खाईरहेको हुन्छ । स्थुल शरीरको मृत्युपछि लिंग शरीर पितृ अवस्थामा रहेको हुन्छ । ती लिंग शरीर उनीहरुको ज्ञान, चेतनाका स्तर अनुसार अन्य विभिन्न अवस्थामा परिवर्तन हुन जान्छन्, जस्तै : शान्त पितृ, अशान्त पितृ, भुत, प्रेत अवस्थामा पुगेर आफ्ना आफन्तसंग गुहार माग्ने दु:ख, कष्ट पुर्याउने गरिरहेका हुन्छन् । ती पितृ लिंग शरीरहरुले अज्ञानताका कारण अन्य पितृ, भुत, प्रेतहरुसंग  सम्पर्क गरिरहेका हुन्छन्  र आफैले दु:ख, कष्ट भोग्दै अरु जीवित मानिसहरुलाई दु:ख, कष्ट पुर्याईरहेका हुन्छन् । मृत्यु पछिको जीवन के हो  ? त्यहाँ उत्पन्न भएका दु:ख कष्टका अनुभवहरुको कारण र उपाय के हो  ? भनेर ती पितृ, भुत प्रेतहरुले बुझ्न सक्दैनन् । यहि अज्ञानताको अवस्थालाई वेदशास्त्रहरुमा भवसागर भनिएको छ । त्यस लिंग शरीरले पटक पटक स्थुल शरीर धारणा गरेको हुन्छ वा धारणा गर्ने सम्भावना रहिरहन्छ ।

समाधानहरू:

मानिसले ब्रह्मको ज्ञानद्वारा सृष्टि, जीवन र मृत्युको रहस्य बुझेर मानिसको तेस्रो नेत्रको ज्ञान पनि बुझेको हुनु पर्दछ । त्यस तेस्रो नेत्र मार्फत मानिसले पितृ, भुत, प्रेत, देवी देवताहरुलाई देख्ने र तिनीहरुसंग सम्पर्क गर्न सक्दछ । मानिसको तेस्रो नेत्र द्वारा आफ्नो लिंग शरीरलाई देख्ने र महसुस गर्न सक्ने भएर आफ्नो म भन्ने भावनाको आवरणलाई त्यागेर आफु पुनः ब्रह्ममा पुगेको अनुभव गरेको हुनु पर्दछ । आफु ब्रह्ममा पुगेर पुनः अव्यक्त अवस्थामा सदाशिवमा पुगेको अनुभव मानिसले जीवित हुँदानै गर्न सकेको हुनु पर्दछ । यो नै मानिसको जीवनको पूर्ण ज्ञान र उपाय हो । यसलाई नै कैवल्य मुक्ति भनिएको छ । यहि कुरा वेदशास्त्रहरुमा मानिसहरुलाई बुझाउन खोजिएको छ ।

यसरी कैवल्य मुक्तिको अनुभव गरेका मानिसहरु आफ्नो मृत्युपछि ब्रह्ममा पुग्दछन् । त्यहाँ पुगेर सदाशिवको अनुभव गरेर बस्न सक्नेछन् र विस्तार विस्तार बिलाएर  अव्यक्त अवस्थामा पुग्नेछन् ।

ब्रह्मको ज्ञान भनेको सृष्टि, जीवन, मृत्यु र तेस्रो नेत्रको ज्ञान हो । यी ज्ञानका बारेमा पढेका, बुझेका र अनुभव गरेका मानिसहरुलाई ब्रह्मज्ञानी भनिन्छ । ब्रह्मज्ञानीहरुले आफ्नो तेस्रो नेत्रद्वारा पितृ, भुत, प्रेत र देवी देवताहरुसंग सम्पर्क गर्न सक्ने क्षमता भएका हुन्छन् । ब्रह्मज्ञानलाई अझै गहिराइमा बुझेर गहिराइमा अनुभव गरेकाहरुलाई ब्रह्मको गुणहरु अनुभव गर्ने क्षमता आइसकेको हुन्छ । यसरी ब्रह्मलाई गहिराइमा अनुभव गरेका ब्रह्मज्ञानीहरुले पटक पटक ब्रह्मको अनुभव गरिरहेका हुन्छन् र आफ्ना सम्पर्कमा रहेका पितृ, भुत र प्रेतहरुलाई पनि ब्रह्मको ज्ञान सिकाउन र अनुभव गराउन सक्दछन् । यसरी ब्रह्मज्ञानीहरुद्वारा पितृ, भुत, प्रेतहरुलाई ब्रह्मको ज्ञान र अनुभव गराउने कार्यलाई भवसागर तार्ने वा पितृतार्ने भनिन्छ । ब्रह्मको ज्ञान नभएका मानिसहरु आफ्नो मृत्युपछि आफै स्वतः भवसागर पारगरेर ब्रह्ममा पुग्न सक्दैनन् ।

देवी देवटाहरु ब्रह्मको ज्ञान भएका र नभएका आधारमा दुइ प्रकारमा बाँडिएका हुन्छन् । ती देवी देवताहरुसंग सम्पर्क हुँदा तिनीहरुका आफ्नाआफ्ना ज्ञानका स्तर अनुसार मानिसहरुमा तिनीहरुको प्रभावहरु परेको हुन्छ ।

ब्रह्मज्ञानका कुराहरु र अनुभवहरु ब्रह्मज्ञानीहरुले मात्र सिकाउन सक्दछन् । ब्रह्मज्ञानीहरुको साथ पाउदा ब्रह्मको अनुभव हुनसक्दछ । ब्रह्मज्ञान भएका देवी देवताहरुसँग प्रत्यक्ष सम्पर्क गर्न र तिनीहरुबाट सुःखको फल प्राप्त गर्न ब्रह्मज्ञानीहरुले सिकाउन सक्दछन् । ब्रह्मको ज्ञान नभएको देवी देवताहरुलाई चिनेर तिनीहरुबाट प्राप्त हुने दुःख कष्टहरुबाट बच्ने र उम्कने उपायहरु ब्रह्मज्ञानीहरुबाट सिक्ने मौका मिल्न सक्दछन् ।

यिनै ब्रह्मज्ञानका कुराहरुनै वेदशास्त्रहरुको प्रमुख तात्पर्य हो ।

⇐विषय सूचीमा फर्कन

.

This post is also available in: English