⇐विषय सूचीमा फर्कन

पाठ ३.६

लिँग शरीरको उत्पत्ति

The Origin of the Causal Body (Linga sharira)

हरेक चंचलताको आफ्नो काल वा समय हुन्छ । त्यही समयको अन्त्य हुनेलाई काल भनिएको हो । यसरी ब्रह्ममा पैदा भएका ती चंचलताका तरङ्गहरू आफ्नो समय पुरा भएर समाप्त वा निष्कृय भएपछि ब्रह्मको त्यो व्यक्त भाग पुनः अव्यक्त भएर ब्रह्ममा मिल्दछ ।

त्यसैगरी ब्रह्ममा पैदा भएका महतको आवरणहरू केही समयपछि बिलाएर जान्छ र आत्मा पुनः ब्रह्ममा मिल्दछ । यो नै महत वा जीवको अन्त्य वा मृत्यु हो । अथवा त्यस जीवले अन्य जीवहरूसँग सम्पर्क, सम्बन्ध राख्न पायो भने त्यस महतको चंचलताको समय लामो हुन सक्दछ र आफ्नो आयु लम्बाउन सक्दछ । यसरी त्यस महतले अरू जीवहरूसँग गरेका सम्पर्क र सम्बन्धहरूका सबै अनुभवका यादहरू आफ्नो आवरणका रूपमा रहेको हुन्छ । महतहरूले आफ्ना अनुभवका आधारमा पटकपटक अरू महतहरूसँग सम्पर्क सम्बन्ध राखि आफ्नो आयु लम्बाउन चाहन्छन् । महतहरूको अरू महतहरूसँग जति बढी सम्पर्क सम्बन्ध हुँदै गए त्यति नै त्यस महतको आवरणहरू थपिदै जान्छन् र महतहरू झन् अनुभवि बन्दै जान्छन् । यसरी महतमा अनुभवका आवरणहरू थपिदै जाँदै विभिन्न लिँग शरीरको रूप लिन्छन् ।

यसरी ब्रह्ममा उत्पत्ति भएको महत वा जीवमा विकासको क्रममा विभिन्न आवरणहरु थपिदै जान्छन् । जीवले आफुले प्राप्त गरेका अनुभवहरु, अन्य जीवहरुसँगको सम्बन्ध, लेनदेनको अनुभवको चेतनामा सँग्रह गरेको हुन्छ र त्यस अनुकुल अनुसार अाफुलार्इ सुधार र परिवर्तन गर्दै गरेको हुन्छ । ती सबै परिवर्तनहरु जीवले चेतनामा सँग्रह गरेको हुन्छ र यी अनुभवहरु सँग्रह गर्दै यिनै अनुभवका आवरणहरु बन्दै गरेका हुन्छन् । यसैगरी जीवको आवरणहरु र चेतना विकसित हुँदै जान्छन् । यो विकसित आवरण र चेतना भएको जीव नै लिँग शरीर हो । मानिसको लिँग शरीर अन्य जीव वा जनावरको लिँग शरीर भन्दा बढी विकसित हुन्छ । लिँग शरीरमा बन्दै गएको आवरणहरु भिन्न भिन्न प्रकारका हुन्छन् र भिन्न भिन्न गुणहरुका हुन्छन् ।

मानिसको लिँग शरीरको ५ वटा विभिन्न प्रकार र गुणहरूको आवरणहरु हुन्छन् । यिनै आवरणहरु र चेतनाका अनुसार लिँग शरीरका गुणहरु एक आपसमा फरकफरक हुन्छन् ।

