मनकामना माताको प्रत्यक्ष दर्शन

मंसिर ६, पोखरा                                            लेखक: डा. कमल मान श्रेष्ठ,  पोखरा

अस्ति २०७३ मंसिर ४ (19 November 2016 ) गते शनिबारको दिन मनकामना माताको दर्शन गर्न भनेर पोखराबाट करीब १०६ जना ब्रह्मज्ञानीहरुको टोली बिहान सबेरै ६ बजे दुईवटा ठूला पर्यटकीय बस र अरु निजी कार र जीपहरु लिएर मन्दिर तर्फ प्रस्थान गर्यौं । जाँदाजाँदै तनहुँको कमलबारी भन्ने ठाउँमा (घांसीकुवा नजीक) केही बेर रोकेर आराम गरेर खाना खाइयो । सबेरै विहानको ९:०० मात्र बजेको थियो र खाना खाने बेला अलि नभएको भए पनि, त्यहाँ खाना खाने प्रबन्ध राम्रो, अलि फराकिलो र आफैले झिकेर खाने तरिका भएको भएर त्यहाँ खाना खाइयो । त्यहाँ खाना खाने निर्णय अघिल्लो दिनहरुमा भइसकेको र खानाको तयारीको अर्डर अघिल्लो दिनमा गरिसकेको भएर खाना तयार पनि भइसकेको थियो । हामी त्यहाँ आइपुग्दा करिब १०६ जनालाई पुग्ने खाना तातो अवस्थामा तयारी रहेछ । नेपाली चलन अनुसारको भात, मासको दाल, साग, काउली र आलुको तरकारी र कुखुराको मासु अलि अलि झोल भएको परिकार रहेछ । मन्दिरको दर्शन, त्यहाँ मन्दिर परिसरको सरसफाई र मातासंग प्रत्यक्ष कुराकानी गर्न भनेर तम्सिएर हिडेका ब्रह्मज्ञानीहरुले शक्ति चाहिन्छ भनेर होला सबैले मिठो मानेर खाइयो । कुरीनटारको केवलकार चढ्ने ठाउँमा पुग्दा विहानको १०:१५ बजेको थियो तर त्यहाँ त केवलकार चढ्ने लाइनले एकछिन खलबलि ल्यायो । करिब ५००० भन्दा बढी जति मानिस केबलकार चढ्ने लाइनमा बसेका थिए । टाढा टाढाबाट आएका भक्तजनहरु त्यो आँखाले नभ्याउने लाइन देखेर डराएर फर्केकाहरु पनि कोही थिएनन् । हामी पनि केवलकार चढ्ने त्यस लाइनमा बस्यौँ । लामो लाइनको बारेमा विभिन्न प्रतिकृयाहरु दिंदै अरु मानिसहरु पनि लाइनमा उभिएका थिए । लाइनमा बस्ने क्रममा केही समयपछि वाक्क लाग्न थालेपछि साथीहरुले समय पास गर्न विभिन्न उपायहरु निकाल्न थाले । हामी ब्रह्मज्ञानीहरुको मनकामना मन्दिरको दर्शनका साथसाथै सरसफाई गर्ने कार्यक्रम भएकोले हामीले मन्दिर सरसफाई गर्न र पछि त्यहि मन्दिरमा छोड्न भनेर १० वटा लामो बाहिर बढार्ने कुचो, फोहोर उठाउने डस्ट प्यान र फोहोर राख्ने ठुलो ठुलो ६० लिटरको प्लास्टिकका ४ वटा बाल्टिनहरु साथै लिएर आएका थियौं । त्यहि साधन लिएर कुरीनटारको केवलकार स्टेशन देखि माथी पृथ्वी राजमार्गको बाटो सम्मका चाउचाउका खोल, सुन्तलाका बोक्रा, केराका बोक्रा, पानीका खाली बोतलहरुले छाएको बाटो र पिढी सफा गर्यौं । केही बेरपछि कोही साथीहरु मादल र खैजडी निकालेर गीत गाउन थाले । “गोर्खा मनकामना, ब्रह्मज्ञानी शिवजी पाएर खुशी छन् जमाना” भन्ने गीतमा टुक्काहरु जोड्दै गाउन र नाच्न थाले । यो देखेर वरपरका लाइन बस्नेहरु पनि रमाइलो मान्दै थिए । ब्रह्मज्ञानीहरु बाटोमा टन्न खाएर आएका र नपुगेकाहरु फेरी पनि गएर नजिकका होटेलमा पाइने समोसा, चाउमिन, पकौडाहरु खाएर आउने कार्य गरिरहेका थिए । त्यसैले होला ब्रह्मज्ञानीहरुको अनुहार अरुहरुको भन्दा अलि पुष्ट र चम्किलो थियो । कपडा राम्रा लगाउन त ब्रह्मज्ञानीहरुले जानेकै रहेछन् । प्राय: सबै महिला र पुरुष ब्रह्मज्ञानीहरु सुटमा (कोट पैन्टमा) थिए । त्यसैले वरपरकाहरु अन्य मानिसहरु अचम्म मानेर हेर्दै थिए । मन्दिर जाँदा पनि फेशन शो गर्न आएका जस्ता भनेर टिका टिप्पणी गर्नेहरु पनि थिए ।

