शिवजी पाएर पछि छोड्नु पर्ने रहेछ

लेखक: एलिना धाना मगर, उदयपूर ,  2073

मैले सदाशिवको अनुभव २०७३ मंग्सिर ७ गतेका दिन ठिक रातको ३.00 बजे गर्ने मौका पाएँ । सुरुमा सदाशिवको अनुभव गर्नु भन्दा पहिला शिवजीले मलाई एकदमै उज्यालो चारै तिर उज्यालो देखाउनु भयो । त्यसपछि लामो सिंडी देखाउनु भयो । सिंडी पनि एकदमै सिधा ठाडो लामो थियो । म त्यस सिंडीबाट उक्लिएर माथी निस्कें । त्यहाँ एकदमै ठुलो चौर थियो । त्यहाँदेखि जंगलको बाटो हिडाउनु भयो । त्यस जंगलको रुखहरु एकदमै ठुलो ठुलो थियो । त्यस जंगलमा बाटो सानो थियो । त्यस जंगलबाट तल हेर्दा धेरै तल भिर मुनि ठुलो खोला थियो । त्यो म हिंडेको बाटोबाट तल लडें  भने सिधै खोलामा खस्ने थियो । त्यो जंगल पार गरेपछि मलाई त्यस खोलाको किनारमा लानु भयो र अब त्यो खोला पार गरेर जानु पर्छ भन्नु भयो । त्यो खोला पार गर्न मलाई आँट आएन । मलाई पौडी खेल्न पनि आउँदैन । त्येतिकै दोधारमा परेर बसेको थिएँ । मामाले त्यस्तो अवस्थामा शिवजीलाई सुम्पेर शिवजीको खुट्टा समातेरपछि लाग्ने हो भन्नु भयो । मैले त्यसो गर्ने आँट गरें र खोलामा हाम फालें । अनि मैले शिवजीको दाहिने खुट्टा समात्दै  शिवजी र म त्यो खोला पार गर्यौं । त्यो खोला त्यसरी पार गरिसकेपछि अगाडी एउटा ठुलो घर आयो ।