१. अन्नमय कोशः यो लिँग शरीरको सबभन्दा बाहिरको आवरणको नाम हो । यो आवरण बाहिरको स्थुल शरीरसँग जोडिएको हुन्छ । त्यसैले यसलाई अन्नमय कोश भनिएको हो । यस आवरणमा स्थुल शरीरका सबै गुणहरु सुक्ष्म रूपमा हुन्छन्, जस्तै स्थुल शरीरको रुप, त्यसले गरेको कार्य, त्यसले गरेको सम्बन्ध, त्यसले भोगेको सुख र दुःखका अनुभवहरुको आकृतिहरुको छाप छापिएको हुन्छ, चित्रण भएको हुन्छ । त्यस अन्नमय कोशको कारण लिँग शरीरको रुप स्थुल शरीरको जस्तो देखिन्छ । स्थुल शरीरको जस्तो पहिरन, चालचलन, बोलीचाली, रोजगार, कारोवार, सम्पत्ति, घर, जग्गा, परिवारको सम्बन्ध वा अन्य चिजहरुको चेतनाको छाप अन्नमय कोशमा आकृत हुन्छ । यो आवरण पँचभुत (भौतिक) तत्वको कनिष्ट (सुक्ष्म) भागले बनेको हुन्छ।
२. प्राणमय कोशः यो लिँग शरीरको अन्नमय कोश भित्रको आवरणको नाम हो । यस प्राणमय कोशमा चेतनाका अङ्गहरु हुन्छन् र तिनै अङ्गहरुको मद्दतद्वारा सबै लिँग शरीरले कार्यहरु गर्दछ । स्थुल शरीरमा सृष्टिको पाँचवटा पँचभुत भौतिक तत्वहरु आकाश, वायु, अग्नि, पृथ्वी र जलका गुणहरुका अनुसार ज्ञानेन्द्रियहरु बनेका हुन्छन्, जस्तैः आकाश (बोली,कान), वायु(स्पर्श,छाला), अग्नि(रुप,आँखा), जल(रस,स्वाद,जिब्रो), पृथ्वी( गन्ध,नाक)  र त्यसैगरी पाँचवटा कर्मेन्द्रियहरु(काम गर्ने अङ्ग), वाणी(आकाश, ध्वनि निकाल्ने), हात(वायु), खुट्टा(तातोको नजिक वा तातोको टाढा जान बनेका अङ्ग), मलद्वार (पृथ्वी, मल विसर्जन), उपस्थ(जल, प्रजनन) अङ्गहरु हुन्छन् । स्थुल शरीरका तिनै अङ्गहरुका चेतनाका अनुसार प्राणमय कोशमा चेतनाका अङ्गहरु हुन्छन् । यी लिँग शरीरका चेतनाका ज्ञानेन्द्रियहरु र कर्मेन्द्रियहरुका अङ्गहरुद्वारा लिँग शरीरले स्थुल शरीरको ज्ञानेन्द्रियहरु र कर्मेन्द्रियहरुको संचार र संचालन गर्दछ । स्थुल शरीरको माथि उल्लेखित चालित अङ्गहरुका साथ साथै शरीरको अन्य सबै स्वचालित अङ्गहरु जस्तै स्वास प्रणाली, रगत प्रणाली, पाचन प्रणाली, दिसा पिसाब वा अन्य सबै अङ्गहरुको संचार र संचालन गर्दछ ।
३. मनोमय कोशः यो लिँग शरीरको प्राणमय कोश भित्रको आवरणको नाम हो । प्राणमय कोशका अङ्गहरुले गर्ने कामको बारेमा सोच्ने, विचार गर्ने, कल्पना गर्ने, सँकल्प गर्ने, विकल्प गर्ने कार्यहरु मनोमय कोशले गर्दछ ।
४. विज्ञानमय कोशः यो मनोमय कोश भित्रको आवरणको नाम हो । मनोमय कोशले सोचेको, विचार गरेको, कल्पना गरेको, सँकल्प गरेको, विकल्प गरेको कार्यलाई ठोस निर्णय दिने काम विज्ञानमय कोशले गर्दछ ।
५. आनन्दमय कोशः यो विज्ञानमय कोश भित्रको आवरणको नाम हो । यो आत्माको नजिकको आवरण हो । यस आवरणले आनन्दको अनुभूति दिन्छ । ती सबै आवरणले गरेको कार्यको भोगको आनन्दको अनुभूति प्राप्त गर्दछ ।
यसैगरी यी पाँच आवरणको साथ लिएर लिँग शरीरले कार्य गर्दछ र कर्ता बन्दछ । यसरी लिँग शरीरले सबै शरीरले मिलेर गरेको काम र कर्मको फलको भोग गर्दछ, आनन्द र दुःखको भोग गर्दछ ।