हामीहरु धैर्यताका साथ ठिक ६ घण्टा लाइन कुरेर केबलकार चढी माथी मन्दिरमा साँझ ४:३० बजे पुगियो । जाडो महिना भएकाले साँझ पर्न लागिसकेको थियो । माथी मन्दिरमा पुग्दा त्यहाँ भिड रहेछ। अघिल्लो सालको भुइचालोमा परेर भत्किएको मनकामना मन्दिरको पुनः निर्माण कार्य हुँदैरहेछ । पंचमीको दिन परेको हुनाले मन्दिरमा बलि चढाउने र केही स्थानिय मगरहरु होलान् उनीहरुले बाजा बजाएर नाचगान गर्दै थिए । नाच्नेहरुको कपालमा, कानमा वा टोपीको किनारमा पैसाका नोटहरु सिउरिएका थिए । सायद नाच्नेहरुलाई त्यसरी धन्यवाद दिएका होलान् । त्यस भिडमा खुट्टा मुनि प्लास्टिक, पात, टपरी, खाली बोतल, जुसका खाली पाकेट, छरेका चामल, अक्षेता फुल र धुपको खोलहरुको थुप्रो थियो । ब्रह्मज्ञानीहरु त्यहाँ पुग्नासाथ ती खुट्टा मुनि मुनिबाट फोहोर तान्दै बडार्न थाले । केही समयपछि केही बडारेका ठाउँहरु अलि सफा देखिन थाल्यो र फोहोर गन्हाउन अलि कम भयो तर कति ठाउँहरुमा मानिसहरुको भिड धेरै भएर त्यहाँ बडार्ने अवसर पाइएन ।

म र डा. इन्दु श्रेष्ठको नेतृत्वमा ब्रह्मज्ञानीहरुलाई तेस्रो नेत्रद्वारा देखिएका चित्र र आवाजहरुको अर्थ र भाव बुझाउन तिर लाग्यौं । पहिला देखि तेस्रो नेत्र खुलेकाहरुलाई मातासंग कुरा गर्न सिकायौं, भाव र अर्थ बुझ्न सिकायौं । पहिला देखि तेस्रो नेत्र खुलेका सबैले मनकामना माता, शिवजीसंग विभिन्न कुराहरु गरे । माता र शिवजी खुशी भएर सबैसंग बोल्नुभयो, आशिर्वाद र शिक्षा दिनु भयो ।