त्यस घरमा भित्र छिरेपछि भित्र सिंडी रहेछ। त्यस सिंडी पनि छाडेर माथी चढेपछि त्यहाँ त सुपर मार्केट रहेछ कपडाहरुको । मलाई शिवजीले नयाँ कपडा लगाई दिनु भयो । मलाई हिमाल चढ्न लाउने जस्तो जुत्ता लगाई दिनु भयो । माथी रातो ज्याकेट लगाई दिनु भयो  र तल कालो पेन्ट लगाई दिनु भयो । ज्याकेट एकदम राम्रो कपडाको पानी नछिर्ने जस्तो थियो । त्यसपछि त्यहाँबाट फर्केर तल झरें । त्यहाँ एकदम ठुलो पार्किंग थियो र शिवजीले खाजा खाएर जाऊँ हिमाल चढ्नु पर्छ भन्नु भयो । मलाई शिवजीले त्यस घर भित्रको रेस्टुरेन्टमा लानु भयो र म र शिवजी एउटा टेबलको वारपार बस्यौँ । शिवजीले मलाई पिजा दिनु भयो । पिजासंग संगै एकदमै ठुलो जुस दिनु भयो । मैले पिजा र जुस खाएँ । मैले पिजा यस भन्दा अगाडी कहिल्यै खाएकी थिइन् । तर एकदम मिठो लाग्यो । जुस पनि एकदम गुलियो थियो । ति दुवै खाने कुराहरु यति मिठो थियो कि बर्णन नै गर्न नसकिने मिठो थियो । फेरी मामाले कर गरेर केही खाऊँ भन्नु भयो । शिवजीले मेरो best मन पर्ने चटपट ल्याएर दिनु भयो, मैले त्यो चटपट पनि खाएँ, एकदम मिठो थियो । म अघाइ सकेको थिएँ तर मामाले कर गरेर कुखुराको रोस्ट खाऊँ भन्नु भयो । शिवजीले तुरुन्तै कुखुराको रोस्ट ल्याएर दिनु भयो । त्यो रोस्ट एकदम मिठो मासु मासु भएको, टोक्दा सजिलै संग मासु छुट्टिएर आउने सरर रस आउने खालको थियो । त्यसपछि मामाले अब अलि कति यसो रक्सि पनि खाम भन्नु भयो । शिवजीले एउटा RUSLAN लेखेको रक्सिको बोतल ल्याएर चाखौं भन्नु भयो र अघिको कुखुराको रोस्टपनि ल्याउनु  भयो । शिवजी र मैले मासु र रक्सि खायौँ । रक्सि खान साथ मलाई रक्सि लाग्न थाल्यो । रक्सि खाएसी त म झ्याप भएँ, हिड्न नि नसक्ने हात खुट्टा एकदम गलेर आयो । त्यसपछि मलाई शिवजीले अब माथी हिमालमा चढ्नु पर्छ भन्नु भयो । शिवजी मलाई एक्लै छोडेर माथी हिमालमा पुग्नु भयो  र आफु माथि पुगेर मलाई पनि माथि आउ भन्नु भयो । म  कसरी जाने होला भनेर एकदमै सोची राखें । त्यसपछि शिवजीले माथीबाट डोरी खसाली दिनु भयो । म त्यो डोरी समातेर माथी हिमालमा शिवजीको ठाउँमा पुगें । माथी हिमालमा पुगेपछि चारै तिर हेरेको त्यहाँबाट चारै तिर टाढा टाढा सम्म देखिने रहेछ । त्यसपछि हिमालको धार धार हुँदै शिवजी अघि अघि म पछि पछि गर्दै हिंडे । केही बेर त्यसरी हिंडेपछि शिवजीले अब तल झरम भन्नु भयो । शिवजी त तल पुगी सक्नु भएछ । म एक्लै माथी हिमालमा थिएँ । म कसरी आऊँ ? शिवजी भनेको शिवजीले एकछिन पछि त्यो हिमालमा ओर्लन मिल्ने डोरेटो घुम्ती भएको बाटो देखाई दिनु भयो तर पहिला त त्यहाँ कुनै बाटो थिएन र म त्यहि बाटो हुँदै तल शिवजीको ठाउँमा झरेर आएँ । त्यस पछि म र शिवजी एकदमै ठुलो जंगलमा पुग्यौं । त्यो जंगलको बीचमा एकदमै ठुलो घर थियो । त्यो घर भित्र गएको त्यहाँ हिड्दै सिंडी माथी चढ्दै माथी पुग्यौँ । त्यहाँ पनि कपडा पसल रहेछ । शिवजीले मलाई कपडा फेरी दिनु भयो । मलाई सुट पेन्ट र हिल भएको स्यांडील लगाई दिनु भयो । कपाल पनि काटेको एकदम छोटो थियो, चस्मा पनि लगाई दिनु भयो । एउटा मोबाइल फोन पनि किनी दिनु भयो । मलाई ठुलो मोबाइल लिने रहर थियो । एउटा सानो  ब्यागमा मोबाइल हालेर काँधमा छड्के पारेर भिरें र शिवजीसंग बाहिर निस्केर