यसरी सुरुमा ब्रह्मबाट छुट्टिएको भ्रम बस महत वा जीवको उत्पत्ति भयो । यस महतमा विभिन्न कारणहरुले चेतनाहरु थपिदै जाने र आवरणहरु थपिदै जाँदा लिँग शरीरको उत्पत्ति र निर्माण भयो । यो लिँग शरीरले पनि अन्य जीवहरुसँगको सम्पर्क, सम्बन्ध र लेनदेन गर्ने कार्य गरिरहेको हुन्छ । यस्तै आफ्नो आफ्नो चेतना र चाहना राखेका विभिन्न अन्य जीवहरु र लिँग शरीरहरु पनि सँगसँगै नजिक रहेका हुन सक्दछन् । दुई वा दुई भन्दा बढी जीव वा लिँग शरीरहरु मिलेर एक आपसमा लेनदेन गरेर बसेका हुन्छन् र सानोसानो समुह बनेको हुन्छ । ती जीवहरु र लिँग शरीरहरुले कसैसँग नजिकबाट र कसैसँग टाढाबाट सम्बन्ध राखेको हुन्छ । यसरी जीव वा लिँग शरीरहरुले अन्य जीव वा लिँग शरीरहरुसँग सम्बन्ध राख्ने कृयाकलापका अति धेरै समय र अनुभव पछिको अति विकसित अवस्थामा आइपुग्ने क्रममा लिँग शरीरले भौतिक शरीर धारण गर्ने र छोड्ने संस्कारमा आई पुग्दछ ।

स्थुल शरीर (भौतिक शरीर)