मन्दिरमा जान भनेर केवलकारको लाइनमा बस्ने क्रममा पनि समय खेर नफालेर ब्रह्मज्ञान, तेस्रो नेत्र र माताहरुको र शिवजीको रुप र क्षमताका बारेमा चर्चाहरु गर्यौं । ब्रह्मज्ञानको महत्व बुझ्न खोज्दा, शिवजी र अन्य देवी देवता प्रत्यक्ष छन् तिनीहरुसंग भेट्न र प्रत्यक्ष कुरा गर्न सकिन्छ भन्दा पनि परिवारका सदस्यहरु, छिमेकीहरु आफन्तहरुले कुरा नबुझीकन झन् विरोध गर्न अगाडी सर्दा मनमा अलि दु:ख लाग्न खोज्दो रहेछ । तर पनि ब्रह्मज्ञानले ती कुराहरुलाई वास्ता नगरी अगाडी कसरी  बढ्नु पर्छ भन्ने शिक्षा दिंदै जानेरहेछ भनेर आफ्नो अनुभवहरु सुष्मा ढकाल, राधा बास्तोला र आरती सुबेदीहरुले सुनाउदै थिए ।  मेरो र म्याडम इन्दुको संगै संगै लाइनमा बसेकी ब्रह्मज्ञानी आरती सुबेदीलाई त्यहिँ लाइनमा बस्दै गर्दा तेस्रो नेत्रको अनुभव सिकाउने मौका र सफलता मिल्यो । आरतीले हात जोडेर सोधेका प्रश्नहरुको जवाफ मनकामना माताले दिन थाल्नुभयो । आरतीले पहिला आफ्नो दु:ख सुख घर व्यवहारको बारेमा सोधिन् । माताले आरतीलाई सम्झाउदै मैले तिमीलाई चिनेको छु र गुहार दिंदै आएकी छु । अब तिमीले नडराई तेस्रो नेत्र खोल्न प्रयास गर तिमी सफल हुनेछौं भन्नुभयो । मैले आरतीलाई कसरी तेस्रो नेत्रको अनुभव गर्नु पर्दछ भनेर सिकाउँदै थिएँ ।  त्यसै क्रममा तपाई कहाँ हुनुहुन्छ माता अहिले भनेर आरतीलाई मातासंग सोध्न लगाउँदा म डाँडाको टुप्पामा बसेर हात माथी राखेर तिमीहरु कति खेर आइपुग्छौ भनेर हेर्दैछु भनेर माताले भन्नुभयो र त्यस्तै गरेको चित्र देखाउनु भयो । आज यत्रो भिड रहेछ अरु दिन बोलाउनु भएको भएनी हुन्थ्यो माता भनेर सोध्दा तिमीहरुले पनि यो अनुभव गरेको हुनुपर्छ त्यसैले मैले आजैको दिन पारेर बोलाएको भन्नु भयो । हामी कति खेर आइपुग्छौँ होला माता भनेर सोध्दा साँझ पर्छ तिमीहरु माथी आइपुग्दा तर हरेस नखाऊ माथी आएपछि रमाइलो गरौंला भन्नुभयो । ब्रह्मज्ञानमा अगाडी बढ्न के गर्ने होला माता भनेर सोध्दा जानेको, पढेको कुरालाई मनन गर भन्नु भयो । आरतीले यहाँ केवलकारको टिकटमा डिसकाउंट पाइन्छ रे हामीलाई पनि अर्को अर्को पटक आउँदा डिसकाउंट पाउन पाए हुन्थ्यो शिवजी भनेर सोध्दा, यस पाली नै तिमीहरुले डिसकाउंट पाइसकेकाछौ भन्नुभयो । हामीले टिकटमा डिसकाउंट पाइसकेको  कुरा आरतीलाई थाहा थिएन भने मलाई पनि पक्का थाहा थिएन । समुहमा आएको भएर डिसकाउंट पाइन्छ कि भनेर कोसिस गर्ने योजना थियो तर पाइयो कि पाइएन मलाई थाहा थिएन । हामीले कसरी डिसकाउंट पाइयो तनी शिवजी हामीहरु त विद्यार्थी होइनौं भनेर सोध्दा रमेशले कम्प्युटरमा के के हो लेखेर पठाएको थियो त्यसैले तिमीहरुले पाएको हो भन्नुभयो । रमेशले कम्प्युटरमा  डिसकाउंटको लागी चिठी तयार गरेको थियो तर आरतीलाई यस बारेमा केही थाहा थिएन । यसरी लाइन बस्दै गर्दा भएका आरतीको तेस्रो नेत्र खुलेर माता र शिवजीसंग कुरा गर्न थालेपछि छेउमा उभिएका सुष्मा ढकाल, राधा बास्तोला, संजु भण्डारी, वर्षा भण्डारीहरु पनि खुसीको अनुभव गर्दै थिए । सुष्मा ढकालको तेस्रो नेत्र खुलेको र यस्ता कुराकानीको अनुभव पहिले देखि थियो तर अझै एउटा तेस्रो नेत्र खुलेको साथी थपिएकोमा उनी खुसिथिइन् । अरु छेउमा उभिएका राधा बास्तोला, संजु भण्डारी, वर्षा भण्डारीहरु अचम्म मान्दै हामीहरुलाई पनि यस्तै गर्न मन छ । हामीलाई पनि यसरी माताहरु कुराकानी गर्न सिकाईदिनुस् भन्दै अगाडी अगाडी सर्दै थिए ।