फेरी जंगलको बाटो हिड्न थाल्यौँ । हिंड्दै जाँदा बाटोमा एकदमै ठुलो खोला पार गर्नु पर्ने भयो । शिवजी त पार गरिसक्नु भएछ र पारी पुगेर मलाई आऊ भन्नु भयो । त्यसपछि म एकदमै अन्योलमा परें जाम कि नजाम भनेर । के गरेर जाने होला जस्तो भयो अनि मामाले शिवजी को विश्वास गरेर खोलामा हाम फाल भन्नु भयो । म खोलामा हाम फालेको त खोलाको पानीमा डुबेर तल पुगेको त पानीको तल पुल रहेछ । म त्यस पुल हुँदै पार गरेर माथी निस्कें । माथी निस्केर त्यो खोलाको बगरबाट हिंड्दै हिंड्दै गएँ । हिंड्दै जाँदा एउटा ठुलो चौर आयो । त्यहाँ पुगेर हेर्दा मेरो गाउँ र अरु थुप्रै रमाइलो चिजहरु देखिने रहेछ । शिवजीले अब यो गाउँको, अरु चिजहरुकाे माया छोडेर उ त्यहाँ पारी जानु पर्छ भन्नु भयो । त्यस चौरको पारी पट्टि एकदमै चहकिलो उज्यालो देखाइदिनु भयो र त्यहाँ पुग्नु पर्छ भन्नु भयो । म उभेकाे ठाउँबाट अगाडी पट्टिको किनारमा हेर्दा एकदमै उज्यालो तर पछाडी फर्केर हेर्दा आफ्नो गाउँ, नाता इष्ट मित्र साथी भाइहरु देखिने थियो अलि अँध्याराे थियाे । शिवजीले त्यो उज्यालोमा जान यो पछाडी देखिले सबै चिजहरुलाई त्यागेर जानु पर्छ भन्नु भयो । सबैलाई छोडेर पछाडी नफर्की कन आऊ भनेर भनेर शिवजीले भन्नु भयो म पनि सबैलाई छोडेर अगाडी बढें ।  शिवजीले मलाई अलि अगाडी सम्म पुर्याइदिनु भयो । अगाडी बढ्दै जाँदा मेरो शरीरबाट मासुको टुक्राहरु चोक्टा चोक्टा भएर झर्न थाल्यो । सबै मासुहरु झरेर शरीरमा केही पनि रहेन । पछि शिवजीले अब मलाई पनि त्याग्नु पर्छ भन्नु भयो र यहाँ भन्दा अगाडी आफै एक्लै जाऊ भन्नु भयो । मलाई अब शिवजीलाई कसरी छोडुं, शिवजी विना कसरी अगाडी बढ्न सक्छु जस्तो लाग्यो । मेरो जीवनमा शिवजीको साथ पाएर धेरै परिवर्तनहरु आए । म राेगी रहेछु । शिवजीले मेराे उपचार गरिदिनु भयाे । अनि शिवजीको त्यो रुप, त्याे सृंगार, शिवजीको त्यो ओँठ, त्यो माया, त्यो ज्ञान, जिन्दगीमा हरेक पल साथ दिने, दु:ख सुखमा साथ दिने, जीवनमा कहिल्यै नसुनेको ज्ञान दिने, नखाएको खान दिने, नलाएको चिज लाउन दिने, मेरो इच्छा पुर्याइ दिनु भएको छ,  अब त्यही शिवजीलाई पनि छोडेर जानु पर्ने जस्तो लाग्यो । शिवजीले सबै कुरा छोड भन्दा मेरो बाबा आमालाई छोड्न त्यति माया लागेन, सजिल्यै संग छोडें । तर शिवजी छोड्न सकिन, माया लाग्यो, शिवजीको त्यो भाव, त्यो ज्ञान, त्यो रुप सबै छोडेर म एक्लै कसरी बाच्न सक्छु भन्ने कुरा सम्झेर रुन मन लाग्यो र म करिब दुइ घण्टा रोएछु । शिवजी छोड्न यति गाह्रो हुँदो रहेछ जीवनमा बल्ल थाहा भयो । बल्ल बल्ल पाएको शिवजीलाई पनि छोडेर जानु पर्ने यो जिन्दगी कस्तो जिन्दगी हो । हे शिवजी मलाई मेरो आफ्नो बाबा आमा भन्दा पनि तपाईको प्यारो माया लाग्न थाल्यो । तर जति माया लागे पनि नहुँदो रहेछ । यो जीवनमा एक दिन न एक दिन त अवश्य छोडी जानु पर्ने रहेछ । हे शिवजी कसरी छोडेर जाउँ । बल्ल बल्ल पाएको शिवजी भन्दै सम्झदै रुन मन लाग्यो । जति रोए चिच्याए पनि शिवजीलाई एक दिन सदाशिवमा पुग्न छोडेर जानु पर्ने नै रहेछ भन्दै रोएँ । क्लासमा उपस्थित सबै साथीहरु कोही हाँस्दै थिए, कोही मलाई जिस्काउदै थिए । मलाई लाज पटक्कै लागेन, मलाई त केवल शिवजीलाई छोड्नु पर्यो भन्ने मात्र थियो ।