भौतिक शरीर भनेको कुनै एक्लो शरीर हैन । थुप्रै जीवहरु वा सानो सानो कम विकसित चेतना र अनुभव भएका लिँग शरीरहरुको समुह र जमघट हो । ती सबै जमघटहरु आफ्नो आफ्नो स्वार्थका लेनदेनका लागि भएको हो । त्यस स्थुल शरीरमा भएका विभिन्न अन्य जीव वा जमघटहरुले एक आपसमा लेन देन गर्दा अरुलाइ नचाहिने चीज आफुले प्रयोग गर्ने उद्धेश्यले जमघट हुन गएका हुन्छन् । त्यसरी त्यस स्थुल शरीरमा थुप्रै खालका जीव वा लिँग शरीरहरु हुन्छन् ती सबै अरुलार्इ नचाहिरहेको चिजको प्रयोग गर्न जम्मा भएका हुन्छन् र आफ्नो नचाहिने चिज पनि अरु जीव वा लिँग शरीरले प्रयोग गरिरहेको हुन्छन् । त्यहा भएका जमघटले अर्को जमघटलाई भत्काएर सानोसानो टुक्रा गराएर आफुलाई काम लाग्ने चिजहरु त्यहाँबाट लिन्छन् र प्रयोग गर्दछ अथवा हामीले देख्ने भाषामा खाने गर्दछ र नचाहिने चिजहरु मल मुत्रद्वारा बाहिर फ्याक्दछन् । हामीले देख्ने गरेका सबै जीवहरु त्यस्तै थुप्रै साना साना जीव वा लिँग शरीरहरुको जमघट हो । एक जीवले अर्को जीवलाइ मारेर खाने भनेको त्यस मारिएको शरीरमा भएका विभिन्न जीवहरु आफ्नो शरीरको निमार्णको लागि प्रयोग गर्ने हो । त्यसैले शरीरमा भएका विभिन्न अङ्गहरु भिन्नभिन्न जीव वा जीवका समुहहरु हुन् । तर ती समुहहरु कुुनै स्वार्थको एक आपसमा सम्बन्धित भएर बसेका हुन्छन् र तिनीहरुको समुहनै अझ ठुलो अर्को अङ्ग जस्तो बनेको हुन्छ । तर ती अङ्गहरु भिन्नभिन्न हुन र आफ्ना आफ्ना स्वार्थका लागि सम्बन्धित भएर बसेका हुन् । शरीरमा विभिन्न अङ्गहरुको आफ्नो आफ्नो जीवन र स्वार्थ हुन्छ । छालाको आफ्नो जीवन छ, रगतको कोशहरुको आफ्नो जीवन छ, मासु र हाडहरुको आफ्नो जीवन छ । मासु हाडको लागि बनेको होइन । हाडमा मासुलाइ चाहिने केही तत्व भएको भएर हाडमा मासु टासिएर बसेको हो । यसरी विभिन्न भिन्नभिन्न जीवहरु एकआपसमा सम्बन्ध गरेर बस्दा यिनीहरुको घनिष्ट सम्बन्धले अर्को शरीर जस्तो बन्नलार्इ धेरै समयको अनुभवहरु थपिदै बनेका हुन्छन् । त्यसैले सृष्टिमा पहिला साना, सुक्ष्म जीवहरुमात्र थिए । त्यसैले जीवहरु ठुलो ठुलो हुँदै जानुको मतलव हो त्यहा जीवको विकाशको लागि पर्याप्त कच्चा पदार्थ हुनु । यदि त्यहाँ पर्याप्त कच्चा पदार्थ नभए त्यस ठुलो जीवको आकार घट्न थाल्दछ । यस्तै प्रकुयाको उदाहरण हाम्रो जनजीवनमा देखिने रुपमा भइ रहेको हुन्छन्, जस्तै सबै बाटो, राजमार्ग, नदीका आडमा, छेउछाउमा घरहरु बन्दै जाने र तिनै सुविधाका कारण त्यहाँ बस्ति, गाउँ, शहर बन्दै जाने हो । तर त्यस शहरमा सबैको आफ्ना आफ्ना जीवन छन् । बाटो, घर, बिजुली, कामदार, मालिक, खेती, व्यापार, गाडी बनाउने, गाडी चलाउनेहरुका आफ्ना आफ्ना स्वार्थहरु छन् । तिनै स्वार्थहरुको लेनदेनबाट शहरको जीवन चलेको हुन्छ । त्यसैगरी भौतिक शरीरको अङ्गहरुको निर्माण भएको हुन्छ । यो भौतिक शरीरको निर्माण र प्रयोग भनेको सृष्टिको अरबौँ बर्षको अनुभव र चेतनाको फल हो । मानिसको शरीरमा कतिपय अन्य जीवहरुको उत्पत्ति र बासस्थान हुन्छ । मानव शरीरमा अाफ्नाे जीविका