माथी मन्दिरमा पुगेर नयाँ ब्रह्मज्ञानीहरुलाई तेस्रो नेत्रबाट हेर्न सिकाउँदा दिपेन्द्रले पनि देख्न थाल्यो । दिपेन्द्रलाई मनकामना मातालाई म आएँ माता म यहाँ तपाइको मन्दिरको आँगनमा छु भनेर सोध्न लगाएँ । दिपेन्द्रले माताले सुतीको साडी लगाउनु भएको छ, टाउकोमा पछ्यौराले नातो बान्नु भएको छ र जाँतोमा के हो पिनेर पिठो निकाल्दै हुनुहुन्छ भनेर भन्यो । अनि मैले किन पिठो पिन्नु भएको भनेर सोध्न लगाएँ । तिमीहरु आउछौं  र खाजा खुवाउन भनेर पिनेको भन्नुभयो । अनि पिठो पिन्न छोडेर म अब कपडा फेरेर आउँछु भनेर कता हराउनु भयो अनि एकै छिनमा अर्कै कपडा लगाएर बाहिर निस्कनुभयो तर बाहिर निस्कदा कुनै झुपडीबाट निस्केको जस्तो देखाउनु भयो रे । मलाई नसोधीकन दिपेन्द्र आफैले मातालाई सोधेछ, माता किन यस्तो झुपडीबाट निस्कनु भएको भनेर सोध्दा देखिनस् मेरो घर भत्केर बनाउदैं गरेको भनेर बनाउदैं गरेको मन्दिर देखाउनु भएछ । यसरी दिपेन्द्रले मातासंग कुराकानी गर्यो । त्यसै गरि डम्बर गुरुङ, राधा बास्तोला, अनिल श्रेष्ठ, अमृत श्रेष्ठले पनि त्यहि दिन तेस्रो नेत्र खोलेर केही वार्ता गरेको अनुभवहरु बटुले । यसो गर्दै गर्दै ब्रह्मज्ञानमा अगाडी बढ्ने हो । अरु सबै जना ब्रह्मज्ञानीहरु आफ्नो ठाउँमा वा  सानो सानो झुण्ड बनाएर शिवजी र दुर्गा माताहरुसंग कुराकानी गर्दै थिए । हामीसंग मन्दिर आएका करिब ७० जना जतिले आफ्नो तेस्रो नेत्रद्वारा मातासंग शिवजीसंग विभिन्न कुराहरु गरेका थिए  ।