करिब दुइ घण्टा बिती सकेछ शिवजी संग बिदा हुन मन नलागेर रुन मन लागेको । तर बाध्येताले अन्तिममा मैले शिवजी संग बिदा मागें र अझै अगाडी बढ्दै जाँदा आकास भित्र कहाँ हो कहाँ पुगें । पछाडी फर्केर हेर्दा शिवजी उता तिर फर्केर बस्नु भएको थियो र मेरो अगाडी तिर हेर्दा एकदमै उज्यालो एउटा अन्डा आकारको पहेंलो रातो र सेतो रंग मिसिएको डल्लो मात्र देखिराछु । शिवजी अझै उता तिर फर्केर हेरिराख्नु भएको थियो । म त्यो अन्डाको नजिकै पुगेर हेरें । त्यो अन्डा कुखुराको बोक्रा नभएको अन्डा जस्तो प्लास्टिकमा पानीको पोका जस्तो पनि देखिन्थ्यो । हिर्काउदा फुट्ला जस्तो थियो तर हिर्काउदा फुटेन । एकदम जिल जिल परेको आकारको थियो । त्यो अन्दा अब फुट्नु पर्छ रे । तर कसै गरे पनि त्यो अन्डा फुटेन । अझै मैले केही छोड्नु पर्ने रहेछ भित्र मनैबाट त्यसैले त्याे नफुटेको रहेछ । अझै मैले आमा, बाबा, दाई र साथीहरुलाई छोड्न सकेको रहेनछ । फेरी सबैलाई सम्झेर छोडे पछि त्यस  अन्डा झन् सानो भयो र त्यस भित्र म थिएँ । पछि फर्केर हेर्दा शिवजी उता तिर फर्केर बस्नु भएको थियो । म भएको ठाउँमा पहिला उज्यालो थियो पछि अलि अँधेरो अँधेरो हुन थाल्यो र त्यो अन्डाको रातो सेतो पनि अलि हल्का रंगको हुँदै रंग नभएको भयो । त्यो अन्डा भित्र म मात्र थिएँ । त्यो अन्डा अझै सानो हुँदै गयो र अब त्यो अन्डालाई शिवजीले हातमा लिनु भएको थियो । शिवजीले आफ्नो पछाडी तिर फ्याक्नु भयो र त्यो अन्डा फुट्दा विस्तारै प्याट्ट गरेको आवाज आयो । त्यस पछि म पनि बिलाएँ, त्यो अन्डा पनि बिलायो, मेरो सबै कुरा बिलायो, यता उता हेर्दा केही पनि अनुभव भएन । जिन्दगीमा अब केही छैन, एक्लै छु, अरु कोही छैनन् जस्तो अनुभव भयो । एकदम आनन्द भयो, कुनै दु:ख सुख थिएन, कुनै चिन्ता थिएन, एक्लो महसुस भयो । सदाशिवकाे अनुभव भन्ने यस्तो हुँदो रहेछ । यसैलाई कैवल्य मुक्ति भन्छन् भनेर शिवजीले भन्नु भयो । शिवजीलाई फर्केर हेर्दा शिवजीको ठुलो रुप तर पछाडीबाट ढाड देखेको थिएँ उहाँ फर्कनु भएको तिर उज्यालो थियो म भएको तिर अलि साँझ परेको जस्तो भइसकेको थियो । मैले मेरा प्यारा दुर्गा माता, माताका रुप र अरु ब्रह्मज्ञानी देवताहरु कहाँ हुनुहुन्छ भनेर हेरें । उहाँहरु पनि शिवजी भन्दा अझ अगाडी उज्यालोमा अरु मानिसहरु संगै हुनुहुन्थ्यो । मामाले अब यो आजको सदाशिवको अनुभवको कुरा  कहिल्यै नभुल भन्नु भयो ।  यो अनुभवको फल मानिसलाई जिउँदो हुन्जेल पनि चाहिन्छ र मरेपछि पनि चाहिन्छ भन्नु भयो ।

