लक्ष्मीको पूजा

लेखक:  यशोदा माकाजु, पोखरा

कार्तिककाे महिना हाे । तिहारकाे रमझम लाग्न थालेकाे छ । यसै सन्दर्भमा केहि चर्चा गर्न मन लाग्याे । भनिन्छ लक्ष्मी धनकि देवी हुन् | जुन हाम्रो जीवनमा आवस्यकता, उपयोगिता र मान्यता छ | पौराणिक कथन अनुसार लक्ष्मीलाई  भगवान बिष्णुको  पत्नीको रुपमा लिइन्छ | लक्ष्मीको आबस्यकता कसलाई हुदैन र कहिल्यै परिपूर्ण  पनि हुदैन | तर बास्तवमा लक्ष्मी भनेको के हो  ? लक्ष्मी को हुन् भन्ने जान्नु आजको आवस्यकता हो  | लक्ष्मीको मुख्य आठ रुप छन् जुन यस प्रकार छन्  |

१. आदिलक्ष्मी

यस सृष्टिमा अवस्थित भएका सम्पूर्ण चिजको उत्पत्ति ब्रह्मबाट भएको हो र अन्त पनि ब्रह्ममा नै हुन्छ | ब्रह्म भनेको उनै सदाशिव हुन् जसलाई परमात्मा भनिन्छ | लक्ष्मी माता भनेको  उनै सदाशिवको एक रुप हो | पौराणिक कथन अनुसार चौराशी लाख जुनी  लिएपछि मात्रै मानिसको रुपमा जन्म लिएको हुन्छ भन्ने मान्यता छ | जेहोस मानिसले धेरै लिंग शरीरको अनुभव भइसकेपछि मात्र मानिसको रुपमा जन्म भएको हुन्छ | तर  मानिसले मात्रै ब्रह्मको ज्ञान लिन सक्दछन, ब्रह्मको अनुभव गर्न सक्दछन् र सदाशिवको अनुभव गर्न सक्दछन जुन अरु पशुपन्छी तथा जीवमा सम्भव छैन |

मानिसले आफ्नो स्वस्थ तेश्रो नेत्र द्वारा मात्रै परमात्मासंग सम्पर्क गर्न सक्दछन | तसर्थ जसले  सदाशिव तथा परमात्मासंग सक्षत्कार् हुने अवसर प्राप्त गर्दछन र अनुभूति गर्दछन त्यसलाई नै आदिलक्ष्मी प्राप्त भएको भनिन्छ  |

२. धैर्यलक्ष्मी

जीवनमा लोभ, लालच, इर्श्या, डाहबाट मुक्त हुनु र आफ्नो जीवनमा प्राप्त भएका कुनैपनि बस्तु, सम्पत्ति र परिवारसंग सन्तोष पूर्ण ब्यबहार गर्नु, सही सदुपयोग गर्नु तथा जीवनमा आइपरेका सुख दुखमा धैर्यता धारण गर्न सक्नु नै धैर्यलक्ष्मी प्राप्तभएको भनिन्छ |

३. धन्यलक्ष्मी

जीवनमा आफुले गरेका काम कर्म हरुबाट धन्यवाद  पाइरहनु | धन्यवाद पाउने कामको अवसर आइरहनु तथा अरुलाई पनि धन्यवाद दिनु र अवसर पाइरहनुलार्इ धन्यलक्ष्मी प्राप्त भनिन्छ |

४. गजलक्ष्मी

जसले जीवनमा मान मर्यादामा रही स्वस्थ, तन्दरुस्त  र आनन्द पूर्ण तरिकाले जीवन बिताउन पाउदछन् | त्यसलाई नै गजलक्ष्मी प्राप्तभएको भनिन्छ  |

५. सन्तानलक्ष्मी

जीवनमा सन्तान प्राप्त हुनु  | सन्तानहरु राम्रो हुनु, उच्चाशिक्षा लिनु, उच्च ठाउमा पुग्नु, सफलता प्राप्त गर्नु तथा साथीभाईहरु बढ्नु, परिवार, साथीभाई र कामदारहरू बाट सहयाेग र सदभाव पाइरहनु भनेको  नै सन्तान लक्ष्मी प्राप्त भएको हो |