केही बेर यसरी तेस्रो नेत्रद्वारा माता शिवजीसँग कुराकानी गर्ने काम गरेपछि यस कार्यलाई बन्द गरेर अर्को कार्य सुरु गरियो । सबै मिलेर सम्पूर्ण ब्रह्मज्ञानी देवी देवताहरु शिवजी, दुर्गा माता, दुर्गा माताका रुपहरु लक्ष्मी माता, सरस्वती माता, मनकामना माता, भद्रकाली माता, सीतला देवी माता, विन्ध्यवासिनी माता, ताल बाराही माता, राधा र कृष्ण, सीता र राम, हनुमानजी, गणेशजीहरुको जय जय कार गरियो ।  त्यस पछि संयुक्त रुपमा हनुमान चालिसा पढियो । गोविन्द तिवारीले ब्रह्मज्ञान किताब वाचन गर्नुभयो, रामायणका श्लोक र महाभारत पुराणका विदुर निती वाचन गर्नु भयो । त्यसपछि प्रकृति श्रेष्ठद्वारा उनीको अति अनुभवी तेस्रो नेत्रद्वारा माता मनकामनासंग कुराकानी गरियो । माताले ठुलो रुप देखाउनु भएर हामी सबै ब्रह्मज्ञानीहरुलाई स्वागत छ भन्नुभयो, आशिर्वाद दिनुभयो र शिक्षा दिनुभयो । शिवजीलेपनि खुशी व्यक्त गर्नुभयो, आशिर्बाद दिनुभयो । क्लास बाहिरपनि ब्रह्मको अनुभव गर्ने र ब्रह्म पठाउने चलन सुरुवात गर्न भनेर मनकामना माताको प्रांगणमा बसेर ब्रह्मको अनुभव गर्ने र ब्रह्मज्ञान बुझेका प्रेत, पितृहरुलाई ब्रह्म पठाउने कार्य शिवजीद्वारा सम्पन्न गरिदिनुभयो । समय निकै बितीसकेको थियो । बेलुकाको  ८:०० बज्दा मंसिर महिना अँध्यारो र जाडो हुन थालीसकेको थियो त्यसैले फर्कने तयारी गर्न थाल्यौँ । अझै केही बेर मादल र खैजडी बजाउदै गोर्खा मनकामना गीत गाएर सबै नाच्न थाल्यौं र साथमा त्यहाँ उपस्थित केही स्थानीयहरु पनि हामी संगै नाच्न थाले । करिब ९:०० बजे मातासंग बिदा मागेर हामी केवलकार चढ्न आयौं । बिदाईको बेलामा माताले पुन: दर्शन दिनुभयो, फेरी खुशी व्यक्त गर्नुभयो, फेरी फेरी आउछौं कि आउदैनौं भनेर सोध्नुभयो र दुईवटा हात्ती दुई तिर बसेर सुडले फुल लिएर बसेको देखाएर म पनि तिमीहरुसंगै जान्छु भन्दै हामी तिर आउनुभयो अनि हामी केवलकार चढेर तल आयौं । फर्कने वेलामा पनि बाटोमा त्यहि कमलबारीको होटेलमा खाना खाने प्रबन्ध मिलाएका थियौं । मध्यरातको करिब १२:०० बजे राती त्यस होटेलमा पुगेर विहानको जस्तै परिकारको खाना खायौं । हुस्सु र चिसो फैली सकेको थियो । करिब २:०० बजे विहान घर फिर्ता आइएको थियो । यात्रा अति आरामदायी, योजना बद्ध, भद्र र सदभावपूर्ण थियो । यस यात्राको योजना, तयारी र सम्पन्न गराउनु हुने सम्पूर्ण सहभागीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

मनकामना मातासंग पटक पटक प्रत्यक्ष भेट र कुराकानी हुँदा सबै ब्रह्मज्ञानीहरु मिलेर म कहाँ कहिले आउछौ भन्नु हुन्थ्यो । समय मिलाएर आउनेछौँ भनेको थिएँ । यस पटक सबै मिलेर जाने भन्ने निर्णय भएपछि पनि पटक पटक क्लासमा आएर बोलाउनु भएको र याद गराउनु भएको थियो । मनकामना जाने भन्दा अघिल्लो दिन यात्राको तयारी भइरहेको थियो । म्याडमले तिवारी फुलको माला बनाईरहनु भएको थियो । माला बनाउने क्रममा कतिवटा फुलको बनाउने होला अथवा कत्रो लामो बनाउने होला भनेर मलाई सोध्नु भयो । मैले भने म मनकामना मन्दिरमा पहिला कहिले पनि गएको छैन त्यसैले मलाई थाहा छैन भनेर बरु मातालाईनै सोध कत्रो लामो बनाउने भनेर मैले भनें । म्याडमले हात जोडेर मातालाई सोध्नु भयो अनि माताले ३८ वटा फुलको बनाउ भनेर तुरुन्तै भन्नु भयो र मेरो मन जित्ने गरेर बनाउ भन्नु भयो । तर माला बनाउदा ४३ वटाको भएकोरहेछ । राती सुत्ने वेलामा म्याडमले माला कस्तो भयो होला ? लामो भयो कि भनेर मलाई सोध्नु भयो अनि मैले मातालाई सम्झेर सोधें । यो सोध्ने वेलामा हामी वेडमा सुत्न गइसकेको र बत्ति पनि निभाईसकेको थियो । मैले मातालाई सोध्ने बित्तिकै माताले १० वटा हात भएको रुप देखाउनु भएर हामीले बनाएको माला लगाउनु भएको देखाउनु भयो र भन्नु भयो तिमीहरुको माला मलाई नाइटो सम्म आइपुग्छ भनेर देखाउनु भएको थियो । म्याडमलाई पनि त्यो चित्र देखाउनु भएको थियो । भोली पल्ट मन्दिरमा पुगेर माताको मुर्तिमा माला लगाऊँदा ठ्याकै त्यस्तै गरेर नाइटो सम्म माला लत्रेको थियो ।