शिवजीलाई धन्यवाद, मामा माइजुलाई धन्यवाद, सम्पूर्ण ब्रह्मज्ञानी साथीहरुलाई धन्यवाद, मेरो इन्द्र दाईलाई सहयोगको लागी धन्यवाद, हेमा आन्टिले यहाँ ल्याई दिनु भएकोमा धन्यवाद, लगाएत जति पनि साथीहरुले मलाई यहाँ सम्म डोर्याइदिनु भएकोमा हृदय देखि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

शिवजी हरपल हजुरकै सम्झना आइरहन्छ ।

हजुरको त्यो सुन्दरतालाई छोडी जानु पर्ने यो मन रोइरहन्छ ।।

मेरो नाम एलिना धाना मगर र उमेर १९ बर्ष हो । मेरो घर पुर्व उदयपुर जिल्ला लेखानी गाबिस ५, राना गाउँमा हो । म हाल १ बर्ष देखि पोखरामा पढ्दै मेरो दाजुहरुसंग बसोबास गर्दैछु । दाजुहरु पनि अलि केही बर्षदेखि पोखरामा बस्ने र रोजगार गर्ने गर्नु हुन्छ । दाईले पोखरामा ब्रह्मज्ञानको बारेमा बुझ्न, पढ्न पाउनु भएको रहेछ । यो ज्ञानले जीवनका धेरै महत्वपूर्ण कुराहरु बुझाउने र अन्जानमा जीवनमा घटिरहेका विभिन्न कारण पत्ता लाग्ने र विभिन्न रोगहरुको उपचार हुने रहेछ । उदयपुरमा गाउँको घरमा म, मेरो बाबा र मम्मीहरु पनि यस्तै रोगबाट पिडित रहेछौं भनेर दाजुले थाहा पाउनु भएर मलाई यहीँ पोखरामा पढ्न र उपचार गर्न सजिलो हुन्छ भनेर बोलाउनु भएको थियो । पोखरा आएर ब्रह्मज्ञानको क्लासमा आएर डा. कमल मान श्रेष्ठ र डा. इन्दु श्रेष्ठसंग परामर्श लिन थालेपछि मेरो रोग र लक्षणहरु चिनिन थाल्यो । म एक अस्वस्थ तेस्रो नेत्र खुलेको रोगी रहेछु । मेरो शरीरमा मेरा पितृहरु, गाऊँ घरमा पुज्ने गरेका ज्ञान नभएका देवी देवताहरु प्रवेश गरेर बस्ने गरेका रहेछन् । यो कुरा आज सम्म अरूकुनै डाक्टरहरूले चिन्न जानेका रहेनछन्, न लामा झाँक्रीहरुले नै चिनेका रहेछन् । घरमा मेरो आफ्नो बुबा पनि झार फुक गर्ने गर्नु हुन्थ्यो र मरी सकेका बाजेहरु पनि यस्तै झार फुक गर्ने गर्दथे । यहाँ डाक्टर साबले भन्नुभए अनुसार तिनीहरु सबै अस्वस्थ तेस्रो नेत्र खुलेका बिरामीहरु रहेछन् । तिनीहरु आफैलाई उपचार गर्नु पर्ने रहेछ तर झन् उनिहरु अरुलाई झार फुक गर्दै उपचार गर्दै हिड्थे । आजकाल म र दाजुहरु यहाँ ब्रह्मज्ञानको क्लासमा आएर बुझेको कुरा मेरो बुबालाई भनेपछि हो क्यार भनेर आजकाल झार फुक गर्न छोड्नु भएको छ र उहाँलाई पनि अलि बिषेक भएको छ नत्र उहाँ घरमा झगडा गर्ने, बाैलाउने, आमालाई पिट्ने, हामी छोरा छोरीहरुलाई पनि पिट्ने गर्नु हुन्थ्यो । यस्तो व्यबहारहरु अज्ञानी प्रेत र पितृहरुले शरीरमा प्रवेश गरेर गर्दारहेछन् । मेरो बुबा र बाजेले नजानेर तीनै पितृहरुकाे पुजा धुमधामका साथ गर्ने र भुत प्रेत भगाउने भनेर झार फुक गर्दथे । तर तिनीहरुले के गरिराखेका थिए भनेर थाहा थिएन । न त तिनीहरुको पुजाले पितृ शान्त हुन सकेका थिए, न त तिनीहरुको झारफुकले भुत प्रेत नै भागेका थिए । तिनीहरुले त झन ती पितृ, भुत र प्रेतहरुलाई जगाई राखेका थिए । यो कुरा कसरी पत्याउनु आजको जमानामा । तर डाक्टर साबले राम्ररी चिन्न सक्ने बनाई दिनु भयो ।  म त्यही मेरो बुबा र बाजेले गर्ने गरेको कामको कारण विरामी भएको रहेछु । ती बाबु बाजेले जगाएर राखेका पितृ, भुत र प्रेतहरूले मलाई पछि चिन्न भ्याएका रहेछन् । तीनीहरुसंग मैले कुरा गर्न सक्ने भएँ र कुरा गरें । पितृले नातिनी भनेर बोले, भुत, प्रेतले पुजा गरिदेउ हाम्रो नाममा भनेका थिए । तर तिनीहरु सबै भ्रममा रहेका जीवहरु रहेछन् । तिनीहरुसंग तर्कने अर्कै उपाए रहेछ तर हामी नजानेर तिनीहरुले मागेको कुरा दिन तिर लागेछौँ । हिन्दु संस्कृतीको वेदशास्त्रमा यस बारेमा लेखेको रहेछ र डाक्टर साबले यसलाई एक साधनको रुपमा उपयोग गर्नु भएको रहेछ । सन्जोगले मेरो आज डाक्टर साबसंग भेट भएर मेरो लुकेको रोगलाई चिनेर उपचार गरेर स्वस्थ हुने मौका पाएँ । डाक्टर साबलाई मैले मामा भनेको कारण उहाँ ब्रह्मज्ञानको क्लासका एक जना दिदि ज्योत्सना श्रेष्ठको मामा हुनुहुन्छ । त्यसैले अरु हामी धेरै जनाले पनि उहाँलाई मामा भन्ने गर्दर्छौं ।