चलार्इ रहेका कतिपय ब्याक्टेरीया र भाईरसहरुले मानव शरीरलाई हानी पुर्याएको हुन्छ र विभिन्न रोगदेखि शरीरको मृत्युको कारण बन्न गएको हुन्छ भने कतिपय ब्याक्टेरीया र भाईरसहरु मानवकाे भाैतिक शरीरको जीवनमा अभिन्न अङ्ग भएर बसेको हुन्छ । त्यस्ता अभिन्न अङ्ग भएर बसेका कतिपय ब्याक्टेरीया र भाईरसहरुका अभावमा मानव भाैतिक शरीरमा विभिन्न रोगहरु उत्पन्न हुन जाँदा डाक्टरहरु विरामीलाई तिनै ब्याक्टेरीया खुवाएर, त्यसका केही भागहरूकाे प्रयाेग गरेर मानव जीवनलार्इ बाच्न र राेगबाट मुक्त हुन उपायहरू बनाएका हुन्छन् । यसैले भौतिक शरीर भनेको कम चेतना भएका साना साना जीवहरु, साना चेतना भएका लिँग शरीरहरु, तिनीहरुबाट बनेका समुहहरु, तिनीहरुबाट बनेका भिन्न भिन्न अङ्गहरुको सम्युक्त स्वार्थ पुरा गर्न बनेको ठुलो समुह वा जमघट हो । भौतिक शरीर को आफ्नो चेतना हुँदैन । त्यो अचेत हुन्छ । त्यस भौतिक शरीरको संचालन लिँग शरीरले गरेको हुन्छ । यसरीनै विभिन्न विकसित जीव वा लिँग शरीरहरूकाे विकास हुन्छन् ।
लिँग शरीरले हरेक पटक स्थुल शरीर वा भौतिक शरीर धारणा गर्दा त्यस शरीरको सुख र दुःखको भोग गर्ने, त्यसबाट आनन्द प्राप्त गर्ने गर्दछ । त्यस लिँग शरीरले स्थुल शरीर धारणा गरेको समयमा गरेको भोग र आनन्दलाई स्थुल शरीरको त्यागपछि पनि लिँग शरीरले लामो समयसम्म सँचय र याद गर्दछ । यो गुण नै लिँग शरीरको प्रमुख महत्वपुर्ण गुण हो जसको कारण मानव जाती सबभन्दा बढी प्रभावित भइरहेको हुन्छ । यस गुणको बारेमा स्पष्ठ बुझ्न सकेपछि मानव जातीमा दैनिक रुपमा घटिरहेका सुख दुःखका कारणहरुको अर्थ खुल्न जानेछ । पछिका पाठहरुमा वर्णन गरिएको छ ।
आत्मा, महत, लिँग शरीर, स्थुल शरीर यी सबैलाई अविध्या, अहँकार भनेर भन्नुको कारण हो यी शरीरहरुलाई आफ्नो बारेमा सही ज्ञान हुँदैन । सुरुमा आत्मा र महत (प्रथम जीव) बन्दा नै महतले आफु ब्रह्मबाट अलग्गै चिज भएको भनेर सोच्ने, महसुस गर्दछ र भ्रममा पर्दछ । त्यसपछि उ आफ्नो आवरण प्रकृती प्रमुख हुन्छ, भित्रको चेतना देख्दैन र भ्रममा पर्दछ । त्यसपछिको लिँग शरीरको विकासमा पनि त्यही भ्रम कायम रहन्छ । लिँग शरीरले आत्मालाई देख्दैन, चिन्दैन ।
लिँग शरीरले आफुले अनुभव गरेको सबै याद गर्दछ । त्यसे ग्रहण गरेको स्थुल शरीरलाई मात्र देख्न सक्दछ र स्थुल शरीरनै म हुँ भन्ने ठान्दछ । लिँग शरीरलाई देख्दैन, चिन्दैन । त्यसैले स्थुल शरीरले म नै एक्लो शरीर हुँ भन्नु स्वभाविक हो । मानिस त्यस भ्रमबाट उम्कन सक्नु पर्छ र आफ्नो सही परिचय चिन्नु पर्दछ । त्यसो गर्दा मानिसको जीवनको अन्जानको भुमरीबाट प्राप्त गरेका थुपै अनावश्यक समस्या, शारिरीक, पारिवारिक, आर्थिक, अस्वस्थ, विभिन्न रोगहरुबाट मुक्त हुने छोटो बाटो निकाल्न समर्थ हुन्छन् । त्यस अविध्यालाई त्यस विषयका सही विद्या र ज्ञानले हटाउँछ । यस पुस्तकद्वारा यही विद्या र ज्ञानलाई बुझिने गरेर पेश गर्न कोसिस गरिरहेको छु ।

⇐विषय सूचीमा फर्कन

 

 

 

 

 

   

This post is also available in: English