तेस्रो नेत्र नजानेको अवस्थामा एक ठुलो समस्या हो तर यसलाई बुझ्न सकेमा यो एक उपलब्धि र साधन हो । यो उथल पुथलबाट म पनि गुज्रन बाध्य हुनु पर्यो कुनै दिन । तर आज स्वस्थ तेस्रो नेत्रको सदुपयोगको उपलब्धि र आनन्द लिंदा अर्कै आनन्द छ । त्यस तेस्रो नेत्रबाट प्राप्त समाचार एक भयानक रहस्यको पर्दाफास गर्न सफल हुन्छ । यस पटक पनि मेरो आफ्नो प्रतक्ष्य अनुभव थपिन आयो । जब हामी केवलकार चढेर माथी डाँडामा उक्लदै थियौँ । केवलकार माथि चढ्ने क्रममा पहिलो डाँडाको टुप्पोमा पुग्दा मलाई केही अप्ठ्यारो अनुभव हुन थाल्यो । मैले त्यसलाई वास्ता नगरी माथी कटेर गएँ । दोस्रो डाँडा तिर नजिक पुग्दा त्यो अनुभव हरायो । फर्कने वेलामा पनि त्यहि डाँडाको टुप्पोमा आइपुग्दा फेरी त्यस्तै अनुभव हुन् थाल्यो अनि मैले सोधें यो किन भएको हो ? कसले के भन्न खोजेको हो ? भनेर भन्दा एउटा अति महत्व पूर्ण चित्र मेरो सामु आयो र थप खबर पनि आयो। चित्रमा मेरो बिती सक्नु भएको आमालाई न्यानो गरेरे खोल हालेको ब्लान्केट ढपक्क ओडेर मुख मात्रै देखाएर तलबाट देखिने डाँडाको माथिल्लो खम्बामा अडेस लाएर तल हेरिरहेको देखायो र भन्यो तेरो आमा पो तँ जस्तोको आमा थियो र ब्रह्मज्ञानको भाव र उपलब्धि पाएर अहिले न्यानो गरेर सुखले बसेको छ । अरु हामी सबै यसरी जाडोमा कठ्याँग्रियेर हाम्रा सन्तानहरु मन्दिर दर्शन गर्न आउँदा माथिबाट हेरीरहेका हुन्छौं । हामीलाई कसैले देख्दैनन् र सहायता र कुनै गुहार हामीले पाउँन सकेका छैनौँ भनेर थुप्रै पितृहरुले भने । यस अनुभवका साथै अन्य थुप्रै अनुभव र खबरहरु प्राप्त भएको थियो । यी सबै कुराहरु ब्रह्मज्ञानको ज्ञान र भाव बुझेकाहरुलाई मात्र समझमा आउँछ । अन्य ब्रह्मज्ञान नबुझेका व्यक्तिहरुका लागी यस्ता कुराहरु सायद हास्याद्पद लाग्लान् । पत्याउन गाह्रो लागेमा माथी नाम उल्लेख भएका व्यक्तिहरुसंग सम्पर्क गरि सोध्न सक्नुहुनेछ । हुन त नदेख्नेले देख्नेको कुरा नपत्याउनु स्वाभाविक हो । कुनै कुराको विश्वास गर्नलाई देख्नै पर्छ । तर देख्नलाई क्षमता हुनुपर्छ । क्षमता आफै आउदैन रहेछ ।

यसै गरी ब्रह्मज्ञानको चर्चा गर्ने, शिवजी, दुर्गा माता र उहाँका अन्य रुपहरुको प्रतक्ष्य दर्शन गर्ने र उहाँहरु संग कुराकानी गर्ने, ब्रह्मज्ञानीहरुलाई डोर्याउन सक्ने मौका र क्षमता संधै मिलिरहोस् ।

………अाउदैछ ।।।।।।।

[/vc_column_text][/vc_column][/vc_row]

 

केही  फोटोहरु

 

123

 

मनकामना माताको मन्दिर तल कुलीनटार केवलकार स्टेशनमा आएपछिको फोटोहरु

 

33
41
116

 

मन्दिरमा पुगेपछिका फोटोहरु

 

177
169
138
177
71
108

This post is also available in: English

Leave a Reply