क्लासमा सुरु सुरुमा अरुको अनुभवहरु हेर्ने बुझ्ने मौका मिल्यो । उहाँले लेख्नु भएका केही किताबहरु पढ्न दिनु भयो, त्यस किताबलाई पढेर कण्ठ गर्न लगाउनु भयो, किताबका कुराहरुलाई बुझाई दिनु भयो, तेस्रो नेत्र हुन्छ हरेक मानिसमा भनेर चिनाई दिनु भयो, मेरो पनि तेस्रो नेत्र खुलेर अस्वस्थ भएर पिडित भइरहेको चिनाइ दिनु भयो, तेस्रो  नेत्रबाट हेर्न, बोल्न सिकाइदिनु भयो । मैले क्लासमा पितृहरुसंग बोलें, मेरो घर गाउँका अज्ञानी देवी देवताहरुसंग बोलें । तिनीहरु सँग कसरी बोल्नु पर्छ, कस्तो व्यबहार गर्नु पर्छ, तिनीहरुसंग कहिले नजिक कहिले टाढा हुनु पर्छ भनेर  भनेर डाक्टर साबले सिकाइ दिनु भयो । विस्तार विस्तार मेरो तेस्रो नेत्र स्वस्थ हुन थाल्यो र मैले त्यस स्वस्थ तेस्रो नेत्र मार्फत ब्रह्मज्ञानी देवी देवता शिवजी, दुर्गा माता, उहाँका  विभिन्न रुपहरुलाई देख्ने र बोल्ने गर्न थालें । शिवजीसंग कुरा गर्न थालेको धेरै महिना हुन थालेको थियो । हरेक दिन उहाँसंग कुरा गर्ने, मन्दिरहरु जाँदा पनि उहाँसंग कुरा गर्ने, अरु ब्रह्मज्ञानी देवी देवताहरुसंग कुरा गर्ने गरेको थिएँ । यही महिना मंग्सिर ४ गते सबै जना ब्रह्मज्ञानी साथीहरु गोर्खाको मनकामना मन्दिर दर्शन गर्न गएका थियौँ । त्यहाँ धेरै जनाले देवी देवताहरुसंग कुरा गरेका थिए । मैले त्यहाँ पनि देवी देवताहरुसंग कुरा गरेको थिएँ । त्यस बेला शिवजीसंग कुराकानी गर्ने वेलामा शिवजीले म संग तिमीलाई म सदाशिवको अनुभव गर्न लैजान्छु भन्नु भएको थियो । त्यसको दुइ दिन पछिको क्लासमा शिवजीले मलाई सदाशिवको अनुभव गराउनु भएको हाे ।

सदाशिवको अनुभव वा कैवल्य मुक्तिको अनुभव अचम्मको हुँदो रहेछ । हरेक मानिसले आफ्नो जीवनमा याे अनुभव गरेको हुनु पर्छ नत्र मानिस मरेपछि आफ्नो अवस्था नचिनेर, बाटो नचिनेर अलपत्र परेर नर्कमा पर्ने रहेछ । त्यो मैले आफ्नो आँखाले देख्न मौका पाएँ । यस्तो शिवजी र सदाशिवको अनुभवलाई जीवन भर साथमा राख्न्न सकूँ यही मेरो आफ्नो प्रयास हुनेछ ।

केही फोटो र भिडियोहरु

मैले अनुभव गरेका सबै कुराहरु यहाँ भन्न जानिन । मलाई लेखहरु लेख्ने बानि छैन । तर पनि यदी तपाईहरुलाई मैले गरेका अनुभवका बारेमा बढी बुझ्न चाहनु भयो भने मेरो प्रोफाइलमा गएर मलाई सम्पर्क गर्न सक्नु हुनेछ । धन्यवाद ।

This post is also available in: English

Leave a Reply