६. बिजयालक्ष्मी

मानिसले  जीवनमा धेरै संघर्ष गरेको हुन्छ |

जीवनमा बिभिन्न किसिमको दुखकस्ट को सामना गर्नु पर्दछ | जीवनका मोडहरुमा  बादबिवाद, धर्मसंकट तथा मुद्दामामिलाको पनि सामना गर्नु पर्दछ | सत्यतामा रही हरेक मोडमा बिजय प्राप्त गर्नु नै बिजयालक्ष्मी प्राप्त भएको भनिन्छ  |

७. विध्यालक्ष्मी

जीवनमा बिद्या आर्जन गर्न पाउनु  | विद्याको अवसर आइरहनु र बिध्यालाई  जीवनमा उपयोग गरि जीवनमा अगाडी बढ्नुलाइ नै बिध्यालक्ष्मी प्राप्त भनिन्छ  |

८. धनलक्ष्मी

जीवनलार्इ सुख पुर्बक बाच्न धन सम्पत्तिको जोहो हुनु | धन सम्पत्ति कमाउने अवसर आइरहनु | धनको सही सदुपयोग हुनु तथा सम्पन्न जीवन व्यतित गर्न पाउनु नै धनलक्ष्मी प्राप्त भएको भनिन्छ |

तसर्थ लक्ष्मी भनेको धन मात्रै होइनन | यी आठै लक्ष्मी प्राप्त भएपछि मात्रै पूर्ण हुन्छन | जुन मानिसको जीवनमा अति आबस्यक छन् | कुनै एक लक्ष्मीको कमीले पूर्ण लक्ष्मी प्राप्त हुदैन र जीवन अपुरो महसुस हुन जानेछ  |

यस जीबनमा सुख र सम्पन्न जीवन बिताएर पनि मरण उपरान्त मुक्त हुने लक्ष्य नहुनु तथा मुक्तिको बाटो प्राप्त गर्ने क्रिया गर्न नजान्नु, अवसर नपाउनु भनेको पूर्ण लक्ष्मी प्राप्ति होइन | तसर्थ आफ्नो जीवनमा कमाइ गरेर त्यसको भोग गरेर आफु मर्नु भन्दा पहिल्यै त्यसलाई त्याग गर्न पनि जानेको हुनुपर्दछ | एकदिन अबस्य मर्नुपर्दछ भनि जानेर आफ्नो धन सम्पत्ति, नाता इष्टमित्र, काम, कारोवार, क्रोध, लोभ, मोह, इर्श्या, घमण्ड, कुण्ठा (दुखेको मन), तृष्णालाई छाडिसकेको हुनुपर्दछ | यसलाई नै सन्यास जीवन भनिन्छ |

सन्यास जीवनको अनुसरण गर्न नजान्नेहरु मरेपछि चेतनाको शरिर (लिंग शरीर लिएर) फर्किरहन्छन् | त्यसैले मानिसले ब्रह्मको ज्ञान लिएर  ब्रह्मको अनुभव गरेको हुनुपर्दछ | त्यसपछि मात्रै मानिस जुन ब्रह्मबाट सृष्टि भएको हो त्यहि ब्रह्ममा  बिलिन हुनु सक्दछ | यस जीवनबाट मुक्त भएर पार लाग्नको लागि भगवान शिवलाई पाएको  हुनुपर्दछ | भगवानको काम गरि रिझाएको हुनुपर्दछ | मानिसले आफ्नो जीवन परमात्मामा बिलिन गराउनु भनेको नै मोक्ष हुनु हो |

लक्ष्मीमाता आफैमा सर्व सम्पन्न हुनुहुन्छ | यो सृष्टि उहाँ कै हो | लक्ष्मी मातालाई कुन फुल चढाउने, कस्तो बस्त्र चढाउने, कसरि पूजा गर्ने भन्नु भन्दा लक्ष्मी पूजाको दिन लक्ष्मीको मुर्तिमा पूजा गरेर मात्रै होइन लक्ष्मीको आठ रुपको अध्ययन गरेर, मनन गरेर आफ्नो जीवनमा अनुसरण गरेर, साक्षात्  लक्ष्मीको दर्शन पाउनु नै वास्तविक लक्ष्मी पूजा हुन् जुन मानव  जीवनको परम् आवस्यकता पनि हो |

This post is also available in: English

Leave a Reply